जागरण मिडिया सेन्टर

Home » अन्य » सामाजिक शिक्षा पढाउने गुरुलाई दलित विद्यार्थीको पत्र

सामाजिक शिक्षा पढाउने गुरुलाई दलित विद्यार्थीको पत्र

महावीर विश्वकर्मा

प्रिय गुरु

हार्दिक नमन।
गुरुलाई सम्बोधन गर्दा आदरणीय भन्नुपथ्र्यो होला मैले। त्यसो भनिनँ। नजानेर होईन, जानीजानी भनिनँ। प्रिय भनेँ, आदरका साथ नै भनेँ। साँच्चै भनेको, तपाईँ असाध्यै प्रिय लाग्थ्यो मलाई। र लाग्छ पनि अझै।
हुन त विद्यार्थीलाई हरेक शिक्षक प्रिय नै लाग्छन्। फेरी पनि तपाईँ प्रिय लाग्नुको पछाडि केही कारणहरु चाहीँ अवश्य नै थिए मेरा। र छन् पनि। आज मन खोलेर केही कुरा सुनाउन मन लागेको छ तपाईँलाई। थाहा छैन, यसलाई तपाईँ कसरी लिनुहुन्छ। साँच्चै भनुँ भने मलाई त यो पनि थाहा छैन, तपाईँ यसलाई लिनुहुन्छ की लिनुहुन्न। तर यति भने थाहा छ मलाई, म यो पत्र यस्तो बेलामा लेखिरहेको छु, जतिबेला तमाम उत्पीडित जात, जाती र समुदाय आफ्नो अधिकारका लागि सचेत भएका छन्।
हातमा लट्ठी बोकेर कक्षा कोठामा प्रवेश गर्ने शिक्षकहरुभन्दा तपाईँ फरक। होम वर्क नगरेको निहुँमा कन्सिरीको रौँ तान्ने गुरुहरुभन्दा तपाईँ अलग। अनि बिल्कुल पृथक तपाईँ, चस्मा माथीबाट घुरेर हेर्दै “सिल्ली ब्वाई” गाली दिने सरहरुभन्दा। र त विद्यार्थीसँग मिठो बोलेर हँसाउँदै पढाउने तपाईँको शैलीको उबेलादेखि नै फ्यान भएँ म।
तपाईँले हामीलाई कक्षा ८ मा सुनाउनुभएको जङ्गबहादुरको कथा आज पनि कण्ठै छ मलाई। आज पनि साना नानीबाबुहरुलाई सुनाउँछु कहिलेकाहीँ। त्यतिबेला तपाईँको खुबै याद आउँछ। यो कथा सुनाउँदा गुलाबी रङ्गको सर्ट लगाउनुभएको थियो तपाईँले, त्यो पनि याद आउँछ मलाई। हो त्यति प्रिय ठान्थेँ म तपाईँलाई, कि तपाईँको पहिरनको पनि सम्झना अझै ताजै छ मानसपटलमा।
स्कुले जीवनका शिक्षकहरुको तरह तरहको छाप, पत्थरमा खोपिए जसरी बसिरहँदो रहेछ विद्यार्थीको मनमा। जसरी बस्नुभएको तपाईँ, मेरो मनमा।
एक दिन होमवर्क स्वरुप माटोको आँप बनाएर लैजानु पर्ने थियो। बनाउन जानेनछ्, मेरो साथी धनबहादुर प्रजाले। अनि मज्जैले गोदाई खायो विषय शिक्षकको। त्यो क्षण सम्झिँदा मलाई आज पनि शिक्षकहरुदेखी डर लाग्छ। एउटा चेपाङ्गको बच्चाले माटोको आँप बनाउन नजान्नु कमजोरी हुनसक्ला तर त्यसरी गोदाई खानु ठीक थियो होला र सर ?
कक्षा कोठामा एक जना शिक्षकले राई र दराई थर भएका मेरा साथीहरुलाई उनीहरुले “त” लाई “ट” उच्चारण गरेको निहुँमा अपमानित गर्दा मलाई नराम्रो लाग्थ्यो। जन्मेदेखी एउटा साँस्कृतिक परिवेश र सोही शैलीको वातावरणमा हुर्किएको व्यक्तिले शिक्षकले भने जस्तै उच्चारण गर्न नसक्नु उसको गल्ती थिएन होला नी सर। त्यही कुरा नबुझेर गाली गर्ने शिक्षकलाई म कसरी महान ठानुँ ?
जात नलेखेर थर (घिमिरे) लेखेको निहुँमा कक्षा ९ मा मलाई दलित छात्रवृत्तिबाट वन्चित गरिनु जातीय विभेद पो रहेछ। अहिले आएर पो थाहा पाएँ सर मैले। त्यतिबेला “किन जात ढाँटेको ?” भन्दै “वि.क.लेखिनस् भने छात्रवृत्ति पाउँदैनस्” भनेर दिँदा पनि नदिने शिक्षकलाई व्यहोरेको मैले, कसरी विश्वास गरुँ, “शिक्षक भनेका मैन बती जस्ता हुन्” भनेर।
तपाईँलाई सम्झना छ सर ? एकपटक हाम्रो स्कुलनेरको मन्दिरमा महायज्ञ लाग्दा होम गर्नेहरुको संख्या पुर्‍याउनका लागि स्कुल बिदा गरेर ब्राह्मण क्षेत्री परिवारका विद्यार्थीलाई लगियो र अरुलाई बिदा दिइएको थियो। घर फर्किँदा सो मन्दिर बाटोमा पर्ने भएकोले महायज्ञ हेर्न गएँ म। सँगै पढ्ने साथीहरुले होम हालिरहेको दृश्य डिलमा बसेर हेरिरहेको मलाई पनि होम हाल्न मन लागेको थियो साथीहरुसँगै। तर मैले त्यसो गर्न पाइनँ, किनकी म कामीको छोरा थिएँ। तपाईँ नै भन्नोस् त सर, सबै जात समान भनेर पढाउनुपर्ने विद्यालयमै यसरी विभेदजन्य तवरले विद्यार्थीको तह छुट्याउनु ठीक थियो त ? त्यसरी जात छुट्याएर होम हाल्न विद्यार्थी लैजानु ठीक थियो त ?
हुन त यहाँ उल्लेखित घटनाक्रम प्रत्यक्ष रुपमा तपाईँसँग सम्बन्धित छैन। अरु शिक्षकहरुबाट भएका गतिविधि थिए ती। ती कुराहरु तपाईँलाई नसुनाएको भए पनि हुन्थ्यो होला मैले।
तर सामाजिक शिक्षा पढाउने तपाईँले हामीलाई समाज पढाउन चाहीँ किन भुल्नुभयो होला भन्ने प्रश्न आज पनि उसैगरि खटकिन्छ मेरो मनमा। जङ्गबहादुरको बहादुरीका कथा सुनाउने तपाईँले पृथ्वी नारायण शाहको नेपाल एकीकरण (त्यो एकीकरण थिएन भन्ने मत पनि छन् तर विद्यालयमा त्यही पढेको भएर यही लेखेँ) अभियानमा दलित समुदायका बिसे नगर्चीले पु¥याएको योगदान सुनाउन किन भुल्नुभयो सर ?
सायद तपाईँले पढाउनुभएको भए आज म त्यतिबेलाका मेरा सहपाठी साथीहरुको घर भित्र उनीहरुको बुवा आमा कै अगाडी निर्धक्कसँग पस्न पाउँथे की भन्ने लाग्छ। सामाजिक शिक्षा पढाउनु र समाज पढाउनु अलि बेग्लै कुराहरु रहेछन् की भन्ने लाग्यो सर मलाई। म सही हुन पनि सक्छु र नहुन पनि। तर एउटा विद्यार्थीलाई जीन्दगीको परीक्षामा खरो उत्रिनका लागि समाज पढ्नु चाहीँ नितान्त आवश्यक हुँदोरहेछ सर।
स्कुलमै सोध्न नसकेका केही प्रश्नहरु आज सोँधेँ मैले। मेरा जिज्ञासाहरु तपाईँसँग त हुन्, तर तपाईँसँग मात्रै चाहीँ होईनन्। शिक्षकसँग भन्दा बढी शैक्षिक पद्धततिसँग गुनासो हो मेरो।
प्रिय सर, मेरो स्कुले जीवनले यस्ता धेरै जटिल प्रश्नहरुको भारी बोकाएको छ मलाई। र हिँड्दै गर्दा मैले सिकेको छु, शिक्षकले विद्यालयमा पढाउन बाँकी धेरै धेरै कुराहरु समयले बिस्तारै पढाउँदो रहेछ। र त हामी कहिले शिक्षकको विद्यार्थी, कहिले समयको।
शिक्षकले विद्यार्थीको कमजोरी औँल्याउने परिपाटी भन्दा ठीक १८० डिग्रीको फन्को हानेर शालिन प्रश्नहरुको घोचोले शिक्षकलाई नै घोचेँ हुँला मैले। लोभ लाग्दो केराको घरी फलिरहेको थम्बालाई “गभारो लागेको छ है” भनिदिएँ हुँला मैले।
माफी चाहन्छु। र चाहन्छु यो पनि, की यो समयका विद्यार्थीहरुले मेरो समयको अनुभव सँगाल्नु नपरोस्। सामाजिक शिक्षामा नेपालको नक्सा बनाउन अभ्यास गर्ने उनीहरुले त्यही नक्सा भित्र अटाएका मान्छेहरुले खेप्नुपरेको सामाजिक विभेद मनन गरि त्यसको अन्त्यका लागि अघि बढुन्। “सामाजिक शिक्षा” किताब सँगै समाज पनि पढ्न पाउन् उनीहरुले। सामाजिक शिक्षा पढेर परीक्षामा उत्तीर्ण हुनु र समाज पढेर जीन्दगी बुझ्नु धेरै फरक कुराहरु रहेछन् सर। समयले यस्तै सिकायो। मैले यस्तै बुझेँ।
हवस्, बिदा हुन्छु।
नमस्कार।
<nepaldalitinfo@yahoogroups.com>
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: