जागरण मिडिया सेन्टर

Home » विचार » ‘दलित’ भन्ने कि ‘शिल्पी’ ?

‘दलित’ भन्ने कि ‘शिल्पी’ ?

महावीर विश्वकर्मा

गएको १४ गतेको कुरा हो यो । साँझको ८ बज्ने तरखर भएको हुँदो हो । फेसबुक चलाउँदै थिएँ । अग्रज पत्रकार नारायण वाग्लेले केहीबेर अघि पोष्ट गर्नुभएको स्टाटसमा आँखा प¥यो, ‘दलितलाई शिल्पी भन्ने गर्नुपर्‍याे । पहिला त दिमागबाटै उँचनिचको भावना र धारणा त्याग्नुपर्‍यो ।’
उहाँको त्यो विचारसँग सहमति जनाउँदै भटाभट लाईक र कमेन्ट आउन थाले । कमेन्ट गर्नेहरुकै भिडमा आदरणीय केदार शर्मा पनि देखिनुभयो, “शिल्पी समुदाय ! क्या गजब प्रस्ताव ! (दाताहरुलाई रुच्ने पच्ने भए त यस शब्दले सबैको इज्जत प्रतिष्ठा र आत्मसम्मानको रक्षा हुने थियो !) भन्दै ।
नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरे, इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, अग्रज पत्रकार तारानाथ दाहाल लगायतको लाईक भटाभट पाईरह्यो स्टाटसले । म हेरिरहेँ । अनि सोँचिरहेँ पनि । तर कसै गरेपनि, पल्पसा क्याफेको लेखन शैलीबाट उहाँसँग प्रभावित भएको मैले, उहाँको यो विचारसँग भने सहमती जनाउनै सकिनँ ।
अग्रज पत्रकार केदार शर्माले २० गते ट्वीट पनि गर्नुभयो — “नारायण वाग्ले को गजबको प्रस्ताव ! “दलित” हैन “शिल्पी” भनौँ ! मलाई त व्यवहारिक र प्रतिष्ठापूर्ण लाग्यो, आगे यहाँहरुको मर्जी !”
उहाँले कमेन्ट गर्नुभए जस्तो दलित आन्दोलन दाता कै इच्छा अनुसार सञ्चालन भइरहेको छ त ? दातामा निर्भर हुने भनेका त एन जि ओ हरु हुन्, उसो भए दलित आन्दोलन भनेको दलित एन जि ओ हरुका कार्यक्रम मात्रै हुन् त ? दलित समुदायका हक र अधिकारका लागि क्रियाशिल ती एन जि ओ बाहेकका अरु (जस्तै ः राजनीतिक दलका दलित भातृ संगठनहरु) को आन्दोलन चाहीँ केही होईन त ?
हुन त यी विषयमा पनि वहसको ढोका खुलेको छ । तर यतिबेला भने म ती ढोकाबाट प्रवेश गर्न खोजिरहेको छैन । किनभने, उहाँहरु जस्ता पत्रकारिता क्षेत्रका अग्रजहरुले दलित समुदायको समस्याप्रति लिएको चिन्तालाई चाहीँ सकारात्मक रुपमा नै लिएको छु मैले ।
दलित समुदायका समस्याका विषयमा यही समुदायको व्यक्तिले मात्रै कुरा उठाउनुभन्दा उहाँहरु जस्ता गैर दलित समुदायका वौद्धिक व्यक्तिले पनि कुरा उठाइदिँदा त्यो चाहीँ बढी प्रभावकारी हुन्छ । यो मानेमा निकै खुशी छु म । र धन्यवाद उहाँहरु दुबैजनालाई । मेरो यात्रा (पत्रकारिता) को अग्रज गुरुहरुले उठान गरिदिनुभएको विषयमा केही आफ्ना कुरा राख्छु अब म ।
आफुलाई दलित भनेर चिनाउन नचाहने व्यक्तिहरु प्रशस्तै छन् अहिले । उनीहरु किन त्यसो गर्छन भने, “दलित भनेर थाहै नपाएपछि त हामी माथी विभेद नै हुँदैन नी” भन्ने विश्वास मज्जाले झाँगिएको छ उनीहरुमा । यो फरक कुरा हो की, थाहा नपाउन्जेल उनीहरुमाथी विभेद हुँदैन । उनीहरु माथी विभेद यसकारण हुँदैन की, दलित भन्ने थाहै हुँदैन । थाहा भएको दिन त कहाँ बाँकी छाड्छन् र ।
उसो भए शब्दै फेरेर दलितको सट्टा नारायण वाग्लेले भन्नु भए जस्तो शिल्पी अथवा अरु नै केही भनेर विभेद हट्छ त ? एकछिनको लागि मानौँ, ल दलितको सट्टा शिल्पी वा अरु कुनै शब्द भन्न थालियो रे । त्यसपछि के हुन्छ त ? त्यसपछि “अनि शिल्पी (वा अरु केही) भनेको चाहीँ के त ?” भनेर सोधिन्छ, त्यतिबेला “फलानो फलानो जातहरुको समूह” भनेर जवाफ दिइसकेपछि फेरी विभेद त भइ नै हाल्छ । अहिले सीधै विभेद गर्नेहरुले त्यतिबेला चाहीँ थप एउटा प्रश्न “त्यो भनेको चाहीँ के त ?” भनेर सोधेपछि मात्रै विभेद गर्छन । यही हो त हामीले फेला पारेको अचुक ओखती ? यो त कोठामा छिरेको सर्पलाई ढोकाबाट बाहिर ननिकालेर एउटा कुनाबाट अर्को कुनातिर धपाए जस्तो भइगो नि, यसरी त सर्प फेरी फर्केर आईहाल्छ नि । समस्याको अन्त्य कहाँ भयो र यो ।
शब्द फेरेर समस्या समाधान हुने कुरै होईन यो । यो समुदायको अधिकारका लागि खुलेका संगठनहरुले वि.सं.२००३ सालदेखि २०२३ सम्म यो समुदायलाई चिनाउन दलित शब्दको प्रयोग नै गरेका थिएनन् । कहिले “परिगणित”, कहिले “अति पिछडा”, कहिले “अछूत”, कहिले “हरिजन” जस्ता शब्दको प्रयोग गरेका थिए । शब्दका कारण विभेद भएको भए त्यतिबेला किन नहटेको त समस्या ?
सन् १९२७ को वरिपरिदेखी भारतमा प्रसिद्ध दलित नेता डा.भीमराव अम्बेडकरको नेतृत्वमा त्यहाँ अछूत बनाइएका अनगिन्ती जातहरुको आन्दोलन चल्यो । त्यही आन्दोलन कै क्रममा “दलित” शब्दको प्रयोग व्यापक बनेको थियो । र पछि “अछूत” बनाइएका साझा समुदायगत नामका रुपमा यो शब्द स्थापित हुन पुग्यो ।
यो शब्दलाई नेपालमा भने वि.सं. २०२४ सालमा गठित “ नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” को नाममा पहिलोचोटि प्रयोग गरियो । त्यसपछि यो शब्द यहाँ पनि स्थापित भयो । राजनीतिकर्मी एवम् नेपाली दलित आन्दोलनका अगुवा आहुतिले आफ्नो पुस्तक “नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष”मा लेखेका छन्, “दलित अरुले हेपेर दिएको नाम होइन, यो त दलितको गर्विलो आन्दोलनबाट स्थापित शब्द हो । दलित भन्नु आफू तल भएको स्वीकार्नु होइन, बरु आफुलाई अत्याचार गरिएको छ भन्नु हो । दलितले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन, बरु अत्याचार गर्ने सामाजिक व्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो ।”
आफुलाई दलित बताएकै कारण अत्याचार भएको कहाँ हो र । यो त सामाजिक व्यवस्थाको कुरा पो हो त । अब समस्या शब्दमा होईन भने, हामी फेरी शब्दको लफडामा किन फस्न खाजिरहने ?
यहाँ उल्लेख गर्नैपर्ने रोचक कुरा के छ भने, भारतमा महात्मा गान्धीले दलित भन्दा छुवाछुत भयो अब हरिजन भन्नुपर्छ भने । उनको तर्क थियो, हरि (भगवान विष्णु) का जन (सन्तान) भनेपछि विभेद हट्छ । तर अहिले भारतमा सबैभन्दा बढी विभेद ती नै हरिजन माथी हुन्छ ।
नेपालकै कुरा गर्ने हो भनेपनि यहाँ नेवार जातिभित्रको सायमि अथवा मानन्धर जातका मानिसलाई पहिले छुवाछूत गरिन्थ्यो । तर राणाशासनको हुकुमले मानन्धरहरुको पानी चलाइदिएपछि उनीहरु “अछूत” रहेनन् । मानन्धरहरुले पहिले पनि आफूलाई मानन्धर नै भन्थे, अहिले पनि भन्छन् । अब सोचौँ त, विभेद सम्पूर्णतया शब्दमा भर पर्ने कुरा हो रै छ त ?
दलित समुदायको समस्या भनेकै छुवाछुत त हो नि भन्ने बुझाई अधिकांशमा छ । हुन त त्यो पनि हो, तर त्यो मात्रै चाहीँ होईन । बरु आर्थिक क्षेत्रमा भूमिहीनता र बेरोजगारी कायम रहनु तथा बालीघरे प्रथाजस्ता परम्परागत पेसा सामन्ती प्रथा अन्तर्गत रहिरहनु नै दलित समुदायका आधारभूत समस्या हुन् ।
राजनीतिक—प्रशासनिक क्षेत्रमा नीति—निर्माण गर्ने राजनीतिक थलो ः संसद् र सरकार लगायतका सबै तहमा तथा लागू गर्ने मन्त्रालय, सेना, प्रहरी, न्यायालयलगायतका प्रशासनिक संयन्त्रमा जनसङ्ख्याको समानुपातिक तथा क्षतिपूर्तिसहित अनिवार्य दलित उपस्थितिलाई ग्यारेन्टी गर्ने संवैधानिक राजनीतिक प्रणाली नहुनु नै मुख्य समस्या हो । र, सामाजिक—सांस्कृतिक क्षेत्रमा छुवाछूत—भेदभाव, शिक्षामा पहुँचहीनता र सामाजिक न्यायहीनता नै मुख्य समस्या हुन् ।
शब्द फेरेर दलितको समस्या समाधान हुन्छ की भन्नु भनेको त, छुवाछुतको अन्त्य हुन्छ की भनेको जस्तै हो । बाँकी विकराल समस्या तिर जानेर वा नजानेर ध्यानै नदिनु हो । जुन दलित समुदायको लागि घातक हुन्छ । एउटा खाल्डोलाई दुईपटक लगाएर नाघ्न खोजेर पनि कहीँ हुन्छ ? एकपटक आधि नाघ्छु अर्को पटक बाँकी नाघ्छु भनेर हुने कुरा हो र यो ? सबै समस्याको एकमुस्ट समाधान हुने ओखती पो खोज्ने हो त हामीले । अनि त्यो ओखती भनेको त नयाँ संविधानमा अधिकार सुरक्षित गराउने पो हो त । दलित शब्द उचित की अनुचित भन्ने चंगुलमा फस्नु हुन्न यो बेला । यसैमा अल्झिरह्यौँ भने गाडी छुट्छ, हामी जहीँको तहीँ !

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७१ ०७:०६:३९

http://setopati.com/blog/23905/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: