जागरण मिडिया सेन्टर

Home » विचार » दलितमा किन गरिब धेरै, बाहुनमा किन धनी धेरै ?

दलितमा किन गरिब धेरै, बाहुनमा किन धनी धेरै ?

दलितमा किन गरिब धेरै, बाहुनमा किन धनी धेरै ?

बहसमा वर्ग र जात

युरोपेली समाज र वर्ग

कार्ल मार्क्सले समाजमा देखिने आर्थिक विविध वा फरकपनलाई ‘वर्ग’ भनी किटान गरे । युरोपमा कहिल्यै पनि हिन्दू समाजमा जस्तो वर्णव्यवस्था (जातपात र छुवाछूत) भएन । युरोपमा निजी सम्पत्ति, राजकीय शक्ति र अन्य स्रोतसाधन कोसँग कति हुन्छ भन्ने कुराले मालिक/पुँजीपति, सामन्त/ठालु, हुनेखाने/पढ्नसक्ने वा कुन र कस्तो सामाजिक हैसियत भएको व्यक्ति हो भन्ने कुराको निर्धारण गर्दथ्यो । वर्गकै आधारमा श्रमक्षेत्र छनौट र गतिशीलतामा प्रतिबन्ध थिएन । पुँजीवादी समाजमा निजी सम्पत्तिको ठूलो हिस्सा केही निश्चित व्यक्ति वा पुँजीपतिसँगै रहने र अत्यधिक नाफा कमाउने बुर्जुवा, धनी, जमिन्दार, मध्यवर्गजस्ता वर्ग हुने तथा सम्पत्ति नहुने वा श्रम गरेर बाँच्नुपर्ने किसान, कलकारखानाका मजदुरचाहिँ सर्वहारा वर्गमा परिणत हुने तर्क मार्क्सले गरे । त्यसैले युरोपमा सम्पत्ति हुने र नहुनेको आधारमा दुई वा बहुवर्ग भयो । तर, हिन्दु समाजमा जस्तो बहुजात/बहुवर्ग त्यहाँ थिएन । मानवबीच यो गर्न हुने र नहुने, गर्नुपर्ने/गर्नुनपर्ने भन्ने हदसम्मको श्रम क्षेत्रमै प्रतिबन्ध थिएन । छुवाछूत थिएन । जन्म र वंशकै आधारमा ठूलो र सानो थिएन । पुँजीवादी समाजमा मात्रै होइन, दास युग र सामन्ती युगसमेतमा जातव्यवस्था नरहेकोले होला, मार्क्सले यसबारे कलम चलाएको पाइन्नँ ।

हिन्दु समाज वर्ग र जात

हिन्दु धर्ममा आधारित समाजमात्रै संसारमा त्यस्तो समाज हो, जहाँ मानिसको हैसियत कुन जातमा जन्मियो भन्ने कुराले उसको वर्ग र हैसियत निर्धारण गर्छ । हिन्दु समाजमा चोखो/नीच, छूत/अछूत, यो जातले यो गर्न पर्ने/नपर्ने, पढ्न पाउने/नपाउने, राज्यमा प्रतिनिधित्व गर्न पाउने/नपाउने, राज्यको सामाजिक नियम कानुन

/

दण्ड–सजाय जातमा आधारित घटी/बढी हुने, श्रम क्षेत्र र सामाजिक मूल्यमान्यताभित्र जातको अभेद्य परिधि हुने चलन छँदैछ । त्यस्तै, विवाह–बन्धन आफ्नै जात–समूहभित्र मात्रै गर्नुपर्ने, खानपिनमा चोखोनिधि बार्नुपर्ने, यो–योसम्मकाले छोएको खान हुने तर अछूतले छोएको कसैले खान नहुने, सबै जातको सेवक तल्लो जात/अछूतमात्रै बन्नुपर्ने जस्ता अनगिन्ती विशिष्ट समस्या चलिरहेकै छन् । हिन्दु समाजले भोग्दै आएका यी समस्या आर्थिक हैसियतले निर्धारण गर्ने माक्र्सको वर्ग विश्लेषण र युरोपियन समाजको चरित्रसँग मिल्दोजुल्दो छ र ?

हिन्दु समाजमा एउटा बाहुन र दलित गरिब हुनु भनेको के एउटै हो र ? दुवै गरिब हुँदाहुँदै पनि कुनै बाहुन र दलितले ब्यहोर्नुपर्ने अवस्था र पीडा एउटै खालको छ । नीच, अछूत, पढ्नै नपाउने, सम्पत्ति राख्नै नपाउने, राज्यका अंगमा प्रतिनिधित्व गर्नै नपाउने समस्याको प्रकृति एउटै खालको छ ? बाली/हलि/डोली प्रथा, सिनोफाल्ने, फोहोर/सरसफाइ पेसा गर्नुपर्ने स्थिति एउटै छ र ? छैन भने त्यसले निर्माण गर्ने ‘वर्ग विलोपीकरण’ दलितकोमा छिटो होला कि बाहुनकोमा ?

के आर्थिक हैसियत विभिन्न फलामे सिक्रीले बाँधिएको दलित र बाहुन गरिबको एउटै हुन्छ ? के एक रोपनी जमिन र खरले छाएको एउटै घर हुँदैमा हजारौं वर्षदेखिको विभेदकारी सामाजिक संरचना, सामाजिक सम्बन्ध र तहगत स्तरीकरणद्वारा फरक ढंगले हुर्काइएका बाहुन र दलित मनुवा एउटै हुन् ? त्यसैले मूलतः सम्पत्तिको आधारमा जन्मिएको युरोपियन ‘वर्ग समाज’को मार्क्सवादी व्याख्या र सम्पत्तिका अतिरिक्त थप विशेषता बोकेको दक्षिण एसियाली वा नेपाली समाजको ‘वर्णव्यवस्था’ (जातपात र छुवाछूत) एउटै हुनसक्दैन । त्यसैले जातव्यवस्था नभएको चारित्रिक विशेषता बोकेको युरोपियन समाजको वर्गीय व्याख्या दक्षिण एसियाको सवालमा अपुग/अधुरो वा मेल नखाने हुन्छ ।

हामीले बुझ्न जरुरी छ, हिन्दू समाजमा माथिल्लो जातमा जो छन्, उनीहरूको आर्थिक हैसियत कमजोर हुँदाहुँदै पनि उनीहरूले हजारौं वर्षदेखि सामाजिक प्रतिष्ठा, आत्मसम्मानले भरिएको उच्च मनोबल, राज्यसंरचनामा पहुँच, श्रमक्षेत्रको खुकुलोपन, सम्पत्ति राख्न पाउने अधिकार, पढ्ने–लेख्नेलगायतका अवसर भोग्दै आएका छन् । यसले गर्दा माथिल्लो तहमा रहेका जात–समूहहरूको आर्थिक हैसियत पनि कालान्तरमा माथि र अरुको तल पर्दै आएको छ । यस्तो स्थिति मार्क्सले युरोपमा देखेको–भोगेको–पढेको ‘वर्ग’सँग मेलै खाँदैन । त्यहाँ न वर्गले जात जन्मायो, न त त्यहाँको वर्ग कहिल्यै जात भयो । बरु, हिन्दु समाजको जात–व्यवस्थाले तल्लो, कमजोर वा गरिब रहेका सबै जात–समूहका वर्गलाई समेत कहिलै मिल्न दिएन र जातमा आधारित वर्गलाई मिल्नै नसक्नेगरी फुटाइरह्यो । त्यसैले हिन्दु समाजको हजारौं वर्षको इतिहास जातमा आधारित तहगत स्तरीकरणले निर्धारण गरेको वर्ग हो । वर्गले मात्रै निर्धारण गरेको जात होइन । ठिक त्यस्तै, नेपाली समाजको ‘वर्ग’लाई चिन्न जातलाई नबुझी सुखै छैन । किनकि यहाँ वर्गभित्र जात र जातभित्र वर्ग दुवै जेलिएको सामाजिक बनौट छ ।

माओवादी जनयुद्धले नेपाली समाजको समस्यालाई वर्गीय आँखाले मात्रै नहेरी जातीय, लिंगीय, क्षेत्रीय, धर्मीय आँखाले हेर्ने र सोहीअनुरूपको अभ्यास गर्ने प्रयत्न गर्यो । यो नेपाली समाजको चरित्रलाई बुझ्ने बहुआयामिक दृष्टिकोण हो । यसकै फलस्वरूप गणतन्त्रको घोषणापश्चात नेपाली समाजको अधिरचनामा, मूलतः राजनीतिक/प्रशासनिक क्षेत्रमा दलित, महिला, जनजाति, अल्पसंख्यकको प्रतिनिधित्व गर्न अन्य पार्टीसमेत बाध्य भए । यद्यपि यत्तिबेला स्थापित भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, राज्य पुनर्संरचनासहितका आर्थिक/सामाजिक रूपान्तरण के होला ? तिनले संवैधानिक निकासा पाउलान् वा ती धरापमै पर्लान्, हेर्न बाँकी छ ।

विडम्बना, नेपाली समाजको क्रान्तिकारी परिवर्तनलाई दिशा दिन सफल माओवादी यतिबेला राज्यसत्ताको केन्द्रभाग (सरकार)मा छैन । आफू सरकारमा हुँदा पनि उसले एउटै क्रान्तिकारी एजेण्डा पनि लागु गराउन सकेन । बरु, राज्यसत्ताको चरित्र फेरबदल गर्ने निर्णायक भूमिका खेल्ने बेला पहिलो संविधानसभामा आफ्नो उपस्थिति बलियो हुँदाहुँदै पनि ऊ निस्प्रभावी बन्यो र दोस्रो संविधानसभामा आउँदासम्ममा भयंकर विचलन र विघटनको दिशामा पुग्यो । यसमा उसको अन्य बाह्य कारणभन्दा पनि आफ्ना आन्तरिक कारण प्रबल बने ।

पार्टी, वर्ग विचलन र वर्गउत्थान

समाजशास्त्री प्रा.डा. तुल्सीराम पाण्डे भन्छन्, अरु पार्टीले त वर्गको राजनीति छाडेछाडे, माओवादीले समेत वर्गको राजनीति छोड्दै जाति/जनजाति, दलित, महिला, वर्ग, क्षेत्र, लिंगतिरको पपुलिष्ट राजनीति गरेकाले नेपाली समाजले निकासा नपाएको हो ।

तर, मलाई त्यस्तो लाग्दैन । सैद्धान्तिक रूपमा राप्रपाबाहेक कांग्रेस, एमाले, माओवादी सबै पार्टी गरिब वर्गीय पक्षधरकै राजनीति गर्ने हुन् । तिनको राजनीतिक दस्तावेजमा प्रजातान्त्रिक समाजवाद, समाजबाद र साम्यवाद शब्द जीवित छन् । तर, राज्यसत्ता परिवर्तन गर्ने भन्दै हिँडेका तिनका नेता/कार्यकर्ताका नीति र व्यवहारमा भने डरलाग्दो असंगति छ । कांग्रेस/एमालेले त पुरानो राज्यसत्तामा फेरबदलै नगरी आफ्नो पार्टीका निश्चित नेता/कार्यकर्ताको जीवनमा आमूल परिवर्तन (वर्ग उत्थान) गर्ने ‘उदार अर्थतन्त्र’को बाटो समाते । उनीहरूले आमूल परिवर्तनको एजेण्डा गायत्रीमन्त्र जप्दै पार्टीलाई चाहिँ पैसा कमाउने ‘राजनीतिक उद्योग प्रा.लि’मा परिणत गरे । सारमा यथास्थितिवादलाई संरक्षण गर्दै उनीहरू भुँडी भर्ने राजनीतिमा रमाए । शान्ति प्रक्रियापश्चताप ठिक यही दुर्दशामा माओवादी फस्यो । अझ यसको वर्ग विचलन कांग्रेस र एमालेको भन्दा पनि झनै डरलाग्दो र तीव्र बन्यो, जसले यसको विघटनलाई अवश्यम्भावी बनाइदियो ।

त्यसैले सबै राजनीतिक दलहरूले वर्गलाई छाडेर जातजाति, क्षेत्र, लिंग, धर्मको पपुलिष्ट राजनीति गरेकाले समस्या आएको होइन, बरु यसलाई ठिक ढंगले निकासा नदिनेकाममा गरेकाले समस्या बल्झिएको हो । यसमा पार्टीको नीति/कार्यक्रममा आएको वर्ग विचलन तथा नेता/कार्यकर्तामा आएको वर्ग उत्थानको भूमिका अहम् महत्वको रहेको देखिन्छ । मूल नेतृत्व गरिब, श्रमिक, दलित, किसान महिला, जनजातिका एजेण्डाबाट विमुख हुने, दलाल पुँजीपति, सामन्त, ठेकेदार र तस्करको संरक्षण गर्ने, महल, प्राडो–पजेरो, सुखसयल, भोगविलासीको संस्कृतिमा रमाउने तथा आर्थिक अपारदर्शीतामा बाँच्ने जीवनशैली देखिएको छ । त्यो भनेको ‘नयाँ नेपाल’को भ्रम बाँड्दै पुरानै व्यवस्थाको ‘शक्ति र सम्पत्ति’मा चुर्लुम्म डुब्ने वा त्यो गोलचक्करलाई तोड्न नसक्ने सम्झौतापरस्त, आत्मसमर्पणवादी/यथास्थितिवादी चिन्तन हो । यो प्रक्रियामा कांग्रेस–एमाले विस्तारै डुबे भने माओवादी छिटै डुबेर नराम्ररी विभाजन र विसर्जनतिर जाँदैछ । यसो हुनुमा बाह्य शक्तिको थोरबहुत हात त होला नै, तर त्योभन्दा बढी प्रमुखचाहिँ आफ्नै आन्तरिक कारण हो ।

अन्त्यमा

मार्क्सवादीहरूले भन्ने गरेअनुरूप यदि जात/जाति, धर्म, क्षेत्र, लिंगको समस्या वर्गकै अधीनस्थ रूप हो भने, वर्गीय मूल जरालाई संरक्षण गर्ने अधीनस्थ जरालाई सबैभन्दा पहिले काट्नुको विकल्प रहेन । तबमात्रै मूल जरो ‘वर्ग’ काट्ने प्रक्रिया अगाडि बढ्दै जाला । तर जब हिन्दु समाजमा वर्णव्यवस्था (जातपात र छुवाछूत) नै मूल जरो बनेर आउँदछ भने, यसले अनगिन्ती फूट, बहुजात, बहुवर्ग वा प्रवर्ग जन्माइरहेको छ भने कसरी जातव्यवस्था तोड्ने राजनीतिक पार्टीको कर्म पपुलिष्ट एजेण्डा वा ‘सहायक’ विषयमात्रै बन्दछ ?

मेरो विचारमा ‘जात–व्यवस्था’ दक्षिण एसियाको सवालमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, वैचारिक कमाण्ड गर्ने ‘मूल’ प्रणाली हो । भनौं, यहाँको ‘वर्ग’ नै ‘जात’ हो । त्यसैले नेपाली समाजको वर्गीय समस्यालाई हल गर्न जात–व्यवस्था तोड्ने नीतिलाई अँगीकार गर्नु भनेको पपुलिष्ट बन्नु होइन, बरु जात–व्यवस्थामा आधारित वर्गीय मेरुदण्डमाथि गम्भीर प्रहार गर्नु हो । जुन गाम्भीयर्तालाई माओवादीले थोरै भए पनि बुझेको थियो, तर त्यो जनयुद्धको लिस्नोमात्रै बन्यो । शान्तिप्रक्रियामा आएपछि मूलतः पहिलो संविधानसभाको विघटनसँगै आफ्नै पार्टीको विघटनसमेत व्यहोरेको माओवादीले यसलाई अलपत्र छाड्यो ।

पार्टी जन्मने र सिद्धिने भनेको निरन्तर चलिरहने प्रक्रिया हुन् । तर समाज परिवर्तनको मुद्दा के कति पूरा भयो, यो मुख्य पाटो हो । आगामी दिनमा वर्गीय राजनीतिको नाममा ‘वर्ग विचलन र वर्ग उत्थान’ गर्ने पार्टी र नेतृत्वमात्रै जन्मँदै जाने हो भने दक्षिण एसियाको जात–व्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय, धर्मीय समस्या झनै जटिल बन्दै जानेछन् । तर, समस्या जत्तिसुकै जटिल भए पनि परिवर्तन अवश्यम्भावी छ । संसारको विगत शोषण र विभेदबाट मुक्त नभएसम्म न्यायका लागि मानवसमाजले लडिरहेको इतिहास हो । यसलाई पार्टी विघटन र विचलनको यात्राले अधुरो, अपुरो र अलपत्र छोडे पनि इतिहासका खासखास मोडबाट किनारा लगाएरै छाडिएको छ । दास विद्रोहदेखि फ्रान्स, रुस, चीन हुँदै विश्वका विभिन्न ठाउँमा भएका क्रान्ति यसैका साक्षी हुन् ।

bkratna@yahoo.com

रत्न विके

वि.के. त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट समाजशास्त्रमा एमफिल गर्दैछन् ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: