जागरण मिडिया सेन्टर

Home » विचार » सबाल्टर्न र बौद्धिक बोसो

सबाल्टर्न र बौद्धिक बोसो

सबाल्टर्न र बौद्धिक बोसो

सत्य निरपेक्ष हुँदैन । सत्ताको आडमा टिकेको हुन्छ, सत्य । सत्ताधारीले आफूअनुकूल सत्यको निर्माण गरेको हुन्छ । तर सत्ताधारीको रथ ज्ञानको पैँयामा अडेको हुन्छ । त्यसैले दार्शनिक नित्से भन्छन्– ज्ञान नै सत्ता हो अर्थात् नलेज इज पावर । जब जिन्दगीसँग जोडिएका सवाललाई तथ्यपरक ढंगले गभ्मीर रुपमा व्याख्या विश्लेषण गरिन्छ, तब नयाँ ज्ञानको उदय हुन्छ । फ्रान्सेली विद्वान मिसेल फूकोका अनुसार यसप्रकारको ज्ञान निर्माणको प्राज्ञिक कार्य अर्थात ‘डिस्कोर्स’का माध्यमबाट नयाँ सत्य पहिल्याउन सकिन्छ, जसले सत्ताधारीको सत्ता पल्टाइदिन सक्छ ।

Taralal

ज्ञान, सत्य र सत्ताको यो सम्बन्ध जातीय विभेदको जंजीरले बाँधिएका दलित समुदायको मुक्तिका लागि महत्वपूर्ण आधार बन्न सक्छ । नयाँ ज्ञानको उदयसँगै नयाँ सत्य पनि उद्घाटित हुन्छ, जसले नयाँ सत्ताको निर्माणसमेत गर्दो रहेछ भन्ने कुरा हामीले तीन दशकयता हाम्रै देशमा भएका राजनीतिक परिवर्तनबाट पनि बुझ्न सक्छौं । ज्ञानका माध्यमबाट राजनीतिक सत्तामा परिवर्तन सम्भव छ भने जातीय विभेदबाट मुक्ति किन सम्भव छैन ? अवश्य छ । यसका लागि एउटा गतिलै डिस्कोर्सको जरुरी छ । तारालाल श्रेष्ठको हालै प्रकाशित ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमान’लाई यसै सन्दर्भमा हेर्न सकिन्छ ।

सबाल्टर्नका विषयमा विद्यावारिधि गरेका डा. श्रेष्ठको विचारमा दलितहरु पनि सबाल्टर्नै हुन्– ‘अनेक आयामबाट सबैभन्दा पीँधमा हुत्याइएका, बहिष्कृत, सीमान्तकृत, आवाजविहीन, इतिहासविहीन र शक्तिविहीन असंगठित समुदाय’ (पृ. २७) । सबाल्टर्न अभियन्ताहरुका विचारमा सबाल्टर्नहरु बोल्न सक्दैनन् किनकि तिनीहरुसँग बोल्नका लागि चेतना नै हुँदैन । तिनीहरु निरीह हुन्छन्, पराधीन हुन्छन्, अधीनस्थ हुन्छन् र आफ्ना लागि लड्नुभन्दा पनि मालिकको स्वार्थका लागि आफूलाई समर्पण गर्नुमा नै आफ्नो हित देख्छन् । आफ्नो लागि बोल्न न त तिनीहरुसँग ‘एजेन्सी’ नै हुन्छ, न त ‘स्पेस’ नै । त्यसैले मार्क्स, ग्राम्ची, स्पीवाकको उदाहरण दिँदै लेखक ‘एकेडेमिक एक्टिभिज्म’का लागि आव्हान गर्छन् । भन्छन्– ‘…सबाल्टर्नप्रति समर्पित सामूहिक बौद्धिक हस्तक्षेपले ठूलै प्रभाव पार्न सक्छ । उत्पीडित समुदायप्रति समर्पित बौद्धिक व्यक्तित्व एकै ठाउँमा उभिएर सामूहिक अभियान थाल्नु अपरिहार्य छ’ (पृ. २९) ।

दलितहरु कसरी सबाल्टर्न हुन् र तिनका लागि किन बोल्नुपर्छ भन्ने विषयलाई अर्थ्याउन डा. श्रेष्ठले दलितसम्बद्ध सन्दर्भ–सामग्रीको आधारमा मात्रै नभई आफ्नै जिन्दगीका अनुभूति तथा विभिन्न व्यक्तिसँगका भलाकुसारीसमेत उल्लेख गरेका छन् । दलित बस्ती, भुटानी शरणार्थी शिविरलगायत अक्स्फोर्ड र जवाहरलाल नेहरु विश्वविद्यालयसम्मका संस्मरण उल्लेख गरेका छन् । यसबाट उनले एकातिर गैरदलित, खासगरी बाहुनहरु संस्कारको सत्ताले लादेको जातीय भेदभावलाई कसरी धु्रवसत्य ठान्दछन् भन्ने देखाएका छन् भने अर्कोतिर दलितहरु कसरी निम्छरो जीवन बाँचिरहेका छन् भन्ने चर्चा गरेका छन् । हाम्रो दिमागमा जातीय उँचनीचको भाव कतिसम्म भरिएको छ भने विश्वविद्यालयमै प्राध्यापन गर्ने गैरदलित भए पनि दलितका विषयमा चर्चा गर्नुलाई मात्रै पनि जातै गिरेको ठान्ने गरेको लेखकले चर्चा गरेका छन् । सामाजिक संस्कारमात्रै होइन जातीय विभेदको अर्थराजनीति झन् सारो सन्त्रासमय छ । दलित समुदायको सामाजिक समावेशीकरणका लागि लागू गरिएको आरक्षणलाई गैरदलितहरुले आफ्नो भाग खोसिएको अर्थमा बुझेका छन्, त्यसैले आरक्षणलाई विफल बनाउन या त दलितको क्षमतालाई सोझै नजरअन्दाज गरिन्छ या त फेरि उनीहरुको आत्मबललाई कमजोर बनाउन अनेक जालझेल गरिन्छ । भारतीय विश्वविद्यालयमा चिकित्साशास्त्रको अन्तिम वर्षमा अध्ययनरत एक दलित विद्यार्थीलाई उनैका गुरुले भेदभाव गरेर फेल गरेपछि उक्त विद्यार्थीले आत्महत्या नै गरेको उदाहरण पेस गर्दै डा. श्रेष्ठले हाम्रो समाजमा व्याप्त जातीय पूर्वाग्रहलाई उजागर गरेका छन् । देशै त्यागेर समुद्रपार गएको भए पनि गैरदलितहरु छुवाछूत त्याग्न सक्दैनन् भन्ने कुरा पनि राम्ररी चर्चा गरिएको छ ।

जातीय श्रेष्ठतालाई नै अन्तिम सत्यमान्नेहरु अझ बढी क्रुर बन्दै गइरहेको सन्दर्भमा दलितहरु भने झन्—झ्न निम्छरा देखिन्छन् डा. श्रेष्ठको विश्लेषणमा । दलितहरुले संगठित रुपमा जातीय विभेदविरुद्ध आन्दोलन गर्न थालेको सत्तरी वर्ष पूरा भइसक्दा पनि यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन सक्ने नेता जन्मिन सकेका छैनन् । अगाडि आएका दलित अगुवाहरुसमेत कोही सत्ताधारीले आफ्नो सत्ता जोगाइराख्न फालेको प्रलोभनको पासामा परेर हराए भने कोही अवसर नपाएर गुमनाम भए । केही सक्रिय नेताहरु पनि जात, उप—जात, राजनीतिक आस्था आदिको बहानामा आपसी द्वन्द्वमा लिप्त देखिन्छन् । एकथरी अगुवाहरुले त दलित शब्दकै कारण उनीहरु पछि परेको निष्कर्ष निकालेका छन्, मानौं कि दलित शब्दको साटो ‘शिल्पी’ राखियो भने उनीहरुको पहिचानै फरक हुन्छ । शब्दले मुक्ति दिन्थ्यो भने त गान्धीले उहिले भगवानका सन्तान भनेर ‘हरिजन’ नाम जुराइदिएकै थिए । नेपालमा पनि त आफ्नो थर ‘नेपाली’, ‘पुजारी’ आदि राख्ने गरेकै हो, तर नेपाली दलित समुदाय आफूलाई मान्छे हुँ भनेर प्रमाणित गर्न लडाइँ लडिरहेका छन् । दलित प्यान्थरलगायत विभिन्न दलित आन्दोलनको चर्चा गर्दै यो शब्दलाई आन्दोलन र मुक्तिको प्रतिविम्बका रुपमा लिनुपर्ने डा. श्रेष्ठको सुझाव मननीय छ ।

दलित आन्दोलनले अपेक्षित उपलब्धि पाउन नसक्नुका पछि अन्य कारणका अतिरिक्त उनीहरुबीचको आपसी झगडा पनि हो भन्ने कुरालाई डा. श्रेष्ठले ससन्दर्भ विस्तृत व्याख्या गरेका छन् । केही दलित वुद्धिजीवीबीच इमेलमा गरिएको विवादलाई लेखकले पुस्तकमा समेटेका छन्, जुन पुस्तकको उद्देश्यका हिसाबले आवश्यक हो जस्तो लाग्दैन । पहिलो, यो विवादले समग्र दलित आन्दोलनलाई प्रतिनिधित्व गर्दैन । दोस्रो, बौद्धिक व्यक्तिहरुबीच आलोचना—समालोचना हुनु अस्वाभाविक पनि होइन । घटनाको एउटा पक्षलाई मात्रै हेरेर दलितभित्र फुटैफुट छ भनेर लेखिरहँदा संगठित दलित आन्दोलनको ७० वर्षमा भएका संयुक्त संघर्ष र त्यसले प्राप्त गरेका उपलब्धिलाई अन्याय हुन्छ । अहिलेका उपलब्धि संयुक्त दलित आन्दोलनकै देन हो, जसलाई नजरअन्दाज गरिएको छ । ‘पराधीन सबाल्टर्न जुट्नेभन्दा फुट्ने आधारमात्रै देख्छन्’ (पृ. २७) भन्ने भनाइ प्रमाणित गर्न नै यस्ता प्रसंग उठाइएको देखिन्छ, जसले पुस्तकलाई नै हलुका बनाउन सक्छन् । यसो भन्दा दलित आन्दोलनमा देखिएका विकृति बाहिर ल्याउनु हुँदैन भन्न खोजिएको होइन । दलित आन्दोलनभित्र अन्तरद्वन्द्व पनि छ, यसका पछाडि विभिन्न कारण हुन सक्छन् । त्यसको खोजी गर्नु र तथ्यपरक विश्लेषण गर्नु प्राज्ञिक जगतको पनि काम हो । तर, केही घटनालाई सामान्यीकरण गरेर वा सकारात्मक पक्षलाई नजरअन्दाज गरेर गरिएको विश्लेषण एकाङ्कीजस्तो पनि देखिन्छ ।

दलित आन्दोलनका अतिरिक्त सामाजिक सचेतनाको अभियान, मिडिया, लैंगिक बहस, साहित्य, मनोरञ्जन, र राजनीतिक आन्दोलनमा दलितको उपस्थिति र प्रतिनिधित्वलाई समेत छुट्टाछुट्टै भागमा सविस्तार चर्चा गरिएको छ, यस पुस्तकमा । सामाजिक अभियानबारे छलफल गर्दा भारतीय र नेपाली उदाहरणलाई समेत उल्लेख गरिएको छ जहाँ रामकृष्ण परंहस, विवेकानन्द, कविर, ज्योतिराव फूले, अम्बेडकरदेखि सन्त ज्ञानदिलदास, योगमाया तथा विभिन्न दलित संघसंस्थाले चलाएको सामाजिक परिवर्तनका प्रसंगलाई समेटिएको छ । मिडियामा दलितहरुको अवस्था र प्रतिनिधित्वको चर्चा गर्दा पनि भारतीय र नेपाली सन्दर्भलाई जोडिएको छ, जसका आधारमा मिडिया दलितमैत्री हुन नसकेको लेखकले विश्लेषण गरेका छन् । दलित महिलासम्बन्धी विश्लेषण गर्दा यसअघि प्रायः चर्चा नगरिएको ‘मुलक्करम (स्तनकर)’को उल्लेख गरिएको छ । दुई शताब्दीअघि दक्षिण भारतको केरलामा प्रचलित यस व्यवस्थाअनुसार दलित महिलाहरुले आफ्नो वक्षस्थल ढाक्न राज्यलाई कर तिर्नुपर्थ्यो । यसको विरोधका लागि नंगेली नामक एक दलित महिलाले आफ्ना दुवै स्तन काटेर राज्यलाई बुझाएकी थिइन्, जसलाई लेखकले ‘दलित आन्दोलनकी आमा’का रुपमा चित्रण गरेका छन् । लेखकको आफ्नो विषय भएर पनि होला दलित साहित्य र सौन्दर्यशास्त्रबारे उनले गरेको विश्लेषण तुलनात्मक रुपमा खँदिलो लाग्छ । जनजागरणका लागि गाइएका गीत, कवितादेखि दलित र गैरदलितका दर्जन बढी सृजनाका साथै अनुवादबारे आलोचनात्मक चर्चा गरेका छन्, लेखकले । चलचित्र र प्रस्तुतिकलाबारे समेत भारत र नेपालका केही उदाहरण प्रस्तुत गरिएको छ, जहाँ दलितहरुको विषय निराशाजनक ढंगले उठाइएको लेखक बताउँछन् । तर, नेपालमा निर्माण भएको र दलित साहित्य तथा चलचित्रबारे अध्ययन, बहस, छलफल हुँदा छुटाउनै नहुने टेलिचलचित्र दलनबारे भने उनको विश्लेषण छैन ।

यी विषयबारे लेखकले वास्तवमा मिहेनतपूर्वक विभिन्न सन्दर्भ–सामग्री जुटाएर चर्चा गरेका छन्, जसको कदर गर्नुपर्छ । तर सन्दर्भ–सामग्रीको अधिक प्रयोग कहिलेकाहीँ दुरुपयोग पनि बन्न पुग्छ, खासगरी तिनले लेखकको आफ्नो दृष्टिकोणलाई नै ओझेलमा पारिदिए भने । सन्दर्भ–सामग्रीलाई लेखकले प्रयोग गर्नुको साटो लेखकलाई नै उल्टो प्रयोग गरिदिए भने बहकिने डर हुन्छ । यस पुस्तक पढ्दा पनि त्यो आभाष हुन्छ । पुस्तकमा विभिन्न विषयमा पक्ष–विपक्षमा उठेका मुद्दालाई उनले सन्दर्भ–सामग्रीका रुपमा प्रयोग गरेका छन् । तर, धेरैजसो अध्ययन पढ्दा लेखकको विश्लेषणचाहिँ के हो भन्ने खुट्याउन सकिँदैन । सन्दर्भ–सामग्रीलाई थुप्य्राउने मात्रै काम भएको छ, विश्लेषणचाहिँ देखिँदैन । लेखकको पोजिशन के हो भन्ने पनि छुट्टिँदैन ।

पुस्तकको सुरुमा दलितमाथिको जातीय अत्याचार लेखकलाई साह्रै बिझेको जस्तो देखिन्छ, यसको अन्त्यका लागि लेखकले आफूलाई पुस्तकभरि नै क्रान्तिकारी राख्ने प्रयास गरेका छन् । तर, उनी आफैले कूटनीतिक भाषामा एक दलित युवकलाई ‘हेर्दा दलितजस्तो नदेखिने’ भनेर दलितहरुको शारीरिक रुपलाई अवमूल्यन गरेका छन् । त्यस्तै उनले कवि श्रवण मुकारुङका मुखबाट दलितहरुको संस्कार ‘दिने नभई हात थाप्ने’ भन्ने कुरा भनाएका छन् । यसले लेखक स्वयं दलितबारे के सोच्छन् भन्नेबारे भ्रम सिर्जना गरेको छ । त्यसरी नै कतिपय सन्दर्भ असान्दर्भिक लाग्छन्, जस्तो कि ‘सामाजिक आन्दोलनको सेरोफेरो’को चर्चा गर्दा उनी राजा राममोहन रोय, रामकृष्ण परंहस, अम्बेडकर, दलित प्यान्थर आदिबारे चर्चा गर्छन् र अपर्झट लुइस डुमोको होमो हाइर्राकस किताबको प्रसंग उठाउँछन् जो सान्दर्भिक लाग्दैन ।

जातीय विभेदबारे अधिकाधिक जानकारी दिन खोजेको भए पनि लेखकले यसलाई सिलसिलेवार रुपमा प्रस्तुत नगरी मिसमास गरेकाले पाठकलाई अन्योल बनाउँछन् । त्यसरी नै थुप्रै पटक प्रसंग दोहोरिएका छन् । दलित शब्दबारे धेरै वटा अध्ययनमा उस्तै–उस्तै खालको प्रसंग दोहोर्‍याइएको छ । यसरी आएका प्रसंगले पुस्तक पढ्न झण्झटिलो बनाएका छन् । अनुसन्धान मूलतः प्रक्रियामा निर्धारित हुन्छ, प्रक्रियालाई भन्दा परिणामलाई जोड दिने लेखकको दृष्टिकोणका कारण पनि हुनसक्छ प्रसंगहरु असरल्ल छरिएका छन् ।

सन्तुलन वस्तुगत लेखनमा अत्यावश्यक तत्वका रुपमा लिइन्छ । तर विषयवस्तुमाथि लेखकले गरेको विश्लेषणमात्रै होइन लेखक स्वयंले समेत आफूलाई सन्तुलनमा राख्न नसकेको प्रतीत हुन्छ, यस पुस्तकमा । सामाजिक चेतनाका अभियानबारे विश्लेषण गर्दा उनले गैरदलितबारे जति चर्चा गरेका छन्, त्यति दलित अभियन्ताहरुबारे गरेका छैनन् । योगमायाबारे छुट्टै च्याप्टर छ भने दलित अभियन्ताहरुको केवल नाममात्रै । चर्चा गरिएका दलित अभियन्ताहरुलाई पनि बढी त आलोचनाकै लागि प्रस्तुत गरिएको छ । जस्तो कि सर्वजितले ‘टोक्नु न बोक्नु’को जनै लगाएर बाहुन बन्न खोजेको, रुपलाल पलायनवादी भएको आदि । विगतलाई तत्कालीन आँखाले हेर्ने वा तत्कालीन सन्दर्भबारे विश्लेषण नगरी वा विषयवस्तुको गम्भीरतालाई भन्दा कसैले गरेको हल्का विश्लेषणका आधारमा गर्ने भन्ने बारेमा लेखक पनि बहकिएको देखिन्छ । भारतीय चिन्तकहरुबारे आलोचक नदेखिएका लेखक समसामायिक नेपाली दलित लेखकहरुबारे भने बढी नै आलोचक देखिन्छन् । सरोज दिलुले टिआर विश्वकर्माबारे लेखेको जीवनीलाई ‘स्वस्फूर्त नभई सुनियोजित’ भएको आरोप लगाएका छन्, जसलाई उनले पुस्तकमा पुष्टि गर्ने आधार दिन सकेका छैनन् । सुभाष दर्नालको स्मृतिग्रन्थलाई ‘अतिरञ्जित’ भनेका छन् । मनोहर बमरेलको ‘दलित मुक्ति कसरी हुन्छ’ नामक पुस्तकलाई अर्ति–उपदेशले भरिएको ‘भद्दा पुस्तक’का रुपमा चर्चा गरेका छन्, जसले ‘कागज मसीको नास र बनविनास’मात्रै गर्छ । यसका अतिरिक्त गैरदलितहरु एस्सेन्सियल्ली परपीडक हुन् र दलितहरु एस्सेन्सियल्ली पराधीन हुन् भन्ने उनको विश्लेषण पनि आग्रहपूर्ण छ ।

वास्तवमा दलितले भोग्दै आएको भेदभाव दलितलाई मात्रै होइन, यसले गैरदलितलाई पनि पिरोलेको छ । त्यसैले दलितबारे गैरदलितले लेख्नु र बोल्नुपर्छ, त्यसको विशिष्ट महत्व छ । साथसाथै त्यसरी बोल्दा या लेख्दा त्यो आग्रहपूर्ण भने हुनु हुँदैन । दलितसम्बन्धी लेखनीको अध्ययन गर्दा अधिकांश लेखकले दलितलाई या त अत्यन्तै कमजोर वर्गका रुपमा चर्चा गरी उनीहरुमाथि सहानुभूति राख्ने गरेको पाइन्छ या फेरि अर्ति–उपदेश दिएको पाइन्छ । दुवै प्रवृत्ति गलत हुन् । त्यसो त राजनीतिशास्त्रका प्राध्यापक गोपाल गुरुले भनेझैं अभिव्यक्तिको संरचना पनि सामाजिक संरचनाभन्दा बाहिर हुँदैन । उनका अनुसार समान आधारमा बोल्ने अर्थात ‘टकिङ टु’ भन्दा पनि दलितका सवालमा या त उनीहरुलाई सन्दर्भबाटै बाहिर राखेर उनीहरुबारे बोलिदिने (टकिङ फर) गरिन्छ या त फेरि उनीहरुलाई आफूभन्दा तल राखेर अर्ति–उपदेश दिने (टकिङ डाउन) गरिन्छ । हिजोआज त गफगाफ गर्ने (टकिङ अबाउट) कार्य नै बलियाहरुको हतियार बन्न पुगेको छ, जसलाई सबाल्टर्नहरुको हतियार पनि भनिन्छ । बौद्धिकहरुको लेखनीले आग्रह–पूर्वाग्रहबाट माथि उठेर निस्पक्ष रुपमा वस्तुगत ढंगले समस्याको समाधान खोज्न सघाउनुपर्ने हो, जुन नेपाली दलितका सवालमा अति कम छ । दुर्भाग्यवश डा. श्रेष्ठको यस पुस्तकले यस कमीलाई पूरा गर्न सक्ने देखिँदैन ।

जातीय विभेद सामाजिक संरचनासँग गहिरो गरी जकडिएको छ जसलाई सत्य मान्नेहरुले यसमा कुनै समस्यै देख्दैनन् । उनीहरुलाई विभेद विभेदजस्तो नै लाग्दैन, बरु यसो गर्नुलाई उनीहरु आफ्नो जन्मसिद्ध अधिकार ठान्छन् । त्यसैले मान्छेहरुले मानिआएको यसप्रकारको सत्य र त्यसैको जगमा अडेको सत्तालाई पल्टाउन गतिलै संकथनको जरुरी छ भनिएको हो । यो नेपाली दलित अभियन्ताहरुका लागि निकै ठूलो चुनौती हो । डा. श्रेष्ठको ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमान’लाई यही चुनौतीको सन्दर्भमा हेर्न सक्ने हो भने जातीय मुक्तिको संकथनमा नयाँ लहर आउन सक्छ ।

अनुसन्धानकर्ता ख्याम विश्वकर्मा आत्मसम्मान अभियान (डिग्निटी इनिसियटिभ) सँग सम्बन्धित छन् ।

esamata.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: