जागरण मिडिया सेन्टर

Home » पत्रपत्रिकामा आज » पसिना चुहाउनेलाई फुर्सद छैन

पसिना चुहाउनेलाई फुर्सद छैन

फाल्गुन २५ डोटी,

बाइस वर्षीया सीता विकको सहारा भन्नु कोही छैन । वृद्ध आमाको पालनपोषणको जिम्मेवारी उनकै काँधमा छ । एक वर्ष अघिमात्र उनले दिपायल विमानस्थलमा सिलाइकटाइ पसल खोलेकी छन् ।

रातदिन कपडा सिलाउनमै व्यस्त हुन्छिन् । काम चटक्क छाडेर सदरमुकाममा मनाउन लागिएको नारी दिवसमा सहभागी हुने फुर्सद उनलाई भएन । प्लस टु पढिरहेकी सीतालाई ठूलाबडालाई बोलाएर सदरमुकाममा मनाइने नारी दिवस फजुलको लाग्छ ।

आजीवन एक्लो जीवनयापन गर्ने दृढताका साथ पसिना चुहाउँदै गरेकी भेटिन्छिन्, सिलगढीकी ३३  वर्षीया लता जोशी पनि । ३ सरकारी कार्यालय र आधा दर्जनभन्दा बढी संघसंस्थामा काम गरेर विरक्तिएकी जोशी अहिले विकसँगै सिलाइकटाइ पसलमा व्यस्त हुन्छिन् ।

उक्त पसलमा दुवैको साझेदारी छ । ‘महिलाले गरे के हुन्न’ भन्ने आँटका साथ श्रम गरिरहेका यी दुवैका लागि नारी दिवससँग खासै चासो छैन । ‘नाराजलुस, होहल्ला र अधिकारका कुराले मात्र महिलाको हित हुँदैन,’ अधिकारका क्षेत्रमा काम गरेको अनुभव बटुलेकी जोशीले भनिन्, ‘महिलाका समस्या के छन्, के सहयोग चाहिन्छ भन्नेतर्फ दिवसका दिन पनि सोचिँदैन, खोइ अहिलेसम्म सीताजस्ता निम्न वर्गीयलाई जीवन जिउने बाटो देखाउन सकेको ?’

३६ वर्षीया कमला खड्का कुटानी पिसानी मिलमा श्रम गरिरहेकी भेटिइन् । सामान्य लेखपढ गरेकी उनलाई सन्तानको पढाइ खर्च जुटाउने चिन्ताले छोपेको हुन्छ । बोरा उठाएर मिलको घानमा हाल्दा उनी त्यसै गलेकी हुन्छिन् । नारी दिवस कहिले मनाइन्छ भन्नेबारे वास्ता छैन । ‘डटेर मिहिनेत गरेकी छु, श्रीमान्लाई आड भरोसा दिएकी छु,’ उनले भनिन्, ‘आत्मनिर्भर भए कसैले हेप्न सक्दैन, त्यसका लागि पो नारी दिवसलाई उपयोग गर्नुपर्छ त ।’

अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा भेटिएका उनीहरूलाई भाषणभन्दा श्रम प्यारो छ । श्रम गरेर आत्मनिर्भर भए पुरुषसरह जीवनयापन गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि छ । उदाहरणीय काम गरेका नारीहरूलाई दिवस अवसरमा प्रोत्साहनको प्रयास कमै भएको पाइन्छ । ‘जानेसुनेका सचेत महिलाका बीचमा मात्रै नारी दिवस मनाइने गरेको छ,’ एक अधिकारकर्मीले भनिन् ।

डोटीमा महिला साक्षरताको अवस्था नाजुक छ । ०५८ को जनगणनाअनुसार ३३ र ०६८ मा ५२ प्रतिशत महिलामात्र साक्षर देखिएका छन् । अल्पकालीन सेवा केन्द्रमा गत वर्ष महिला हिंसाका घटना १ सय १४ र चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ६८ वटा दर्ता भएका छन् । ‘बाध्यात्मक परिस्थितिले परम्परागत रूपमा नारी दिवस मनाइने गरिएको छ,’ निमित्त महिला विकास अधिकृत सविना श्रेष्ठले भनिन्, ‘महिलाका क्षेत्रमा थुप्रै काम गर्ने चाहना हुँदाहुँदै पनि गर्न सकेका छैनौं ।’

‘काम नगरे चुलो बल्दैन’

पाल्पा 

चिर्तुङधारा घोरबन्दाकी तुलसी कुमाल आइतबार दिनभर घर बनाउने काममा व्यस्त थिइन् । दिउँसो काम नगरे साँझ उनको घरमा चुलो बल्दैन । तीन सन्तान र पतिको जिम्मेवारी उनैमा छ ।

‘श्रीमान् कमाइ गर्न नसक्ने भइसक्नुभएको छ,’ उनले भनिन्, ‘छोराछोरी पनि कमाइ गरी आफैं खान सक्ने भएका छैनन् । मैले दिनभर कमाएर लगेपछि चुलो बल्ने हो ।’ कुमालमात्र होइन, चापपानीकी फनि नेपाली तानसेनको सिल्खानटोलमा घर बनाउने काममा व्यस्त थिइन् । दिउँसो घाममा असिनपसिन हुँदै इँटा बोकेकी नेपालीलाई एक दिन बिदा हुँदैन । ‘बिदा लिए हातमुख कसरी जोर्नु,’ उनले भनिन् । उनको कमाइमा निर्भर ४ सदस्य छन् ।

उनीहरूजस्ता दैनिक ज्यालामजदुरीमा काम गर्नेहरूलाई साँझको छाक टार्ने मात्र चिन्ता छ । ‘नाराजुलुस गर्न गयो भने साँझ परिवारको झगडा हुन्छ,’ नेपालीले भनिन्, ‘काम गर्नेलाई कामैको चिन्ता छ । कसले बोल्छ र हाम्रा लागि ?’ ‘जो पनि आफ्ना लागि बोल्ने हुन्,’ चिर्तुङधाराकै विनिसरा कुमालले भनिन्, ‘हाम्रो पक्षमा कोही बोलेर के हुन्छ, नगरी खान पुग्दैन ।’ तानसेनमा यस्ता श्रमिक महिला ३ सयभन्दा बढी छन् । उनीहरूको दैनिकी इँटा, बालुवा, छडसँगै बित्छ । बजारमा घर बनाउने कामदार अधिकांश महिला नै हुन्छन् । छिमेकी गाउँका विपन्न महिला दैनिक तानसेन आएर ज्यालामजदुरी गर्छन् । तिनले श्रमअनुसारको मूल्यसमेत पाउँदैनन् ।

‘दिनभरि कमायो साँझ खाँदा ठिक्क हुन्छ,’ चिर्तुङधाराकै नैनीसरा कुमालले भनिन्, ‘महिलालाई काम पाउनै अप्ठ्यारो हुन्छ । पाए पनि पुरुषको भन्दा ज्याला धेरै कम दिन्छन् ।’ उनका अनुसार पुरुषलाई एउटै कामको ३ सय ५० रुपैयाँ दिइन्छ । महिलाले २ सय मा पाउँछन् । घर बनाउने काममा ढुंगा, माटो, पानी र इँटा बोक्न महिलालाई लगाइन्छ । कतिपय महिला बसमा आउने यात्रुको सामान पुर्‍याउने र घरका सामान पुर्‍याइदिने काम खोज्छन् ।

प्रकाशित मिति: २०७१ फाल्गुन २५ १०:५५

http://www.ekantipur.com/np/2071/11/25/full-story/405084.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: