जागरण मिडिया सेन्टर

Home » विचार » एक पूर्वजनसेनाको बकपत्र : लडेर के गुमाएँ? नलडेर के पाएँ?

एक पूर्वजनसेनाको बकपत्र : लडेर के गुमाएँ? नलडेर के पाएँ?

विष्णु परियार

चैत ११, जागरण मिडिया सेन्टर ।

X_pla

नाम विष्णु परियार । पार्टीमा शक्ति भन्छन् । पछि आमाले नि विष्णु भनिनन् । शक्ति भन्छिन् । आमालाई विष्णुप्रति लगाव छैन । बाले न विष्णु भन्छन्, न शक्ति !  माइलो भन्छन् ।  घर कालिकोट पर्छ । ५ जना दाजुभाइ छन् । म माइलो । दिदीबहिनी तीन’टी ।

२०५६ सालमा स्कुल पढ्दापढ्दै नेकपा (माओवादी) मा लागें । सुरुमा गाउँस्तरमा सामान्य कार्यकर्ता भएर काम गरें । पछि सांस्कृतिक टिममा कलाकार भएर काम गर्दै जनमिलिसिया भएँ । भूमिगतकालको करिव २ वर्ष यसरी नै जनतासँगै बिताएँ ।

पार्टीले जनमुक्ति सेनामा पठायो । त्यतिबेला लड्नु र मर्नुको खास अर्थ थियो । ठ्याक्कै ख्याल छैन, मलाई लाग्छ–३० भन्दा बढी मोर्चाहरुमा लडाइँ लडें हुँला । तीनवटा मोर्चामा घाइते भएँ । पार्टीले नै उपचार गर्‍यो ।

उतिबेलाका केही गोली र बमका छर्राहरु अहिले पनि बाँकी छन् । टाउकोमा छर्रा छ । उतिबेला निकाल्न मिलेन, अहिले–कसले निकालिदिने ? हातमा चोट छ । पेटको अप्रेसन गरिएको छ । शरीर धुजाधुजाजस्तो भा’को छ ।

पार्टीले शान्ति प्रक्रियामा भाग लियो । पार्टीका उच्च तहका सबै नेताहरु काठमाडौं आए । म पनि जनमुक्ति सेनाको हेडक्वार्टरमा उदयबहादुर चलाउने ‘दिपक’ को स्टाफका रुपमा काम गर्दागर्दै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काठमाडौं आइपुगें ।

लाग्छ– लड्नेहरु र मोर्चामा सहिद भएका सहयोद्धाहरुका आफन्तहरुले के भन्लान् ?

त्यतिबेला प्रचण्डको वरिपरी सारा दुनियाँ थियो झैं लाग्थ्यो । करिब अढाई वर्ष उनको अंगरक्षकका रुपमा काम गरिसकेपछि राज्यतर्फको सुरक्षामा मात्रै उनलाई राखिने भयो । हाम्रो सुरक्षाटोली फिर्ता भयो । चितवनको शक्तिखोरस्थित तीन नम्बर डिभिजनमा स्थानान्तरण भएर गएँ । म कम्पनी सहायककमान्डर थिएँ ।

एक मन भन्छ– लाऊँलाऊँ–खाऊँखाऊँ भन्ने बेलाको त्यो समय अनि भीषण लडाइँबाट फर्किएको नाफाको यो जिन्दगी । यो त नाफाको जीवन हो– जसरी बिताए पनि हुन्छ । तर, यो मन मान्दैन ।

लाग्छ– लड्नेहरु र मोर्चामा सहिद भएका सहयोद्धाहरुका आफन्तहरुले के भन्लान् ?

१८–२० वर्षको त्यो समयमा समाज रुपान्तरणका लागि भनेर खर्चिएँ । जीवनको एउटा महत्वपूर्ण समय युद्ध र आन्दोलनमा बिताएँ । तर मैले के पाएँ ? प्रश्नको उत्तर त्यति सजिलै छजस्तो लाग्दैन ।

सँगैका साथीभाइहरु कति रोजीरोटीका लागि विदेशिए । कति युद्धमै लागे । युद्धमा लागेकामध्ये कतिले शहादत प्राप्त गरे । रहेका कति साथीहरु पनि विदेशिएका छन् । सोच्छु– यी चित्रहरु झैं आँखामा घुमिरहन्छन्, म बाँचुन्जेल ।

युद्धकालमा शाही नेपाली सेनाले घरमा गएर आमा र बहिनीलाई चरम यातना दियो । घरपरिवार, आफन्त, नातागोता– सबैलाई म माओवादी भएकै कारण बसिखान दिइएन । तर, पनि अधिकार प्राप्तिका लागि भनेर लागिसकेपछि यस्तो पीडाले झनै त्यो बाटोबाट अगाडि बढ्ने आक्रोश सिर्जना गर्यो ।

लाग्छ–
त्यत्रो युद्ध लडियो । घरपरिवार र आम मानिसहरुको जीवन अझै पनि फेरिएको छैन । रोजीरोटीको आधार पनि गुमाइयो । जीवन पूरै आधि भएको छ । पढाइ पनि बिगारियो । टोलछिमेकका दाजुभाइ परदेश गए, घरजम गरे । तर, म ती सबै चिजहरुबाट पनि टाढिएँ ।

फेरि लाग्छ–
आखिर के गुम्यो त मेरो ? के गुमाएँ ? पढ्थें कि पढ्दैनथें ? विदेशिन्थें कि यतै हल्लिन्थेंहुँला म ! भीरबाट चिप्लिएर यही आधा जीवन पनि बच्थ्यो कि बच्दैनथ्यो ? सोच्छु– केही गुमेको  छैन ।

मनमा कुरा खेल्छन् । विदेश हानियौं नलागेको पनि होइन । त्यो युद्धबाट शान्ति प्रक्रियामा आइयो । के प्राप्त गरें मैले त्यत्रो योगदान गरेवापत ? र, के प्राप्त गर्यो यो राज्यले मेरो त्यो योगदानबाट ? गम्भीर हुन्छु । बरु जति पाइयो, तिनै उपलब्धिहरु पनि संस्थागत हुन सकेनन् ।

वास्तवमा कसको ‘इन्टेन्सन’ के थियो, त्यो के थाहा ? के नेताले हामीलाई झुक्याएका थिए ? होइन लाग्छ । उनीहरु पनि झुक्किएजस्तो लाग्छ ।

जे आशा देखाएर त्यत्रो रक्तपातपूर्ण युद्धको बाटोमा होमिइयो, सबै झुटजस्ता भएका छन् । वास्तवमा कसको ‘इन्टेन्सन’ के थियो, त्यो के थाहा ? के नेताले हामीलाई झुक्याएका थिए ? होइन लाग्छ । उनीहरु पनि झुक्किएजस्तो लाग्छ ।

हामीलाई थाहा थियो त केवल जनताको अधिकार जनतालाई नै दिलाउने । गरिबको चुलोमा आगो बाल्ने । नाङ्गाहरुको शरीरमा लुगाको व्यवस्था गर्ने ।

हिजो लडेर मेरो के गयो ? आज नलडेर मेरो के आयो ? आखिर मैले जीवन लडेरै बिताउनु रै’छ ।

अहिले न ती कुनै मागहरु पूरा भएका छन्, न हामी ती माग पूरा गराउन लागेका जनमुक्ति सेनाहरु सम्मानजनक अवस्थामा बाँच्न सक्ने स्थितिमा छौं ।

नमिठो लाग्छ–
अधिकारका लागि जसको नेतृत्वमा लडियो, त्यो नै संसदीय व्यवस्था र यथास्थितिमा फसेपछि त्यत्रो मेहनत र पसिनालाई त्यत्तिकै छाड्ने कुरा कसरी हुन सक्दछ ?

लाग्दैछ–
हिजो लडेर मेरो के गयो ? आज नलडेर मेरो के आयो ? आखिर मैले जीवन लडेरै बिताउनु रै’छ । बाँच्नकै लागि पनि लड्नैपर्ने । हिजो लडेवापत फेरि मुद्धा खेपेर मुद्धा लड्नुपर्ने । न उनै हिजोका गरिब–पीडकहरुसँग फेरि लडेर समाजमा बाँच्नुपर्ने । एक मनले लाग्छ– हामीलाई लडाउनेहरु त्यस्ता हुन् । अर्को मनले सोच्छु– उनले पनि लडेकै हुन्, अब सकेनन् होला ।

गणतन्त्र हामीले लडेरै आएको हो । परिवर्तन हाम्रो रगत खर्चेर प्राप्त भएको हो । एकाएक उनै परिवर्तनविरोधीहरु आज फेरि परिवर्तनका नायक झैं भए । हामी नायकहरु खलनायक झैं हुनुपर्ने ! यो दिन किन आयो ? उनी को हुन्, हामी परिवर्तनकामीमाथि हैकम जमाउने ? जो हिजो हाम्रा टाउकाका मोल तोक्थे, उनै आज हामीले लडेर ल्याएको गणतन्त्रमा राज गरिरहेका छन् । यो सहने कसरी ? मजस्तै लड्नेहरु उनै शासकहरुका अघि झुक्नुपर्ने !

झुकिन्न । किन झुक्ने ? बरु फेरि लडिन्छ । बाँच्नै लड्नुको ममाथिको परिभाषा हो भने मैले फेरि किन नलड्ने ? फेरि बन्दुक किन नबोक्ने ? मैले फेरि अर्को युद्धको घोषणा किन नगर्ने ?

र, यतै बसेको छु– विदेशिन राहदानी बनाएको, म एउटा पूर्वजनसेना !

– See more at: http://www.khabardabali.com/2015/03/8855/#sthash.xBpFe6WO.MprlizPN.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: