जागरण मिडिया सेन्टर

Home » अन्य » मृत्यु अघिपछि यसो गरे कसो होला ?

मृत्यु अघिपछि यसो गरे कसो होला ?

चैत १५, जागरण मिडिया सेन्टर ।

मृत्यु अघिपछि यसो गरे कसो होला ?

प्रायःजसो सबैमा मर्नुभन्दा केही मिनट रहँदासम्म पनि बाँच्ने र बचाउने ध्याउन्न हुन्छ । उसको मृत्युपछि गरिने कर्मकाण्डबारे छलफल गर्ने कुरै हुँदैन । उसको मृत्युपछि त झन् रुवाबासी हुन्छ । सामान्यतः शोकविह्वल परिवारसँग सांस्कृतिक रूपान्तरणबारे कुरा गर्न अप्ठेरो हुने नै भयो । तब त छिटछिटो घाटमा लाने र रेडिमेड सनातन संस्कारलाई समात्ने काम भइहाल्छ । विश्वविद्यालयमा विज्ञान पढाउने प्राध्यापक, जिन्दगीभर भौतिकवादको आधारमा जीवन–जगतको व्याख्या गर्ने नेताहरूसमेत कोरा पसेर मृतक आफन्तलाई स्वर्ग तार्न तेह्रदिने कर्मकाण्ड गर्दछन् । त्यति बेला गलत सामाजिक परम्परा र संस्कारको रूपान्तरण गर्ने कसले ?

मानिसले जीवनको अन्तिम क्षणमा कुनै न कुनै घटना वा रोगको सामना गर्न पर्दछ । प्राणको बाजी राखेर गरिने त्यस्तो जीवन–संघर्षमा एकदिन सबैले हार्नैपर्दछ । लामो समयसम्म पक्षाघात भएर थलिनुभएका मेरा ९० वर्षीय पिताले पनि जीवन–संघर्षमा हार्नुभयो । यही २०७१ माघ २२ गते उहाँको निधन भयो । कुनै मानिस जन्मनु–मर्नु केही अनौठो कुरा भएन । तर अनौठो के भयो भने अहिलेसम्मका खोज–अनुसन्धानबाट कुनै मृतक गएर बस्ने भनिएको बैकुण्ठधाम ब्रम्हाण्डमा कतै फेला नपरेकोले त्यो काल्पनिक स्वर्ग पठाउन गरिने तेह्रदिने काजक्रिया मलाई आत्मैदेखि स्वीकार्य भएन । घरका सबै परिवार पनि मेरो मतमा सहमत भए । पिताको देहावसानपछि मर्माहत परिवारजन र नजिकका आफन्तको आकस्मिक बैठक बस्यो र यस्तो निर्णय गरियो :

पिताको पार्थिव शरीर आधा दिनसम्म घरमै सजाएर राख्ने र मुख हेर्न चाहने परिवारजन, बन्धुबान्धव, आफन्त सबैलाई प्रत्यक्ष श्रद्धाञ्जली अर्पण गर्ने अवसर दिने, जान सक्ने सबै परिवारका सदस्यले समेत घाटमा गएर सम्मानसाथ अन्त्येष्टि कार्य सम्पन्न गर्ने, कपाल काट्ने, सेतो लुगा फेर्ने, कोरा बस्ने, नुन छाड्ने, भोको बस्ने, आफूले आफैलाई जुठो परेको तथा अछूत भएको घोषणा गरेर छुवाछूतको व्यवहार गर्नेजस्ता सबै परम्परा त्याग्ने, कुनै प्रकारको दानदक्षिणा, भेटी लेनादेना नगर्ने, राजनीतिक दर्शन, समाजशास्त्र, विज्ञान तथा धर्मशास्त्रका विज्ञ व्यक्तिहरूबीच सामाजिक संस्कारसम्बन्धी व्यापक छलफल गर्ने र शोक तथा अन्तिम श्रद्धाञ्जलीसभा गरेर तेह्रदिने कार्य ३ दिनमा सम्पन्न गर्ने, प्रत्येक वर्षको एक पटक मातापिताको सम्झनामा स्मृतिसभा गर्ने, बुबाको सम्झनामा जेठो छोरा रणेन्द्र बरालीद्वारा लिखित हाम्रो संस्कारबारे पुस्तक प्रकाशन गर्ने र उत्पीडित समुदायबीच शिक्षा र चेतना अभिवृद्धि गर्ने कार्यमा सहयोग पुर्‍याउने हेतुले नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा सन्चालित हुनेगरी २०६९ सालमा माता अमृता र पिता झिमलाल बरालीको नाममा स्थापना गरिएको ‘झिमामृत अक्षय कोष’लाई प्रभावकारी बनाउने ।

मानिसको मृत्यु आफैमा एउटा हृदयविदारक घटना हुन्छ । यो दुःखद् अवस्थामा मृतकका परिवारजन दिवंगत आफन्तको माया–स्नेहका कारण कुनै पनि मूल्य चुकाएर वियोगको पीडा पखाल्न चाहन्छन् । पीडाले पोलेको मन शान्त पार्न जेजसो गर्न पनि मानिस तयार हुनु स्वाभाविकै हुन्छ । उक्त अवसरमा शोकसन्तप्त परिवारप्रति धर्मको नाउँमा मिलेसम्मको कुसंस्कार कोचिन्छ । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, नर्क, वैकुण्ठ, मुक्ति, मोक्ष, पाप, पुण्य आदिको परिकल्पना गरेर, कोरामा क्रियापुत्री राखेर गरुडपुराणको नरकआतङ्क सुनाएर, तर्साएर मृतकलाई स्वर्ग तार्ने तानाबाना बुनेर पुरोहितले मनग्य शोषण गर्ने परम्परा छ हाम्रो समाजमा । आजको युगमा यी कार्य कत्तिको यथार्थपरक छन् त ? सबैले निधार खुम्च्याएर सोच्नुपर्ने यहिँनेर हो छ ।

मान्छेको मृत्युपछि कुनै न कुनै विधिबाट अन्त्येष्टि कार्य त गर्नैपर्ने हुन्छ । हिन्दु समाजमा अहिले गम्भीर चुनौतीको विषय के बनेको छ भने जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्ड मूलतः हिन्दू धर्मको मान्यताअनुसारै गरिन्छ । इतरहिन्दूहरूले पनि आ–आफ्ना किसिमका आध्यात्मिक परम्पराअनुसारै कर्मकाण्ड गर्दछन् । यस्ता कार्यका लागि अहिलेसम्म कुनै आधुनिक, वैज्ञानिक तथा भौतिक विधि स्पष्ट रूपमा निर्धारित र स्थापित भएका छैनन् । तथापि नेपाली समाजमा आध्यात्मवादको गलत पक्षलाई पन्छाएर भौतिवादलाई आत्मसात गरी मृत्युसंस्कारमा हिन्दू धर्म परम्परालाई चिर्र्ने बहादुर व्यक्ति थिए प्रजातन्त्रवादी नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला । उनले आफ्नो मृत्युपश्चात् श्रीमती र छोरालाई परम्परागत काजक्रिया गर्नु उचित छैन, नगर्नू भन्ने घोषणा गरे । यो ज्यादै राम्रो कामको थालनी थियो । त्यसपछि आजसम्म धेरै नेता, बुद्धिजीवी तथा साहित्यकारसँग सरकारी पदाधिकारीहरूले समेत परम्परागत क्रिया नगरी उही दिन, ३ दिन, ५ दिन, वा ७ दिनसम्ममा सकिनेगरी कर्मकाण्ड गरेका छन् । परिवर्तित ढंगले शोक कार्यक्रम गरेर श्रद्धाञ्जली दिने चलन पनि विकास हुँदैछ । यसैको निरन्तरता स्वरूप मेरा पिता बितेको तीन दिनमा विज्ञ व्यक्तित्वहरूबाट सांस्कृतिक रूपान्तरणबारे बहस चलाएर शोकसभा गरी कर्मकाण्ड सकियो ।

हिन्दु धार्मिक संस्कारलाई थोरै चर्चा गर्नु पर्दा, गरुडपुराण दोस्रो अध्यायका अनुसार यसरी बखान गरिन्छ– “जब मान्छेको मृत्यु हुन्छ, तब बाचुन्जेल गरेको आफ्नो पापकर्मको कारण ऊ प्रेत बनेर नर्कमा भौंतारिइरहेको हुन्छ । नर्क कुण्डलीबाट निस्कन ऊ यमराजको ढोकामा गएर बिन्ती बिसाउन चाहन्छ । त्यसका लगि सर्वप्रथम जिन्दगीको खाता हेर्न र पाप–पुण्यको फाँटवारी सुन्न चित्रगुप्तकोमा पुग्नुपर्ने हुन्छ मृतकलाई । त्यहाँ पुग्नको निम्ति उसले वैतरणी नदी तर्नुपर्दछ । नदीमा सिंगान, पीप, दिसा–पिसाबजस्ता अचाक्ली फोहोरको लेदो भकभक उम्लेर बगिरहेको हुन्छ । अझै त्यसभित्र गोही, अजिंगर, सर्प, बिच्छीजस्ता हिंस्रक मांसाहारी जलजीव दाह्रानग्रा फैलाएर बसेका हुन्छन् । यमदूतले त्यही नदीमा हेलिदिन्छ मृतकलाई । ती डरलाग्दा जानवरहरूले चिथोर्दै, कोपर्दै गर्दा त्यहींमाथि यमदूतहरूले बाहिरबाट फलामको मुग्रोले ठोक्छन्, भालाले रोप्छन् । यो यातना भोगिरहँदाका बखत गौदान गरेमा गाईको पुच्छर समातेर वैतरणी नदी तर्न सकिने उपाय बताइन्छ ।

यस्ता अनेक त्रासदी देखाएर मृतकका शोकाकुल परिवारको ध्यान विक्षिप्त पारिन्छ । त्यसरी नर्कमा कहर काटेर कहालिइरहेका पितृ तार्न गोदान किन नगर्ने ? गर्नैपर्ने बाध्यतामा पारिन्छ । ऊ गरीब छ, भने जति दानपुण्य गर्न सक्दैन भने फेरि चण्ड, मुण्ड आदि अनेक नामका यमदूत आएर नाककानमा बल्छी लगाएर साङ्लाले कसेर राङ्राङ्तै बलेको आगोको भुंग्रोबाट र बञ्चरो, भाला, तीर, तरवार ठड्याएर राखेको मझधारबाट घिसार्दै, लतार्दै लान्छन् । अझै ठूलो घनले थाप्लामा ठोक्दै र रगत छदाउँदै, त्यही रगत चटाउँदै अगाडि लगिन्छ (गरुड पुराण, दोस्रो अध्याय, पृष्ठ २०) ।

एवं रीतले पितृले कष्ट काटिरहेको कथा सुनाइन्छ । सोबाट मुक्ति दिलाउन धन, पैसा चढाउँदै जानुपर्ने हुन्छ मृतकका आफन्तले । अझै दानद्रव्य नपुग्दा हातखुट्टा बाँधेर भलभली तेल उम्लेको तातो कराहीमा उँधोमुन्टो पारेर मृतक पितृलाई च्वाइँ–च्वाइँ चोबिन्छ । ठूला आराले टाउकोबाट चरचरी चिरिन्छ, छरछरी रगत आएर छटपटिंँदा झन् झिरमा उनेर बटारिन्छ, जिउँदै गिद्ध र स्यालले लुछेको जस्ता यावत विवरण सुनाइन्छ । भूमिदान, सुनदान, चौपायादान, द्रव्यदान, हाँडाभाँडा, वस्त्र आदि इत्यादि सम्पूर्ण दानले पुरोहित भरिपूर्ण भएपछि मात्र धर्मराजको ढोकामा पुगेर फैसला सुन्न पाउँछ मृतकले । बाबुले कमाएको सम्पत्ति सबै दान गर्‍यो भने उसका सन्तानले समेत मोक्ष पाउँछन् भनिएको छ (गरूड पुराण आठौं अध्याय, पृ. ८९) ।

दान दक्षिणामा कुनै कमी भएमा पितृ तर्न पाउने चानसै हुँदैन । नत्र फेरि नर्कतिर फर्केर गुहुमा गज्जाङ–गज्जाङ चल्ने गुहेकीरा, फट्यांग्रा आदिको जन्म लिनुपर्ने हुन्छ । यस्ता वाहियात काल्पनिक कुरा सुनाएर धर्मको नाममा दान लिएर क्रूरतम् शोषण गरिन्छ ।

मृतकका आफन्तले १३ दिनसम्म सिलाएको लुगा लगाउन नहुने, नुन, दालतरकारी खान नहुने, निस्तो भात एकछाक खाएर अछूत भएर क्रिया बस्नुपर्ने हुन्छ । ४५ दिनसम्म खाने बस्ने चिजमा वर्जित गरी कष्ट काट्नुपर्ने र वर्षभर सेतो पहिरन पहिरेर दुःख बोकेको भन्दै बरखी बस्ने त छँदैछ ।

“दश मासांस्तु तृप्यन्ति वराह महिषामिषैः ।
शशकूर्मयोस्तु मांसेन मासानेकादशैव ते ।।२७१।।

अर्थ सुँगुर र भैसीको मासुले दश महिनासम्म, खरायो र कछुवाको मासुले ११ महिनासम्म पितृहरू तृप्त रहन्छन् ।

कालशाकं महाशल्काः खड्गलोहामिषं मधु ।
आनन्त्यायैव कल्प्यन्ते मुन्यन्नानी च सर्वशः ।।२७२।।

अर्थ कालाशाक नामको एक जातको शाग, ठूलो जातको समुद्री झिँगे माछाको मासु, गैंडाको मासु, रातो खसीको मासु, नीवार आदिको मासुले पितृ अनन्त कालसम्म तृप्त रहन्छन् (हिन्दुजातिको उत्थान र पतन, पृ ९२.) । यसरी दान र तर्पणको निहुँमा मिठामिठा परिकार खाने युक्ति निकालेका हुन्छन् पुरोहितहरूले । सबैको घरमा एकदिन गर्नैपर्ने कर्मकाण्ड भएकाले यस्ता भ्रमपूर्ण रुढिगत संस्कार फेर्न संघर्ष गर्नुपर्ने कुरा मानव सरोकारको विषय बनेको छ ।

नेपाली समाजमा प्रचलित जन्मदेखि मृत्युसम्मका संस्कारलाई परिमार्जन होइन, विकल्प दिएर परित्यागै गर्नु जरुरी हुन्छ । उदाहरणका लागि, धूमपानबाट बच्नु भनेको राम्रो ब्राण्डको चुरोट प्रयोग गर्नु होइन । चुरोट छाडेर सुर्ति सेवन गर्नु पनि परिवर्तन होइन । स्वास्थ्यका लागि हानिकारक धूमपानबाट मुक्त हुनुलाई मात्र परिवर्तन मानिन्छ ।

अहिले हाम्रो समाजमा आधुनिकताको बर्को ओढाएर पुरानो संस्कारलाई झनै प्रश्रय दिइएको पाइन्छ । कहाँसम्म भने कतिपय ठाउँमा कसैको मृत्यु भयो भने देख्न, भेट्न जानेले पार्थिव शरीरमा पैसा चढाउनुपर्ने, कोरा बस्नेलाई समवेदना प्रदान गर्दा भेटी टक्र्याउनुपर्ने, त्यही पनि प्रतिस्पर्धामा हजारौं लाखौंसम्म बढाबढ गरेर थैली चढाउनुपर्ने । अन्नपासनी, विवाह, व्रतबन्धको अवसरमा समेत सम्बन्धित पात्रलाई मात्र होइन, उनका बाबुआमालाई समेत नगदले पुरष्कृत गर्नुपर्ने । पैसा हुनेहरू काजी, नहुनेहरू पाजी ठहरिने भए, पुँजीवादी विकृति बढेकाले । यस किसिमको सामाजिक विसंगति झनै बढ्ने खतरा भएकोले पनि उचित विकल्प दिएर सांस्कृतिक रूपान्तरणको आन्दोलन छिटो अघि बढाउनु जरुरी देखिन्छ ।

सद्गतिको काम सकेपछि अन्येष्टिस्थलमै शोकसभा गरेर क्रिया, कष्ट, दशपिण्ड, तेह्रदिने, पैंतालीसदिने, वर्षदिने सबै कर्मकाण्ड सकिएको घोषणा गर्दा हुन्छ । शवयात्रा (मलामी) मा सामेल हुने तथा समवेदना दिन आउने सबैलाई सामान्य चिया, खाजा ख्वाउनु, आवश्यकताअनुसार गासबासको व्यवस्था गर्दा राम्रो हुन्छ । त्यसपछि अनुकूल मिले तत्कालै, नभए ३, ७, १५ दिन वा १ महिनाभित्र समय मिलाएर मृतकको सम्झनामा स्मृतिसभा गर्दा जाती हुन्छ । यसपछि मृतकले समाजमा राम्रो वा मानवहितका नयाँ काम गरेको भए त्यसको अनुसरण गर्नुबाहेक केही बाँकी रहँदैन । महिलाले चुरापोते र राता लुगा त्याग्ने, सेता कपडामा क्रिया बस्ने, बरखी बस्ने, नुन बार्ने, महिनौं वा वर्षौं कामकाज छाड्नेजस्ता वाहियातका प्रचलन त्यागेर सभ्य समाजको चिनारी दिनु आजको आवश्यकता हो ।

बरु सक्नेले गर्न के जाति हुन्छ भने कसैको आफन्त भीरबाट गाडी खसेर दुर्घटनामा परेर देहावसान भएको भए फेरि अर्को गाडी नखसोस् भनी त्यस ठाउँमा पर्खाल लगाइदिने वा रुख रोपिदिने, कुनै रोगका कारण असामयिक निधन भएको भए त्यस रोग निवारणसम्बन्धी संस्थालाई आर्थिक सहयोग पुर्‍याउने अथवा सामाजिक संस्थामा अक्षयकोष खडा गरी असहाय बालबालिकालाई पठन–पाठनमा सहयोग पुर्‍याउने, मृत्यु भएका व्यक्तिको नाउँमा साझा स्थानमा तथा घरछेउमा रुख तथा बोटविरुवा रोप्ने, सके र जमिन भए बगैंचा नै बनाइदिने आदि । मृतकको नाममा खर्च गरेर पुण्य कमाउन चाहनेले यस्ता काम गर्दा बाँच्नेहरूको भलो हुन्छ ।

हिजोआज विज्ञानले मानवसेवामा एउटा नयाँ आयाम थपेको छ । त्यो हो अंगदान । यसमा मृत्युपश्चात् आँखा, मृर्गौला मुटु वा शरीरको कुनै अंग दान गर्न सकिन्छ । कसैको जीवनरक्षा हुन्छ भने त्यो जीवनदान कुनै पनि दान दक्षिणाभन्दा अमूल्य हुन्छ । कम्तीमा हामी विज्ञानमा विश्वास गर्ने प्रगतिवादीहरूले माथि उल्लिखित कर्म गर्न हिम्मत गरौं । आफ्नो परिवार र समाजमा आजैदेखि यसबारे बहस गरौं । इच्छापत्र लेखी मेरो मृत्युपछि यस्ता यस्ता कर्म गर्नू है भनेर सन्देश दिने प्रचलनको विकास गरौ ।

esamata.com.np

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: