जागरण मिडिया सेन्टर

Home » दलित समाचार » “साला ! दमाईहरूलाई केको राहत ?” (भुइँचालोको जातशास्त्र : स्थलगत अध्ययन)

“साला ! दमाईहरूलाई केको राहत ?” (भुइँचालोको जातशास्त्र : स्थलगत अध्ययन)

शिवहरि ज्ञवाली

२०७२ जेठ १३, जागरण मिडिया सेन्टर ।

“साला ! दमाईहरूलाई केको राहत ?” (भुइँचालोको जातशास्त्र : स्थलगत अध्ययन)

दिउँसोको ३ बज्दै थियो । राहत बोकेको हाम्रो ट्रिपर घ्याच्च रोकियो ।

“गाडी अब अगाडि बढ्दैन । यहाँ अब टाउको फुट्छ ।” कपाल रातो बनाएका तामाङ युवकले ट्रिपरमाथि मुड्की बजार्दै भने ।

“साला ! दमाइहरूलाई केको राहत ? हाम्रो गाउँको बाटो जाने हो भने हाम्लाई’नि चाहिन्छ ।” अर्कोले धम्की दियो । उसले रुखको काटेर राखिएको एउटा हाँगो हामीमाथि प्रहार गर्ने प्रयास गर्‍यो ।

उता एक हुल १६/१७ वर्षका तामाङ, ब्राह्मण, क्षेत्री समुदायका किशोरीहरू उही उमेरका दलित समुदायका किशोरीहरूलाई मुख छाडेर गाली गरिरहेका थिए, “तिमीहरू डुमलाई मात्र राहत ! कस्ले दिँदो रहेछ हेरी राखौं ला ।”

विमल आचार्यले व्यङ्ग्यपूवर्क फेसबुकमा लेखे, “यी नाथे सुकुम्बासी दमै-कामीहरुको घरै थिएन । झुपडी जाबो के भत्कियो र ! हाम्रा त ती तीन्टा चारतले पक्की घर जरैबाट लडे हेर्नुस् । हाम्ले तीन डबल बढ्ता राहत पाउनुपर्छ । यस्तो भन्ने झुर र क्रुर मान्छेलाई के दिने होला ?”

म ट्रलीबाट ओर्लिएर उनीहरू भएतर्फ गएर सम्झाउन खोजें । ती किशोरीहरू भन्दैथिए “सल्लाह होइन, पर्‍यो भने जे पनि हुनसक्छ ।”

एउटा नीलो कुर्ता लगाएकी किशोरीले मेरो छातिमा मुक्का हान्ने प्रयास गरिन्, मुक्का मेरो क्यामेरामा लाग्यो ।

“राहत कब्जा”को नेतृत्व गरिरहेका थिए खड्का थरका नेपाल प्रहरीका एकजना पूर्व अधिकृत ।

विनाशकारी भैंचालोले तहस—नहस बनाएको सिन्धुपाल्चोकको फुल्पिन डाँडागाउँ—५ स्थित दलित बस्तीमा हामी जेठ ३ गते करिब १४७ बोरा चामलसहित पुगेका थियौं । उक्त गाविसका ४ र ५ बडाका दलित समुदायले राहत नपाएर भोकभोकै रहेको भन्ने थाहा पाएपछि राजधानीका केही दलित संघसंस्थाले संकलन गरेको रकमबाट चामल, नून र तेलसहित विनोद पहाडीको नेतृत्वमा हामी त्यता हान्निएका थियौं ।

सोही दिन त्यहाँका दलित समुदायले गाविसबाट पहिलोपटक एक किलोका दरले चामल पाएका थिए । तर, तामाङ र ब्राह्मण–क्षेत्री समुदायले भने दुईपटक पाइसकेका थिए । साथमा उनीहरूले त्रिपालसमेत पाएका थिए । दलितहरु चाहिँ भत्किएका घरका जस्ता थुतेर ओत लागेका थिए । दलित बस्तीमा सरकारले राहतस्वरूप पठाएको त्रिपाल ५५० का दरले नगदमा किनेमा मात्र पाइने, नत्र नपाइने भन्ने उर्दी जारी गरिएको थियो ।

dalit-house

भुक्तभोगीहरू के भन्छन् :

“म त अलिपछि आ’को । झगडा पर्‍यो भनेर दौडिँदै आ’को । आउँदाखेरी बच्चु दाइले यसरी (बायाँ हात कुर्ताको घाँटीमा लैजाँदै) कठालो समातिरहेको रहेछ । तपाइँहरूको (दिनेश परियार) दाइले सम्झाउँदै हुनुहुँदो रहेछ, उहाँलाई कठालो समातेर त्यहाँ (केही पर रहेको समीको रुखनेर) पुर्‍याउनुभयो । त्यत्ति हुँदा पनि त्यो दाइले सम्झाइरहनुभएको थियो । त्यसपछि ऊ त्यहाँको रातो कपाल पाल्ने दाइले यत्रो (हातले आकार बताउँदै) बडेमानको लाठो ल्याएर झन्डै हानेको ।”

—कविता सिवाकोटी, १८, फुल्पिन डाँडागाउँ—४, सिन्धुपाल्चोक

“दमै भनेर यस्तो (धकेलेको जस्तो गर्दै) परियार दाइलाई धकेल्यो । एकदम धाँधली गर्ने, यसरी त राहत आउँदैन नि ! यो सबै गर्ने पुलिसको सई दाइले हो । पर रातो कपाल भएको, तालुखुइलेको । कतिपटक राहत आउँछ हाम्रो गाउँको बाटो भएर, जहिले आइरा’को हुन्छ । हाम्लाई एकमानो दिनुहुन्न । दमै भन्नुहुन्छ । हामी दलित भन्ने सबैलाई थाहा छ, भनिराख्नुपर्छ ? भनेर सुनाइरहनु पर्दैन जहिले नि ! हामी पनि सेन्टरमा छम् । हाम्ले पनि खोस्न सक्थेम नि ! हस्पिटल छैन, चोटपटक लागेको भए के हुन्थ्यो ? उनीहरूले खाओस् भनेर हामीले केही गरेका छैनौ । यहाँ सबै पढेपढेको हुनुहुन्छ । सबैको जागिर छ ।”

—विमला सिवाकोटी (१९), फुल्पिन डाँडागाउँ—४, सिन्धुपाल्चोक

“हाम्ले’नि यो राहत कन्ट्याक गरेर ल्या’को । उनेहर्ले दलितहरूले ल्याउन सक्दैन भन्ने धारणा छ के । त्यही भएर हेप्छन् । उनीहरूले जब सामान (राहत) पाउँछन्, बल्ल थाहा हुन्छ । उनीहरूले सामान ल्या’को हाम्लाई थाहा हुँदैन । यहीँ बाटो लैजान्छन्, हाम्ले पाउँदैनौं । हाम्ले छोड्दिन्छौं । अहिलेसम्म हाम्ले कहिले झगडा गरेर, खोस्ने गरेर लिएका छैनौं । जति दिन्छन् त्यत्ति लिने गरेको छौं ।”

—शम्भु नेपाली (१६), फुल्पिन डाँडागाउँ—५, सिन्धुपाल्चोक

“हामी पानीमा रुझिरहेका थियौं । एउटा गाउँको दाइले पाँचोटा त्रिपाल ले’र आउनुभयो । मेरो दाइले ‘एउटा त्रिपाल ल्याउनु न !’ भन्नुभयो । ‘पाँचोटा त्रिपाल ल्याएको छु, तर उधारो हुँदैन’ भन्नुभो उहाँले । ‘कति हो ?’ भनेकोे उहाँले ‘एउटा त्रिपालको ५५० रूप्पे’ भन्नुभयो । एउटा त्रिपाल पनि दिँदैनन् । भन्नि हो भने यहाँ बाहुनहरू अल्लि धनिमनी र तामाङहरू बलको धमास देखाउ’नी । हामी दलितहरूलाई तल पारेर सामान (राहत) राम्रोसँग दिँदै दिँदैनन् । हाम्रो नाम बेचेर, दलितहरूलाई देखाएर, हाम्लाई केही देखाउँदैनन् । हाम्लाई मान्छे मर्दा समेत शंख फुक्न दिएनन्, जुठो हुन्छ, बिटुलो हुन्छ अरे ।”

—शुष्मिता नेपाली (३०), फुल्पिन डाँडागाउँ—५, सिन्धुपाल्चोक

यसअघि भैंचालोको ११ दिनपछि सिन्धुपाल्चोककै कुन्चोक—६ स्थित दलित बस्तीमा पुगेको थिएँ । दलित बस्ती पुग्नुभन्दा पाँच मिनेटको बाटोमा ब्राह्मण र क्षेत्रीहरूको बस्ती रहेछ । उनीहरूले हामीलाई रोक्ने प्रयास गरे । तर, राहत केही नल्याएको भनेपछि छाडिदिए । कुरा के रहेछ भने जति राहतका सामग्री आउँछन् उनीहरूले लुटेर आफ्नै गाउँमा राख्दारहेछन् । केही पर रहेको दलित बस्तीका लागि पठाइएको राहतसमेत उनीहरूकै कब्जामा पर्दोरहेछ ।

उनीहरूबाट उम्केर हामी दलित बस्तीमा पुग्यौं । साँझको ४ बज्न आँटेको थियो । हामी पहिलो बाहिरिया थियौं, जो दलित बस्तीमा पुगेका थियौं । त्यहाँ पुग्दा ६ वर्षकी सुमित्रा परियार माटोमा पुरिएको मकै नाङ्लोमा राखेर बटुल्दै थिइन् । चार महिनाकी सुत्केरी १८ वर्षे मिना विश्वकर्मा आफ्नो बिरामी छोरालाई आगोमा सेक्दै थिइन् । दुई वर्षपछि कतारबाट फर्किएका पूर्णबहादुर विश्वकर्मा भैंचालोमा परी ज्यान गुमाएकी श्रीमतीको पीरमा टोलाउँदै थिए । ७० वर्षे कर्णबहादुर विश्वकर्मा हात जोड्दै “अहिलेसम्म केही’नि भेटाएको छैन मालिक, केही भेटा’को छैन । बर्खाको मान्छेहरूलाई नआ’को हो कि ?” भनेर प्रश्न गर्दै थिए ।

भुक्तभोगीहरू के भन्छन् ? (भिडियो हेर्नुस् : https://goo.gl/m1qsYE)

“म कतार थिएँ । म १५ गते काठमाडौं आएँ । कतार गएर दुई सालमा आएको । घरमा आइपुग्दा श्रीमती र भाइको छोराको मृत्यु भइराखेको रहेछ । घरमा खाने कुरा नभएकाले नौ दिनमा श्रीमतीको जुठो चोख्यायौं । राहत हिजोमात्र अलिकता पाइयो । पहिला अलिअलि आफन्तहरूले पठाइदिएको खाइयो । गाविसको १० किलो पाइयो । कसरी बस्नु एक—दुईकिलो ल्याउँदै । पानी खान नपाएर कुखुरालाई दाना हालेको पानी खाएछन् । यो भइनै रखेको छ, यहाँ दलितहरूलाई पनि हेर्नुपर्छ भन्ने कसैको सोच आउँदैन । हामी तल्लो वर्गको भएर हो कि के भएर हो ? दुःख सबैलाई परेको छ । मानवताले पनि सबैलाई हेर्नुपर्ने साथीहरू खै के बुझ्छन् ? पाल आएको छैन । किरिया खर्च पनि पाएको छैन ।”

—पूर्ण विश्वकर्मा (३२), कुन्चोक—६, सिन्धुपाल्चोक

“किन दिन्नन् हाम्लाई राहात भन्दाखेरी निम्दो बर्खा, दलित जाति अलि कमजोर भएर हो कि ? खोइ हाम्रो भन्ने मान्छे नभएर हो कि ? हात काटेको थियो, अम्रिकानेहरूले औषधी लाई’दे । (हात जोड्दै) अहिलेसम्म केही’नि भेटाएको छैन मालिक ! केही भेटाको छैन । भर्खर आउँदै छु, मलाई केही थाहा छैन । अलि कमजोरी भएर हो कि मालिक ! बर्खाको मान्छेहरूलाई नआ’को हो कि ? गाडीको कारणले पनि नआएको हो कि । ओड्ने ओछ्याउने, खाने केही आएको छैन, मालिक ! ”

—कर्णबहादुर विश्वकर्मा (७०), कुन्चोक—६, सिन्धुपाल्चोक

४५ घर दलित परिवार रहेको यो गाउँमा हामी पुग्नुभन्दा अघिल्लो दिन हरेक परिवारका लागि १० किलोका दरले चामल पुगेको रहेछ । भैंचालोमा यो गाउँमा मात्र ६ जना दलित समुदायका व्यक्तिले ज्यान गुमाएका थिए । सरकारले मृतकका परिवारलाई ४० हजारका दरले राहत दिने र तत्काल घर भत्किएकाहरूका लागि ७ हजार राहत दिने निर्णय गरेको थियो । तर हामी पुग्दासम्म उनीहरूमध्ये कसैले राहत पाएका थिएनन् । दलित बस्तीको तल तामाङ समुदाय र माथि ब्राह्मण, क्षेत्रीहरूको बस्तीबीचमा रहेको दलित बस्ती पूरै राहतबाट विमुख थियो ।

खानेकुरा नभएर मृतकको मृत्युसंस्कार गर्न नसकेका, कुखुरालाई राखेको दाना र पानी खाएर बाँचेका वृद्ध—वृद्धाहरूको भोगाइ भैंचालोभन्दा कहालीलाग्दो थियो । धुलोबाट बच्नका लागि बाँडिएको ‘मेडिकल मास्क’ चपाएर खाँदै गरेका भोका नानीहरू देख्दा कसको मन नभक्कानिएला र ? म मन सम्हालेर यी दृश्यको भिडियो खिच्दैथिएँ । लाग्थ्यो दुःखको भारीले थिँचिदा र भेदभावको दलनले दलिँदा उनीहरू रुन बिर्सिसकेका थिए । हामी फर्कियौं । त्यसको तीन दिनपछि त्यहाँका दलित र गैरदलित समुदायलाई लक्षित गरेर काठमाडौंबाट राहत पठायौं । तर त्यो राहतमध्येको ७० बोरा चामल ब्राह्मण, क्षेत्री बस्तीमै कब्जा गरियो । बाँकी राहत ३ र ४ बडामा लगेर बाँड्यौं ।

Kunchowck-hom

भैंचालोको १३ दिनपछि दिन हामी रसुवाको लहरेपौवा पुग्यौं । त्यहाँका दलित र गैरदलित समुदायसँग बसेर छलफल गर्‍यौं । गाविसको ३ वडामा यसअघि तीनपटक राहत पुगिसकेको रहेछ । गाउँलेसँग कुरा गर्दा गाविसबाट आएको राहतलाई ‘व्यक्तिगत रूपमा ल्याएको हो’ भनेर स्थानीय राजनीतिक दलका कार्यकर्ताको नेतृत्वमा आफ्ना दलका कार्यकर्तालाई मात्र बाँडिएको रहेछ । तर, बडा नं ४ र ६ मा एक पटकमात्र त्यो पनि एउटा वडामा ८ बोरा चामल र ५ वटा त्रिपाल बाँडिएको थियो । ती वडाका अगुवाहरूले आर्थिक रूपमा कमजोर रहेको भन्दै प्राप्त राहत दलित समुदायलाई बाँडिदिए । तर वडा नं ९ मा आएको राहत दामासायी रूपमा बाँडिएको थियो ।

भुक्तभोगीहरू के भन्छन् :

“पाँच जनाको परिवार छ । अ‍ैले गाविस भवनमा बसेका छौं । श्रीमान कुल्ली काम गर्नुन्छ । म मेलापात गर्छु । हाम्रो जग्गा जमिन केही छैन । नागरिकता त छ । भाडामा बसेको घर भुइँचालोले भत्कियो । रातिमा चौरमा सुतिन्छ । अहिलेसम्म त्रिपाल पाएको छैन । अफिस खुलेपछि गाविसमा बस्न नदिने कुरा छ । कहाँ जाने हो, ठेगान छैन ।”

—मिना विश्वकर्मा (३३), लहरेपौवा—४, रसुवा

“कानले सुन्दिनँ । म ब्या नगरी बसेको माइतीमा । खै ७५ वर्ष भइस् भन्छन् । अहिले बारीको पाटामा बस्याछम् । कसैले के दिने ? अस्ति चाउचाउ र त्यो के हो भुजिया दे’का थे । त्यैं विस्कुट द्याथे । के पो दिनुहुन्छ हजुर ! बुझ्दैन पढेको छैन, लेखेको छैन । के दिनुहुन्छ सरखारहरूले, त्यै हात थाप्ने ।”

—काइँली विक (७५), लहरेपौवा—४, रसुवा

“७० वर्ष भएँ । घर भत्को । चाओटा बाख्रा, भैंसी एउटो मरो । गाविसमा राहत लिन आ’को । घर भत्केको पैसो पाइन्छ भन्थे । अस्ति आधा बोरा चामल पाइयो । आज केही नि पाइएन । फेरि आउन भनेको छ । घरमा छोरा, बुहारी र दुईटा नाति छन् । घर कामै नलाग्ने भ’को छ । एक घन्टा लाग्छ यहाँबाट घर पुग्न कालीकास्थान गाविस ४ मा हो घर । खानेकुरा अलिअलि भ’को नि सकियो । अब के खाने ?”

—टेकबहादुर विश्वकर्मा (७०), कालिकास्थान—८, रसुवा

भैंचालोको करिब महिनादिन पुग्नै लाग्दा जेठको ९ गते म भक्तपुर नगरपालिका ११ भेलुखेलस्थित देउला बस्तीमा पुगें । जहाँ डम्पिङ साइटको छेउमा करिब एकसय घर देउलाहरू (नेवार दलित) दुईटा त्रिपाल टाँगेर बसिरहेका थिए । त्रिपालको केही पर दुर्घन्धित खोला बगिरहेको थियो भने खोलापारिबाट लाश पोलेको धुवाँ त्रिपालभित्र छिरिरहेको थियो । वरिपरि झिंगा र फोहोरको डंगुर थियो । टाँगिएको त्रिपाल सरकारले राहतस्वरूप दिएको होइन, उनीहरूले पैसा उठाएर किनेका हुन् ।

Deula-Basti-one

सरकारी तवरबाट केही पनि राहत नआएपछि उनीहरू आफै पैसा उठाएर सामूहिक भान्सा चलाउँदै आएका छन् । यसअघि भारतको हरियाणा राज्यबाट आएको एउटा धार्मिक सस्थाले टोलमा एक महिनासम्म निःशुल्क खाना खुवाउने भनेको थियो । तर, यहाँका किसान (ज्यापु)हरूले देउलाहरूले छोएको नखाने, उनीहरू सँगसँगै खाँदा छोइन्छ भनेर विरोध गरे । विरोधका बीच उक्त धार्मिक समूहले दस दिनसम्म निःशुल्क खाना खुवायो तर किसानहरूले उनीहरूलाई जबर्जस्ती लखेटीहाले ।

त्यतिमात्र होइन, १२ गते भैंचालो आएपछि भागेर खुला ठाउँमा पुगेका देउलाहरूलाई किसानहरूले छोइन्छ भन्दै डम्पिङ साइटतिर लेखेटे । अरू खुला ठाउँ नपाएपछि उनीहरू डम्पिङ साइटमा बस्न बाध्य छन् । स्मरणीय छ, भक्तपुर कम्युनिस्ट नेता नारायणमान बिजुक्छेको पकड भएको क्षेत्र हो ।

भुक्तभोगीहरू के भन्छन् ?

“हामी बसेको ठाउँमा उनीहरू (नेवार) बस्दैन । हामी पनि उनीहरू भएको ठाउँमा जाँदैनौ । झगडा केलाई गर्ने हो भनेर नगएको । उनीहरूले जहाँ पनि छुवाछूत गर्छ । राहतमा पनि छुवाछूत गर्छ । भैंचालो आएपछि हामी डम्पिङ साइटमा बसिरहेका छौं । अलिपर सफा ठाउँ छ तर उनीहरू बसेका छन् । उनीहरू त्यहाँ बस्ने हामी डम्पिङ साइटमा बसे हुँदोहो जस्तो गर्छ । हामीलाई त्यो ठाउँमा गयो भने लखेट्छ ।”

—नीलदेवी देउला (३०), भक्तपर नगरपालिका—११, भक्तपुर

“हामी पचासजना एकै ठाउँ बसेका छौं । एउटाको टाउको अर्कोसँग जोडिन्छ । तल खोला गनाउँछ । नगरपालिकाले फिनेल दे‘को छ । हामी आफै पैसा उठाएर एकै ठाउँ बनाएर खाना खाने गरेका छौं । अहिलेसम्म नगरपालिकाबाट राहत पाएको छैन । किसानहरू सबैले पाइराखेको छ । हामीले पाएको छैन । यहाँ फोहोर छ (झिंगा धपाउँदै) । पाल आफै पैसा तिरेर ल्याएको हो । नगरपालिकाबाट इन्जिनियर आएर घरमा नबस्ने भनेको छ । पारीपट्टि लाश पोलेको धुँवा आउँछ, बस्नै सकिन्न । नगरपालिकालाई डम्पिङ साइट सफा गरिदिन भनेको, गरिदिएन । त्यहाँ सफा भए बस्न सजिलो हुन्थ्यो ।”
—सानीछोरी देउला (३२), भक्तपर नगरपालिका—११, भक्तपुर

“भैंचालो आउने बित्तिकै खुला ठाउँमा गएको थियो । त्यहाँ किसानहरूले ‘तिमीहरू यहाँ नबस’ भन्यो । उनीहरूले यस्तो आपतको बेलामा पनि छोइन्छ भन्छ । हामी डम्पिङ साइटमा बस्यौं । हाम्रो टुक्रा जग्गा छैन । अहिले टहरा बनाएको ठाउँमा जग्गावाला आएर जाऊ भनेको छ । एउटाको घर भत्केको भएर आउने रे । अर्कोले बाली लाउने रे । अब हामी कहाँ जाने थाहा छैन । घर भक्तियो बस्नेजस्तो छैन ।”

—शान्तालक्ष्मी देउला (४०), भक्तपुर नगरपालिका—११, भक्तपुर

“हरियाणाको एउटा धार्मिक टिमले एक महिना यहाँ निःशुल्क खाना खुवाउने भनेर आएको थियो । किसानहरूले देउलाहरूसँग बसेर खाँदैनौ भने । उनीहरूले हामीसँग झगडा गरे । राहत दिनेले ल्याएका सामान उनीहरू आफूले मात्र लिइदिए । हामीसँग बसेर खाँदा छोइन्छ भनेर उनीहरूले बहिस्कार गरे । त्यो टोलीलाई लखेटिदिए । यहाँ राहत वितरणका लागि सर्वदलीय संयन्त्र छ । त्यसमा पहिलो दिन म गएको थिएँ सबै हाम्रो यो दलित बस्तीको क्षति संकलन गर्न । तर, अर्को मिटिङमा मलाई नबोलाएर मेरै पार्टीको अर्कै किसान (ज्यापु)लाई बोलाएछन् । यहाँका १२० घर देउलामध्ये ९० जनाको त लालपुर्जा छैन । हामी यहाँ लिच्छवि कालदेखि बस्दै आएको इतिहास छ । अब सरकारले पुनर्निर्माण र पुनस्र्थापनामा लालपुर्जाकै कारण अवसरबाट हामीलाई वञ्चित गराउने निश्चित छ ।”

—बुद्धरत्न देउला (३९), भक्तपुर नगरपालिका—११, भक्तपुर

लिच्छविकालदेखि यहीँ ठाउँमा बसोवास गर्दै आएका देउलाहरूका १२० घरमध्ये ९० घरसँग अहिलेसम्म लालपूर्जा छैन । उनीहरू लालपूर्जाकै कारण अब क्षतिपूर्ति र राहत नपाइने हो कि भन्ने चिन्तामा छन् ।

भैंचालोपछि बालबालिकालाई स्याहार पुग्दैन भनेर नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रमा देउला समुदायका बालबच्चालाई भर्ना लिन अस्वीकार गरियो । स्थानीय श्याम देउला भन्छन्, “यो तिमीहरूको जातका लागि होइन भन्यो । किसानका (नेवार) छोराछोरीहरूलाई लिन्छ हामी देउलाहरूको लिँदैन । हाम्रो बारम्बार झगडा गर्छ ।” उनले अझ थपे “पान्डव सुवाल छ गाविस सचिव ११ वडाको । उसले राहतमा पनि भेदभाव गर्छ किसानहरू घर नभत्केकोले पनि राहात पाएको छ । हामीहरू जाँदा भत्केको घर पनि भत्केको छैन किन चाहियो राहात ? भन्छ । किसानहरू गएर थर्काएर लिन्छ । यसले हामीमाथि अत्याचार गरेको छ । यस्तो कुरा लेख्दिनुस् न ।”

भक्तपुरमा मात्र होइन सिंहदरबारदेखि करिब ८ किलोमिटर पूर्वमा रहेको लामाटार पुग्दा त्यहाँको अवस्था पनि उस्तै थियो । स्थानीय दलित समुदायले घर भत्केर मान्छे पुरिएको बताउँदा बताउँदै पनि प्रहरीले सहयोग नगरेको, दलित समुदायको उद्धारमा गैरदलित समुदाय नआएको र राहतमा पनि दलित समुदायमाथि विभेद गरिएको गुनासो गर्दैथिए । पाँच परिवारका ३० जना एउटै पालमा बसेका थिए । तीस जनाका लागि सरकारले १ बोरा चामल र एउटा त्रिपाल दिएको थियो । तर, त्यही ठाउँका नेवारका तीन घरलाई ३ बोरा चामल र त्रिपाल दिइएको रहेछ । यसको मुख्य कारण पूर्व गाविस अध्यक्ष नेवार रहेछन् र उनकै हालीमुहाली चल्दो रहेछ ।

के भन्छन् भुक्तभोगीहरु ?

“बहिनी घर भत्केर पुरिइन् । गुहार माग्दा पनि पुलिस आएन । आएको पुलिस बाटोबाट यता आएन । पुलिसले देख्यो, तर उद्धार गरेर हामी बचाइदिन भन्यौं । हामी आफैले खोज्ने प्रयास गर्‍यौं । ३ बजेमात्र हामीले आफै खोतलेर निकाल्यौ । मम्मीको पनि खुट्टा भाँचिएको छ । ३० जना एउटै पालमा बसेका छौं । सरकारले १ बोरा दिएको छ । अरू नेवारका तीन घरलाई ३ बोरा दे’का छन्, हाम्लाई १ बोरा । राम्रोसँग सहयोग पाएका छैनौ । एक त हामी दलित भएको कारणले पनि हो । अर्को राहत आउन लाएको कुरा ठूलाठूलाहरूलाई मात्र थाहा पाउँछन् के । बाँकी रहेमा मात्र यो दलितलाई भनेर दिन्छन् । बोल्न सक्दैनन् माग्न सक्दैनन्, जे गरे पनि हुन्छ भन्ने मानसिकता छ ।”

—शान्ता परियार (२१), महालक्ष्मीस्थान नगरपालिका—११, ललितपुर

“सामान (राहत) आएको छ, नआएको हैन । व्यक्तिहरूले पनि बाँडेको छ । अर्कोचोटि दिन्छम् भन्छन् । लापरबाही तरिकाले बाँडेका छन् । गाउँका अरूले पाइरहेका छन् हामीले पाएका छैनम् । आफ्ना आफ्ना मान्छेलाई दिन्छन् । कतिबेला राहत आउँछ हाम्लाई थाहा हुँदैन । गयो भने फेरि आउँछ भन्छन् । फेरि जाँदा त्यस्तै । आफ्ना मान्छे नभएर हो कि ! दलितहरूलाई नआएको हो थाहा भएन ।”

—कृष्ण परियार (५५), महालक्ष्मीस्थान नगरपालिका—११, ललितपुर

जाँदाजाँदै

भैंचालोले जमिन हल्लायो । बलिया र बडेबडे भवनहरू हल्लायो । तर, हाम्रो समाजमा वर्षैदेखि रहेको जातीय भेदभाव तथा छुवाछूतको जरोलाई हल्लाउन सकेन । बरू, विपद्को कहालीलाग्दो अवस्थामा झन् गाढा भएर देखियो । कतिपयलाई त लाग्दो हो, विपतको समयमा पनि विभेद गरे होलान् र ? यस्ता काइते तर्क गर्नेहरु अधिकांश विभेद गर्नेहरु नै हुन्छन् ।

यसै सन्दर्भमा लेखक विमल आचार्यले व्यङ्ग्यपूवर्क फेसबुकमा लेखे “यी नाथे सुकुम्बासी दमैकामीहरुको घरै थिएन । झुपडी जाबो के भत्कियो र ! हाम्रा त ती तीन्टा चारतले पक्की घर जरैबाट लडे हेर्नुस् । हाम्ले तीन डबल बढ्ता राहत पाउनुपर्छ । यस्तो भन्ने झुर र क्रुर मान्छेलाई के दिने होला ?”

प्रतिउत्तरमा नेपाल प्रहरीका पूर्वप्रमुख रविन्द्रप्रताप शाहले “यस्तो समयमा कस्ले भन्यो हाला र त्यस्तो भनेर जवाफ दिए ।” यसले के देखाउँछ भने विपतको समयमा समेत समाजमा गडेर रहेका प्रवृत्तिहरु पालभित्र, शिविरभित्र र आपतकालीन आश्रयस्थलसम्म आउँछन् भन्ने तथ्यलाई नीतिनिर्माण तहबाटै बेवास्ता गरिन्छ ।

दलित भएकै कारण दलित बस्तीमा उद्धारका लागि बेवास्ता गरियो । राहतमा विभेद गरियो र सुरक्षित स्थान खोज्दै गएका दलितहरूलाई पनि “छोइन्छ” भनेर लखेटियो । दूरदराजमा मात्र होइन, उपत्यकाभित्र समेत दलित समुदायमाथि राहत तथा उद्धारमा प्रत्यक्ष विभेद भइरहेका दृश्य मेरा आँखाले देखे । काठमाडौंको साँखुको सुनार बस्तीमा जाँदै गर्दा एक नेवार समुदायका व्यक्तिले ठाडो चुनौती दिँदै भने, “मेरो तीन—तीनओटा घर भत्केको छ । दलितहरूको त जाबो छाप्रो हो । मेरो पक्की घर भत्केको छ । राहत त हाम्लाई चाइने हो । खोई त्रिपाल दिनुस्, नत्र गाडी रोकिराख्नुस् ।” यो उनको मात्र होइन सारा काठमाडौंभित्र दलित समुदायलाई हेर्ने आम दृष्टिकोण हो ।

भैंचालोपछि राहत तथा उद्धार र पुनर्निर्माण तथा पुनर्स्थापनामा दलित समुदायमाथि विभेद हुने अनुमान पहिल्यै गरिएको थियो । किनकि मानिसको प्रकोपतर्फ उन्मुख हुने अथवा प्रकोपको सामना गर्ने क्षमता, व्यवस्थापन तथा पुनर्लाभ प्राप्त गर्ने क्षमता उनीहरूको सामाजिक, आर्थिक, र राजनीतिक अवस्थाले प्रभाव पार्दछ । त्यति मात्र होइन, विपद्का कारण कुन समुदाय कुन हदसम्म प्रभावित भएको छ भन्ने कुराको निर्धारण पनि यिनै विषयले गर्दछन् । अहिलेको भैंचालोको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

भैंचालोबाट अति प्रभावित १३ जिल्लामा रहेका करिब दुई लाख ६५ हजार दलित समुदाय अरू समुदायभन्दा भिन्न र तुलनात्मक रूपमा कसरी बढी प्रभावित भएका छन् भन्ने कुराको निर्धारण पनि उनीहरूको सामाजिक, आर्थिक, र राजनीतिक अवस्थाले स्पष्ट पार्छ । हुन त तथ्यांकले यो भैंचालोमा परी ज्यान गुमाउनेहरूमा तामाङ समुदाय धेरै छन् । प्रारम्भिक तथ्यांकलाई तुलनात्मक रूपमा हेर्दा दलितहरूको कुल मृत्युको ४ प्रतिशतजति हुन आउँछ । तर, यो विपद्बाट उठेर पहिलेकै अवस्थामा आउन सक्ने दलित समुदायको क्षमतालाई मूल्यांकन गर्ने हो भने उनीहरु उठ्नै नसक्नेगरी भैंचालोबाट प्रभावित भएको स्पष्ट हुन्छ । त्यसो त आदिवासी/जनजाति समुदाय वञ्चितीकरणमा परेको समुदाय हो । दलित समुदाय पनि बहिष्करणमा समेत परेको समुदाय हो, जो पहिचानविहीन छ । त्यसैले यो समुदाय भैंचालोको प्रभावबाट पनि बढी पिल्सिएको देखियो ।

राहत, उद्धार र पुर्नस्थापनाका सरकारी तथा गैरसरकारी निकायका कार्यक्रम दलित समुदायसम्म पुग्न सकेका छैनन् । दलित समुदायले सहज र प्राथमिकताका आधारमा राहत पाउने सम्भावनालाई समाजमा जरो गाडेर रहेको जातीय भेदभाव तथा छुवाछूतले प्रमुख भूमिका खेलेको छ । अहिले पनि बल र पहुँच हुनेहरूले राहत पाए, चाहे खोसेर होस् या थर्काएर ।

राहत वितरणमा कुनै जातजाति समुदाय नभनीकन राहत तथा उद्धार गर्ने भन्ने प्रधानमन्त्री सुशील कोइरालाको बोलीलाई पछ्याउँदै गैरदलितले विपतको बेलामा पनि दलितहरूलाई अलग्याएर राहत किन दिने भन्दै राहत नै खोस्ने गरेका छन् । हाम्रा प्रधानमन्त्रीले समेत के बुझेनन् भने सामाजिक आर्थिक रूपमा पछाडि पारिएका समुदाय नै विपतको बेला सबैभन्दा जोखिममा रहेका हुन्छन् । भैंचालोले जात भन्दैन तर जातीय भेदभाव भोगिरहेका दलित समुदायले राहत, उद्धार र पुनर्स्थापनाको समयमा पनि जातीय विभेद खेप्छन् भन्ने कुरा उनले बिर्सिए । त्यसैले राजनीतिमा मात्र होइन, विपद् व्यवस्थापनमा पनि सामाजिक समावेशीकरणलाई मुख्य आधार बनाइनु आवश्यक छ ।

शिवहरि ज्ञवाली
ज्ञवाली एसियन ह्युमन राइट्स कमिसन र जागरण मिडिया सेन्टरसँग आवद्ध छन् ।
source : esamata.com
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: