जागरण मिडिया सेन्टर

Home » दलित समाचार » भग्नावशेषमाथि उत्साहको सञ्चार

भग्नावशेषमाथि उत्साहको सञ्चार

माधव ढुङ्गेल

२०७२ जेष्ठ १८, जागरण मिडिया सेन्टर ।

फोटो :हङकङको सहयोगीले गरिब ४० दलित परिवारलाई बनाइदिएका अस्थायी घर, विलालयलाई दिएको सहायता हस्तान्तरण कार्यक्रममा कर्थलीका भुकम्‍पपीडित उत्‍साहित मुद्रामा।

कर्थली (सिन्धुपाल्चोक) : ‘यत्रो विक टोलमा मेरो लोग्नेलाई मात्र पहिरोले लग्यो’, कर्थली ७ की चार सन्तानकी आमा ५० वर्षीया फूलमाया विश्वकर्मा दोहोर्‍याईतेहर्‍याई उही पीडा पोखिरहेकी छन्। पति गुमाएकोमा उनी जति दु:खी छिन्, त्योभन्दा पनि बढी आफू एक्लैलाई दैव लागेकोमा थप पीडाबोध भएको छ।
उनीभन्दा चार वर्ष कान्छा पति इन्द्रबहादुर भूकम्प जाँदा भारी बोकेर मूलखर्कस्थित गोठमा जाँदै थिए। चुचेखर्कको पहिरोले लपेट्यो। ‘अस्ति गएको, डुङ्डुङ्ती गनाइरहेको छ’, उनले भनिन्।
केही दिन त उनलाई केही पनि चाहिँदैनजस्तै लाग्यो तर बिस्तारै उनी समालिएकी छन्। ससाना तीन छोरा छन्। छोरीको चाहिँ बिहे भएको छ। ‘म त रोको रोयै भएँ। यो कान्छोले पनि कपाल काटेर बाउको किरिया गर्नुपर्‍यो’, उनले रीतिप्रति पनि दिक्दारी पोखिन्।
अब उनलाई लालाबालाको मायाले तानेको छ। ‘बारी पनि पहिरोले लग्यो, खसीबाख्रा सबै पुरिए’, उनी होसमा आएकी छन्, ‘यी केटाकेटी कसरी पाल्ने? पढाउने र बढाउने म एक्लीको जिम्मामा आयो।’
उनले डेनियल इम्प्लोएमेन्ट एजेन्सी हङकङका तर्फबाट राहतस्वरूप पाएको ५० हजार बुझिन्। नगद भएको थैली कसरी बोक्ने भन्नेमा पनि के गरौं, के गरौं भएकी थिइन्, एकजना छिमेकीले सघाउँदै पोल्टामा हालिदिए।
सात कक्षामा पढ्ने छोरी नैनमाया गुमाएकी ठूलीमाया तामाङ पनि अर्को नानी च्यापेर धमिलो मन लिँदै राहत रकम बुझ्दै थिइन्। हङकङको एजेन्सीले सबैभन्दा गरिब ४० घर दलितलाई बनाइदिएको अस्थायी घर, विद्यालयलाई दिएको सहायता हस्तान्तरण गर्ने समारोहमा सयौंको संख्यामा सर्वसाधारण उपस्थित भए।
लामोसाँघु बजारभन्दा १८ किलोमिटर उकालो सडक मार्गमा पर्ने यो डाँडाका सबै घर ध्वस्त थिए। भग्नावशेषको थुप्रोमाथि उभिएका मानिसको अनुहारमा उत्साहको सञ्चार भएको थियो। सञ्चारकर्मी एवं लोकगायिका कोमल ओलीले सम्बोधन गर्दै भनिन्, ‘हामी स्वाभिमानी नेपाली हौं।
कसैले दिएको राहतका भरमा सधैं जीवन चलाउँदैनौं, पाखुरीको कमाइमा विश्वास गर्छौं।’ उपस्थित जनसमूहले ताली बजाउँदै त्यो भनाइको समर्थन गर्‍यो।
विनासकारी भूकम्प गएको महिना दिन नाघ्दा सिन्धुपाल्चोकवासीमा साहस र उत्साह भरिएको छ। राहत लिएर जानेको मन त्यहाँको खण्डहर दृश्य देख्दा कुँडिन्छ तर त्यहाँका बासिन्दा समालिएका छन्।
भूकम्पमा गएको पहिरोमुनि बाँस चिरेर टहरामा किला ठोक्दैछन्। कोही घरको भग्नावशेषछेउ पाल टाँगेर बसेका छन्। सबैले मकै गोडिसकेका छन्।
वर्षा कटाउने तयारी गर्दैछन्। दिनदिनै त्यसै आसपास केन्द्र भएर जाने परकम्पले जोखिम त छ तर पनि कति दिन काम नगरी बस्ने भन्दै काममा फर्केका छन्।
त्यस क्षेत्रमा कांग्रेसबाट चुनिएका सभासद् मोहनबहादुर बस्नेतलाई व्यवस्थित र पहिरोबाट जोगिने गरी बस्ती विकासबारे प्रश्न गर्दा उनले भने, ‘अहिले बनाउन थालिएका टहरा बुद्धिमत्तापूर्ण त हैन तर बाध्यता हो।
जिल्लाका आधाभन्दा बढी बस्ती यस्तै छन्। जोखिम मोलेर बस्ने प्रयासमा छन्। योभन्दा पनि बस्नै नहुने अवस्थाका चाहिँ जिल्ला छाडेर भक्तपुर पुगेका छन्। ज्यान त बचाउनैपर्‍यो !’
आफूले सरकार र सामाजिक संस्थासँग कुरा गर्दा पनि एकै ठाउँमा ठूला व्यवस्थित बस्ती बसाउन आग्रह नगरेको बताउँदै सभासद् बस्नेतले भने, ‘यहाँ सधैं रासनपानी दिएर खुवाउने बस्तीबारे सोच्न हुन्न।
सुरक्षित ठाउँ खोजेर खेती पायक पर्ने गरी २०-२५ वा ५० घरका साना बस्तीको डिजाइन गर्नुपर्छ। त्यो बुद्धिमत्तापूर्ण र व्यावहारिक हुन्छ।’
भूकम्पका कारण मृत्यु हुने करिब साढे आठ हजारमध्ये आधाजसो सिन्धुपाल्चोकका छन्। विनास पनि त्यहाँ धेरै भएको छ। बाह्रबिसे बजार होस् कि कर्थली सबैतिर उत्तिकै ध्वंस छ।
सबैजना उस्तै झुपडीको तयारीमा छन्। अझ बाह्रबीसे वा लामोसाँघुवासीसँग त टहरा बनाउने ठाउँ पनि छैन।तातोपानीतर्फको मार्गमा यात्रा गर्दा दोलालघाट कटेर सिन्धुपाल्चोकको सीमा सुरु हुनेबित्तिकैदेखि भूकम्पको विनास देख्न सकिन्छ।
सुकुटे, खाडीचौर, लामोसाँघु, बाह्रबीसे कतै कुनै घर सद्दे देखिँदैनन्। भत्केका तर ढलिनसकेका घरहरूमा अहिले पनि केही पसल चलिरहेका छन्।
लामोसाँघुमा त एक ठाउँ सिनोको गन्ध पनि आयो। ‘दिउँसो पसलमा बस्छौं। राति भएपछि पालमा गएर सुत्छौं’, बाह्रबीसेको भग्नावशेषबीच व्यापार गरिरहेका एक पसलेले भने।
सभासद् बस्नेतले भने, ‘जिल्लाका ६७ हजार घरमध्ये ६५ हजार पाँच सय भत्केका छन्। बाह्रबीसे बजारमा जम्मा चार घर सद्दे छन्।’
बाह्रबीसेदेखि तातोपानीसम्मको २६ किलोमिटरभित्र रहेका बजार योभन्दा दक्षिणको भन्दा भग्न र सखाप रहेको जानकारी दिँदै उनले भने, ‘तातोपानी, लिपिङ र चाकुबजार पनि केही छैन। सुक्खा बन्दरगाहमा त हेलिकोप्टर पनि राख्न सक्ने ठाउँ छैन।’
मृतकको संख्या पनि पाँच हजार पुग्ने सम्भावना उनले व्यक्त गरे। ‘तातोपानी, फुप्लिङकटी मर्मिनमा पहिरोमा परी अझै कति बेपत्ता छन्, क्षेत्र नम्बर २ का गुम्बा, गोल्चे र क्षेत्र नम्बर ३ का भोताङ, बरुवा, हेलम्बु र क्युल क्षेत्रमा पनि अझै धेरै बेपत्तै छन्।’

– See more at: http://annapurnapost.com/News.aspx/story/12571#sthash.zuEA8EoV.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: