जागरण मिडिया सेन्टर

Home » दलित समाचार » विपतमा समेत जातीय छुवाछुत

विपतमा समेत जातीय छुवाछुत

२०७२ जेठ २९, जागरण मिडिया सेन्टर

‘हामीले यहाँका गरिब दलितहरुका लागि भनेर सहयोग ल्याएका हौं ।

त्यसैले यहीँ द्यौलाहरुकै बस्तीमा खाना पकाउने र यहीँ खान दिने योजना छ ।’

विपतमा समेत जातीय छुवाछुत

हनुमन्ते खोलाले छुटयाउँछ भेलुखेल र आदर्श चोकलाई । भक्तपुर–११ स्थित भद्रकाली मन्दिर छेउमा पर्ने यो दलित बस्ती भेलुखेल भूकम्पबाट सर्वाधिक क्षति हुनेमध्येमा पर्छ । छेवैको आदर्शमा महर्जन (किसान) बस्छन् । हनुमन्ते खोलामा हिजोआज पानी होइन, ढल बग्छ । यही खोलाको ढलले राजधानी काठमाडौंदेखि १० किमी नजिकको नेवार बस्तीका ‘माथिल्लो जाति’ र ‘तल्लो जाति’ लाई आपसमा छुट्टयाएको छ ।

भारत चण्ढीगढबाट आएको १४ जनाको टोली ‘शिवपार्वती सेवा दल’ महाभूकम्पलगत्तै राहतका लागि आयो । भेलुखेलका गरिब दलितहरुको नाजुक अवस्था बुझेपछि उक्त टोलीले दलित बस्तीका १ सय ३० घर द्यौलाहरुलाई केन्द्रित गर्दै सामुहिक भान्छा चलाउने निर्णय गर्‍यो । छेवैको महर्जन समुदायलाई समेत भान्छामा सहभागी हुन आग्रह गरे, भारतीयले ।

भेलुखेलभन्दा बाहिरी क्षेत्रमा बस्ने किसान (महर्जन) समुदायले द्यौला बस्तीमा मेस राख्ने चण्डीगढ टोलीको निर्णयप्रति आपत्ति जनाए । दलितसँग एउटै भान्छामा नखाने भन्दै उनीहरुले आफ्नो टोलमा मेस  राखिनुपर्ने माग राखे । भारतीयले भने, ‘हामीले यहाँका गरिब दलितहरुका लागि भनेर सहयोग ल्याएका हौं । त्यसैले यहीँ द्यौलाहरुकै बस्तीमा खाना पकाउने र यहीँ खान दिने योजना छ ।’

महर्जन (किसान) हरुले तुरुन्त फर्काए, ‘हामी उनीहरुले छोएको खाँदैनौं । हाम्रा लागि छुट्टै मेस चाहिन्छ ।’

भारतीय टोलीले आफूसँग आएका कुकले दुई मेस चलाउन नसक्ने बाध्यता सुनाएपछि किसान समुदायका प्रतिनिधिले भने, ‘त्यसो भए काँचै भए पनि चाहियो । चामल, दाल जे भए पनि हामीलाई आधा चाहिन्छ ।’

त्यसपछि भारतीयहरुले आफ्ना लागि भनेर ल्याएको खानेकुरा कथित् माथिल्लो जातका लागि छुटयाएर दिन बाध्य भएको भेलुखेलका ७२ वर्षीय दिलबहादुर द्यौलाले सुनाए । सुरुमा भारतीयले त्यसो गर्न मिल्दैन, यही टोलमा खान आउनुभयो भने दिन्छौं भनेका थिए, तर स्थानीय उपल्लो जातका सदस्यहरुले मेस राख्नै नदिने भनेपछि राहतका लागि आएका उनीहरुले समेत सम्झौता गरेको दिलबहादुरले सुनाए ।

‘भूकम्प जाँदा ठूलासाना, धनीगरिब, ठूलो जात दलित केही नभनी गयो,’ वृद्ध दिलबहादुरले चित्त दुखाए, ‘तर आपत परेको बेलासमेत ठूलो जात, सानो जात भनी छुट्याउदा मेरो मनै रोएको छ ।’

दिलबहादुर त्यतिखेर भक्कानिए, जब छेवैको आदर्श आधार उच्च माविका पढालेखा अध्यापकले समेत द्यौलाले छोएको नखाने भनी आपत्ति जनाए ।

भक्तपुर–७ आदर्शका रत्नगोपाल त्वायनाका अनुसार भेलुखेलमा मेस राख्ने भनेपछि उनको किसान समुदाय त्यहाँ जान तयार भएन । ‘तल्लो जाति’ कोमा पहिल्यैदेखि नखाने चलन तोड्न परम्पराले नदिने भएकाले आफूहरु नगएको उनले बताए । ‘जातिपातिको पनि कुरा छ, त्यता अलि फोहोर पनि छ,’ उनले कान्तिपुरसँग अकमकिँदै भने, ‘फेरि उनीहरुमा पनि ठूलो सानो गरी तीनवटा जात छ । हामीले पहिले तिमीहरु नै जाति मिलाऊ भनिदिएको छ ।’

आदर्श चोकका युवा पुस्ताका केही किसानले भने दलित बस्तीमा गएर खाए केही फरक नपर्ने भनी बुढापाकालाई सम्झाउन खोजेका थिए । तर अरु युवा र बुढापाकाले सिधै प्रतिवाद गरे । अरु त अरु, प्राकृतिक संकटका बेला ज्यान जोगाउनै मुस्किल परेका बेला जातिपातिको कुरा गर्दै पानीसमेत खान नदिएकामा भेलुखेलकी कान्छी द्यौलाले चित्त दुखाइन् । कान्छीले भनिन्, ‘नगरपालिकाले पनि हामीलाई भेदभाव गर्‍यो, पल्लो टोलका महर्जनलाई मात्रै पानी दियो, हामीलाई दिएन ।’

भेदभावको क्रम यतिमा रोकिएन । यसिङखेलस्थित मन्दिरमा क्षमापूजा आयोजना हुदैथियो । पुरोहितबाट भागवत् पुराण पढ्दैगर्दा दलितहरु सुन्न मन्दिरनेर आए । कान्छीले भनिन्, ‘पुरोहितले हाम्रो ठाउँमा नआऊ, तल्तिर बसेर भजनकीर्तन गर भने । भगवानसग क्षमा माग भनेपछि हामी मन्दिर गएनौं ।’

भूकम्प प्राकृतिक चक्रभित्रकै प्रक्रिया भए पनि यसका सामाजिक असरहरु देखिइरहेका छन् । राजधानी काठमाडौंबाट १० किमी नजिकको यो नगरपालिकाभित्रै जातीय भेदको यो रुप देख्न पाइन्छ । स्थानीय श्याम द्यौला भन्छन्, ‘भारतमा भुइचालो गएको होइन, तर उनीहरु आएर स्वदेश, विदेश नभई सघाए, उनीहरुको मागेर खानुपर्ने हाम्रै दाजुभाइले छुवाछुत गर्दा नरमाइलो लागेको छ ।’

भेदभावको अर्को शृंखला त्यस बेला थपियो, जति बेला भेलुखेलकी शिवलक्ष्मी द्यौलाले नगरपालिकामा फोन गरिन्, ‘सबैतिर पानी पुगिरहेको छ । किन हाम्रो टोलमा चाहि पानी नदिएको ?’

नगरपालिकाबाट कुनै रेस्पोन्स नभएपछि उनले ‘हेलो सरकार’ मा फोन गरिन् । नगरपालिकाका एक कर्मचारीले घरैमा फोन गरेर थर्काए, ‘किन हेलो सरकारमा फोन गरेको ?’

दिलबहादुर थप्छन्, ‘भगवानले यो द्यौला जाति हो, यो महर्जन हो भनी छुट्याउदैनन्, आपत परेको बेला यति त उनीहरु (किसान समुदाय) ले बुझ्नुपर्ने हो ।’

Source: कान्तिपुर दैनिक / Esamata.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: