जागरण मिडिया सेन्टर

Home » समाचार » मुस्कुरायो बारपाक

मुस्कुरायो बारपाक

२०७२ असार २८, बारपाक (गोरखा)-जागरण मिडिया सेन्टर ।

गोरखा, बारपाकमा त्रिपालमुनि आरन चलाएर बसेका आसमान विक। तस्बिर : सन्तोष पोखरेल

वरिपरि भग्नावशेष छन्। तिनले बोलिरहेछन्, कहालीलाग्दो विगत। जहाँ थुप्रै जीवन पुरिए। घरसँगै आशा र सपना भत्किए। प्रकृतिको विनाशक प्रहारले थुप्रैको हाँसो लुट्यो। जीवनको लय टुटायो। तर, निर्जीव भग्नावशेषनजिकै अझै चलमलाइरहेछन् थुप्रै जिन्दगी।
आँखाहरूबाट आँसुको भेल क्रमशः थामिँदै छ। आफन्त गुमाउनुको पीडा मत्थर हुँदैछ। ओठहरूमा हाँसो फर्कन थालेको छ। बन्जर भूमिलाई उब्जाउ बनाउन निधारबाट उसै गरी पोखिन थालेका छन् ‘परिश्रमका मोती’। घर भत्केर के भो त, त्रिपालमुनिबाटै भए पनि उनीहरू जिउने लय समात्दैछन्।
आसमान विकको आशासँगै बौरिएको छ उनको आरन पनि। भूकम्पअघिजसरी नै फलाम पिटेको लयात्मक ध्वनि गुन्जन थालिसकेको छ। त्यो ध्वनिले दर्शन बोलिरहेछ– विपत्तिपछि पनि जीवन सकिँदैन, समाज सकिँदैन, गृहस्थी सकिँदैन। तिनीहरू ओइलाउन सक्छन्। तर, आफ्नै प्रयत्नले कुनै दिन निराशाको भग्नावशेष पन्छाएर सपनाको महल ठड्याएरै छाड्छन्।

हो, ठीक त्यसै गरी, जसरी बारपाक उठ्दैछ।

वैशाख १२ को विनाशकारी भूकम्पले केन्द्रविन्दु बनाएर मार हान्दा सबैभन्दा बढी चोट यही ठाउँले बेहोरेको थियो। त्यो घाउमा क्रमशः खाटा लाग्दैछ।

आसमानको आरन त्यसैको संकेत हो, जसले स्थानीयलाई जीविका चलाउने साधन जुटाउँदैछ। शनिबार बिहान निकै व्यस्त देखिन्थे आसमान। छिमेकीका कुटोकोदालो बनाइदिन उनलाई भ्याइनभ्याइ छ।

अर्का स्थानीय शुकबहादुर घलेले पनि खेतको गरामा त्रिपाल गाडेरै किराना पसल फेरि सुरु गरिसकेका छन्। आसपासका गाउँले र नजिकैको निजी विद्यालयका विद्यार्थी सामान किन्न त्यहीँ पुग्छन्। गाउँका बुढापाका जम्मा भएर गफिने थाले पनि घलेकै पसल बनेको छ।

बारपाकका धेरैजसो गाउँले त्रिपालमुनिबाटै भए पनि पुरानै दैनिकीमा फर्किसकेका छन्। करिब ३ सय घरपरिवार अझै त्रिपालमुनि छन्। भन्छन्, ‘कति दिन भूकम्पको पीडा सम्झेर बस्ने! पेट पाल्नका लागि काम गर्नै पर्यो ।’

त्रिपालमुनि आरन चलाउनु घरमा जस्तो सजिलो छैन विकलाई। तर, पनि झिँझो मानेका छैनन्। ‘धेरै गाउँलेका घरायसी सामना पुरियो, हरायो। यस बेला मैले आरन बन्द गरे खेतबारी खनजोत गर्न पाउँदैनन्, अन्न नउब्जिए के खाएर बाँचुन्!’ आफ्नो जग्गामा पहिरो जोखिम बढेपछि उनको दुई पत्नीसहित ९ जनाको परिवार अहिले अर्कैको जग्गामा त्रिपाल गाडेर बसेको छ।

आफ्नो जग्गा चिराचिरा परेपछि घलेदम्पती पनि अर्कैको जग्गामा बसिरहेका छन्। ‘सुरुमा मासिक ५ सय रुपैयाँ भाडा लिएका थिए। तर, पछि त्यही पैसा पनि फिर्ता गरे,’ पत्नी सीताले भनिन्, ‘हाम्रा जग्गावाल मनकारी रहेछन्।’ ओल्लोपल्लो घरका छिमेकीका लागि उनीहरू चिनी, चियापत्ती, बिस्कुट, चकलेट, नुनतेल पुर्याीउँछन्।

घले दम्पतीले भूकम्पअघि पनि पसल थापेका थिए। त्यति बेला यो उनीहरूको व्यवसाय थियो तर विपत्तिपछि उनीहरूले त्यसलाई जिम्मेवारी पनि ठाने। ‘कसै न कसैले पसल नराखे गाउँलेलाई अप्ठेरो पर्छ। त्यसैले त्रिपालमुनि भए नि चलायौं,’ सीताले भनिन्, ‘हाम्रो मात्र होइन, सबैको बिल्लीबाठ भयो। त्यही सम्झेर मन बुझाउनुपरेको छ। वर्षा सकिएपछि बसोबासको मेसो गर्नुपर्ला।’

बारपाकका अन्य स्थानीय भूकम्पको पीडा भुलेर नियमित काममा फर्किसकेका छन्। गाउँका विद्यालय खुलिसकेका छन्। घाँसपात र खेतबारीका काम उसै गरी चलिरहेछन्। बुद्धहिमाल एकेडेमी स्कुलका शिक्षक प्रदीपकुमार गुरुङ भन्छन्, ‘घरायसी काम त नियमित चलिरहेको छ तर अलि टाढाबाट पढ्न आउने विद्यार्थीलाई समस्या छ। बाटोमा पहिरोको जोखिम रहेकाले बालबालिका आफन्तकहाँ बसेर पढिरहेका छन्।’

बारपाक होमस्टे व्यवस्थापन समिति अध्यक्ष मनोस गुरुङ भन्छिन्, ‘कतिन्जेल भूकम्प सम्झेर बस्नु? हामी आफ्नो काममा लागिसक्यौं। अहिले काम नगरे पछि खान पाइँदैन। त्यसैले डराएर मात्र भएन।’ उनका अनुसार भूकम्पले बालीनालीमा समेत असर पारेको छ। ‘भूकम्पले जमिन हल्लिँदा माटो झनै सुक्खा भयो रे, त्यसैले यसपटक बाली राम्रो छैन। मकै त झनै फलेन,’ उनले भनिन्।

नियमित कामसँगै गाउँले दीर्घकालीन आम्दानीका योजना पनि बुन्दैछन्। विभिन्न दाताको सहयोगमा अलैंची रोप्न थालेका छन्। ‘हुर्काउन सके अलैंचीले राम्रो आम्दानी दिन्छ, त्यही भएर बिरुवा लिन आएको,’ तीन घन्टाको हिँडी अलैंचीको बिरुवा लिएर फर्कंदै गरेका लालबहादुर गुरुङले भने, ‘पहिरो रोक्न पनि अलैंचीले सघाउँछ भन्ने सुनेको छु।’

बारपाक राहत वितरण मूल समिति संयोजक सुकबहादुर विकका अनुसार गाउँमा राहत पाउन बाकी कोही छैन। प्रत्येक परिवारले कम्तीमा १ क्विन्टल चामल, १० किलो दाल, ५ पोका नुन, ३ वटा कम्बल र २ वटा त्रिपाल पाएका छन्। त्यसबाहेक सरकारी राहत (१५ हजार रुपैयाँ) सबैले पाएका छन्। ‘धाँजा फाटेको जग्गामा बस्न नमिलेर समस्या परेको हो, नत्र अरू केही छैन, राहत सबैले पाएका छन्,’ उनले भने, ‘अवस्था सामान्य बन्दै गएको छ।’

बारपाक गाविसका सचिव चेतप्रसाद अम्गाईं पनि सबै काम नियमित हुन थालेको बताउँछन्। ‘त्रिपालमुनिको बसाइ केही अप्ठेरो भए पनि धेरैले टहरा जुटाइसके, आफ्नो जग्गामा बस्न नमिलेकाहरू त्रिपालमा छन्,’ उनले भने, ‘धेरै समस्या सल्टिसकेको छ।’

पहिरोको त्रास
भूकम्पको पीडा क्रमशः मधुरो हुँदै गए पनि पहिरोको जोखिमले भने स्थानीयलाई घेरिरहेकै छ। बारपाक प्रवेशको मुख्य मार्ग भूकम्पले छियाछिया भएर पहिरो जाने सम्भावना रहेकाले उनीहरू अत्यावश्यक कामबाहेक गाउँबाट बाहिर निस्कन छाडेका छन्। बारपाक पर्यटन विकास समिति अध्यक्ष खेमराज घले भन्छन्, ‘यति बेला पहिरोको निकै जोखिम छ। जरुरी काम नपरी कोही तलमाथि गर्दैनन्। पानी परेको बेला त झनै हिड्न हुँदैन।’ बारपाक गाउँसम्म पुग्ने सिम्जुङ–९, बालुवाबाट करिब १३ किलोमिटर मोटरबाटो छियाछिया भएको छ। कुनै पनि बेला माथिबाट ढुंगा खस्न सक्ने भएकाले खच्चड लैजानसमेत बन्द गरिएको छ।

– See more at: http://nagariknews.com/main-story/story/41487.html#sthash.iyhxQuvw.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: