जागरण मिडिया सेन्टर

Home » विचार » दलित नेताले कसरी हिन्दु राज्यको पक्ष लिनसक्छ हँ ?

दलित नेताले कसरी हिन्दु राज्यको पक्ष लिनसक्छ हँ ?

२०७२ साउन ७ गते, जागरण मिडिया सेन्टर ।

दलित नेताले कसरी हिन्दु राज्यको पक्ष लिनसक्छ हँ ?

मुखमा रामराम बगलीमा छुरा भएका नेता र सभासदलाई फेरि पनि जातिवादी संविधान लेख्न दिने ?

असार २९ गते नयाँ बानेश्वरको बीच सडकमा केही सभासद कुर्लिंदै थिए । एक सभासद बोल्दै थिए, खबरदार ४ दलका नेताहरु, जंगबहादुरले जस्तो आफ्नो मर्जीको संविधान नबनाऊ । महेन्द्रले जस्तो संविधान नबनाऊ, जंगे र महेन्द्रले बनाएको संविधान आफ्नै दरसन्तानका लागि अभिशाप भयो, त्यो दुस्साहस नगर ! तिम्रा खलकले पनि दुःख पाउनेछन् ।

उनको भनाइमा दम थियो, बोलीको तुक थियो । त्यस्तोमा तालीको पर्रा नछुट्ने कुरै थिएन । मलाई लाग्यो, कांग्रेसभित्र पनि यस्ता महान दलित नेताहरु रहेछन् । साँच्चै हाम्रा पक्षमा अब अधिकार लेखिने भयो ।

त्यो दिन देखें, फरक—फरक विचार र आस्था राख्नेहरु एउटै व्यानरमा उभिएका थिए । लाग्यो, अब सात दशकदेखि लडिरहेको दलित आन्दोलनको कोल्टो फेरिनेछ । ‘हिउँ फुटे हिम नदी, जनता जुटे जनसागर, औंसीको रात पनि छिट्टै आँउछ चिन्तै नगर !’ कुनै जमानामा सुनेको गीतमा जस्तै हाम्रा दुखाइहरु एकछिन बिसाउँदै आशाको त्यान्द्रो समातियो ।

तर हैन रहेछ, कहिलेकाहीँ आँखाले देखेको र कानले सुनेको पनि पनि भ्रम हुँदोरहेछ । उनले बोलेका शब्द फैलिन नपाई हराए । उनको कुर्लाइ छिनभर पनि टिक्न सकेन । कुर्लेको २४ घण्टा नबित्दै उनी त हिन्दु धर्म राष्ट्रको पक्षमा पो उभिन पुगे । हैन, कति सकेका हाम्रा नेताले यति धेरै दहीचिउरे कुरा गर्न !

हिन्दु धर्म र त्यसको पक्षपोषण गर्नेहरुले हिन्दु राज्य बनाएर दलितमाथि भेदभाव र छुवाछूतको उत्पीडनलाई जारी राख्न चाहन्छन् । हाम्रा केही दलित नेताबाट पनि त्यसकै पक्षमा लागेपछि हिन्दु कट्टरपन्थीहरुको मनोबल बढेको हुनुपर्छ ।

भनिन्छ, पेटमा दाँत हुनेहरुको भर हुँदैन । जोकोहीलाई थाहा छ, दलित आन्दोलन हिन्दु धर्मको विरोधमा उभिएको छ । हिन्दु धर्मको आडमै दलितहरुमाथि विभेद र छुवाछूत गरिएकाले आन्दोलन जारी छ । अधिकांश नेपालीले धर्म निरपेक्षताको पक्षमा छन् । अधिकांश दल र शक्तिले राज्यलाई धर्मबाट अलग्याउने माग गरिरहेका छन् । तर हाम्रा केही दलित नेताहरु भने हामीलाई हिन्दु धर्म भएनि हुन्छ भन्दै हिँडेका छन् ।

न्युज ट्वान्टी फोरमा उनले भने, “नेपाल हिन्दु राष्ट भए समृद्ध हुन्छ, विभिन्न धर्म, संस्कृति र परिवेशको एक रुप हिन्दु संस्कार हो । यसलाई संविधानमै उल्लेख गर्नुपर्छ ।” नेपाल हिन्दु राष्ट्र भए भ्याटिकन सिटी, मक्का, मदिनाजस्तै हिन्दुहरुको एक धार्मिक पर्यटनको केन्द्रविन्दुको रुपमा विकास गर्न सकिन्छ रे ! उनीबाट यस्तो अभिव्यक्ति आउला भनेर दलित आन्दोलनले त सोचेकै थिएन होला !

संविधान मस्यौदाले दलित अधिकारलाई लत्याएपछि मात्तिएको हात्तीजस्तै सडकमा निस्केका दलित नेताका अभिव्यक्ति छिनभरमै यत्ता न उता भए । पहिलो संविधानसभाका उपलब्धिलाई दोस्रो संविधानसभाले स्वामित्व लिएपछि दलित समुदायको आशाको दियो बलेको थियो । तर ती दियो निभ्न पुग्यो ठूला चार दलका शीर्ष चार नेताले बालुवाटारको भूतबंगलामा घोटाला गरेपछि, मध्यरातमा संविधानसभाका ६०१ जना सभासदको अधिकार लुटेर आफ्नो मर्जीमा संविधानको पुर्जी बनाएपछि । त्यही खोस्टो नै संविधानको पुर्जी भन्दै सभासदहरुलाई थमाइएको छ ।

त्यही पुर्जी देखेर दलित समुदाय रिसले आगो भइसकेका थिए । यसरी दलित, महिला, मधेसी, आदिवासी जनजातिसँगै सबै उत्पीडित समुदाय आआफ्ना अधिकार लुटिएपछि सडकमा राँको बाल्न निस्किए । मधेसमा आगो बलिसकेको थियो र मस्यौदा च्यातिइसकेको थियो । मधेसबाट बलेको आगो हिमाल र पहाडमा सल्किइसकेको थियो । बर्खेझरीको खहरे खोला उर्लेरै आए पनि मधेसीहरुको भावना र विचार डगमगाउनेवाला थिएन । पहाडका आदिवासी जनजातिहरु फिल्म रच्दै गर्दा उनीहरु आन्दोलनको ट्रेलर देखाइरहेका थिए ।

नेपाललाई हिन्दु अधिराज्य बनाउन चाहने देशी विदेशी शक्तिहरुको चलखेल बढेको छ । सोझासिधा अधिकारमुखी समुदायलाई न्यायको सास फेर्न नसक्नेगरी अँठ्याउन खोजिँदैछ ।

यता दलितका आफ्नै आन्दोलनको ताँती थियो, वर्षौंदेखिको उत्पीडन र आत्मामा पुगेको ठेँसलाई संविधानको प्रस्तावनाले नै क्षमायाचना गर्नुपर्छ भन्ने माग थियो । माग धेरै थिए, वर्षौदेखिका उत्पीडनको क्षतिपूर्तिसहितको समानुपातिकतामा थप अधिकार चाहिएको थियो । प्रदेशको नाम र सीमांकनबिनाको संघीयता, अधिकारबिनाको संविधान कसरी साबित हुनसक्छ उत्पिडित दलित जनजातिका लागि वरदान ?

त्यसैले संविधानको मस्यौदालाई आफ्नो पक्षमा छ भनेर स्वीकार्नेहरुको अभाव खड्कियो । न दलित समुदायले भन्न सक्छन् यो संविधानमा मेरो अधिकार छ भनेर । नत मुस्लिम, आदिवासी जनजाति तथा धार्मिक अल्पसख्यक समुदायले स्वागत गर्न सक्छन् यो संविधानमा, मेरो अधिकार लेखिएको छ भनेर । जब मस्यौदाले खस आर्यका अधिकारलाई सुरक्षित गर्‍यो, जब दलित, महिला मधेसी, आदिवासी जनजाति र मुस्लिम तथा धार्मिक अल्पसख्यक र सीमान्तकृत समुदायको अधिकारलाई लुट्यो, अनि त अधिकारविहीन समुदाय फलामको इस्पात नभएर अरु के हुन्छन् त ? त्यसैले त संविधानको मस्यौदामाथि सुझाव संकलनमा हस्तक्षेप भएको हो, सुझाव माग्ने नेतालाई सुझाव दिन छाडेर कुर्सी फाल्ने, ढुंगामुढा बर्साउने काम भएको हो ।

हुन त हिन्दु धर्मलाई अरुमाथि लाद्न खोज्नेहरुको पनि भीड छ । तर त्यही हिन्दु धर्म र त्यसको पक्षपोषण गर्नेहरुले हिन्दु राज्य बनाएर दलितमाथि भेदभाव र छुवाछूतको उत्पीडनलाई जारी राख्न चाहन्छन् । हाम्रा केही दलित नेताबाट पनि त्यसकै पक्षमा लागेपछि हिन्दु कट्टरपन्थीहरुको मनोबल बढेको हुनुपर्छ ।

विडम्बनाको कुरा, उनको अभिव्यक्तिले भने झण्डै साठी लाख दलितको पेटमा छुरा रोपेको छ । दलितहरुले सत्तरी वर्षसम्म हकहितका लागि लडेको आन्दोलनलाई मर्माहत पारेको छ । उनको अभिव्यक्तिसँगै हिन्दु कट्टरपन्थीहरुले पनि धर्मनिरपेक्षता र त्यसको पक्षमा रहेको जनआन्दोलनको भावनामाथि चोट पुर्‍याएका छन् ।

त्यसरी बिगार्ने नेताहरु देशी विदेशी शक्तिहरुको दर्शन गर्नमा व्यस्त छन् । नेपाललाई हिन्दु अधिराज्य बनाउन चाहने देशी विदेशी शक्तिहरुको चलखेल बढेको छ । सोझासिधा अधिकारमुखी समुदायलाई न्यायको सास फेर्न नसक्नेगरी अँठ्याउन खोजिँदैछ ।

संविधानलाई केही मुठीभरका नेता र समुदायले आफ्नो अधीनमा पार्दैछन् । तर उनीहरुको चाहना सहजै पूरा हुँदैन, इतिहासले यही भन्छ ।

जंगबहादुरले संविधान बनाए, आफ्नै भाइ भतिजाका लागि । उनका सन्तानले एक शताव्दीसम्म हैकम चलाए । जंगका खलकलाई सिध्याउन यिनै अधिकारविहीन समुदाय ज्यान फालेर लागे । जंगको खलक नसकिँदै अर्का जंग भएर निस्के महेन्द्र, जसले अर्को संविधान बनाएर भाइभारदारलाई पोसे । उनीहरुका रजाइँ सहन नसकेपछि यिनै अधिकारविहीन समुदाय सडकमा निस्के ।

पञ्चायत ढलेपछि पनि केही जंगे र महेन्द्रेहरु सल्बलाए । फेरि पनि सोझा सिधा जनताले विद्रोह गरे, आन्दोलन गरे । जनताको ताकतमा संविधानसभाको चुनाव भयो, नयाँ संविधान लेख्ने काम भयो । सबै उत्पीडित समुदायले गुमेका अधिकार लेखाउन प्रयास गरिरहे । अन्तत फेरी पनि तिनै जंग, तिनै महेन्द्र अनि ज्ञानेन्दका रखवालीमा उनीहरुको मनोमानी चल्यो । अरुका लागि नभई उनीहरु आफ्नै लागि अहिले संविधान बनाउने काम गर्दैछन् । सोलोडोलोमा सबैका अधिकार एउटै डालोमा हाल्ने काम गरेका छन् । लाजै नपचाई अनि देखावटी पारामा जनताको घरदैलोमा संविधानको खोस्टो लिएर सुझाव माग्न गएका छन् । अब फेरि कस्तो सुझाव लिएर संविधानसभामा पुग्छन् ? त्यसपछि अर्को कुनचाहिँ नौटंकी गर्छन् ?

अहिलेको संविधानले कसैको पनि चित्त बुझाउन सकेको छैन । मस्यौदाको विरोध नगर्ने कुन चाहिँ समूह र समुदाय बाँकी छ अब ? चारैतिरबाट विरोध हुँदाहुँदै उनीहरुको अधिकारबिना कसरी बन्ला संविधान ?

सुझाव संकलनका क्रममा भएका विरोध, झडप र प्रतिरोध र त्यसमाथिको दमनका कारण मस्यौदामाथि आगो लागेको छ । त्यही आगोमा पनि आफ्नो स्वार्थको रोटी पकाउन पल्केका शासकहरुले कस्तो संविधान बनाउलान्, हेर्न बाँकी छ । यहाँ फेरि पनि दलितलाई दल्ने हिन्दु राष्ट्रकै पक्षमा संविधान लेखियो भने, अन्य धर्मलाई थिचोमिचो गर्नेगरी धर्मनिरपेक्षतालाई खारेज गरिने हो भने यहाँ हिन्दु कट्टरपन्थीहरुको राज चल्नसक्छ । त्यसरी एउटा मात्रै समुदाय, धर्म, क्षेत्र, वर्ग, वर्ण, लिंग र भाषाको पक्षमा संविधान नै बनाइयो भने तपाई हामीले कसरी भन्न सक्छौं, यो हाम्रो देशको र हामी जनताको संविधान हो भनेर ?

 विरु नेपाली

 नेपाली समता फाउण्डेशन र जागरण मिडिया सेन्टरसँग आबद्ध अनुसन्धानकर्ता हुन् ।
Esamata.com
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: