जागरण मिडिया सेन्टर

Home » दलित समाचार » महिलाको शरीरमा आगो

महिलाको शरीरमा आगो

राजेन्द्र नाथ र कमल पन्थी

२०७२ साउन १८ गते, जागरण मिडिया सेन्टर ।

Gita-Shesh

प्रेममा जात र धर्म हुँदैन । ११ वर्षअघि मुस्लिम युवासँग आँखा जुध्दा गीता नेपालीलाई यस्तै लागेको थियो । त्यसैले केही समय अंकुराएको प्रेमलाई लगत्तै विवाहमा परिणत गरिन्, नैमुद्दिन शेषसित । अहिले गीता भेरी अञ्चल अस्पतालको १२६ नम्बर बेडमा अचेत छिन् । हात, खुट्टालगायत शरीरका अधिंकाश भाग आगोले जलेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको ३३ प्रतिशत भाग जलेको छ । ‘योभन्दा सुविधा सम्पन्न अस्पतालमा लैजान सक्नुहुन्छ भनेर सल्लाह दिएका छौं,’ मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर गुप्ताले भने ।

मोहम्मदपुर १ गणेशपुर, बर्दियाकी ३५ वर्षीया गीता शुक्रबार राति करिब ९ बजे जलेकी हुन् । उनका आफन्तले घरमै मट्टितेल खन्याएर आँगो लगाएको दाबी गरेका छन् । श्रीमान् नैमुद्दिन घरमा नभएको अवस्थामा बुहारीले ढोका खुला राखेर आगो लगाएको सासू फात्मा शेषले बताइन् । ‘आगो लागेको शरीर लिएर बुहारी एक्कासि बाहिर निस्किन्,’ फात्माले भनिन्, ‘घरमा छोरा पनि थिएन । हामी आत्तिँदै गुहार माग्दै आगो निभाउन थाल्यौं ।’

घरबाहिर रहेका गीताका श्रीमान् तत्कालै आएपछि उपचारका लागि नजिकको शीतलाबजार पुर्‍याएको आफन्तले बताए । त्यहाँको निजी क्लिनिकले उपचार गर्न नमानेपछि तत्कालै नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगिएको थियो । उनी सुत्ने सानो कोठा फुस (खर) को छ । ‘शरीरमा आगो लाग्दा छाना जलेको हुनुपर्ने,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘तर खरमा आगो लागेको देखिँदैन ।’

मट्टितेल खनाएको डब्बा वा अन्य कुनै भाँडो घटनास्थलमा नभेटिएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए । गीता नैमुद्दिनकी जेठी पत्नी हुन् । विवाह गरेको करिब ६ वर्षपछि उनले आफ्नै समुदायकी कान्छी पत्नी भित्र्याएका छन् । जेठी गीताका दुई छोरी छन् । १० वर्षीया रुबसा र ४ की रोशनी । कान्छीतर्फ एक छोरा र एक छोरी छन् ।

ससुरा रफिक अहम्मदले छोरा र बुहारीबीच राम्रो सम्बन्ध रहेको बताए । ‘घरमा कुनै किसिमको झैझगडा हुन्थेन,’ उनले भने, ‘बुहारीले आफैं आगो लगाइकी हुन् ।’ घटनाबारे प्रहरीलाई आइतबार बिहान १० बजेसम्म केही थाहा थिएन । कान्तिपुर संवाददाताले घटनाबारे जानकारी लिन खोज्दा प्रहरीले अनभिज्ञता जनाएको थियो । घरदेखि करिब ३ सय मिटर टाढाको गणेशपुर प्रहरी चौकी र जिल्ला प्रहरीमा जानकारी नदिएको प्रहरी उपरीक्षक परियारले बताए ।

कोठामा बुहारी एक्लै भएको सासू फात्माले बताइन् । नातिनीहरू कोठामा टीभी हेरिरहेका थिए । गीताकी ठुली छोरी रुक्सानाले आफू सुतिसकेकाले घटनाबारे थाहा नभएको बताइन् । उनका श्रीमान् केही वर्ष विदेश बसेर १० दिनअघि मात्रै फर्किएका थिए । घटनास्थलमा आगो लागेको कुनै प्रमाण नभेटिनु र प्रहरीलाई जानकारी नदिनुले घटना रहस्यमय भएको प्रहरीले बतायो । प्रहरी प्रमुख परियार घटनास्थल पुगेर अनुसन्धान गरी फर्केका छन् । उनले यसबारे अहिल्यै केही भन्न नमिल्ने बताए । उपचार्थ नेपालगन्जमा रहेकी गीताले आफैंले आगो लगाएको बताएकी प्रहरीले जनाएको छ ।

http://www.ekantipur.com/np/2072/4/18/full-story/413953.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: