जागरण मिडिया सेन्टर

Home » विचार » विभेदको चक्र र मुक्तिको खोजी

विभेदको चक्र र मुक्तिको खोजी

श्याम नेपाल

२०७२, साउन १८ जागरण मिडिया सेन्टर ।

विभेदको चक्र र मुक्तिको खोजी

सामाजिक विभेद नेपाली समाजको विशिष्ट चरित्र हो भनिरहनु नपर्ला । र, यसलाई पुष्टि गर्न किन पनि आवश्यक छैन भने आजको दिनसम्म पनि अधिकांश हामी नेपाली आफ्नो परिचय पहिलो निमेषमै जातीय आधारबाटै अपेक्षा गर्छौं र दिन रुचाउँछौँ । जात परिचयको त्यो एकाइ हो, जसको उत्पत्ति वर्ण व्यवस्थाको जाँतोमा मन्थन गरी भएको हो । त्यसको उपयोगले एकथरीमा उच्च कुलीन सम्मान, सामाजिक प्रतिष्ठा र श्रेष्ठताको विश्वास जगाउँछ भने अर्काथरीमा कमजोर मनोबल, हीनभावना, मानवीय सम्मान तथा आत्मविश्वासमा क्षय पुर्‍याउनुका साथै जीवनप्रति निराशा तथा सामाजिक कुण्ठा उत्पन्न गराउँदै यी सबै कुरा ‘दैव’कै इच्छामा भएको भन्दै विभेद स्विकार्ने ग्रन्थिको विकास गराउँछ । यसरी सामाजिक मान–प्रतिष्ठा, श्रेष्ठता, शक्ति र सत्तासँग जात जोडिएको हुँदा, हाल जतिसुकै जातीय राजनीति वा जातीय राज्यको विरोध गरे पनि ती विरोध गर्नेले नै नेपाली समाजमा सदियौँदेखि सुषुप्त रूपमा घनीभूत जातीय राजनीति गर्दै अहिले पनि आफ्नो जातीय वर्चस्व कायम राख्दै आएको इतिहास जीवितै छ । यदि होइन भने कोही किन तयार छैन जात त्याग्नलाई ? कथित तल्लो जात भनिने दलितलाई आफूसमान स्वीकार्न किन कोही कथित माथिल्लो जाति तयार छैन ? किन आज पनि अन्तर्जातीय विवाह अस्वीकार्य छन् ? यो एउटा सामाजिक मनोविज्ञानसँग जोडिएको जटिल समस्या हो, जसको निरन्तरताको पृष्ठपोषण हिन्दू जीवनशैलीको जग मानिने हिन्दू संस्कृति र धर्मको आडबाट भइरहेको छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा हिन्दू सामाजिक संरचनाका रूपमा काम गर्ने वर्णव्यवस्थाबाट निर्दिष्ट मानसिकताका कारण आजसम्म पनि सामाजिक विभेदको चक्र हाम्रो समाजमा सक्रिय रूपमा चलिरहेकै छ । विभेदको चक्र विभेद कसरी घटित हुन्छ भन्ने जान्नका लागि विभेदको सूत्र जान्न जरुरी हुन्छ । विभेदको सरलीकृत सूत्र भनेको पूर्वाग्रह + परम्परागत धारणा = विभेद हो । र, अझ स्पष्ट हुनका लागि विभेद सिर्जना गर्नमा योगदान गर्ने महत्त्वपूर्ण पक्ष ‘पूर्वाग्रह’ र ‘परम्परागत धारणा’ भनेको के हो भनेर जान्न अझ धेरै जरुरी छ । त्यसो भए पूर्वाग्रह भनेको के हो त ? पूर्वाग्रहको शाब्दिक अर्थ शून्य वा न्यून तथ्यको आधारमा पूर्व निर्धारित मान्यता वा मूल्यांकन हो । जस्तै– नकारात्मक विचार, फैसला, मान्यता, कुनै व्यक्ति निश्चित समूह वा समुदायको सदस्य भएका कारणले ऊप्रतिको हाम्रो दृष्टिकोण आदि । त्यसैगरी परम्परागत धारणाको शाब्दिक अर्थ कुनै निश्चित समूहप्रति झुटो, बंग्याइएको, सतही तथा अपूर्ण ज्ञानका आधारमा बनेको पूर्वाग्रही मानसिक चित्र हो, जस्तै तामाङले भारी बोक्छन्, महिलाको बुद्धि हुँदैन, दलितहरू फोहोरी हुन्छन् आदि । यसरी यी दुई फरक दृष्टिकोणको मिश्रणले विभेद उत्पन्न हुन्छ । विभेदको सजिलो परिभाषा भनेको समानबीच गरिने असमान व्यवहार हो । अर्थात्, कुनै व्यक्तिलाई उसको लिंग, जात, वर्ण, धर्म वा उसको अपांगताप्रतिको हाम्रो पूर्वाग्रही सोचका कारणले गरिने फरक व्यवहार हो । विभेद खुला रूपमै व्यवहारबाट अभिव्यक्त हुन्छ भने पूर्वाग्रह प्रवृत्ति वा बानीबाट अभिव्यक्त हुन्छ । तसर्थ, जबसम्म हाम्रो सोच, दृष्टिकोण र व्यवहार जातीय पूर्वाग्रह र परम्परागत सोचबाट मुक्त हुन सक्दैन, तबसम्म विभेदको चक्र हाम्रो समाजमा अन्तहीन रूपमा चलि नै रहनेछ । विभेदको चक्र टुट्ने सम्भावना त्यति वेला मात्र सम्भव छ, जतिवेला विभेद गर्नेहरूले आफ्नो व्यवहार विभेदपूर्ण भएको बोध गरी आफूलाई सच्याउनेछन् वा विभेद खेपिरहेकाहरू सम्पूर्ण रूपले जागृत भई आफूमाथि भइरहेको विभेदको प्रतिकार गर्नेछन् । त्यतिवेला प्रतिकारबाट हुने विध्वंशको प्रकृति र परिणाम अकल्पनीय हुनेछ । नेपाली मानसिकता सामाजिक विभेदको सन्दर्भमा नेपाली मानसिकताको प्रसंग कोट्याउनुपर्दा धेरै पर नगई केही महिनाअघि मात्र देशमा घटित आपराधिक प्रकृतिको एउटा घटना, एसिड प्रकरणको उदाहरणबाट प्रस्ट्याउन चाहन्छु । यो घटना कानुनत: आपराधिक हो, यसमा दुई मत छैन । तर, यसको पृष्ठभूमिमा यो घटनालाई ऊर्जा प्रदान गर्न सामाजिक विभेदको मानसिकताले खेलेको भूमिकाचाहिँ के हो ? यो राज्यलाई मेरो खुला प्रश्न ! एउटा उज्ज्वल भविष्य बोकेको युवक जातीय अपमान र तिरष्कारको मारले मनोरोगको सिकार हुन पुग्छ । आफूभित्र फस्टाउँदै गएको जबरजस्त कुण्ठा बदलाको भावमा परिणत भई ऊ आक्रामक बन्न पुगी एउटा संगीन अपराध गर्न पुग्छ, जसको परिणाम निश्चय नै दुर्भाग्यपूर्ण छ । त्यो हामी कसैबाट छिपेको छैन । एकातिर सुन्दर युवतीको जीवनबाट कान्ति क्षय भएको छ भने अर्कातिर स्नातक उत्तीर्ण गरी मर्यादित सैनिक सेवामा प्रवेश गर्ने तयारी गरिरहेको युवक अपराधी बनी जेल प्रवेश गर्न पुगेको छ । जे–जति भयो सार बुझाइमा यति मात्र हो कि एउटाले विभेदको आधारमा तिरष्कार गरेको छ भने अर्कोले विभेदको आधारमा प्रतिकार गरेको छ । प्रतिकार बाह्य प्रकृतिको भएकाले त्यसको असर अनि घाउ देखिएको छ । तिरष्कार आन्तरिक प्रकृतिको भएकाले न त्यसको असर देखिएको छ न घाउ नै । कानुनलाई सबुत चाहिन्छ । त्यसैले प्रतिकार अपराध ठहरिन्छ र जीवन विक अपराधी । तर, तिरष्कार गर्नेहरूको अपराध जीवनको भन्दा कम नभए पनि उनीहरू समाजमा स–सम्मान जीवन यापन गरिरहेका हुन्छन् । विभेदका स्तरहरू विभेदले कहाँ–कहाँ डेरा गरी बसेको छ ? यो कुन–कुन स्तरमा भेटिन्छ र यो कस्तो प्रकृतिको हुन्छ ? यसबारे चर्चा गर्नु सान्दर्भिक नै हुनेछ । मुख्यत: विभेद व्यक्तिगत, सांस्कृतिक र संरचनागत गरी तीन तह वा स्तरमा भेट्न सकिन्छ । व्यक्तिगत स्तरको विभेद व्यक्तिको विचार र व्यवहारमा भेटिन्छ । त्यसैगरी सांस्कृतिक स्तरको विभेद कर्मकाण्डी संस्कारका अभ्यासमा भेटिनुका साथै संस्कृतिले समाजमा स्वीकार्यता र बहिष्करणको रेखा कोरी सामाजिक समूहबीच सांस्कृतिक विभेद गरेको पाइन्छ । त्यसैगरी संरचनागत स्तरमा कुनै निश्चित समूहलाई सामाजिक, राजनीतिक र आर्थिक रूपले शक्तिशाली निर्धारण गरी समाजमा संरचनागत विभेद गरेको पाइन्छ । यसबाहेक विभेदका अन्य कारण पनि छन् । जस्तै मानवीय सामाजिक जीवनका विधि आयाममा भिन्नता तजबिज गर्ने हाम्रो बानी पनि एउटा हुँदै हो । संस्कृति, राष्ट्रियता, भाषा, धर्म, राजनीतिक आस्था, वर्ग, पहिरन, लिंग, यौनिकता, जात, उमेर, अपांगता जस्ता मानवीय जीवनसँग सम्बन्धित पक्षका आधारमा भिन्नता ठहर गर्न खोज्नु समाजमा घट्ने विभेदका प्रमुख कारण हुन् । र, यस्ता विभेद कोबाट हुन्छ भन्ने थाहा पाउनु पनि हाम्रो जानकारीका लागि महत्त्वपूर्ण छ । विशेषगरी व्यक्तिहरू, समूह वा समुदाय, निजी तथा सार्वजनिक क्षेत्र वा संघसंस्था र सरकारबाट प्राय: विभेद भइरहेका हुन्छन् । तर, दुर्भाग्य विभेदहरू धेरै तरिकाबाट हुने भएकाले कतिपय पीडितलाई आफूमाथि विभेद भएको वा भइरहेको छ भन्ने सुइँकोसम्म हुँदैन । प्राय: विभेद गरिने तरिका तीनवटा छन् र ती यसप्रकार छन् : आधिकारिक र अनधिकृत तरिका, बाह्य र आन्तरिक तरिका तथा प्रत्यक्ष र अप्रत्यक्ष तरिका । मुक्तिको उपाय सामाजिक विभेदको चक्रबाट मुक्तिको आवश्यकता सामाजिक विभेद खेप्नेहरूको मात्र नभई सामाजिक विभेद गर्नेहरूको पनि हो । विभेदको चक्रबाट उन्मुक्ति भनेको विभेदकारी र विभेदपीडित दुवै मानवीय कलंक हुनुबाट छुट्कारा पाउनु हो । यदि विभेद गरिरहेकाहरू विभेद भोगिरहेकाहरूप्रति संवेदनशील नभइदिने हो भने विभेदको चक्रबाट छुट्कारा पाउन त्यति सजिलो हुनेछैन, जो हामीले भोगिरहेका छौँ । तर, मानसिक शुद्धी र आत्मानुभूति अपेक्षित परिवर्तनको एउटा नवीन प्रयास भएकाले यदि आमजनजीवनमा निम्नलिखित उपाय अभ्यासमा ल्याउन सके त्यसले हामीलाई विभेदको चक्रबाट मुक्त गरी पशुको जगत्बाट मानवको जगत् र सभ्य मानवको जगत्बाट ज्ञानी वा बुद्धको जगत्मा पुर्‍याउनेछ । त्यति मात्र होइन, साँच्चै हामीले यी उपायलाई आमजीवनमा अपनाउन सके हाम्रो मुक्ति कसैले पनि रोक्न सक्दैन । – See more at: http://www.enayapatrika.com/2015/08/19338#sthash.rvTa01eQ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: