जागरण मिडिया सेन्टर

Home » समाचार » संयुक्त विरोध सभा गर्न मधेशी, आदिवासी जनजाति र दलितबीच छलफल चल्दै

संयुक्त विरोध सभा गर्न मधेशी, आदिवासी जनजाति र दलितबीच छलफल चल्दै

२०७२ साउन १८, जागरण मिडिया सेन्टर

संघीयताविनाको संविधान निर्माण प्रक्रियाको विरोध गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्नो विरोध कार्यक्रमअन्तर्गत धनकुटा, बिर्तामोड, हेटौ‌ंंडा, नेपालगञ्ज र धनगढीमा विरोध सभा गर्ने घोषणा गरेको छ ।

नेपालगञ्ज मधेशवादी पार्टीहरुकै प्रभाव र आधार क्षेत्रअन्तर्गत परे पनि अन्य चार स्थान भने ती पार्टीको आधार र प्रभाव इलाका होइनन् ।

झापाको बिर्तामोड र कैलालीको धनगढी मधेशवादी पार्टीले दाबी गर्ने मधेशभित्रै परे पनि बिर्तामोड पूर्वी तराईका आदिवासी राजवंशीको मूल थलो हो भने धनगढी पश्चिमका राणा थारुको आदिभूमि हो । अनि पहाडमा पर्ने धनकुटा र हेटौंडामा समेत विरोध कार्यक्रम आयोजना गर्न किन सोच्यो मधेशी मोर्चाले ?

झापाका उत्पीडित आदिवासी राजवंशी र कैलालीका राणा थारुलाई समेत आन्दोलित गर्न ती ठाउँमा विरोध सभाका कार्यक्रम आयोजना गरिएको मोर्चाको घटक तमलोपाका उपाध्यक्ष बृखेशचन्द्र लालले बताए ।

उपाध्यक्ष लालका अनुसार सबै वर्ग र समुदायले निर्माणाधीन संविधानको प्रारम्भिक मस्यौदाको विरोध गरेकोले आन्दोलनलाई बृहत् बनाउन पहाडका सहरहरुमा समेत विरोधका कार्यक्रम घोषणा गरिएको छ ।

उनले पूर्वका लिम्बुवानलगायतका राजनीतिक शक्तिहरु, पश्चिमका थारु, वैद्यको नेतृत्वमा नेकपा–माओवादीसँग आन्दोलनका लागि सहकार्य तथा कार्यगत एकता गर्नेबारे छलफल भइरहेको बताए ।

‘आन्दोलनमा सहकार्य गर्ने भन्ने सन्दर्भमा लिम्बुवानका साथीहरुसँग वार्ता धेरै अगाडि बढिसकेको छ । वैद्यजीले पनि आन्दोलनका लागि हामीसँग सहकार्य गर्नुस् भन्ने हामीलाई भेटेरै आग्रह गरिसकेका छन्,’ लालले भने ।

धनकुटा र हेटौंडामा मधेशी मोर्चाले विरोध सभा आयोजना गर्ने निर्णय किन गरे भन्ने कारण खुलाउँदै तमलोपा उपाध्यक्ष लालले भने, ‘पहिलो त पहाडका दलित र जनजाति पनि संविधानको मस्यौदाप्रति तीव्र असन्तुष्ट छन् । अर्को, संघीय समाजवादी फोरम नेपालका उल्लेख मात्रामा रहेका आदिवासी जनजाति साथीहरुले आग्रह गरेपछि हामीले ती ठाउँमा पनि आन्दोलनको कार्यक्रम राखेका हौं ।’

मधेशी मोर्चाले साउन १६ गते संघर्षका कार्यक्रम घोषणा गरे पनि ती कार्यक्रम साउन १९ गतेदेखि २४ गतेसम्म कार्यान्वयन हुने उसको प्रेस विज्ञप्तिमा उल्लेख छ । मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार घोषित कार्यक्रम दबाबमूलकका साथै प्रचारात्मक पनि पनि हो ।

अध्यक्ष महतोले ठूला चार पार्टीको संविधान निर्माणको कार्यतालिकासँग मेल खानेगरी आफूहरुले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाउ दिँदै कार्यतालिकाअनुरुपै संविधानसभाले साउन २५ गते परिमार्जित मस्यौदा प्रारम्भिक मस्यौदाजस्तै हुबहु सार्वजनिक गरे आफूहरु त्यो अन्तिम मस्यौदालाई च्यात्दै र जलाउँदै निर्णायक आन्दोलनमा होमिने चेतावनी दिए ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरले मधेशी मोर्चाले मधेशी जनताको भावना विपरीत आएको संविधानको मस्यौदा सच्याउनका लागि दबाब दिन दोस्रो चरणको कार्यक्रम घोषणा गरेको बताउँछन् ।

‘हामी सडकमै छौं, आन्दोलन त्यागेका छैनौं भन्ने खबरदारी गर्न मधेशी मोर्चाले आन्दोलन अगाडि बढाइरहेकोजस्तो देखिन्छ’ भन्दै चन्द्रकिशोरले मधेशका जनतालाई विश्वासमा लिन मधेशवादी नेताहरुले थोरै त्याग गरे मधेशमा ठूलै आन्दोलन हुन सक्ने बताए ।

यस्तै, नागरिक अगुवा विजयकान्त कर्णले मधेशी जनताको अधिकार प्राप्तिका लागि त्याग गर्न मधेशी नेताहरुले कन्जुस्याइँ गरिरहेको बताए ।

कर्णले भने, ‘आन्दोलन सफल नभएसम्म मधेशवादी नेताहरुले काठमाडौं छाड्नुपर्छ । अल्पकालीन रुपमा मात्रै भए पनि मधेशी नेताहरुले आफ्ना पार्टी कार्यालय मधेशमै खोल्नुपर्छ । काठमाडौंसँग अबको सम्झौता मधेशमै हुनुपर्दछ ।’

साउन/भदौको महिना भए पनि मधेशी जनता सडकमा उर्लिन तयार रहेको जिकीर गर्दै कर्णले त्यसका लागि झारा टार्ने हिसाबले नभइ सम्पूर्ण त्याग र समर्पणका साथ मधेशी पार्टीहरु आन्दोलनमा होमिनुपर्ने आवश्यकता औंल्याए ।

 Source: esamata
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: