जागरण मिडिया सेन्टर

Home » दलित समाचार » प्रधानमन्त्रीलाई दलित आन्दोलनको ‘प्रेमपत्र’

प्रधानमन्त्रीलाई दलित आन्दोलनको ‘प्रेमपत्र’

२०७२ साउन १९,-जागरण मिडिया सेन्टर ।

‘प्रेमपत्र’ सबै सभासद्, मन्त्री र गैरसभासद् शीर्ष नेतालाई पनि

दलित अधिकार संघर्ष समितिले प्रधानमन्त्री सुशील कोइरालालाई प्रेमपत्र लेख्दै दलितविरोधी संविधानको मस्यौदा सच्याउन माग गरेको छ ।

समितिका संयोजक विनोद पहाडीले दलित अधिकारबारे ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई हुलाकमार्फत प्रेमपत्र पठाएका हुन् । पत्रमा पहाडीले संविधान निर्माण प्रक्रियामा दलित समुदायले सदियौंदेखि भोग्दै आइरहेको पीडालाई मनन् गर्न नसकेको बताएका छन् ।

पहाडीले दलितका पक्षमा देखिएका सीमित ऐन, कानुन पनि निष्प्रभावित रहेको उल्लेख गर्दैै नेपाली दलित समुदाय २१ औ शताब्दीमा पनि दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य पारिएको उल्लेख छ ।

‘२०६२/६३ को जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन र विभिन्न अधिकारमुखी आन्दोलनपश्चात बनेको दोस्रो संविधानसभाले सार्वजनिक गरेको नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाले दलित अधिकारलाई पूर्ण रुपमा लत्याएको छ,’ पत्रमा लेखिएको छ ।

प्रेम पत्रमा संविधानको मस्यौदामा तत्कालीन प्रतिनिधि सभा र अन्तरिम संविधान २०६३ ले सम्बोधन गरिसकोको धर्मनिरपेक्षता र छुवाछूतमुक्त राष्ट्र घोषणालगायत खोसिएको उल्लेख छ । ‘पश्चगामी संविधान कुनै पनि अर्थमा दलित समुदायका लागि स्वीकार्य हुने छैन,’ पत्रमा लेखिएको छ ।

प्रेमपत्रमा भनिएको छ, ‘नयाँ संविधानमा गरिवीको दुष्चक्रमा परेका नेपाली जनताको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, र प्रेस स्वतन्त्रतामाथि कतैबाट पनि अंकुश लगाउने दुष्प्रयास नगरियोस् ।’

पहाडीले प्रधानमन्त्रीसहित ५९८ जना सभासद्, मन्त्रीहरु र संविधान निर्माणमा भूमिका खेल्ने गैरसभासद् नेतालाई पनि प्रेमपत्र पठाइएको जानकारी दिए ।  उनले दीर्घकालीनरुपमा दलित समूदाय पनि समाजमा प्रेमपूर्वक बाँच्न पाउनुपर्छ भनेर प्रेमपत्र पठाइएको बताए ।

  • पत्रको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्रीज्यू,

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईंलाई नेपालका ६० लाख बढी दलित समुदायका तर्फबाट हामी स्नेहपूर्वक यो प्रेमपत्र सम्प्रेषण गरेका छौं ।

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माणमा जुटिरहनुभएका तपाईंहरुलाई हामी अत्यन्त श्रद्धा तथा भावनात्मक प्रेम गर्दछौं । तर, संविधान निर्माण प्रक्रियाको महान यात्रामा यहाँहरुले दलित समुदायले सदियौदेखि भोग्दै आइरहेको पीडालाई मनन् गर्न सक्नुभएको छैन । नेपाली दलित समुदायले इतिहासको लामो कालखण्डमा जातीय भेदभाव र अपमान मात्र भोगेका छैनन्, पूर्ण रुपमा  अधिकारबाट वञ्चित गरिएका छन् । ८० प्रतिसतभन्दा बढी भूमिहीन र घरवारविहीन छन्, आर्थिक, सामाजिक राजनीतिक, शैक्षिक साँस्कृतिक सबै अधिकारबाट वञ्चित छन् । दलितका पक्षमा देखिएका सीमित ऐन, कानुन पनि निष्प्रभावित छन् । यथार्थमा, नेपाली दलित समुदाय २१ औ सताब्दीमा पनि दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य पारिएका छन् ।

नेपाली कला, साहित्य र संगीतमात्र होइन राजनीतिक परिवर्तनका हरेक कालखण्डमा दलित समुदायले गरेको बलिदानी र योगदानलाई उपेक्षा गरिएको यथार्थ छर्लङ्ग छ । २०६२/६३ को जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र विभिन्न अधिकारमुखी आन्दोलनपश्चात बनेको दोस्रो संविधानसभाले सार्वजनिक गरेको नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाले दलित अधिकारलाई पूर्ण रुपमा लत्याएको छ । आजपनि नेपाली धर्तीमा हिमाल, पहाड, मधेशका दलित समुदायमाथि अनेकौ अमानवीय उत्पिडन जारी छन् । उनीहरुका परम्परागत सीप, कला र संस्कृति खोसिएका छन् । वादी समुदायका महिलाहरु राज्यको वेवास्ताका कारण यौन शोषणमा परेर बाँच्न बाध्य छन् । दलित समुदायका तमाम समस्यालाई मुटुमा राखेर हामी दलित समुदायले पहिलो र दोस्रो संविधानसभाबाट हाम्रा पक्षमा संविधान निर्माण हुनेछ र नयाँ विहानी उदाउने छ भन्ने आशा र अपेक्षा गरेका थियौं । तर, संविधानको  प्रारम्भिक मस्यौदाले आम नेपाली दलित समुदायको मुटुुमा प्रहार गरेको छ । दलितका अधिकार खोसिएको, तत्कालीन प्रतिनिधि सभा र अन्तरिम संविधान २०६३ ले सम्बोधन गरिसकोको धर्मनिरपेक्षता र छुवाछूतमुक्त राष्ट्र घोषणाजस्ता कुराहरु खोसिएको पश्चगामी संविधान कुनै पनि अर्थमा दलित समुदायका लागि स्वीकार्य हुने छैन ।

नयाँ संविधानमा गरिवीको दुष्चक्रमा परेका नेपाली जनताको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, र प्रेस स्वतन्त्रतामाथि कतैबाट पनि अंकुश लगाउने दुष्प्रयास नगरियोस् । बहुभाषिक, बहुधार्मिक नेपाली समाजमा सम्पूर्ण नेपालीहरुको आत्मसम्मानको ख्याल गरियोस् भन्दै दलित अधिकार संघर्ष समितिको तर्फबाट स— प्रेम यो प्रेमपत्र हुलाकमार्फत् प्रेषित गरेका छौं ।

दलित आन्दोलनका तर्फबाट !

  विनोद पहाडी

संयोजक

दलित अधिकार संघर्ष समिति, २०७२

http://www.ekantipur.com/np/2072/4/18/full-story/413972.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: