जागरण मिडिया सेन्टर

Home » दलित समाचार » राष्ट्रिय समाचार दलित अधिकारकर्मीमाथि दमन

राष्ट्रिय समाचार दलित अधिकारकर्मीमाथि दमन

२०७२, साउन २० जागरण मिडिया सेन्टर

नयाँ संविधानमा दलित अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका दलित नेता तथा अधिकारकर्मीमाथि प्रहरीले मंगलबार निर्ममतापूर्वक लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट २६ जना घाइते भएका छन् । त्यसै क्रममा केही बेर दोहोरो झडपसमेत भएको थियो । छडपमा १३ प्रहरी पनि घाइते भएका छन् ।

घाइतेमध्ये केहीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा एमाले सभासद् जितु गौतम, कांग्रेस सभासद् मानबहादर विश्वकर्मा, एमाओवादी सभासद् दलजित श्रीपाइली, दलित अधिकारकर्मी कमला हेमचुरी, पूर्वसभासद् विनोद पहाडीलगायत नेता छन् । हेमचुरीको प्रहरीको बुटले खुट्टासमेत भाँचिएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले नयाँ संविधानको मस्यौदाले दलित समुदायको अधिकार कटौती गरेको भन्दै केही दिनअघि नै आन्दोलन सुरु गरेको थियो । मंगलबार बिजुलीबजारमा बिहान १० देखि ११ बजेसम्म धर्ना दिएर चक्काजाम गर्ने तयारी गरिएको थियो ।

तर, चक्काजाम गर्न सडकमा निस्कनासाथ प्रहरीले लाठीचार्ज सुरु गरेको पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका सभासद् जितु गौतमले बताए । उनले अधिकारका लागि शान्तिपूर्ण तरिकाले आवाज उठाउन पाइन्छ कि पाइँदैन भन्दै प्रतिप्रश्नसमेत गरे ।

‘हामी शान्तिपूर्ण तरिकाले चक्काजाम गर्न सडकमा उभिँदै थियौं,’ उनले भने, ‘पेटीमा समेत बस्न नदिनु भन्ने माथिको आदेश छ भन्दै लाठीचार्ज गर्न थालियो ।’

गौतमका अनुसार बिजुलीबजारमा एकोहोरो गाडी चल्ने गरी सडकमा धर्ना बस्ने तयारी भइरहेको थियो । तर, प्रहरीले आपूmहरूलाई सडकको पेटीमा समेत उभिन नदिई अकल्पनीय तरिकाको दमन सुरु गरेको उनले बताए ।

तर, प्रहरीले भने प्रदर्शनकारीहरूले नै पहिले ढुंगा प्रहार गरेकाले बल प्रयोग गर्नुपरेको जनाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायण खड्काले आन्दोलनकारीले ढुंगा र पानीको बोटल प्रहार गरेको र आपूmहरूले संयमता अपनाउँदा अपनाउँदै पनि बल प्रयोग गर्नुपरेको जनाए ।

दलित नेता तथा अधिकारकर्मीले पहिलो संविधानसभाले सर्वसम्मतबाट पारित गरेको र दोस्रो संविधानसभाले सर्वसम्मतिले स्वामित्व ग्रहण गरेका दलित समुदायसम्बन्धी हकअधिकार मस्यौदामा उल्लेख नभएको, संघ प्रदेश र स्थानीय तहमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरूप संघमा तिन, प्रदेशमा पाँच प्रतिशत र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गरिनुपर्ने, प्रस्तावित प्रारम्भिक मस्यौदामा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्दाको अवस्थामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताका लागि प्रत्यक्षतर्फ दलित समुदायका उम्मेदवारबिच मात्र प्रतिस्पर्धा हुने गरी निर्वाचन प्रणालीको व्यवस्था गरिनुपर्ने, प्रस्तावित मस्यौदाको व्यवस्थाअनुसार प्रत्यक्षतर्फबाट दलित समुदायको समानुपातिक प्रतिनिधित्व पुग्न नसकेको अवस्थामा समानुपातिकबाट परिपूर्ति हुने संवैधानिक व्यवस्था गर्नुपर्नेलगायत ९ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका थिए ।

गौतमले जति दमन गरिए पनि आन्दोलन जारी रहने प्रस्ट पारे । ‘प्रधानमन्त्री, सभामुख, सबै राजनीतिक दल, संविधानसभाको मस्यौदा समिति सम्बन्धित सबैलाई भेटेर ज्ञापन पत्र बुझाएका थियांै र हाम्रो माग सम्बोधन नहुने भएपछि नै आन्दोलन सुरु गरेका थियौं,’ गौतमले भने, ‘जबसम्म हाम्रो माग संविधानमा लिपिबद्ध हुँदैन, तबसम्म आन्दोलन जारी रहन्छ ।’

संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक परशुराम रम्तेलले चक्काजामका लागि सडकतर्फ लम्कँदै गर्दा नै लाठीचार्ज गर्न थालिएको बताए ।

सभासद्द्वारा सरकारको आलोचना

काठमाडौं÷रास– व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा समय माग गरेर सभासद्हरूले दलितमाथि भएको दमनबारे सरकारको आलोचना गरेका छन् । संयुक्त दलित संघर्ष समितिले नयाँ संविधानको मस्यौदामा दलित समुदायका अधिकारलाई समावेश नगरेको विरोधमा नयाँ बानेश्वरमा चक्काजाम गरेको थियो । त्यसै क्रममा दलित सभासद्माथि प्रहरीले धरपकड गरेको थियो । धरपकडका क्रममा ३६ जना घाइते भएका छन् ।

संसद् बैठकमा समय माग गर्दै सभासद्हरूले घटनाप्रति आपत्ति जनाउँदै यसबारे गृहमन्त्रीले जावाफ दिनुपर्ने माग गरेका हुन् । सभासद्हरूले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नसमेत माग गरेका छन् । शान्तिपूर्ण रूपमा भेला भएर आफ्नो आवाज राख्न पाउने अधिकारप्रति सरकारले धावा बोलेको सभासद्हरूको भनाइ छ । उनीहरूले घाइतेको निःशुल्क उपचार गर्न माग पनि गरेका छन् ।

संसद् बैठकको सुरुमै समय लिएर विपक्षी एकीकृत माओवादीका सभासद् अग्निप्रसाद सापकोटाले अधिकार माग्दा लाठी प्रहार गर्ने सरकारको रवैया ठिक नभएकाले सरकारले जवाफ दिनुपर्ने बताए । सभासद्हरू मीनबहादुर विश्वकर्मा, खड्कबहादुर बस्याल, भक्तबहादुर विक, मानबहादुर राउतलगायतले घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए । सभासद्हरू दीपक गिरी, भानुभक्त ढकाल, अइन्द्र सुन्दर नेम्वाङ र चित्रबहादुर केसीले घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । प्रहरीको लाठीचार्जबाट सभासद्हरू मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित विके सिपाइली, कमला हेम्चुरी, धर्मराज विक, पूर्वसभासद्् विनोद पहाडी, गणेश विकेलगायत घाइते भएका छन् । उनीहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । झडपमा प्रहरी पनि घाइते भएका छन् ।

यसैबीच सभामुख सुवासचन्द्र नेम्वाङले दलित सभासद्माथि भएको दमनको विषयमा सरकारलाई जानकारी दिन रुलिङ गरेका छन् । मंगलबारको संसद् बैठकमा अधिकांश सभासद्बाट बिजुली बजारमा दलित सभासद् र सर्वसाधारणमाथि लाठी प्रहार भएको भन्दै विरोध भएपछि सभामुखले अर्को बैठकमा गृहमन्त्रीलाई यसबारे जानकारी दिन रुलिङ गरेका हुन् ।

प्रकाशित मिति: २०१५-०८-०५ ०८:५९ | ५ पटक हेरिएको

http://www.rajdhani.com.np/article/0980937001438744471

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: