जागरण मिडिया सेन्टर

Home » समाचार » नेताहरुको बोली र सिनेमामा हाम्रो डाइलग उस्तै

नेताहरुको बोली र सिनेमामा हाम्रो डाइलग उस्तै

२०७२ साउन २१- जागरण मिडिया सेन्टर ।

धेरै वर्ष पहिले, अभिनेता राजेश हमाल कुनै सुटिङको लागि पोखरा आसपासको गाउँमा थिए।

फिल्ममा, दलितकै भूमिका निभाउँदै थिए। सुटिङ रोकिएको बेला पारेर उनी गाउँ पसे। एउटा घरमा गए। बुढाबुढी थिए, बसेर कुराकानी गरे चिया खाजा जे छ त्यही खाएर निस्के।

अलि वर आइसकेपछि एक गाउँलेले उनलाई रोकेर भने- तपाईँ  त्यहाँ गएर चियाखाजा खानुभयो? जान हुन्थेन त्यो त दलितको घर हो।

हमाल यस्तै सुटिङको मौका पर्दा गाउँ छिर्थे त्यहाँका मान्छेसँग कुरा गर्थे र समाज कस्तो छ थाहा पाउँथे।

सुटिङकै मौकामा सुदूर पश्चिम जाँदा उनी यसैगरि गाँउ छिरे। एउटा छाप्रो भित्र गए। त्यहाँ उनको भव्य स्वागत भयो। उनीसँग कुरा गर्न गाउँभरिका मान्छे आए। तर छाप्रोबाहिर टुसुक्क भुईँमा बसेका एकजना मानिस भित्र राजेश छेउ आउँदै आएनन्। राजेशले उनलाई पहिलै देखि याद गरेका थिए।

‘किन त्यहाँ बस्नु भएको नजिक आएर बस्नुस न।’

अक्मकाउँदै उनले बाहिरबाटै भने,‘म सानो जातिको मानिस हुँ, त्यहाँ आउन मिल्दैन होला।’

हिरोले कर गरेपछि विस्तारै उनी उठेर नजिक आए। छेउमा एउटा कूर्ची थियो हमालले त्यहीँ बस्न भने र उनीसँग कुराकानी गरे। हिरोको छेउमा बस्न समेत डराएका ती व्यक्तिले बेलुकी आफ्नी श्रीमतीले पकाएको चिया र पकौडा लिएर सुटिङस्थलमा आएका थिए।

यी सुदूर गाउँका घटना थिए र उनलाई लाग्थ्यो-नेपालका विकट गाउँमा मात्रै दलितमाथि छुवाछुत गरिन्छ।

यसबीचमा मुलुकमा ठुलठूला राजनीतिक परिवर्तन भए। ती परिवर्तनको प्रभाव दलित बस्तीसम्म पुग्यो होला भन्ने अनुमान उनको थियो।

तर, गत शुक्रबार पूर्वपश्चिम राजमार्गकै छेउको सिरहाको एउटा गाउँमा भएको घटना देखेर उनी खिन्न छन्।

हमालले सोचेकै थिएनन् रे राजमार्ग नजिकै को गाउँमा छुवाछुत त्यति चर्को छ।

दलितलाई सार्वजनिक ठाउँमै कसरी व्यवहार गरिन्छ भन्ने हेर्न र खिच्न उनी बिबिसि साझा सवालको टिम सहित सिराहाको नयनपुर गाउँमा, पुगेका थिए। एउटा दलित आफ्नै गाउँमा कसरी दिन काट्छ, उसलाई कस्ता बाधा पर्छन्,त्यही अवस्था कार्यक्रममा देखाउने उद्देश्य मात्रै थियो।

पहिले उनीहरु दिपक मलिकको घरमा पुगे। एकछिन बसे कुराकानी गरे। त्यसपछि दिपक पानी लिन इनार जाँदा राजेश पनि सँगसँगै गए। गाउँलेहरुलाई लागेछ— दिपकले इनारबाटै पानी झिक्न आएको हो। हमाल पनि दिपकलाई अधिकार दिलाउन आएका हुन्।  त्यहाँ त महिलाहरुले इनारलाई घेरा हालेर बसेका थिए। उनीहरुको बीचमा दुईतीन जना बृद्धहरु थिए।

जब गाउँभरीका स्वास्नीमान्छेहरुले दिपकलाई इनार छुन नदिन घेरा हालेको देखे राजेश छक्क परे। के बोल्नु,नबोल्नु भयो। उनी त्यहाँ दिपकलाई न्याय दिलाउन गएका पनि थिएनन्। उनी स्तब्ध मात्रै भए। टुलुटुलु हेर्ने बाहेक केही गर्न सकेनन्।

‘दलितलाई भाँडा समेत छुन नदिने, मन्दिर भित्र जान नदिने चलन हामीकहाँ छ भन्ने थाहा थियो,अत्यन्तै विकट गाउँमा यस्तो होला भन्ने मलाई लाग्थ्यो,’ राजेशले मंगलबार साँझ सेतोपाटीसँग भने, ‘तर प्रत्यक्ष त्यस्तो देखेको थिइन,जिवनभर मैले यस्तो विभेद यस्तो छुवाछुत कहिलेपनि देखेको थिइन।’

घटना सम्झेर राजेश आजसम्म खिन्न छन्।

हमालले देखे, ‘दलित भनिएका र कथित उपल्लो जातका मानिसहरुको वर्ग एउटै हो। उनीहरु दुवै गरिब छन्। ‘बाहिरी आवरण हेर्दा दिपक मलिक र इनार छुन नदिन बसेका वृद्ध बाबु छोराजस्ता लाग्थे।’ उनले संझे,‘हाउ भाउ कटाक्ष पनि उस्तै।’

राज्यको कानुनमा छुवाछुत गर्न पाइन्न भनेर लेखेको छ।  उनले त्यहाँ अर्कै कुरा पो सुने।

आफ्नो इनार छोइएलाकि भनेर उनीहरुसँग ति वृद्धले भनेका थिए-हामीले मात्रै बनाएको हैन सरकारले नै यस्तै सिस्टम बनाएको हो। यिनीहरूलाई इनार छुन दिन मिल्दैन।

राज्यले त भन्न सक्थ्यो यो इनार सबैको हो। कानुन देखाएर भन्न सक्थ्यो  दिपकले यो इनारमा पानी झिक्न किन नपाउने? कानुनको पालना गराउनु पर्थ्यो, छुवाछुतको विरुद्ध हस्तक्षेप गर्नुपर्थ्यो। राज्यका निकायहरु धेरै टाढा पनि थिएनन्, पुलिसचौकी नजिकै थियो। तर यत्रो घटना हुँदा पनि राज्य त्यहाँ थिएन।

यही घटना छुवाछुत विरुद्धको पहिलो पाइला बने हुन्थ्यो भनि सोच्छन हमाल।मानिसहरुले बुझे हुन्थ्यो। उनी गएकै मौका पारेर दिपकले इनारबाट पानी तान्न पाएको भए, साँच्चिकै क्रान्ति हुन्थ्यो। क्रान्ति गर्ने श्रेय त्यही समुदायलाई जान्थ्यो।

त्यहाँ उनको नायकीले कुनै काम गरेन,गर्दैनथ्यो। किन भने उनले फिल्म गरिरहेका थिएनन्।

***

फिल्ममा यति निर्मम दृश्य नै हुँदैन। उनले थुप्रै फिल्ममा दलितको अभिनय गरेका थिए। तल्लो वर्गका मानिसहरुको दुःख पीडा उनलाई थाहा थियो तीनका चरित्र निभाउन सक्थे,त्यसलाई न्याय गरेको छु भन्ने पनि मान्छन्। तर, उनीहरुका पीडालाई यति नजिक बाट कहिलै अनुभूत गरेका भने थिएनन्।

फिल्ममा भएको भए त यस्तो घटनामा महानायकले दिपकलाई न्याय दिलाउन सक्थे। फिल्म सकिन्थ्यो दर्शकले तालि पिट्थे।

कतिपय फिल्ममा तल्लो तप्काका  मानिसहरुको अभिनय गरेर उनी सिनेसंसारमा हिरो बने। न्यायका लागि लड्ने विद्रोही चरित्र गर्दा उनी सुपरहिट बने। महानायक बने।

कहिलेकाँही उनी खिन्न हुन्थे। किनकि जसको दुःख सापटी लिएर उनी सुपरहिट बने उनीहरुको लागि आफुले केही गर्न सक्दीन भन्ने लाग्थ्यो। फिल्मकै बारे पनि सोच्थे, दर्शकहरुले तालि पिटेपछि त्यतिकैमा कुरा सकिन्छ, फिल्मले समाजमा साँच्चै परिवर्तन साँच्चै क्रान्ति त कहाँ गर्छ र?

‘फिल्मले एकदुईजना मानिसलाई प्रभाव पार्ला मान्छेलाई हेर्दा आनन्द पनि आउला तर त्यसले खासै धरातलिय यथार्थ त परिवर्तन गर्दैन,भनेर म खिन्न हुन्थेँ’ उनले भने।

आफुले अभनिय गरेको पीडीत वर्गको परिवर्तन त राजनीतिले गर्छ, उनी ढुक्कै थिए।

समाजको धरातलीय यथार्थ परिवर्तन गर्ने राजनीतिले हो नेताहरुले हो भन्ठान्ने हमाललाई अस्तीको घटनाले साँच्चै झस्काइदिएको छ। उनी नेताहरुले गर्ने काम देखि निराश बनेका छन्।

‘अस्तीको घटना पछि मलाई के लाग्यो भने परिवर्तनका लागि लड्छौँ भन्ने राजनीतिकर्मी र हामी फिल्मकर्मीले गरेको काम फरक रहेनछ, यस्ता विषयमा बोल्ने काम त हामी पनि गर्छौँ,’ हमालले भने,‘हामीले झैँ उहाँहरु पनि संवाद मात्रै बोल्या रहेछ। यदि नेताहरुले काम गर्‍या छौँ यसैलाई भनेको हो भने हामीले पनि कहिँ न कतै प्रभावकारी काम गरेकै रहेछौँ भन्ने फिल भयो।’

पहिले पहिले हमाल आफ्नो कामको बारे सोच्थे,फिल्ममा जतिसुकै क्रान्तिकारि भुमिका गरेपनि सुन्न र हेर्नमा सिमित हो, यसले प्रणालीलाई परिवर्तन गर्दैन। नेताहरुले भने समाजको नेतृत्व गर्छन र परिवर्तन पनि गर्न सक्छन्।अव उनको त्यो सोचाइ फेरिएको छ।

‘नेताहरुले पनि खासै त केही गर्दा  रहेनछन्, हामीले स्त्रि्कप्ट पढे झैँ भाषण नै गर्ने रहेछन्। पुरा नहुने भाषण भन्दा त बरु मेरो डाइलग बढ्ता प्यासनेट हुन्थ्यो,कम्तीमा दर्शकले तालि त बजाउँथे ,’ हमालले भने।

राज्यले छुवाछुत विरुद्ध कानुन बनाएको हमाललाई थाहा छ। उनी ठान्छन, सार्वजनिक ठाउँमा यस्ता घटनामा राज्यकै हस्तक्षेप हुनुपर्छ। राज्यकै भुमिका प्रभावकारी नभएको परिणाम हो यो। जब सम्म यस्तो वर्गको उत्थान, हक अधिकारका लागि राज्यले केही गर्दैन अर्को खुटीकलामा चड्दैन।

***

फिल्ममा भएको भए, लडाँइमा गएको हिरो हार्ने थिएन। एकपटक हारे पनि उ अर्को पटक फेरि फर्किन्थ्यो झन् बलियो भएर।  विकृति विरुद्ध लड्थ्यो अनि जित्थ्यो। आफ्नो नायकत्वलाई स्थापित गर्थ्यो।

यो  फिल्म हैन, हामाल लड्नैका लागि सिराहा गएका पनि  थिएनन्। तर उनी हारेरै फर्किनु भने पर्‍यो। उनको स्टारडमले त्यहाँ काम गरेन। तैपनि उनलाई यो घटना छुवाछुत विरुद्धको प्रथम पाइलो होस भन्ने लागेको छ। त्यही गाउँ छुवाछुत विरुद्धको नमुना गाउँ होस भन्ने कामना छ उनको मनमा।

अब के गर्ने? उनले सोच्न भ्याएका छैनन्।

उनी राजनीति गर्ने मान्छे होइनन् छुवाछुत विरुद्धका अभियान्ता पनि होइनन्, एक अभिनेता मात्रै हुन्, तर छुवाछुत विरुद्धको अभियान लिएर त्यही गाउँ जान उनलाई कसैले आग्रह गरे जाने छन्।

‘एकदुई दिन भयो मैले सोचिसकेको त छैन, तर दोस्रो केही कार्यक्रम या छलफल चलाउन पर्छ कि भन्ने लागिराखेको छ।’

http://setopati.com/samaj/31833/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: