जागरण मिडिया सेन्टर

Home » सम्पादकीय » संविधान, दीपक मलिक र राजेश हमाल

संविधान, दीपक मलिक र राजेश हमाल

२०७२ साउन २१, जागरण मिडिया सेन्टर ।

काठमाडौंका अनेक नामका दरबारहरू यतिवेला नयाँ संविधानका अनेक विषयले ल्याउने सम्भावित भुइँचालोबाट आइलाग्ने विपत्तिको हिसाब गर्नमै व्यस्त छन् । व्यस्त छन्, संविधानमा समावेश गर्ने केके विषयको परिभाषा आफ्नो अनुकूल गराउन सकिन्छ भनेर बहस गरिरहेका राजनीतिक नेता र कतिपय राजनीतिक व्यापारीका बैठक कोठा । सडकहरू तातिरहेका छन् अनेकथरी दबाब समूहका जुलुसहरूका पाइतालाले थिचिएर । त्यसैगरी सडक रातिएका छन्, हिजो मात्र दबाब कार्यक्रममा ओर्लेका दलित नेताहरूको टाउकोमा बज्रेका लाठीले बगाएको रगतबाट । संविधानका अन्तर्वस्तुमा भन्दा एक–अर्काको सेखी झार्न मात्र कम्मर कसेर लागेका केही अति जान्ने नेताका कारण तोकिएको समयभित्र संविधान आउने विषय अझै अनिर्णीत छ । र, यतिवेला सार्वजनिक माध्यममा चर्चाको शिखरमा छन्, दीपक मलिक र राजेश हमाल । राजेश हमाल चर्चामा आउनु नयाँ र अनौठो विषय भएन । नेपाली सिनेमामा लामो समय एकछत्र नायकका रूपमा छाएका र कतिपयले महानायक भनेर पद्वीसमेत भिराइने गरेका राजेश हमालको चर्चा हुनु अवश्य पनि समाचार र सम्पादकीयको विषय बन्ने कुरा होइन । तर, उनी यतिखेर चर्चामा आउनुको कारण भने चर्चायोग्य छ । त्योभन्दा चर्चायोग्य भने एउटा सवाल्टर्न दलित समुदाय, त्यसमाथि पनि डोम परिवारका दीपक मलिक चर्चामा आउनु अर्थपूर्ण छ । यही अर्थपूर्ण चर्चामा रहेका दीपक मलिकले नेपालको अहिलेको राजनीतिको विद्रुप चित्र प्रस्तुत गर्छन् र यसले संविधान निर्माणका सन्दर्भमा भइरहेका बहसमा सवाल्र्टनहरू अर्थात् सीमान्तकृतहरू अर्थात् नेपालका दलितहरूको विषयलाई के महत्त्व दिइनेछ भन्ने प्रश्न पनि उठाउँछ । दीपक मलिक नेपाली नागरिक हुन् । नेपालमा धेरै मानिस समुदायगत रूपमा पनि असमान छन् । दीपक मलिक अरूभन्दा बढी असमान छन् । यो कुरा जर्ज अरवेलले एनिमल फार्ममा भनेजस्तो सबै समान छन् तर केही मानिस अलि बढी समान छन् भनेर दिन खोजेको अर्थको बिल्कुल उल्टो छ । दीपक डोम समुदायका नेपाली सदस्य हुन् । अर्थात् उनी बाहुन या क्षेत्रीय या वैश्य नेपाली होइनन्, कथित वर्णाश्रम व्यवस्थाले सिर्जना गरेको शुद्र समुदायका हुन् । त्यसैले यो आधुनिक नेपालमा, यी लोकतान्त्रिक, प्रजातान्त्रिक, गणतान्त्रिक धर्मनिरपेक्ष नेपालका असमान नागरिकबीच अलि बढी असमान छन् र उनी घरछेउको इनारबाट पानी पनि झिक्न पाउँदैनन् । उनले छोएपछि पानी मात्र होइन, इनार नै पो जुठो हुन्छ ! एकदम भयानक कुरो यो छ कि उनलाई इनारबाट पानी खुवाउन कुनै गणतन्त्रवादी, लोकतन्त्रवादी, माक्र्सवादी, लेनिनवादी या समाजवादी उदारवादी नेता त्यहाँ जाँदैनन् । राज्यका सिडिओ उनको जात देखेर तर्सिन्छन्, तिनले दीपकको होइन, कथित उपल्लो जातका मानिसको परम्परा र धर्मको रक्षा गरिरहेछन्, दीपकहरूबाट छोइन नदिएर । अदालत, प्रहरी, राजनीतिक दल, शिक्षक, समाज सुधारक, विचारक, सञ्चारकर्मी, अधिकारकर्मी सब बोलिरहेछन् बाहिर–बाहिर, दीपकका भागमा सहानुभूति र उपल्लो जातिका भागमा शासनाधिकार सबैको यो खासखुसबाट निस्किरहेको छ । कलाकार राजेश हमालले त यसबाट नेपाली हुनुमा लज्जाबोध भएको वक्तव्य दिए । उनले गर्नसक्ने त्यति नै थियो । जब संविधान बनाउँदै गरेकाहरूले समाजको यो सवाल्टर्न व्यक्ति या समुदायलाई अरू मानिससरह मात्रै बनाउने चेष्टा पनि गर्दैन अनि समाजमा विद्रोहका लागि र सामाजिक द्वन्द्वहरूको निरन्तरताका लागि बिउ खोज्न अन्त गइरहन पर्दैन । –

See more at: http://www.enayapatrika.com/2015/08/19759#sthash.EFzhJQc5.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: