जागरण मिडिया सेन्टर

Home » विचार » यता ‘हामी’, उता ‘उनीहरू’

यता ‘हामी’, उता ‘उनीहरू’

खगेन्द्र संग्रौला

२०७२ साउन २२, जागरण मिडिया सेन्टर

समस्त नेपालीको भाग्य र भविष्यको चित्र खिच्ने संविधान लेखिन लाग्दा देशैभरि उत्साह र उमङ्गले भरिपूर्ण उत्सवी वातावरणको रमझम हुनुपर्ने हो । तर छैन । कारण कष्टकर छ । सोह्रबुँदे स्रेस्ताको नाटकीय उन्मादसँगै देश झनै ‘हामी’ र ‘उनीहरू’मा चिरा परेको छ । यो ‘हामी’ सत्ता र शक्तिको केन्द्रमा विराजमान भई खाइपाइ आएका शासक खलकको परिचायक हो र यो ‘उनीहरू’ सत्ता र शक्तिबाट ऐतिहासिक कालदेखि पाखा लगाइएका, चुसिएका, हेपिएका, दबाइएकाहरूको समूह हो । ‘हामी’का दृष्टिमा आफूहरू आफ्ना ‘पुर्खाले कत्रा दु:खले आज्र्याको मुलक’का मालिक हुन् र ‘उनीहरू’ यो मलिक्याइँसामु लत्रिन र यसैका कृपामा जिउन अभिशप्त जीवहरू हुन् । ‘हामी’का दृष्टिमा ‘उनीहरू’ अन्य हुन्, पराई हुन्, परचक्री हुन् । ‘हामी’का दृष्टिमा आफूहरू उच्च तहका नेपाली हुन्, ‘उनीहरू’ हुन्, तुच्छ तहका नेपाली । यी ‘हामी’ बढी बराबर नेपाली हुन्, उनीहरू कम बराबर नेपाली । यी ‘हामी’ ब्रह्माजीको सृष्टि कालदेखिका आदि र मौलिक नेपाली हुन्, ‘उनीहरू’ हालसालै पराई भूमिबाट प्रकट भएका आयातित र अमौलिक जीव हुन् । यी ‘हामी’ बढी नेपाली हुन्, ‘उनीहरू’ कम नेपाली वा अनेपाली । यी ‘हामी’ उच्च नागरिक हुन्, ‘उनीहरू’ तुच्छ नागरिक वा अनागरिक हुन् । त्यसैले त आफ्ना दृष्टिमा यी ‘हामी’माथि दिने आसनमा बसेका दाता हुन्, ‘उनीहरू’ तल माग्ने धुलोमा उभिएका याचक हुन् । यी ‘हामी’ जातले, वर्णले, भाषाले, वस्त्रले, धर्मले र भूगोलले स्वत: श्रेष्ठ मानव हुन्, ‘उनीहरू’ यी यावत् कुराले स्वत: अश्रेष्ठ वा तुच्छ जीवात् हुन् । यसरी ‘हामी’ र ‘उनीहरू’माझ विभेदको विकराल खाडल छ । र संविधान लेखिँदै गर्दा मुलुकमा यता ‘हामी’तिर मैमत्त हुङ्कार छ, उता ‘उनीहरू’तिर असन्तुष्टि र आक्रोशको ज्वाला दन्किरहेको छ ।

संविधानसभाबाट बन्ने संविधानको माउ तत्त्व र प्राण संघीयता हो । संघीयताको अर्थ र मर्म अन्यायी राज्यको न्यायपूर्ण राज्यमा मूलिक ढाँचागत परिवर्तन हो । इतिहास साछी छ, आत्मबलिदानी संग्राममा लडेर संघीयताको ढोका खोलेको ‘उनीहरू’ले नै हो । वास्तवमा साँच्चीको र घच्चीको संघीयता चाहिएको पनि त ‘उनीहरू’लाई नै हो । ‘उनीहरू’लाई अर्थात् उत्पीडित महिला र दलितलाई, मधेसी र जनजातिलाई, थारु र मुस्लिमलाई, अन्य सीमान्त जन र दूरवर्ती कर्णालीवासीहरूलाई । संविधानमा भाग्य लेखिनुछ ‘उनीहरू’हरूको, विडम्बनावश, संविधान लेख्ने कलम छ ‘हामी’को हातमा । मालिकका हातबाट आफूले कजाएकाहरूको भाग्य सत्ता र शक्तिको बाँडफाँड गर्ने संविधानमा लेखिँदा त्यो लिखितको रूप कस्तो होला, अनुमान गर्न गाह्रो छैन ।

तिलस्मी पारालो रातारात र हत्तपत्त संविधान लेखिँदैछ र ‘हामी’ र ‘उनीहरू’माझ द्वन्द्व चर्किँदैछ । अन्तरिम संविधानमा ‘उनीहरू’को भागमा पनि केही हकहरू परेका थिए । कारण त्यो समय फरक थियो । विद्रोह र आन्दोलनहरूको आँधीबेरीको उत्ताल राप सेलाएको थिएन । ‘उनीहरू’का क्रान्तिकारी प्रतिनिधिहरू आफ्नो ऐतिहासिक दायित्वप्रति सजग र सक्रिय थिए । यी अहिले उत्ताउलिएका ‘हामी’ ऊबेला हारेको र नूर गिरेको मुद्रामा थिए । स्याउले बजारमुनि तुरतुरे खोलामा थुप्रो पानी बगेर गयो । र समय फेरियो । संविधान आउला भनी कुर्दा—कुर्दा ‘उनीहरू’को महलका सामान्य जन थाके र ती दु:खजिलो गरिखाने आ–आफ्नै घरगृहस्थीमा लागे । अनि ‘उनीहरू’का धेरैजसो अगुवाहरू निहित स्वार्थको पछि लागेर थोत्रो र भ्रष्ट सत्ता संरचनामा विलिन हुनपुगे । यसरी राजनीतिको रथ पश्चगमतिर उल्टियो । र हिजो पराजित भएकाहरूका फुस्रा ओठमा विजयका मुस्कानहरू प्रकट भए । तिनलाई लाग्न थाल्यो, ‘उनीहरू’ हारे, फेरि हाम्रो पालो आयो, अब हामीले जे गरे पनि हुन्छ । संविधान लेख्ने कलममाथिको एकाधिकार अब ‘हामी’लाई प्राप्त भयो । र ‘हामी’को तर्फबाट संविधान लेख्ने जिम्मा आफ्नो जात र वर्गका चतुर एवं पत्यारिला पुरुषहरूलाई सुम्पिइयो । नौसिङे कानुनका लेखनदासहरू धुत्र्याइँ, कपट, छलछाम र लज्जाहीनतामा अनुपम ठहरिए । तिनले अन्तरिम संविधानमा उत्पीडितहरूले पाएका हकहरू खोजी—खोजी हरण गरे । र यसरी तिनले काइते कलामा कीर्तिमान राखे । कीर्ते मस्यौदाको मूल महलमा यसो हेर्नु, त्यहाँ उत्पीडिततर्फका ‘उनीहरू’लाई केही न केही अधिकार दिएजस्तो लाग्छ । अनि एक कोश परको उपदफामा हेर्नु, अगाडि दिएको अधिकारमा निर्ममता साथ कैँचीकटान गरेको देखिन्छ । हर प्रकारका अधिकारको महलमा कोष्ठभित्र ‘कानुन बनाई’ भन्ने कुटिल वाक्य छिराइएको छ । आखिर मालिकद्वारा बनाइने कानुनले मालिकको मर्जी मुताबिक अधिकार दिइने त हो । यसको अर्थ हो— अहिले दिन्छु भनेर पछि अधिकार नदिनु । यो उही माछो—माछो भ्यागुत्तोको पुनरावृत्ति हो ।

जब क्रान्तिकारिता खुइलिँदै गएको माउ प्रतिपक्ष १६ बुँदे स्रेस्ताको निरीह भरिया बनेर थपक्क सत्ताधारी ‘हामी’मा गाभिन पुग्यो र दुर्भाग्यवश प्रतिपक्षका ‘उनीहरू’को सामथ्र्य कमजोर हुनगयो । सत्तापक्षका ‘हामी’मा गणितीय ९० प्रतिशतको अहंकार चुलियो । यो उच्च गणितीय अङ्क वास्तवमा मनी, मसल, मिडिया, भ्रम र भयको नतिजा हो । तर ‘हामी’ महलका महापुरुषहरूमा यो अङ्क जनमतको यथार्थ र अकाट्य दसी हो भन्ने भ्रमले घर गरेको छ । र यही भ्रमको घोडामा सवार भई यी महान मनिषी ‘हामी’ अहिले लोकलाई तजबिजी काइदाको संविधान दिन आतुर छन् । यिनलाई लाग्दो हो, ‘उनीहरू’लाई अधिकार दिने वा नदिने सर्वाधिकार हाम्रा हातमा छ । यो एक जमानामा जङ्गेले रजगज राज गरेको भूमि हो । भन्नुमात्र हुँदैन, ‘हामी’ उनै जङ्गेका नयाँ औतार हौँ । जङ्गेले जे भन्छ, जगतमा त्यही हुन्छ । छरपस्ट भएका नाथे दस प्रतिशत ‘उनीहरू’ले के नै पो प्रतिवाद र प्रतिकार गर्न सक्लान् र ? धरतीमाथि भोग गर्ने आखिर वीरले त हो । वीरले जित्छ र जित्नेको इतिहास लेखिन्छ । कायरले हार्छ र हार्नेको इतिहास निरव अन्धकारमा विलीन हुन्छ ।

‘हामी’ मलहका दाताहरू संविधानमा ‘उनीहरू’लाई केही दिनुपर्दा आफ्नो बारीको पाटो, आफ्नो खेतको गरो, आफ्नो मलहको कोठा वा आफ्नो कारको सिट दिनुजस्तो ठान्छन् । त्यसैले यसो केही दिएजस्तो गरी केही नदिन ती दृढसंकल्पित छन् । यस कुरूप तथ्यको ज्वलन्त दसी ‘हामी’ पक्षको मनोभाव र नियत टड्कारै झल्किने ऐनाका रूपमा खेस्रा संविधान हाम्रोसामु छ । ‘हामी’ महलका निर्णयकारी कर्ताहरूका हातहातमा अधिकार तौल्ने तराजुहरू छन् । संविधानमा कसलाई के र कति दिने हो, ती चनाखो भएर कणकण तौलिरहेका छन् । नेपाली सेनाको हाइकमाण्डले आफ्नो नामको अगाडिको ‘लोकतान्त्रिक र समावेशी’ हटाइपाऊँ भन्यो, तराजुधारीहरूले कान समातेर थपक्क हटाए । अब नेपाली सेना अलोकतान्त्रिक र असमावेशी अर्थात् एकात्मक हुने भयो । हिन्दु विष्टहरू खुँडा र तरवार बोकेर साम्प्रदायिक उन्मादको आगो बाल्दै सडकमा निस्के । र तिनले हुङ्कार गरे— धर्मनिरपेक्षता बदर गर, हिन्दु राष्ट्र सदर गर । प्रत्युत्तरमा ‘हामी’तर्फका तराजुधारीहरू भयातुर हुँदै संविधानबाट धर्मनिरपेक्षतालाई मेटिदिन मञ्जुर भए । उता ‘उनीहरू’तर्फका उत्पीडितहरूले अन्तरिम संविधानमा लेखिएका आफ्ना अधिकार कायम गरिपाऊँ भन्दा प्रत्युत्तरमा के पाए ? ‘उनीहरू’को महलका कम नेपाली मधेसीहरूले जनकपुर लगायत ठाउँ—ठाउँमा निर्घात ताडना पाए, यता राजधानीमा दलितहरूका सभासद र नेताहरू चर्को कुटिए । को आफ्नो हो र को पराई हो ? कसलाई माया गर्ने हो र कसलाई लतार्ने हो ? यसमा ‘हामी’ महलका महारथीहरू एकदमै सचेत छन् । यो जातप्रेमको कुरा हो । यो वर्णप्रेमको कुरा हो । यो वर्गप्रेमको कुरा हो । सारमा यो यथास्थिति मोहको कुरा हो । र यो ‘हामी’ र ‘उनीहरू’ बीचको भेदको कुरा हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेख्ने प्राय:जसो एकाधिकारी कर्ताहरूलाई राष्ट्रको भन्दा आफ्नै माया बढी लाग्छ । राष्ट्र डुबे डुबोस्, जीवनको भुमरीमा आफू उत्रिनुपर्छ— तिनका चित्तको भित्री पत्रमा यस्तो भाव घनिभूत छ । त्यसैले त तिनको जे पनि म, मेरो, मलाईबाट सुरु हुन्छ । संविधानमा मलाई जिन्दगीभरि सहजै जित्ने निर्वाचन क्षेत्र । मलाई आर्यघाट नपुगुन्जेल कहिल्यै नटुट्ने उच्च पद । मलाई ब्रह्मनालसम्मको यात्राका लागि सरकारी शानदार हवेली, भव्य वाहन, अकुत भत्ता, ट्याइँ—ट्याइँ सुरक्षा, सर्वत्र सलामी आदि । संविधानका हरफहरूका बीचमा लेखिन लागेको गुह्य आखिर यही त होला ।

अहिले अन्तरिम संविधानबाट उत्पीडितहरूका अधिकारहरू खोसेर दिन लागिएको तजबिजी सिमाङ्कनको उपहारमा संघीयताको मृत्युमा बजाइएको शोकधुन प्रस्ट सुनिँदैछ । इतिहासको यो उराठलाग्दो क्षणमा दलित र उत्पीडित महलका ‘उनीहरू’ के गर्दै होलान् ? सायद ‘उनीहरू’ आ–आफ्ना दिमागमा कोही सुषुप्त, कोही अर्ध–सुषुप्त र कोही जाग्रत ससाना ज्वालामुखी बोकेर हिँडिरहेका होलान् । ती विभेद, वञ्चना, ताडना र विश्वासघातबाट उत्पन्न ज्वालामुखीहरू हुन् । ती ज्वालामुखी कहिले र कसरी विस्फोट हुने हुन्, मलाई थाहा छैन । मलाई यति थाहा छ, ज्वालामुखीको अनिवार्य स्वभाव विस्फोट हुनु हो । आज, भोलि वा पर्सि त्यो विस्फोट नभई छाड्दैन ।

Source: kantipur daily

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: