जागरण मिडिया सेन्टर

Home » अन्तरवार्ता » आफ्नै घरमा छिर्न पाइनन् सभासद्

आफ्नै घरमा छिर्न पाइनन् सभासद्

२०७२ साउन २४, जागरण मिडिया सेन्टर ।

आफ्नै घरमा छिर्न पाइनन् सभासद्

अनिता परियार, सभासद्

संविधानसभा सदस्य अनिता परियारको बिहे ०६५ मा भएको थियो । त्यतिखेर उनी जनमोर्चाको विद्यार्थी राजनीतिमा थिइन् । पार्टी एकीकरणपछि एमाओवादीमा सक्रिय परियार अहिले संविधानसभा सदस्य छिन् । दलितका हक–अधिकार स्थापित गराउन उनी संविधानसभाभित्र र बाहिर जोडदार आवाज उठाउने सभासद्मा पर्छिन् । दलित महिलासमेत भएका नाताले उनी जातीय छुवाछुतको जन्जिर तोड्न सक्रिय छिन् । तर, उनै सभासद् परियारलाई आफ्नै घरमा प्रवेश निषेध छ । अन्तरजातीय बिहे गरेकी सभासद् अनिताको बयान :
कम्युनिस्ट पार्टीप्रति लगाब 
बुबा जनकलाल परियार सुचिकारसँगै कलाकार पनि हुनुहुन्थ्यो । तत्कालीन चौथो महाधिवेशनका कार्यक्रममा समेत पुग्नुहुन्थ्यो । बुबाको राजनीतिक लगाबले होला, घरमा राजनीतिकर्मीको आउ–जाउ बाक्लै हुन्थ्यो । त्यतिखेर सबै बाहुन बस्ती रहेको महोत्तरी लक्ष्मीनियाँ–८ मा हामी एक घर मात्रै दलित थियौँ । कुवामा पानी लिन जाँदा सानोमै मैले अछुत भनेर अपमान भोगेँ । तर, सकेसम्म प्रतिवाद गर्थेँ । कैयौँपटक त झगडा पथ्र्यो, कपाल लुछालुछ हुन्थ्यो । सामाजिक अन्यायले पनि कम्युनिस्ट पार्टीप्रति मेरो लगाब बढ्यो । स्कुले जीवनदेखि नै ०५४ सालबाट राजनीतिमा सक्रिय हुन थालेँ । एसएलसी पासपछि जिल्ला, अञ्चल हुँदै केन्द्र तहसम्मको राजनीतिमा आइपुगेँ ।

प्रेम र बिहे
०५५ सालतिर उहाँ (निर्मल बराल) जनमोर्चाको विद्यार्थी महासचिव हुनुहुन्थ्यो । म पनि संगठनमै सक्रिय थिएँ । प्रशिक्षण दिन एकपटक महोत्तरी जानुभएको थियो । केही समय धनुषा पनि बस्नुभयो, त्यतिखेर म जिल्ला संयोजक थिएँ । संगठनको कामले हुने भेटघाट त हाम्रो प्रेम बिजारोपण गर्ने बहाना बन्न पुगेछ । बिस्तारै यस्तो लाग्न थाल्यो, उहाँसँग टाढा हुँदा अभाव महसुस हुन थाल्यो । प्रेममा परेको थाहा पाइसकेपछि पनि हामी टाढा हुने प्रयत्न भने गर्‍यौँ । तर, सकेनौँ । गिरिराज दाइ (गिरिराजमणि पोखरेल)ले टाढा हुन सम्झाउनु पनि भयो । मैले मानिनँ । पार्टीले पनि हाम्रो विवाह स्वीकार्न चाहेन । तर, जे परेको व्यहोर्छु भनेर मैले बिहे गर्ने आँट गरेँ । यति नै वेला हामीलाई छुटाउन पार्टीले कार्यक्षेत्र नै अलग गराइदियो । म इलाम गएँ । ६ वर्ष अलग भयौँ । टाढा भएपछि त माया झन् गाढा हुने रहेछ । अन्तत: हामीले बिहे गर्ने निधो गर्‍यौँ । ०६५ मा धरानमा सार्वजनिक मञ्चमै प्रेम विवाह गर्‍यौँ । तर, पार्टीका ठूला कुनै पनि नेता बिहेमा आएनन् । किन हो, उनीहरू नै जानून् ।

बिहेपछि बहिष्कार
बिहेपछि निर्मलजी पूर्णकालीन भएर हिँड्नुभयो । दमिनी बिहे गरेको भन्दै उहाँसँग घरका सदस्यले बोलचाल नै बन्द गरे । कुल मास्यो भनेर उहाँले आरोप खेप्नुपर्‍यो । बाबुआमा र आफन्तले दमिनी बिहे गर्ने तँ हाम्रा लागि मरिस् भनेछन् । अहिलेसम्म पनि खासै राम्रो सम्बन्ध छैन क्यार । मैले सुनेको अझै पनि उहाँका कुलकुटुम्बले बराल खलकका ६ भाइमध्ये पाँच छोराको मात्रै नाम लिन्छन् रे । निर्मलजीको नामै लिँदैनन् रे । उहाँका तीन दिदीबहिनी पनि छन् । तर, टीका लगाइदिएको मलाई थाहा छैन । घरपरिवारसँग हाम्रो आउ–जाउ नै छैन । दुई छोरीसँग हामी इटहरीमा भाडाको घरमा बस्दै आएका छौँ । मैले र छोरीहरूले अहिलेसम्म घरका कसैसँग चिनजानसमेत गर्न पाएका छैनौँ । निर्मलजीले अंश लिनुभएको छैन । उहाँ भन्नुहुन्छ, ‘सामन्ती सोच परास्त हुन्छ, हाम्रो जित सुनिश्चित छ ।’
दलित र अछुत भनेर गरिने उत्पीडन माइती घरमा जति भोगेँ, महसुस खासै हुन्थेन । किनभने, घरपरिवार साथमा थियो । अहिले पो दलित हुनुको चोट व्यहोरिरहेकी छु, आफ्नै घरबाट । म कथित ठूला जातिहरूको घरपरिवारमा योग्य छैन भन्ने चोटको बोध प्रत्यक्ष भएको छ । दलित र गैरदलितबीच कति गहिरो खाडल रहेछ भन्ने खास अनुभूति बिहेपछि नै थाहा भयो । यदि सजातीय बिहे गरेको भए मलाई छुवाछुतको बोध हुने थिएन । छुवाछुतको अहंकारले आफ्नै कुलवंशलाई पनि पीडा दिँदो रहेछ । आफ्नै रगतलाई पनि नस्वीकार्ने निर्मम हुँदो रहेछ । मैले कुमारी हुँदाभन्दा बिहेपछि सामाजिक रूपमा छुवाछुत भोगिरहेकी छु । म सानो जातकी भएकै कारण निर्मलजी पनि पारिवारिक बहिष्कारमा पर्नुभएको छ । छोरीहरू आफ्नै घर जान पाएका छैनन् । चाडबाडका वेला उहाँ छोरीहरूका लागि भए पनि ससुरालीचाहिँ जानुहुन्छ ।

जब सभासद् भएँ
सभासद् भएपछि पनि धेरैले ‘त्यो अनिता परियार’ भनेर हेपाहा शैलीमा कुरा काट्छन् भन्ने सुनेकी छु । तर, मेरै अगाडिचाहिँ केही भनेका छैनन् । मैले संविधानसभामा भाषण गर्दा एकजना कथित उपल्लो जातका सभासद्ले हत्तेरिका, सानो जातकी भएर पनि यति राम्रो भाषण गर्न सकेकी भनेर होच्याएको झल्झली याद आइरहन्छ । सभासद् भएपछि जीवनशैलीमा केही न केही परिवर्तन त भइहाल्छ । बढी बसाइ काठमाडौंमा हुन्छ । दलितका हक–अधिकारबारे सक्रिय छु । इटहरी गएका वेला स्थानीय राजनीतिमा जोडिन्छु । दलित, गैरदलित सबैले कार्यक्रममा बोलाउनुहुन्छ । दलितलाई हेप्नेहरूमाथि बद्लाबको भावना मैले कहिल्यै लिएकी छैन, लिने पनि छैन । काम गरेर देखाउने हो । हिजो मुन्टो बटार्नेहरू पनि अहिले यो काम गरिदिनुपर्‍यो भन्दै आउँछन् । राज्यले दलितलाई हक–अधिकार दिए समाज बिस्तारै बदलिँदै जान्छ । एक स्तरको पहुँच बढेको छ ।

राजनीतिमा फाइदा
दलितकी छोरी भएर बाहुन थरका युवासँग बिहे गरेपछि राजनीतिमा मलाई सहयोग पुगेको छ । घर–समाजले मलाई स्वीकार गरेको भए राजनीतिमा मैले पूरा समय दिन नपाउने पनि हुन सक्थ्यो कि ? संयुक्त परिवारकी बुहारी भएर घर–व्यवहारमा पो व्यस्त हुनुपथ्र्यो कि ? अहिले पूर्ण स्वतन्त्र छु । संविधानसभा र राजनीतिमा पर्याप्त समय दिने मौका पाएकी छु । यत्ति हो, बुहारी हुनुको अधिकार पाउन सकेकी छैन ।
अन्तरजातीय बिहेले छुवाछुत नहटाए पनि संघर्षका लागि मार्गचाहिँ प्रशस्त गरेको छ । यो एउटा आन्दोलन हो । छुवाछुत छैन, दलितहरू अरूसमान भइसके भन्नेर अन्तरजातीय बिहे गर्ने जोडीलाई समाजले बहिष्कार गरिरहनुले संघर्ष बाँकी नै छ भन्ने देखाउँछ । यद्यपि, हिजो र आजको छुवाछुत फरक छ । पहिलेको तुलनामा प्रत्यक्ष छुवाछुत घटेको छ । सामाजिक चेतना र राजनीतिक संघर्ष बलियो गर्दै जाँदा छुवाछुत अन्त्यतिर पुगिन्छ । जति चेतना दिए पनि अटेर गर्नेलाई कानुनको लौरोले ठटाएर बाध्यकारी बनाउनैपर्छ ।

छुवाछुतको मार
मलाई लाग्दैन, जातीय विभेद र छुवाछुतको मारमा दलित मात्रै छन् । कथित उच्च जातका हुँ भन्नेहरू झन् बढी मारमा छन् । उच्च जातिको अहंकारले उनीहरूले आफ्नै सन्तानसमेत गुमाएका छन् । सहयोग र सहकार्य टुटाएका छन् । उनीहरू भित्रभित्रै पश्चताप गरिरहेका छन् भन्ने लाग्छ मलाई । खुल्न मात्रै सकिरहेका छैनन् । मलाई यो मात्रै लाग्दैन कि छुवाछुत दलितहरूको मात्रै समस्या हो । यो त राष्ट्रकै समस्या हो । देशमा गरिबी बढाउने समस्या हो । देश विकासका लागि, सामाजिक अन्तरघुलनका लागि, समानताका लागि छुवाछुतको अन्त्य जरुरी छ । सदीयौँदेखि पछाडि पारिएको दलित समुदायलाई संवैधानिक रूपमै अधिकार सुनिश्चित गरिनुपर्छ ।

सार्वजनिक ठाउँमा रुन्छु
म अलि कोमल छु । छिट्टै रुन्छु । अरूको दु:ख देख्दा आफ्नो विगत याद आउँछ । मन भक्कानिन्छ । अरूका दु:खमा आफ्नो पीडा महसुस हुन्छ, महिला या दलित जसका हुन् । अन्तरजातीय बिहे गर्ने जोडीका दु:खले झन् पीडित बनाउँछ । उनीहरूले दु:ख सुनाउनासाथ औडाहा हुन्छ । सार्वजनिक ठाउँमै आँसु खसिहाल्छ ।
समाज परिवर्तनशील भए पनि दलितमाथिको उत्पीडन अझै उस्तै छ । बहिष्कारको शृंखला बढ्दै गइरहेको छ । अझै पनि दलितसँग बिहे गर्दा पीडा झेलिरहनुपरेको छ । म कतिवटा कार्यक्रममा थाहै नपाई भक्कानिएकी छु । मोरङको मधुमल्लामा अन्तरजातीय बिहे गर्ने जोडीहरूलाई सम्मान गर्नर्े कार्यक्रममा पनि डाँको छाडेर रोएछु । महोत्तरीमा आफैँ पढेको स्कुलले मलाई सम्मान गर्दा पनि विगत सम्झेर रोएछु । धेरै छन्, यस्ता घटना । अन्तरजातीय बिहे गर्नेहरूको समस्या पढ्दा, सुन्दा त झन् आफ्नैजस्तो लाग्छ ।
एक वर्ष राष्ट्रिय दलित आयोगको सदस्य पनि भएँ । त्यस अवधिमा दलितका समस्या बुझ्न सहयोग मिल्यो । धेरै घटना अनुगमन गर्न पाएँ । तर, अहिले दलित आयोग औचित्यहीन छ । नयाँ संविधानमा यसको संवैधानिक औचित्य हुनुपर्छ भन्ने हाम्रो माग हो ।

प्रस्तुति : गणेश लम्साल

– See more at: http://www.enayapatrika.com/2015/08/20316#sthash.ZpcVZCCe.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: