जागरण मिडिया सेन्टर

Home » दलित समाचार » सामान किन्छन्, जात सोधिँदैन

सामान किन्छन्, जात सोधिँदैन

जितेन्द्र साह 

२०७२ साउन २७, कटहरी (मोरङ),-जागरण मिडिया सेन्टर ।

  • डोम समुदाय भन्छन् :

पहाडी वा नेवारी समुदायकाले मधेसीसँग हेपाहा व्यवहार गर्छ भनेर तराईका प्रमुख नेता र अगुवाले राष्ट्रिय मञ्चमा चिच्याइ–चिच्याइ भाषण गर्छन् । तर मधेसकै तथाकथित उच्च जातिकाले उस्तै भाषा, लवज, रंग र संस्कृति भएका डोम जातिसँग अमानवीय व्यवहार गर्छन् । मोरङ र सुनसरीका डोम जातिले निर्धक्क भएर आफूहरूलाई मधेसी समुदायकाले नै भेदभाव गर्दै आएको बताए ।

‘मधेसी समुदायभित्र आफूलाई ठूला जातिकाले अहिले पनि आफ्नो घरमा प्रवेश गर्न दिँदैनन्,’ २० वर्षीय विजय मरिकले भने । तराईमा अझै अछूतझैं व्यवहार गरिने डोम जातिका यी युवा बिहीबार बिहान कडा मेहनत र लगनसाथ तीजका लागि बाँसको ढकी (ढकिया) तयार गरिरहेका थिए ।

विराटनगरको चर्चित सिंघिया खोलापारि मोरङ कटहरी १, आदर्शटोल माझ उनीलगायत करिब २५ परिवार बसोबास गर्छन् । ‘हाम्रा घरमा आउँछन्, बसेर टीभी हेर्छन् तर हामीले छोएको खाँदैनन्,’ उनले भने, ‘आफ्नो घरमा त छिर्न पनि दिँदैनन् ।’ बिहे र पार्टीमा निम्ता दिए पनि टेन्ट वा पन्डालमा नभएर बाहिर बसाएर खुवाउने गरेको उनले बताए । बिर्सिएर उनीहरूको घरमा छिरेहाले कहिलेकाहीँ त ठूलो झगडा हुने गरेको उनले सुनाए ।

स्थानीय शिव र विश्वकर्मा मन्दिरमा टाढाटाढा बसेर अन्य जातिसँग उनीहरूले पनि पूजा गर्छन् । तर, स्थानीय हलुवाई समुदायले छुट्टै बनाएको मन्दिरमा प्रवेश पाउँदैनन् । पहाडी समुदायकाले यस्तो भेदभाव नगरेको उनको अनुभव छ । ‘बरु यहाँका पहाडवासीले घरमा बोलाएर खुवाउँछन्, कहिल्यै हेपेर कुरा गर्दैनन्,’ उनले भने ।

विराटनगरको सरोचिया, मिल्स एरिया, कोसी अञ्चल अस्पताल र रंगेली नगरपालिकालगायत हरेकजसो गाउँमा डोम बस्ती छ । पेसागत हिसाबले अधिकांश ठाउँमा उनीहरूसँग कुनै न कुनै किसिमले असमान व्यवहार हुन्छ । उनले भने, ‘मधेसका उपल्ला जातिले हामीलाई फोहोरवाला भन्छन्, जबकि उनीहरूको फोहोर सोहोर्ने हामी सफाइवाला हौं ।’

कक्षा ५ सम्म पढेका मरिक ८ वर्षअघि सपरिवार सुनसरी औराबनी ९, भमरीबाट मोरङ झरेका हुन् । आम्दानीका स्रोत खोज्दै आएका उनी र परिवारजन स्थानीय विभिन्न अस्पताल र कार्यालयमा सफाइ कर्मचारीका रूपमा कार्यरत छन् । ‘हामीले हात र खुट्टाको प्रयोग गरेर बनाएको बाँसको सामग्री ठूला जातिकाले घरमा लगेर राख्छन्, तर हामीलाई नजिक आउन दिँदैनन्,’ उनले भने ।

तराईमा परम्परागत रूपमै हस्तशिल्पकलामा मेहत्तर वा मल्लिक भनेर चिनिने डोम जातिलाई कुशल मानिन्छ । उनीहरूले बनाएका यिनै सामग्रीमा धूप, अगरबत्ती, मिठाई र फलफूल राखेर पूजा गरिन्छ । सामाजिक तथा सांस्कृतिक रूपले हेर्दा उनीहरूको अन्य समुदायसँग गहिरो, अकाट्य र महत्त्वपूर्ण सम्बन्ध देखिन्छ ।

‘विगतको तुलनामा विभेद थोरैमात्र कम भएको छ, सार्वजनिक जीवनमा भने अझै स्वतन्त्रता अनुभव गर्न पाएका छैनौं,’ ४५ वर्षे राजेन्द्र मरिकले भने । तीन छोरा र एक छोरीका पिता उनी १८ वर्षदेखि यहाँ बस्दै आएका छन् ।

अन्य जातिले गाई, भैंसी, बाख्रा र कुखुरा पालेजस्तै डोमहरूले सुँगुर पाल्छन् । उनीहरूको बिहे र पूजाआजालगायत संस्कारमा अनिवार्य रूपमा सुँगुर चढाइन्छ । ‘सुँगुर पालेर फोहोर गर्‍यो भनेर गाली गर्छन्,’ राजेन्द्रले भने । अरूहरूले चौपाया खुला छाडे पनि आफूहरूले खोरमा राखेर सुँगुर पाल्ने गरेको उनले बताए ।

वरिपरि गौशाला र आश्रम खोलिँदा आफूहरूले कहिल्यै आपत्ति नजनाएको उनले बताए । ‘ठूला जातिकाले बस्तीको बीचबाट मल लाँदा गन्हाउँछ, तर हामी विरोध गर्दैनौं,’ उनले भने । एक स्थानीय बाल अस्पतालमा सरसफाइकै काम गर्ने राजेन्द्रको छोरी २३ वर्षीया ममता मरिकलाई मान्छे भएर मान्छेसँग यस्तो भेदभाव गरेको देख्दा चित्त दु:खेर आउँछ ।

‘वरिपरिका अन्य जातका छिमेकीहरूले हाम्रो घरमा हाम्रो हातको पानी खान घिन मान्छन्,’ उनले भनिन् । त्यहाँ सार्वजनिक धाराभन्दा घरपिच्छै आँगनमा चापाकल गाडिएको छ । ‘यी अम्बाहरूमा कहीं पनि डोम वा मरिक भनेर लेखेको छ त ?,’ उनले आँगनमा रोपेको बोटतिर देखाउँदै भनिन्, ‘बजारमा लगें भने अम्बा किन्नेले मेरो जात सोध्दैनन् ।’ उनको पिताले २ वटा मजाले पाकेको अम्बा टिपेर कान्तिपुर संवाददातालाई खुवाए ।

डेढ वर्षदेखि जागिरे ममताले उक्त बस्ती बाहिर निस्केर काम गर्न अस्पताल पुग्दा भने कसैले खराब व्यवहार नगरेको बताइन् । सात वर्ष अगाडि स्कुल पढ्दा डोमकै छोरी भएको कारणले हेपिएको उनले कहिल्यै बिर्सेकी छैनन् । स्थानीय लक्ष्मण साह हलुवाईले डोमसँग ठूला जातिका मधेसीहरूले सामाजिक व्यवहारमा भेदभाव गर्दै आएको स्विकारे । तर, उनले आफैं भने जानीजानी चित्त दु:खाउने गरी व्यवहार नगरेको

दाबी गरे ।

मोरङभन्दा सुनसरीमा यस्तो विभेद बढी छ । उक्त बस्तीमै आफन्तकोमा पाहुना आएका सुनसरी औराबनी ९ भमरी बजारका १८ वर्षे दीपक मरिकले आफूहरूले अपमानजनक जीवन बाँचिरहेको बताए । उक्त बजारमा ९ घरपरिवार डोम भएको उनले जानकारी दिए ।

उनीहरू पनि त्यहाँ परम्परागत ढाकी बुन्ने र सरसफाइको काम गर्छन् । पैसा तिरेर पनि उनीहरूले होटेलमा बसेर चियाखाजा खान पाउन्न । ‘चिया पिउनलाई घरबाट गिलास लिएर जानुपर्छ, पसलेले कागतमा समोसा दिन्छन्, तरकारी दिँदैनन्,’ दीपकले भने । त्यहाँ अन्य कुनै पनि जातसँग यस्तो व्यवहार नहुने गरेको उनले बताए ।

सबैजना मिलिजुली भित्र र आफूहरू बाहिर बसेर खाँदा साह्रै नराम्रो लाग्ने गरेको उनले वेदना पोखे । ‘गिलास लिएर आउँदासमेत पसलेले एक हात परैबाट चिया हाल्छन्,’ उनले भने । सेना र प्रहरीमा जागिरे इटहरीका नातेदारहरू आफूहरूसँग भेट्न आउँदा यस्तो व्यवहार देखेर लाज मान्दै तत्कालै फर्कने गरेको दिपकले अनुभव सुनाए । यो मामिलामा इटहरी र विराटनगर सीमा क्षेत्र रानीकै बासिन्दा निकै सचेत रहेको उनले जनाए ।

सुरक्षा निकाय, स्थानीय निकाय र सामाजिक संघसंस्थाको पहलमा यस्तो विभेद हटाउन त्यहाँ प्रयास पनि भएको उनले बताए । विरोध प्रदर्शनका क्रममा त्यहाँ होटेलको चुलो र गिलाससमेत फुटाइएको उनले सम्झे । यस्तै एक सद्भाव कायम गर्ने पहलका क्रममा ९ वर्ष अगाडि स्थानीय एक स्कुलमा आयोजना भएको सहभोजमा डोम र अन्य जातिले एकै थलोमा बसेर

बाँडेर खाए ।

मोरङ कटहरी १, आदर्शटोलमा बिहीबार बिहान तीजका लागि ढकी (ढकिया) बनाउँदै डोम समुदायका विजय मरिक । तस्बिर : जितेन्द्र/कान्तिपुर

http://www.ekantipur.com/np/2072/4/22/full-story/414251.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: