जागरण मिडिया सेन्टर

Home » विचार » नयाँ चमकधमकसहित उठिरहेको राजनीतिक विष्टवाद

नयाँ चमकधमकसहित उठिरहेको राजनीतिक विष्टवाद

२०७२ भदौ २३, जागरण मिडिया सेन्टर ।

नयाँ चमकधमकसहित उठिरहेको राजनीतिक विष्टवाद

नेपालको दलितमुक्ति आन्दोलनको इतिहासमा सबैभन्दा एकताबद्ध आन्दोलनको रुपमा स‌ंयुक्त राजनीतिक दलित संघर्ष समितिको नेतृत्वमा संविधानमा दलित अधिकार सुनिश्चितताका लागि सञ्चालित २०७२ को आन्दोलनलाई लिन सकिन्छ ।

इतिहासका विभिन्न कालखण्डहरुमा नेपाली दलितमुक्ति आन्दोलनले आफ्नो भूमिका निर्वाह गरेको कुरा सर्वविदितै विषय हो । आज जुन एकताबद्ध स्वरुपमा आन्दोलन चलिरहेको छ, यो अत्यन्तै ऐतिहासिक र अभूतपूर्व एकताबद्ध रुपमा सञ्चालन भइरहेको आन्दोलन भनी ग्रहण गर्न सकिन्छ । यद्यपि, अझै थुप्रै प्रवृत्ति र कडीहरुलाई आन्दोलनमा जोड्न सकिएको छैन ।

राजनीतिक रुपमा क्रियाशील प्रायः सबै दलित संगठन एवं भातृसंगठनहरु, संविधानसभाभित्र बनेको दलित सभासद् समन्वय समिति, दलित नागरिक समाज र विभिन्न समुदायद्धारा संचालित समुदायगत संगठनहरु यो ऐतिहासिक आन्दोलनमा सहभागिता जनाइरहेका छन् । यो स्तरमा अहिलेसम्म कहिल्यै पनि दलित आन्दोलन एकताबद्ध भएको इतिहास छैन । त्यसकारण यो ऐतिहासिक एकतासहितको दलितमुक्ति आन्दोलनको रुपमा लिन सकिन्छ ।

rajkhingmang-post

राजनीतिक प्रवृत्तिको कोणबाट हेर्दा आकाश र जमिनको फरक दर्शनमा रहेका राजनीतिक दलित संगठनहरु एक ठाउँमा आएर संयुक्त आन्दोलन निर्माण गरी आन्दोलनकारी भूमिका निर्वाह गर्नु चानचुने कुरै थिएन । तर, युगौंदेखिको दासत्वलाई समूल रुपमा अन्त्यको लागि यो उचाइमा एकताबद्ध रुपमा दलितहरु आन्दोलित छन्, उनीहरुलाई हार्दिकतापूर्ण ढंगले अभिवादन गर्नै पर्दछ ।

संयुक्त दलित आन्दोलनको इतिहासलाई अलिकति कोट्याउँदा हामी २०४६ भन्दा अगाडि जान सक्दैनौं । तर, २०४६ भन्दा पछाडिपटि प्रायः सबै राजनीतिक संक्रमणलाई सँगाल्ने क्रममा सधैं दलितहरु एकताबद्ध रुपमा नै अगाडि बढेको देखिन्छ । २०६२।६३ को जनआन्दोलनको समर्थनमा निर्माण भएको संयुक्त राजनीतिक दलित संघर्ष समिति होस् वा संयुक्त राजनीतिक गणतान्त्रिक दलित मोर्चा, नेपाल निर्माण गरेर होस्, दलितहरुले एकताबद्धताको प्रदर्शन गरेरै अगाडि बढेका छन् ।

संविधानसभाभित्र रहेका सोह्रबुँदे सहयात्री शक्तिहरु र संविधानसभाभन्दा बाहिर रहेका शक्तिहरुसँग आवद्ध राजनीतिक दलित संगठन एकठाउँमा उभिनु निकै गौरवपूर्ण विषय पनि हो । सभासद् समन्वय समितिले संविधानसभाभित्र एक भएर लडेको इतिहास कायम गर्न सफल भएको छ । उता नागरिक समाजको नामबाट संचालित संस्थाहरु पनि आन्दोलित छन् । परियार सेवा समाज, विश्वकर्मा समाज र मिजार समाजले पनि आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । गैरदलित प्रगतीशील स्रष्टाहरुद्वारा विज्ञप्ति जारी गरी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै सडकमा ओर्लेका छन् भने मानवअधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था एवं विभिन्न व्यक्तिहरुले पनि यो आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका छन् ।

मूलतः देशव्यापी रुपमा दलितहरु सडकमा आएका छन् । त्यसकारण भन्न सकिन्छ, तेस्रो चरणसम्म आइपुग्दा मोटामोटी यो संयुक्त बृहत् दलित आन्दोलन बन्न सफल भएको छ । तर, यो आन्दोलन निर्माण चाहिँ सामान्य मिहिनेत, कुर्वानीमा भएको भने अवश्य हैन । निकै ठूलो मिहिनेत र कसरतपछि मात्रै उत्तर–दक्षिणतिर फर्केका प्रवृत्तिहरुलाई यो आन्दोलनमा जोड्न सकिएको हो र यसलाई टिकाइराख्न त्यतिकै मिहिनेत गर्नुपरेको स्थिति छ । यसरी तेस्रो चरणसम्म आइपुग्दा दलित मुक्ति आन्दोलन गर्व गर्नलायक नै बनेको छ ।

पार्टीहरुमा यतिबेलाको स्थिति

संयुक्त दलित आन्दोलन यसरी चलिरहँदा शासकहरु चाहिँ कानमा तेल हालेर बसेका छन् । उनीहरु पुरानो विष्ट प्रवृत्तिबाट उठ्न सकेका छैनन् । सदियौंदेखि यो समाजलाई विखण्डन गरिराख्ने जातीय विभेदलाई अन्त्य गरेर मात्रै देश अगाडि बढ्छ भन्ने चेतना यतिबेला पनि ती शासक र पार्टीहरुको दिमागमा नपलाउनु भनेको उनीहरुमा विष्टवादले छोडेको छैन भन्ने अर्थ हुन्छ ।

यतिसम्म कि दलित, महिला, मुस्लिम र नेपाली समाजको जातीय समस्या हिन्दु सामन्तवादी कथित उच्च जातीय अहंकारले सिर्जना गरेका समस्या हो, तथापि दलित, महिला र मुस्लिमको समस्या समाधान गर्न उनीहरुलाई आर्थिक, राजनीतिक, प्रशासनिक तथा सामाजिक सांस्कृतिक क्षेत्रमा विशेषाधिकारको ग्यारेन्टी गर्नुपर्दछ भन्ने एकीकृत नेकपा (माओवादी) पार्टीले समेत संविधानमा आफ्नो फरक मत राख्दा स्थानीय तहमा दलितको प्रतिनिधित्व १० प्रतिशत हुनुपर्छ भन्ने फरक मत राख्न पुग्छ भने यी पार्टीहरु सबैमा विष्टवादी चिन्तन प्रवृत्ति हावी छ भन्ने निष्कर्षमा पुग्नु कुनै आइतबार पर्खिनु पर्दैन ।

नेपाली कांग्रेस र एमाले जस्ता पार्टीहरुमा त हिजैदेखि कुनै न कुनै खालको ब्राह्मणवाद निकृष्ट रुपमा प्रकट हुँदै आएको कुरा जगजाहेरै छ । उनीहरुबाट धेरै आशा हिजैदेखि दलितहरुले नगरेकै हुन् । त्यसको प्रतिबिम्बको रुपमा प्रधानमन्त्रीको टेबुलमा भएको वार्ता र निष्कर्षविहिन परिणामलाई लिन सकिन्छ । तर १६ बुँदेका सहयात्री पार्टीहरुमा हिन्दू सामन्तवादको चरम रुप यतिबेला प्रकट हुनु नेपाली लोकतान्त्रिक आन्दोलनको सबैभन्दा कुरुप तस्बिर प्रकट हुनु हो भन्दा अत्युक्ति हुँदैन ।

क्रान्तिकारी दलितहरुले सबै राजनीतिक शक्तिहरुलाई एउटै डालीमा राखेर हेर्नु हुँदैन भनेर भन्दै आएका हुन् तर त्यो तर्क आज फितलो भएको छ । १६ बुँदे सहयात्री पार्टीहरुले यो कुराको धज्जी उडाएका छन् । यी पार्टीहरुलाई थाहा छ कि नेपालको हिजोको सत्ताले सबैभन्दा पछाडि पारेको वर्ग–समुदाय कुनै हो भने त्यो दलित नै हो भन्ने कुरा । तर, उनीहरुले त्यो वर्गसमुदायलाई उठाउन चाहेको देखिएन । त्यो नदेखिनु भनेको देश बनाउन नचाहनु हो भन्ने हेक्का सबैले राख्न जरुरी भएको छ र ब्राह्मणवाद नयाँ शिराबाट चमकधमकका साथ फेरि एकपटक उठेको सर्वत्र महसुस हुन थालेको छ ।

दलित आन्दोलनको अबको दिशा

यतिबेला निश्चित रुपमा दलित आन्दोलनमा उभार आएकै हो । पुलिस दमनका विरुद्धमा दलितहरुले २ घण्टा वीरतापूर्ण लडाइँ लड्दै काठमाडौंको विजुलीबजारबाट सत्तालाई चुनौती दिएकै हुन् । यसको नेतृत्व स्वभाविक रुपमा अहिलेको एकीकृत नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस र संविधानसभाबाहिर रहेका मुख्य पार्टीहरुमा विकास भएका दलित समुदायको उच्च नेतृत्वले गरेको छ । उनीहरुलाई धन्यवाद दिनै पर्दछ ।

उनीहरुको अध्ययनको साँघुरो क्षितिज, साहसपूर्ण एवं नेतृत्वदायी भूमिकाको कमजोर स्थिति, कार्यशैलीगत समस्या, उच्चवर्गीय दम्भ र आफ्नो वर्ग–समुदायप्रतिको गैरजीम्मेवारीपना, सामाजिक–सांस्कृतिक स्तरको न्युनता, कमजोर दार्शनिक धरातल यी सबैलाई केलाउँदा यिनीहरु पनि कतै पुसी क्याट जस्तै पात्र त हैनन् भन्ने महसुस भइसकेको थियो । यति गर्लान् भन्ने दलित समुदायका युवा आन्दोलनकारीहरुले सोचेका थिएनन् ।

तथापि आन्दोलनले उचाई प्राप्त गर्दै गएको छ । यसका लागि धन्यवाद दिँदै आन्दोलनलाई उपलब्धि हासिल गर्ने स्थितीसम्म पुर्‍याउन सकारात्मक भूमिका खेल्दै युवाहरुले उनीहरुलाई आँट र साहस दिनु पर्दछ । उपलब्धि हासिल नगरी बीचमै आन्दोलन छोड्ने प्रवृत्ति देखा पर्न पनि सक्दछ । यदि त्यसो भयो भने त्यो प्रवृत्तिसँग दृढतापूर्वक संघर्ष गर्दै आन्दोलनको नेतृत्व युवाहरुले लिनुपर्दछ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिमा भएका विभिन्न घटकका युवाहरु, नागरिक समाजमा रहेका युवाहरु, संविधानसभाभित्र रहेका युवा सभासद्हरु र दलित पक्षीय गैरदलित प्रगतिशील पंक्तिलाई हाम्रो के अपिल छ भने यतिबेलै यो दासत्वको जन्जीर चुँडाल्ने साहस बटुलौं ।

दलितमाथि गरिँदै आएको सम्पूर्णखाले विभेदको अन्त्य गर्ने संघर्षको जगमा उचाइयुक्त आन्दोलनको सिर्जना गरौं । दलित समुदायमाथि हुँदै आएको सबैखाले षड्यन्त्र, जालझेल, विभेद र अत्याचारको समूल अन्त्य गर्ने प्रक्रियाको थालनी यही आन्दोलनबाट सुरु गरौं । दलित आन्दोलनभित्रैको सामन्तवाद (बाह्मणवाद तथा बिष्टवाद) सँग पनि दृढतापूर्वक लडौं । मूलतः नझुकौं ।

आन्दोलनले उचाइप्राप्त गर्दै जाने क्रममा एकाध हामी व्यक्तिहरु नरहन पनि सकौंला, त्यो ठूलो कुरै भएन । मृत्यु मानिसको शाश्वत विषय हो । दासत्व काँधमा बोकेर बाँच्नुभन्दा आफू मरेर समाजलाई उज्यालो दिन सकिन्छ भने त्यो नै सबैभन्दा जीवनको ठूलो र राम्रो पक्ष हो ।

यतिबेला उठेको एकीकृत दलित आन्दोलनलाई थप उचाइमा पुर्याउन नेतृत्वलाई बल नै पुर्याउनुपर्दछ । यदि नेपाली दलित आन्दोलन उचाल्न ती नेतृत्वले सकेनन् भने त्यत्तिकै बीचमा आन्दोलन रोकिनु हुँदैन । गाउँगाउँ, वस्तीवस्तीबाट दलितहरुले आन्दोलन उठाउनुपर्ने स्थिति पैदा भइसकेको छ ।

अब यो आन्दोलनको उच्चरुप दलित विद्रोहसम्म पुर्‍याउन मिहिनेत गर्नुपर्ने पनि हुन सक्छ । यदि शासकहरुले यो ऐतिहासिक घडीमा पनि नेपाली दलित मुक्ति आन्दोलनको यति सामान्य ९ बुँदे साझा माग पूरा गर्दैनन् भने त्योभन्दा उच्च कोटीको माग पूरा गर्नुपर्ने परिस्थिति निर्माण गर्न जस्तोसुकै कुर्वानी गर्न दलितहरु तयार हुनु पर्दछ । त्यसकारण अब दलितहरुले शान्तिपूर्ण दलित विद्रोहको कार्यक्रमिक खाकाको कार्ययोजना ल्याउनै पर्दछ ।

पचहत्तरै जिल्ला सदरमुकामहरुमा केन्द्रित हुँदै राजधानी केन्द्रित हुने कार्ययोजनामा जान आवश्यक देखिन्छ । त्यो कार्यक्रम यही नेतृत्वको अगुवाइमा हुन सम्भव छ । यदि नेतृत्वले आँट गर्दैन भने नयाँ शिराबाट नेतृत्व विकास हुने स्थिति पैदा हुँदै गएको छ । नेतृत्व आन्दोलनकै बीचबाट निर्माण हुने हो । (मध्यम वर्ग, युवा–विधार्थी, शिक्षक–कर्मचारी, महिला, भूमिहीन, मजदुर, किसान) दलितहरु र दलितपक्षीय गैरदलित प्रगतिशील पंक्ति सबै सबैले नयाँ सोचसहित अगाडि बढ्नुमा नै मुक्तिप्रतिको सच्चा कर्तव्य रहन्छ ।

नयाँ शिराबाट दलित आन्दोलनलाई उठाउन मद्दत गरौं । दलित मुक्ति आन्दोलनको नयाँ दिशा निर्माण गरौं ।

(यो आलेखको केही अंश कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो) 

esamata.com

Advertisements

1 Comment

  1. भद्रमान मोते says:

    राज कुमार हिङ्माङ लाई मेरो प्रश्न र सुझाव –
    १.पहिलो कुरा झुठको खेती नगर्नोस ।
    २.१९ गतेको प्रहरी दमनमा तपाईं कहाँ हुनुहुन्थियो?
    ३.१९ गतेको प्रहरी दमनको समय परियार सेवा समाज र बिश्वकर्मास समाजको कुनै सहभागिता थिएन, यदि थियो भने परियार एकता मन्चको थियो र यहि मन्चले बढी भन्दा बढी युवा सडकमा उतारेको थियो।
    ४.१९ गतेको प्रहरी दमनको समय ने.क.पा. माओबादी, ने.का., ने.क.पा. एमाले लगाएत अन्य दल भन्दा हामी जस्ता नागरिक समाजका स्वतन्त्र योद्धाहरुको सहभागिता बढी थियो।
    ५.सस्तो लोकपृयताको लागि भ्रामक लेख वा भासण नगर्नु होला।
    ६. जागरण मिडिया सेण्टरले पनि अनुसन्धान नगरी वास्तविकता नबुझी लेख प्रकासित नगर्नु होला, पत्रकारिताको धर्म नबिर्सनु होला। यस्ले कसैलाइ राम्रो गर्दैन।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: