जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित भन्दै भाडावाल निकाल्ने घरधनी पक्राउ

दलित भन्दै भाडावाल निकाल्ने घरधनी पक्राउ

गणेश लम्साल

२०७२ कार्तिक १८, जागरण मिडिया सेन्टर

दलित भन्दै भाडावाल निकाल्ने घरधनी पक्राउ

दलित भन्दै भाडावाललाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनी दम्पती पक्राउ परेका छन् । दलित भएकै कारण बेइज्जतीपूर्ण ढंगले घरबाट निकाल्ने सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ४२ वर्षीय श्याम भण्डारी र उनकी पत्नी ४० वर्षीया शर्मिला भण्डारी पक्राउ परेका हुन् । उनीहरूले भाडावाल शान्ति गजमेर (विश्वकर्मा)को परिवारलाई सानो जातको भन्दै बेइज्जतीपूर्ण ढंगले घरबाट निकालेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीले दलितमाथि जातीय छुवाछुत गर्ने भण्डारी दम्पतीलाई पीडितको जाहेरी दर्ता गरेपछि पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीका अनुसार भण्डारी दम्पतीलाई जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार अदालतमा मुद्दा दर्ता हुनेछ । घटनाअनुसार दसैँअघि नै घरधनी भण्डारी र भाडावाल शान्ति गजमेरबीच कोठा भाडा दिने–लिने पक्का भएको थियो । सोहीअनुसार शान्तिले भण्डारीको घरमा भाडा लिएको दुई कोठामा कार्पेट बिछ्याएर सामान सार्न थालेकी थिइन् । तर, नयाँ भाडावाल दलित समुदायको हो भन्ने थाहा पाएपछि घरधनी भण्डारीले ‘आमाको रुद्री पढ्ने कोठा हो, भाडा लगाउँदिन’ भन्दै १६ कात्तिक सोमबार राति कोठा नदिने भन्दै सामान लैजान धम्क्याएका थिए । राति भएकाले भाडावाल शान्ति सामान लिन जान सकिनन् । तर, घरधनी भण्डारीले अछुतको सामान भन्दै राति नै कार्पेट र अन्य सामान कोठाबाट निकालेर फ्याँकिदिए । बिहान घरधनीसँग कुरा गर्न पुगेकी गजमेरले कोठाभित्र राखेको सामान बाहिर फ्याँकेको देखेपछि अपमानित महसुस गर्दै आफन्तजन र अधिकारकर्मीलाई गुहारेकी थिइन् । अधिकारकर्मीहरूको सहयोगमा भाडावाल गजमेरले घरधनी भण्डारीविरुद्ध जातीय छुवाछुत तथा कसुर सजाय ऐनअनुसार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीअनुसार प्रहरीले घरधनी भण्डारी र उनकी पत्नीलाई पक्राउ गरेको हो । सुरुमा प्रहरीले स्थानीयको दबाबमा भाडावाल र धरधनीबीच छलफल गराएको थियो । तर, भण्डारी परिवारले गजमेर परिवारलाई छुवाछुत नगरेको भन्दै माफीसमेत माग्न नचाहेपछि प्रहरीले भण्डारी दम्पतीलाई मंगलबार पक्राउ गरेको थियो । जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ अनुसार जातीय विभेद गर्नेलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । नेपालको संविधान २०७२ मा पनि जातकै कारण निजी वा सार्वजनिक स्थानमा कुनै पनि कारणले जातीय भेदभाव गर्न नपाइने उल्लेख छ ।

– See more at: http://www.enayapatrika.com/2015/11/35974#sthash.hLSI0CKs.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: