जागरण मिडिया सेन्टर

Home » अन्य » म दलित कि तपाईं दलित ? – सीताराम घले (परियार)

म दलित कि तपाईं दलित ? – सीताराम घले (परियार)

‘म जातिच्यूत भई ‘दलित’ बन्न चाहन्छु । यो बहस नेपाल बुद्धिजीवी परिषद्मा चलाइदिनुहोस् ।’ यो भनाइ हो, एमाले उपाध्यक्ष वामदेव गौतमको । ‘म त अर्को जुनीमा कुकुर भए पनि पुरुष नै भएर जन्मन चाहन्छु ।’ यो भनाइ हो, फनी राना मगरको । ‘बरु भोकभोकै र विभिन्न बाधा अड्चन सहन परोस् तर दलितको कोखबाट जन्मन नपरोस् ।’ यो भनाइ दलित युवाको हो, अहिले उनको नाम यकिन हुन सकेन । तर, यी सबै विभिन्न समयमा पंक्तिकारसँग भएका कुराकानी हुन् । वामदेव गौतमसँग फेरि एउटा कार्यक्रममा भेट भयो । उहाँले मेरो कुरा बुद्धिजीवी परिषद्मा बहस चलाउनुभयो ? भनेर सोध्नुभयो । मैले यो बहस चलाउने मौका पाएको छैन भनेँ । अब यो सम्भव छैन, तपाईंले अवसर पाइसक्नुभयो । अब दलितको कोटाबाट फेरि अवसर प्राप्त गर्न यो ‘टेक्निक’ अपनाउँदै हुनुहुन्छ भन्दै तर्कन थालेँ । तर, उहाँले त्यस्तो अवसर कहिल्यै नलिने बताउनुभयो । बाहुनले जातिच्यूत हुन र दलितले ‘उपल्लो’ जाति हुन पाउने कि नपाउने यस विषयमा बहस चलाउनुपर्ने टड्कारो आवश्यकता छ ।
महिलाको पीडा हो, सधैँ पुरुषबाट हेपिनुपर्ने । विवाहमा दाइजो नल्याएकै कारण सासू, ससुरा र श्रीमान्ले समेत भौतिक आक्रमण गरी मारेको र कहिलेकाहीँ उनीहरूको अत्याचार सहन नसकेर आफैँले विष सेवन गरेर, आगो लगाएर, पासो लगाएर वा अन्य उपायबाट आत्महत्या गरेका घटना हाम्रा सामु अनगिन्ती छन् । तर, महिलालाई प्रकृतिले दिएको १३, १४ वर्षको उमेरपछि महिनावारी हुने, गर्भधारण गर्ने र बच्चा जन्माउने काम पुरुषबाट किमार्थ हुन सक्दैन । दलित भएकै कारण समाजबाट अपहेलित हुनु, मान्छेका रूपमा उसलाई समाजले अस्वीकार गर्नु, पशु, कुकुर र बिरालो मानिसका घरभित्र पस्न पाउँछन्, मानिसले दलित भएकै कारण उपल्लो जातिको घरभित्र पस्न नपाउनु यो कस्तो विडम्बना Û जसले घर बनाइदिन्छ, उही त्यो घरभित्र पस्न पाउँदैन, जसले भाँडा बनाइदिन्छ, उसैले त्यो भाँडा छुन पाउँदैन, जसले मन्दिर बनाइदिन्छ, उसैले मन्दिरभित्र पस्न पाउँदैन, जसले देउताको मूर्ति बनाउँछ, उसैले पूजा गर्न पाउँदैन, यो कस्तो विडम्बना हो ?
म परिवर्तनकारी सोच भएको व्यक्ति हुँ । मैले जनै फालेर हिँडेँ । म बाहुनको छोरो हुँ । तर, मगरकी छोरी विवाह गरेँ । मैले भूमिगत कालमा दलितका घरमा बसेर मरेका गाई, गोरु, सुँगुर, बंगुरको मासु खाएको छु । हलो जोतेको छु । एउटा दलित बाहुन हुन र एउटा बाहुन दलित हुन पाउने कि नपाउने ? म अब दलित हुन चाहन्छु, यो मेरो स्वतन्त्रताको कुरा हो, भन्ने वामदेव गौतमको भनाइबारे बहस चलाउनु जरुरी छ । यो बहस केवल राजनीतिक व्यक्तित्वमा मात्र होइन, समाजशास्त्री, मानवशास्त्री, तथा धार्मिक पण्डित, पत्रकार, समाजका हरेक तह, तप्काका मानिस र समुदायबीच चलाउनु नितान्त आवश्यक छ ।
आज हामी बाँचेको एक्काइसौँ शताब्दी ‘वैज्ञानिक’ युग हो । नेपालमा पानी नचल्ने जातिलाई ‘दलित’ भनेर नामकरण गरिएको छ भने भारतमा ‘हरिजन’ भनेर नामकरण गरेको पाइन्छ । यिनीहरूलाई राज्यले केही आरक्षणको व्यवस्था गरेको छ । त्यही आरक्षण कोटामा उनीहरू रमाएर बसेका छन् । नेपालका धेरै राजनीतिक दलका दलित भ्रातृ संगठनका नेता पनि हामी ‘दलित’ नै हौँ र हाम्रो पहिचान ‘दलित’ नै हो । यसैबाट हाम्रो विकास हुनुपर्छ भन्ने मान्यतामा छन् र अवसर पनि प्राप्त गरेका छन् । त्यस्तो अवसर सकेसम्म आफैँले लिने र आफूले नपाउने अवस्थामा आफ्नै नजिकको व्यक्ति, आफ्नै नातागोताको मानिसमा त्यो अवसर प्राप्त होस् भन्ने मानसिकताले ग्रस्त छन् । एकातिर जातीय विभेद हट्नुपर्छ भन्दै हिँड्ने, अर्कातिर हामी ‘दलित’ हौँ भन्दै हिँड्ने यो कस्तो विरोधाभासपूर्ण कुरा हो ? दलितको ‘ट्याग’ कहिलेसम्म भिरिरहने ?
अब, आगामी नेपाली समाजलाई कसरी रुपान्तरण गर्न सकिन्छ र मानिस-मानिस एउटै हो भन्ने भावना जागृत गराउन सकिन्छ, त्यसमा समाज र राज्यको ध्यान केन्दि्रत हुनुपर्छ । विगतमा सत्ताधारीले ‘फुटाऊ र राज गर’ भन्ने सिद्धान्त आत्मसात् गरी जनतालाई छुत र अछुत भनी विभाजनको रेखा कोरेर राखेका थिए । विगतमा जयस्थिति मल्ल, जंगबहादुर राणा, राजा महेन्द्रले दलितका विषयमा के गरे भनेर टिप्पणी गर्नुभन्दा पनि अबको हाम्रो समाजलाई कस्तो बनाउने र यसलाई कसरी अगाडि बढाउने ? अबको संसार हामीले बाँच्ने हो भन्ने भावनाले अभिप्रेरित भई जात, धर्म, क्षेत्र, तराई, पहाड नभनी, कुनै विभेद नगरी नेपाली जनताका हक, हित र समग्र आर्थिक विकास कसरी सम्भव छ त्यसमा हाम्रो ध्यान केन्दि्रत हुन जरुरी छ ।
मानिस जन्मँदैमा ऊ कुन जातकी महिलाले जन्माएकी हुन्, त्यो बच्चा त्यही जातको हुन पनि सक्छ, नहुन पनि सक्छ । कुनै दलित महिलाले ब्राह्मणसँगको सहवासबाट बच्चा जन्माइन् भने हाम्रो समाजले त्यो बालकलाई दलित नै बनाउँछ र त्यो ब्राह्मणलाई पनि जातिच्यूत गराई दलित नै बनाइन्छ । कुनै ब्राह्मण महिलाले दलितसँगको सहवास गरेर बच्चा जन्माइन् भने ती महिला र त्यो बालकलाई पनि दलित नै बनाइन्छ ।
तर, एउटी महिलाले वैध वा अवैध बच्चा जन्माएर कतै फालिन् भने त्यो कुन जातको, हो कसलाई के थाहा ? ऊ त दलित पनि हुन सक्छ र ब्राह्मण पनि हुन सक्छ, त्यसलाई समाजले नाम दिन्छ र थर पनि दिन सक्छ । ऊ दलितै भए पनि आर्यन अनुहारको छ भने बाहुनकै थर राख्न पनि सकिन्छ र समाजले त्यसलाई सहर्ष स्वीकार पनि गर्छ । मानिसको नाम र थर जन्मँदै निधारमा लेखिएको हुँदैन ।
त्यसैले दलित र गैरदलित भनेर छुट्याउने आधार तोड्नका लागि केही वैज्ञानिक उपाय अपनाउनुपर्छ । बच्चाको नाम जे राखे पनि हुन्छ र थरचाहिँ डाक्टरलाई बोलाएर उसको ब्लड ग्रुपका आधारमा ए पोजेटिभ, ए नेगेटिभ वा बी पोजेटिभ के हो त्यसैका आधारमा थर राखिनुपर्छ । अर्को उपायचाहिँ नामका पछाडि उसले जुन थर लेख्न मन पराउँछ त्यही थर लेख्नुपर्छ । उसलाई आरक्षणको अवसर प्रदान गर्नुपर्ने अवस्थामा ऊ पिछडिएको क्षेत्र, दलित, अति विपन्न ब्राह्मण, जनजाति वा अन्य कुन हो भन्ने गाविस र नपाले डिजिटल परिचयपत्र वा एटिएम कार्डमार्फत उसको पहिचान खुल्ने व्यवस्था प्रदान गर्नुपर्छ । यसले गर्दा ऊ दलित हो वा गैरदलित हो कसैलाई थाहा हुँदैन । दलितले म दलित हुँ भनेर कहिल्यै हीनताबोध गर्नुपर्दैन । उसले सधँै उच्च मनोबल लिएर हिँड्न र काम गर्न सक्छ, म दलित कि तपाईं दलित भनेर झगडा गर्नुपर्दैन, यो नै आजको जातीय विभेद अन्त्य गर्ने सही र उत्तम उपाय हो ।
(लेखक एमालेसम्बद्ध बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष हुन्)
कुबेतनेपाल डटकम बाट
Source : विभेद बिरुद्ध अभियान
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: