जागरण मिडिया सेन्टर

Home » अन्य » डोल्पाका राजीमान सार्की

डोल्पाका राजीमान सार्की

२०७२ मंसीर २१ जागरण मिडिया सेन्टर ।

न्यूनतम सुविधाबाट समेत वञ्चितीकरण र बहिष्करणमा पारिएको क्षेत्र कर्णाली र जाति दलितले भोग्नुपरेको दोहोरो दलनका प्रतिनिधि हुन् राजीमान सार्की । उनी माओवादी नेतृत्वको सशस्त्र आन्दोलनमा लागेनन् तर छापामारका दाइ भए । विद्रोही र सरकारी दुवै पक्षबाट शारीरिक र मानसिक यातना पाएका उनी सबाल्र्टनका पनि बाउ हुन् । संविधान जारी हुँदै गर्दा काठमाडौंमा भेटिएका उनीसित हिँड्दाहिँड्दा मैले केही कुरा गरेँ । कुरा गरिसकेपछि लाग्यो— निर्धा, निमुखा, निरक्षर र निःसहाय नागरिकहरु नेतादेखि हामी लेखकसम्म सबैका खेलौना पात्र मात्र रहेछन् ।
जबसम्म उनीहरु क्यारेक्टरबाट न्यारेटर, एक्टरबाट डिरेक्टर, पिपलबाट सिटिजन बन्न सक्दैनन् तबसम्म जति ठूला राजनीतिक परिवर्तनको पनि काम छैन । विकासका मानवीय, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक सबै सूचकका आधारमा पिँधमा रहेको हालको प्रदेश ६ चुप छ । यसो भन्दैमा के ऊ सन्तुष्ट र तृप्त छ ?
झाडापखालालाई प्राणघातक रोग कहाँ ठानिन्छ ? एक किलो चामल र नुनका लागि महिनौं प्रतीक्षा र हप्तौं हिँड्नु कहाँ पर्छ ? सुत्केरी हुन नसकी मरेका सन्तान र आमाको तथ्याङ्क कहाँ कति छ, थाहा छैन ? यो युगमा सडक नै छैन भने त्यहाँ कस्तो विकास र सुख छ ? सडक (यातायात) नै नभएका ठाउँमा अरु केही पूर्वाधार विकास हुन्छ ? न शिक्षक न पुस्तक, न सिटामोल र डाक्टर, न नुन न चामल, न पोषण र सरसफाइ, न चेतना न प्रतिरोध, न पहुँच र प्रतिनिधित्व, न शासक न प्रशासक, न उद्योग न रोजगार, न बिजुली न फेसबुक । अब म थप भूमिका नबाँधी डोल्पाका राजीमान सार्कीको कथा र व्यथा प्रस्तुत गर्छु ।

बानेश्वरमा छु म । अब केही बेरमा राष्ट्रपतिले संविधान जारी गर्नेछन् । भवनअघि सेल्फी खिच्नेको भीड छ । बिदा भएर हो वा बन्द ? बाटोमा गाडी चल्या छैनन् । भक्तपुर लोकन्थलीको कोठाबाट हिँड्दैहिँड्दै बानेश्वर आइपुगेको छु । झन्डा बोकेका झुन्ड झुन्ड मान्छेहरु संविधान, आन्दोलन र भारतबारे ‘सटीक र गम्भीर’ बुद्धिविलास गर्दैछन् । एक्लै उभिएका एक जनामा मेरा आँखा धेरै बेर अडिए ।

दोहोरो दलन
उनको नाउँ राजीमान सार्की हो । उनी पैंतीस वर्ष भए । उनको घर डोल्पा जिल्लाको त्रिपुराकोट गाविस वडा नम्बर १, सार्कीटोलमा छ । त्यहाँ सार्कीहरुका ४५ घर छन् । घर त के भन्नु, चरचर भएका खरका छाना छन् । त्यहाँबाट सदरमुकाम दुनै पुग्न चार घन्टा लाग्छ । अनि, जुफाल एअरपोर्ट पुग्न डेढ घन्टा लाग्छ ।
उनी पाँच दाजुभाइ र एक बहिनीमध्येका साइँला छोरा हुन् । उनको औपचारिक पढाइ झन्नै ३ कक्षासम्म हो । गाउँमा स्कूल नभएको हुँदा उनले पढेनन् । अर्कै वडाको स्कूलमा दलितलाई पढ्न दिइँदैनथ्यो । त्यहाँ हुने छोइछिटो र दूरदूर सहन नसकेर उनी जस्ता धेरैले पढाइलाई निरन्तरता दिन सकेनन् ।
साथीहरु त बच्चा नै भइगए । तर, ज्ञानको ज्योति फैलाउने ठेक्का लिएका गुरुहरुबाट समेत छिःछिः, दूरदर अनि स्याँःस्याँः पाए । सानामा उनलाई आफूहरु फोहोरी र तल्ला मान्छे नै हौं जस्तो लाग्थ्यो । सबैबाट हेपिँदा, पिटिँदा, थुकिँदा, मुतिँदा, आमाचकारी गाली खाइँदा, बेन्चमा बस्न नदिइँदा, जुठोपुरो खानुपर्दा पनि उनीहरु सहेरै बसे । बरु स्कुलै जान छोडिदिए । अझै पनि बूढापाकाहरु विभेद हुनुलाई स्वाभाविक ठान्छन् । आफूहरुलाई तल्लो जात भनी दुत्कार्दा पनि उनीहरु मौन बस्छन् । मौनता आन्दोलनको रूप हो भने उनीहरु मौन अनशन बसेको तीन हजार वर्षभन्दा बढी भइसक्यो ।
शतप्रतिशतको प्रतिपक्ष
उनकै घर नजिक वडा नम्बर १ मा त्रिपुरासुन्दरी मन्दिर छ । तर त्योे मन्दिर कस्तो छ, उनीहरुले अहिलेसम्म देख्या छैनन् । हामीलाई थाहा छ, हिन्दूहरुले पूजा गर्ने स्थललाई मन्दिर भनिन्छ । तर हामीलाई के थाहा छैन भने, केही हिन्दूहरुले नै केही हिन्दूहरुलाई प्रवेश गर्न नदिने स्थललाई पनि मन्दिर भनिन्छ । मन्दिरमा छिर्न पनि नदिने अनि हिन्दू पनि होइराख् भन्नु पनि कुनै तर्क हो ? धर्म जोगाउन छूतछात र गरिबीमा प्रहार गरौं, न कि धार्मिक राज्यको माग ।
‘देउता लाग्छन् । तिमीहरुको सत्यानाश हुन्छ । देउताले भष्म पार्छन्, मन्दिर नछिर्नू’, भन्ने भ्रममा बूढापाकाहरु अझै विश्वास गर्छन् । उनको गाविसको वडा नम्बर ५ मा कामीहरुको ठूलो बस्ती छ । ३ नम्बर वडामा दमाईहरुको बाक्लो बस्ती छ । ‘दलित (कामी) लाई भस्म पार्ने’ ती देवता त्यहीँका कामीहरुले कुँदेका हुन् । गाउँमा दलितहरुको बहुमत मात्रै होइन, दुई तिहाइ नै छ । तर त्यहीँ गाउँमा सरकार र शासन भने अल्पसंख्यक प्रतिपक्षले चलाइरहेको छ युगौंदेखि । प्रा. खनाल सर ! राजनीतिशास्त्रमा यस्तो प्रकारको संसदीय व्यवस्था कहीँ छ त ?
गरिब र पहुँचविहीनले पढ्नु बेकार छ
सार्कीटोलमा बल्लतल्ल २०५१ मा हिमज्योति प्रावि खुल्यो । आफ्नै टोलमा स्कुल खुलेपछि केही दलितहरुले पढ्न थाले । आर्थिक अवस्था अति नै कमजोर हुँदा सबैले छोराछोरीलाई विद्यालय पठाएनन् । अभिभावकहरु अझै पनि भन्छन्– पढेर के हुन्छ ? एसएलसीसम्म पढे पनि माथि पढाउन सकिन्न । जागिर पाइने होइन । हाम्रा मान्छे कोही छैनन् । आधी पढेर बेला खेर फाल्नुभन्दा बेलैमा बुटी खोज्नतिर लागे पेट भरिन्छ । राजीमानले सुनाए– जुम्लामा मात्रै लोक सेवा खुल्छ । डोल्पाका कोही पास हुन्नन् । डोल्पाका कुनै गाविसमा पनि डोल्पाली सचिव (खरिदार) छैनन् । पढेका मान्छेहरु नै बेकामे, आश्रित अनि अल्छी भएको देखेपछि राजीमानलाई पनि गरीब र पहुँच नहुनेहरुले पढेर काम छैन कि जस्तो लाग्छ रे !
राजीमान अहिले त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । त्यस विद्यालयमा पढ्ने ७० जना विद्यार्थी सबै दलित (सार्की) नै हुन् । अरु जातका मान्छे नै छैनन् । भए पनि ‘सार्कीहरुको स्कूलमा’ पढ्न–पढाउन आउने कुरै भएन् । डोल्पाकै बासिन्दा प्रअ तुलबहादुर विष्ट उनीहरुका मुक्तिदाता र शिक्षादाता हुन् । उनी सार्कीहरुसँगै बसेर खानेपिउने गर्छन् ।
सुपो खाने कुचलन
‘विष्ट’ले दलितका घरमा खान थालेको वर्षाैं भइसक्दा पनि पाका दलितहरु नै ‘हामीलाई नछुनुस्, नजिक नआउनुस्, हाम्रा घरको नखानुस्, हामीलाई पाप लाग्छ’ भन्दा राजीमानलाई अनौठो लाग्छ । मान्छेको मनोविज्ञान, संस्कार र संस्कृति परिवर्तन गर्नु भनेको संविधान परिवर्तन गर्नु जस्तो सजिलो छैन रहेछ ।
राजीमान अठार वर्षका थिए । बिहेको चर्चा धकेल्नै नसकिने गरी चुलियो । घरभन्दा एक दिन टाढा कालिका गाविस गए । छोरी माग्न जाँदा पाएको वचनले उनको मन रोयो । ‘त्यहाँ त मल बोक्छन्, सुपा खान्छन्, छोरी दिन्नौं’ भनेर केरकार गरे । सुपा खाने भनेको वर्षभरि काम गराएबापत मालिकले एक–दुई सुपो (नाङ्लो) कमसल अनाज दिने कुचलन हो । मन मरेकी केटी, छोड्न मन लागेन । उप्रान्त कुचलन हटाउने सर्तमा राजी भएर राजीमानले सत्र वर्षे बिजकुमारीलाई अघि लगाएरै छाडे । राजीमानकै नेतृत्वमा ‘मल बोक्ने र सुपो खाने’ कुचलन अन्त्य त भयो । तर कामबापत उचित ज्याला दिने बानी भने अझै छैन ।
राजीमान पाँच जना सन्तानका बाबु हुन् । जेठा छोरा धर्मजीत पन्ध्र वर्षका भए । उनी हिमाली छात्रावासमा बसेर दुनैमा नौ कक्षामा पढ्छन् । यसै गरी कृष्ण तेह्र वर्ष, कृष्णमाया दश वर्ष, जगमाया सात वर्ष र विष्णु पाँच वर्षका भए । ‘अब त पुग्यो होला नि ?’ भनेपछि उनी लजाए । राजीमानले अहिलेसम्म कण्डमको प्रयोग गरेका छैनन् । श्रीमतीले ‘खै के’ प्रयोग गर्छिन् । सुरुमा उनले आफ्ना सन्तान चारोटा भनेथे । नाम सोध्दै जाँदा पाँच पुगे ।
पचास दिनको शैक्षिक सत्र
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीमानका अनुसार डोल्पामा स्कूल खुल्ने र पढाइ IMG_3775हुने वर्षमा पचास दिन मात्रै हो । तीन महिना जति जीवनबुटी खोज्ने, चार महिना जति चिसो हुने, चाडबाड अनि हप्तौं लम्बिने स्थानीय जात्रा–मेला–पर्व । वर्षमा पचास दिन स्कूल खुल्ने । वर्षान्तमा अर्थात् झन्नै पचास दिन पहिले मात्र पुस्तक पुग्ने । स्कूल जानआउन दुईदुई घन्टा उकालो ओरालो हिँड्नुपर्ने । यो वैज्ञानिक शदीमा विकासको मेरुदण्ड भनिने शिक्षा नै गतिलो नभए के हुन्छ ? के तपाईंले मेरुदण्डविनाको मानिस हिँडेको वा दौडेको त के उभिएकै देख्नुभएको छ ?
बल्ल तिरो रिटर्न
शिक्षाबारे कुरा गर्दै जाँदा उनी अचानक मख्ख पर्न थाले अब । ओठ जोडेरै धेरैबेर मुसुमुसु हाँसेपछि बल्ल ओठ खोले । उनी आफसे आफ मुस्काउने कारण रहेछ– उनको सार्की समुदायका मनबहादुरले स्थायी शिक्षकमा नाम निकालेछन् । उनी हाल रिमी गाविसको विद्यालयमा पढाउँदा रहेछन् । दुनै क्याम्पसमा पढेर उनकै शब्दमा ‘आइए किलेर’ गरेछन् उनले । मनबहादुरको भान्जो अर्थात् राजीमानको नाति पर्ने सन्तबहादुर सार्की काठमाडौंमा इन्जिनियरिङ पढ्दै छन् रे । राज्यलाई एकोहोरो तिरो बुझाउँदै आएका उनीहरुले तिरोबाट तलब खाने नोकरी पाए पहिलो चोटि । बल्ल एक जना सरकारी कर्मचारी हुँदा पनि उनी कति खुसी छन् । शिक्षाले उजिल्याइदिएको उनको अनुहारको चहक संविधान प्रमाणीकरण गर्दै गरेको सभाध्यक्षको जस्तो थियो ।
राजीमान र उनको गाउँका सार्कीहरुसँग केही जग्गा–जमिन त छ । तर कति ? कति रोपनी र कति बिगाहाले अर्थ राख्दैन । मूल्य क्षेत्रफलमा हैन, उत्पादकत्वमा हुन्छ । आफ्नै उब्जनीले मुस्किलले तीन महिना खान पुग्छ । उनको मुख्य आम्दानी जीवनबुटी हो । राजीमानका अनुसार कर्णालीका बाहुन–क्षेत्री पनि गरीब र पीडित नै छन् ।
जनप्रतिनिधि नै बुटीप्रतिनिधि
जीवनबुटी अर्थात् यार्चा, भुल्ते, कटुको, हात्तीजरो इत्यादिले हो उनीहरुको सास टिकाउने । जेठ–असारतिर लेकतिर नजाने कोही हुन्न । हजार जना गए भने सय जनाले मात्र भेटाउलान् । कति त त्यहीँ हराउँछन्, कहिल्यै नफर्किने गरी । यार्चा खोज्न चाहिने प्रमुख सीप उनकै शब्दमा ‘पावरवाला आँखा’ हो । त्यसैले ससाना नानीबाबुहरु यो काममा बढी सक्रिय हुन्छन् ।
जिन्दगीलाई दाउमा राखेर यार्चा खोज्ने दुखारीले पाउने भनेको एउटाको पाँच सय मात्रै हो । एक किलोको सरदर चौध÷पन्ध्र लाख । तर कुनै मेहनतै नगरी साहू–ठेकेदारहरु भने पाँच गुना बढीसम्म सजिलै कमाउँछन् । उनको जिल्लाका एमाले सभासद्÷जनप्रतिनिधिसमेत बुटीप्रतिनिधि रहेछन् । त्यहाँबाट सस्तोमा संकलन गरेर विदेश पु¥याउन आफै जाँदा रहेछन् । संविधान र संघीयतामा आफ्ना कुरा राख्न पठाएका जनप्रतिनिधिले समेत राजीमान जस्ताको दुख बुझदैनन् ।
दुवै पक्षबाट यातना
राजीमानको गाउँमा प्रहरी चौकी थियो । माओवादीको चकचक बढेपछि प्रहरीहरु छरिएर हिँड्न डराउँथे । उनीहरु गाउँ–गाउँ जाँदैनथे । राजीमान र उनी जस्ता युवाहरुले प्रहरीका लागि चामल, दाल, तरकारीका भारी बोक्ने काम पाए । गाउँगाउँबाट खसी र कुखुरा खोजेर चौकीसम्म पु¥याइदिने काम पनि गरे । राजीमानहरुको श्रम र सेवाबापत प्रहरीहरु ‘उचित’ नगद ज्याला दिन्थे । ज्यालाले राजीमानहरुका बालबच्चा भोकै बस्ने दिन केही कम भए ।
द्वन्द्व चर्कियो । सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नै असुरक्षित भए । प्रहरी चौकी अब गाउँबाट उठ्ने भयो । घर बसीबसी पाएको स्यानतिनो रोजगारी खोसियो । चौकी जुफाल सर्ने भएपछि राजीमान पुलिसका सामान ओसार्नेमा छानिए । उनी सामान पु¥याएर घर के फर्केका थिए, घरभरि माओवादी नै माओवादी ।
अब राजीमान ‘दुस्मनका सहयोगी र सीआइडी’मा बढुवा भए । राजीमानले स्वीकारेनन् । भने— काम नगरीकन केले पेट भर्ने ? हामी गरिबलाई काम नगरी खान पुग्दैन । तिमीहरु ज्याला दिन्छौ भने तिम्रा सामान पनि बोकिदिन्छु ।
उनीहरुले भने— परिवारको भोकको मात्रै चिन्ता नगर । हामीसँगै हिँड्, सब दुःख नाश हुन्छ । हाम्रो शासन आउँछ र त्यसपछि हामीजस्ता सबले जग्गा, जमिन, अधिकार, रोजगार जे जे भन्यो त्यही त्यही पाउँछौं । क्रान्तिमा हिँड् ।
छापामाराका दाइ
राजीमानले मान्दै मानेनन् । आफू हिँड्नेबित्तिकै परिवार खानै नपाई मर्ने चिन्ताले उनी क्रान्तिमा हिँड्न सकेनन् । उनलाई मान्छे काटिहाल्ने जनकारबाही पटक्कै चित्त बुझेन कहिल्यै । उभिएर सब कुरा सुनिरहेका राजीमानका काइँला भाइ बमबहादुर हिँड्न राजी भए । उनले मुठ्ठी कसे । र, हात ठड्याएर टाउकातिर तेस्र्याउँदै भने— काँतडहडु हिँड्दैनन्, म हिँडेँ कडान्तिमा ।
राजीमानले जति सम्झाए पनि भाइ माओवादी भएरै छाडे । बरु उल्टै दाइलाई सम्झाइदिए । माओवादीहरुले राजीमानलाई घरमा छोडेनन् । चार घन्टा टाढासम्म लगेर बाटैभरि काउन्सेलिङ गरिरहे । राजीमान गलेनन् । केही सीप नलागेपछि पिटपाट गरेर चेतावनीसहित छोडिदिए । चेतावनी— अब हत्यारो शाही सेना र पुलिसलाई सहयोग गरेको थाहा भए सोझै सफाया गरिनेछ ।
केही महिनापछि । उनी घरैमा बाख्रालाई घाँस खुवाउँदै थिए । ‘आतंककारीको घर यही हो ? खै, तेरो भाइ पनि बुझा ? स्साला’ भनेर बन्दुक तेस्र्याइहाले । रित्तो घरलाई पनि ट्याम लगाएर टाकटुक खानतलासी गरे । राजीमानको कठालो समातेर जुरुक्क उभ्यायो आर्मीले । अनि उनलाई समातेको हात हल्लाई हल्लाई ढाडमा दुईचार बुट ठोक्योे । यो देखेर छोराछोरी लुके । श्रीमती टाउको भुइँमा टेकाएर राईकराई गरिन् । पाउमा परिन् । तर, सेनाको मन ठन्किइरह्यो ।
‘म हैन, भाइ मात्रै हो । ऊसँग मेरो बोलचाल छैन,’ हतियारको भाषा मात्र बुझ्ने भएका उनीहरुले ओठको भाषा बुझ्ने कुरै भएन । परिवारको एक जना माओवादी भए सबै सदस्य माओवादी ठहरिने जमानाको शिकार भए उनी । परिवारको एक जना सेना वा प्रहरी छ भने पनि त्यो पूरै परिवार दुस्मनको मतियार ठानिन्थ्यो माओवादीका बन्द नजरमा पनि । पेट पाल्नकै लागि प्रहरीको काम गर्दा त सीआइडी ठहरिए राजीमान ।
‘खै, कहाँ छ तेरो भाइ ? अरु को–को आतंककारी भएका छन् ? एक एक गरी सबै भन्’ बाटैभरि लात्तैलात्ताले गोद्दै हिँडाए । आँखामा टालो बाँधिदिएका थिए । उनलाई जुफाल लगे । राति दश बजे दुनै ब्यारेक पु¥याए । बेच्न राखिएका खसीका डँडाल्ना छामेझैं जो आउँछ, उनलाई परक्क पारेर जान्छ । उनी तीन महिना जिप्रका हिरासतमा बसे । यसबीच एक महिना उनलाई बोरामा राखियो । आँखामा पट्टी बाँधेर लठ्ठी टुक्रिन्जेल पिटाइ खाए । बुट त कति खाए खाए । बोल्दाबोल्दै सर्ट खोलेर ढाड देखाएर भने, ‘अझै दुख्छ सर ।’ हिरासतमा हुँदा जोई–छोराछोरीको रित्तो पेट सम्झेर एक्लैएक्लै खुब रोए । राजीमानको केही अत्तोपत्तो भएन घरमा । उनले भने, ‘कमाउने म नहुँदा उनीहरु भोकैभोकै चाउरेछन् रोएर ।’
दाइलाई सेनाले लिएको थाहा पाएपछि माओवादी भएका बमबहादुर घर आए । ‘मेरो दाइलाई लियो हत्यारोले’ भन्दै उनी घरगाउँमा सन्किनु सन्किए । उनमा बदलाको भावना बढ्यो । घरमै थिए, एकदिन सेनाले बमबहादुरलाई पनि लग्यो । उनी डेढ वर्षपछि छुटे । अहिले बम घरमै बेकामे छन् । दाजुभाइबीच उति बोलचाल पनि हुन्न रे । राजीमानको रिस मरेको छैन– एक, नजा भनेको मानेन । दुई, उसकै कारण तीन महिना हिरासतमा यातना सहनुप¥यो । तीन, चार र पाँच— परिवारको, उसको अनि देशकै बिचल्ली भयो ।
बाटै छैन
‘तपाईं जस्ता पछि पारिएका जाति, क्षेत्र र समुदायबारे माओवादीले नै बढी चिन्ता लिएको होइन र ?’ उनले मेरो प्रश्न सिधै खारेज गरिदिए । ‘त्यो सब बेइमानी र नौटंकी थियो । मलाई सधैँ यस्तै लाग्यो । अहिले त्यही पार्टीमा लागेका सबैलाई मलाई जस्तै लाग्छ ।’ अरु जे जस्तो भए पनि मान्छे ठुन्क्याइदिने नीति नलिएको भए उनले पनि समर्थन गर्न सक्ने सम्भावना हुन सक्थ्यो रे ।
हामी बीच कुरा हुँदै गर्दा उनले घर छोडेको महिना दिन हुन लागेछ । एक चोटिको यात्रामा करिब एक लाख रुपैयाँ सकिन्छ रे । उनले दुई दिन अघि मात्रै भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिको दर्शन पाएछन् । डोल्पा र हुम्लालाई अझै सडकले छुन सकेको छैन । ‘कहिले पुग्छ बाटो ?’ उनले मन्त्रीसमक्ष यत्ति भनेका थिए । उनको भेटघाटको समय सकियो । मन्त्री केही बोलेनन् रे ।
न बाटो, न बत्ती, न चौकी (स्वास्थ्य र सुरक्षा), न पुल, न स्कुल, न पहँुच । चौबीसै घन्टा मरिमेट्दा पनि भोक, रोग, शोकमा डुबिरहनुपर्छ भने कस्ले कसरी चिन्दो हो आफू प्रम, सचिव, डाक्टर, लेखक, कलाकार बन्न सक्ने कस्तूरी सुगन्ध ? सारा समस्या र अविकास मधेसमा मात्रै छ, पहाड र हिमालमा विकासैविकास र सुखैसुख छ जसरी सबका सबले कर्णालीलाई बिर्सेकामा उनी सबैभन्दा बढी आक्रोशित भए ।
देशद्रोही सार्की
‘अब तपाईंहरु के चाहनुहुन्छ ?’ उनले दिएको चाहनाको जवाफ लेख्नलाई बुद्धिविलास वर्डप्रेस डट कमकोे स्पेसले पुग्दैन । तर अब उनी आफ्ना चाहना हाम्रा लेखमा हैन, संविधानमा पढ्न चाहन्छन् ।
जवाफमा उनले भनेको एउटा कुरा, ‘हाम्रो कुरा नेपालले कहिल्यै सुनेन । अब हामी डोल्पालीहरु चीनतिर जोडिन चाहन्छौं । यसै पनि राज्यले चालू योजनामा तिब्बततिरबाट सडक जोड्ने भनेकै छ ।’
लौ, राजीमानले त देश टुक्र्याउने अभिव्यक्ति पो दिए । अमरेश र राजेन्द्र महतोलाई बडा मन्त्री बनाइयोस् । राजीमानलाई कडा कारबाही गरियोस् सर्खार !
… https://buddhivilas.wordpress.com/

विमल आर्चायको व्लगबाट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: