जागरण मिडिया सेन्टर

Home » अन्य » ‘घाम झुल्कँदा बाँच्ने आस पलाउँछ’

‘घाम झुल्कँदा बाँच्ने आस पलाउँछ’

प्रवीण ढकाल/ध्रुव दङ्गाल

२०७२ पुस १६,जागरण मिडिया सेन्टर ।

झाडापखलाबाट उत्रेपछि टहरोअघि घाम ताप्दै बराम्चीकी ८४ वर्षीया वृद्धा इच्छामाइ नेपाल। तस्बिर : ध्रुव दंगाल

ज्वरोपछि बल्ल तंग्रिँदै गरेको शरीर। पिठ्युँमा बिरामी छोरी। काँधमा औषधि र सामान भरिएको झोला। जलवीर–कात्तिके कच्ची सडकको ढाँडे कटेपछि २६ वर्षीया सीता नेपाली भेटिइन्।
ज्वरोले कमजोर बनाएको शरीरमाथि छोरी र सामानको भारीसँगै हतारिँदै हिँडिरहेकी उनको अनुहार मलिन थियो। भूकम्पमा गाँसबास गुमाएकी उनी थप समस्या र पीडामा छिन्।

‘मुखबाट रगत आउन थालेपछि ओखतीमुलो गर्न यसका बाबु (पिठ्यँुमा रहेकी छोरी देखाउँदै) हिजै मात्र काठमाडौंतिर लागेका छन्,’ पिठ्युँमा नौमहिने छोरी रोजिना बोकेर हिँड्नै हतारिएकी सीताले भनिन्, ‘घरमा बिरामीले थलिएर १० वर्षे छोरो लडिरहेको छ।’ बराम्ची–,९ ध्यादुङकी २६ वर्षीया सीताको दुई लालाबालासहित बस्दै आएको घर भूकम्पले ढालेपछि आपतमा फसेकी उनले विदेशमा रहेका श्रीमान राजकुमारलाई बोलाइन्।

भूकम्पले लडेको घर ठड्याउन र आपतमा सहारा होला भनेर विदेशबाट फर्किएका श्रीमान आफैं ठन्डीको सुरुआतमै अस्पताल शऒ्ढयामा पुगे। स्याँठ नछेक्ने टहरोमा चिसोले गाँज्दै गएपछि राजकुमारको छातीमा समस्या देखिएको छ। भरोसाका मियो नै अस्पताल पुगेपछि सीता बेचैनीमा छिन्।

उनी आफैं पनि एक सातादेखि बिरामी छिन्। तातोपानीले जसोतसो ज्वरो निको पारे पनि हातखुट्टा अझै काँपिरहेका छन्।

शीत चुहिने र स्याँठ नछेक्ने जस्ताको अस्थायी टहरोमा चिसोले छोरी रोजिना सिकिस्त भएपछि उनी मंगलबार आफ्नो बिरामी शरीरको पर्वाह नगरी सखारै झन्डै तीन घन्टा पैदल हिँडेर जलवीरेस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगिन्।

‘बच्चीको छाती खराब भइसकेको छ। चिसोबाट जोगाउँदै खुवाउन भनेर डाक्टरले ओखती दिएका छन्,’ उनले भनिन्, ‘नभए कान्ति बाल अस्पताल लैजानुपर्छ रे! यो चिसोमा टहरोभित्र कसरी जोगाउनु?’ चिसोले भेटेसँगै रोजिना सातादेखि बिरामी छिन्। खोकीले रातभरि सुत्न सक्दिनन्। खानामा मन लाउन छोडिन्। बरु बान्ता मात्रै गर्छिन्।’

छोरो राजनको अवस्था उस्तै छ। रुघा र ज्वरोले सताएको छ। टाउको मात्र दुखिरहन्छ भन्छन्। ‘एकैपटक दुइटै बच्चा उपचारमा लैजान सकिनँ,’ सीता भन्छिन्, ‘भरथेग गर्न आएका यिनीहरुका बाबु आफैं थलिइहाले।’

सीताको फोनपछि मलेसियाबाट भदौमा आएका राजकुमार दुई सातादेखि बिरामी छन्। परिवारलाई सहारा दिन आएका उनी रगत बान्ता गर्छन्। यता उपचार नलागेपछि सीता आफैंले कर गरेर उपचारमा पठाइन्। राजकुमार अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन्।

बिस्टले दिने खानेकुरा खाएर र मेलापात गरेर जीवन धान्ने यो दलित परिवारको जग्गाजमिन छैन। भूकम्पले सबैलाई नांगेझार बनाएपछि गाउँबाट खानेकुरा जुट्ने नै भएन। गुजारा चलाउन मेलापात गर्नुपर्ने सीता अहिले आफ्नै र परिवारका सदस्यको उपचारमा धाउन बाध्य छिन्।

‘सरकारले त हेर्दैन, अरू कसले हेर्नु?’ काँधको झोला भुइँमा राख्दै सीताले सुस्केरा छाडिन्, ‘परिवारै बिरामी भएपछि बिल्लीबाठ भयो।’ कमाउन विदेश पुगेका श्रीमानलाई एक वर्ष नबस्दै भूकम्पले फर्कायो। कमाउने सपना त पूरा भएन नै, बरु विदेश जाँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले छट्पटाएको छ यो परिवारलाई।

हिमाली गोल्चे–२ सञ्चगाउँका ३२ वर्षीय चिनबहादुर गोलेको पनि परिवारै बिरामीले ढलेको छ। सातादेखि ओछ्यान परेका श्रीमती फूलमाया र तीन लालाबाल टहरोमै छाडेर औषधि खोज्न झरेका उनी कात्तिके बजारमा भेटिए। ‘जहानजति बिरामी भएर लडेका छन्,’ बिरामी शरीर घिसार्दै दुई घन्टा हिँडेर आएका उनले भने, ‘लेकको चिसोले मार्ने भयो।’

ठन्डी बढेसँगै टहरोभित्र शीत र तुषारो जम्न थालेपछि रुघाखोकी र ज्वरोले उनको परिवारै गाँज्यो। परिवारैलाई औषधि किनेपछि घर फर्कने आँट नहुँदा कात्तिकेमै बासको खोजीमा लागेका चिनबहादुरले १ सय ४४ परिवारको सञ्चगाउँमा घरैपिच्छे बिरामी परेको सुनाए। उनका अनुसार गाउँमा भूकम्पको ९ महिना बितिसक्दा पनि अझै जस्ता पुगेको छैन। प्लास्टिक, त्रिपाल र भकारीको टहरोमा लुगलुग काँपेर गाउँले बसिरहेका छन्। चिसो छल्न आगो बाले पनि बिरामी हुने क्रम रोकिएको छैन।

‘ज्वरो, खोकी र दमले च्यापेर केही दिनअघि मात्र गाउँमा ७० वर्षकी एक वृद्धा छिमेकीको मृत्यु भयो,’ डराउँदै उनले भने, ‘ठन्डीले अरू को–को लाने हो कुन्नि!’

सिन्धुपाल्चोकको कर्णाली क्षेत्र भनेर चिनिने पारिका हिमाली गाउँ गोल्चे, गुम्बा, पाङताङ, हगाम, बराम्ची, सेलाङ गाविसमा भूकम्प पीडितको कन्तबिजोग छ। अस्थायी टहरो बनाउन यस क्षेत्रका अधिकांश घरपरिवारले अझै जस्तापाता पाउन सकेका छैनन्। ठन्डीले घरैपिच्छे चिसोका बिरामी छन्। अहिलेसम्म धेरै अप्रिय घटना सुन्नु नपरे पनि औषधि र उपचार अभावमा टहरैपिच्छे बालबालिका र वृद्धवृद्धा लडिरहेका छन्। वयस्कहरु रुघाखोकी, ज्वरोले सताइन थालेका छन्। स्थानीय भन्छन्, ‘यहाँका अधिकांश परिवार मात्र नभई गाउँका गाउँ बिरामी छन्।’

‘झाडाबान्ता लागेर हिजो झन्डै मरेको। धन्न थामियो,’ बिहानीको घाम तापेर आँगनमा सुतिरहेकी बराम्ची–९ ध्यादुङकी ८४ वर्षीया इच्छामाई नेपालले भनिन्, ‘वनतरुलको गेडा कुटेर खाएपछि सास आयो।’ टहरोबाट छिर्ने सिरेटोले चार वटा सिरक ओढ्दा पनि नतात्ने उनले बताइन्।

जुगल हिमालको काखमा रहेका गाउँमा अत्यधिक चिसो छ। ब्रह्मायणी नदीकिनारका बस्तीमा उस्तै ठिही। तामाङ समुदायको बाहुल्य रहेको यस क्षेत्र सामाजिक, आर्थिक र शैक्षिक रुपले धेरै पिछडिएको छ। विकासका पूर्वाधारबाट वञ्चित छन् गाउँले। गाविसको एक गाउँबाट अर्कोमा पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने यो क्षेत्र राहत वितरणमा पनि उस्तै उपेक्षित पाइयो। अझै जस्तापाता पुग्न सकेको छैन। संघसंस्था भर्खर राहतमा जस्तापाता लिएर निस्केका छन्। भूकम्पको नौ महिना बिते पनि गाउँले टहरो बनाउने चटारोमा छन्।

त्रिपाल, मान्द्रा, भकारी, स्याउलाको गोठ भत्काएर गाउँले भर्खर अस्थायी टहरो बनाउन जुटेका छन्। स्थायी आवास निर्माण कहिले थाल्ने, पत्तो छैन। भूकम्पले जमिन धाँजा र चिरा फाटेपछि सुरिक्षत स्थान खोज्दै अधिकांश गाउँ खाली भए। बर्खा सकिएपछि गाउँले बल्ल थातथलो फर्किए। यो क्रम अझै जारी छ।

पहिरोले बाटाघाटा अवरुद्ध थिए। घुमाउरो जँघार हुँदै स्थानीय बाटोघाटो निर्माणमा जुटेका छन्। भूकम्पपछि अधिकांश गाउँ पहिरोले नाकाबन्दीमा परेका थिए। जस्ता खरिद गर्न १५ हजार रुपैयाँ पाए पनि कहाँबाट खरिद गर्ने, कसरी पुर्याहउने मेलोमेसो नै भेटेनन् गाउँलेले। संघसंस्थाले गाडी पुग्ने कात्तिकेबाट जस्ता वितरण गरिरहेका छन्। दुई दिनसम्म पैदल हिँडेर जस्ता गाउँमा पुर्यानउन धौ छ। ‘नाकै ठाकिने ठाडो बाटोमा मुस्किलले दुई पाउ मात्र अट्छन्,’ गोल्चे–१ लिदीगाउँका रुपलाल तामाङ सुनाउँछन्, ‘भर्यााङ हालेर बाटो जोडेका छौं।’

भूकम्पले चुँडिएका दुइटा पुल अझै बनाइएको छैन। पुल नबन्दा गाउँहरु आंशिक नाकाबन्दीमा छन्। अहिले खोलामा फड्के हालेर काम चलाइए पनि वर्षा हुँदा र पानी सतह बढ्दा आवतजावत रोकिन्छ। बोल्देे खोला र नेशम खोलाको पुल चुँडिदा गुम्बा, क्याङसिङ, तेम्बाथान, तेगा, दीपुगाउँमा समस्या रहेको गुम्बा गाविसका सामाजिक परिचालक प्रेम तामाङले बताए। ‘खोलो घट्दा कात्तिकदेखि नाकाबन्दी खुल्यो,’ उनी भन्छन्, ‘पुल नबनाउने हो भने जेठ लागेपछि फेरि नाकाबन्दी सुरु हुन्छ।’

उच्च हिमाली क्षेत्रमा घाम लाग्दैन। चिसो बोकेर सिरेटो चलिरहन्छ। गाउँले आगो तापेर शरीर तताउन बाध्य छन्। टिहरोमा ठिहीले कक्रिएको शरीर घाम लाग्दा छिमेकी एकै ठाउँ भेला भएर सेकाइरहेको जताततै देख्न सकिन्छ।

बाँच्न शरीर तताउनुपर्ने बाध्यताले खेतीपाती, बालीनाली मेलो अवरुद्ध छ। पाखाबारी बाँझै छन्। उसै पनि हिमाली क्षेत्रको उब्जनीले तीन महिनाभन्दा बढी खान पुग्दैन। जे लगाए पनि वर्षको एक बाली लाग्ने कोदो, मकै, आलु, गहुँ १३ महिनापछि मात्र भित्रन्छ। बेसीतिर कतैकतै धान लाग्छ।

‘भूकम्पले यसपाली उब्जनी शून्य जस्तै भयो। धेरैले लगाएनन्। लगाएको ठाउँमा पनि राम्रो भएन,’ गुम्बा–३ पाङगार्पु गाउँका चन्द्रलाल तामाङले भने, ‘राहत खान नपाए भोकभोकै मर्छौं होला।’

भूकम्पपछि बर्खाअघिसम्म हेलिकप्टरले झारेको राहतले गाउँलले जीवन धाने। हिउँद लागेसँगै गाउँमा राहत पुगिरहेकाले अहिलेसम्म खानाले समस्या छैन। विश्व खाद्य कार्यक्रमले कामका लागि खाद्यान्न कार्यक्रम लागू गरेकाले गाउँलेलाई तत्काल भातै खाने पिरलो छैन। कार्यक्रमले दुई पटक गरेर ५ बोराको दरले चामल दिएको छ। कार्यक्रमले दिएको चामलको गुणस्तर उनीहरुलाई मतलब छैन। जस्तो भए पनि खान पाउनुमै रमाएका छन् उनीहरु। त्यो चामल पाउन उनीहरुले सडक, बाटोघाटो खन्नुपर्छ। दुई महिनामा ४० दिनका दरले घरलौरी सदस्य चामलका लागि काममा जोतिइरहेका छन्।

गाउँलेलाई गाँसभन्दा वासकै चिन्ता छ। उनीहरु भन्छन्, ‘कन्दमुल र कर्कलो खाएर पनि केही दिन धानौंला। बासचाहिँ राम्रो चाहियो।’ उनीहरुले चाहना गरेको राम्रो बास भनेको कम्तिमा लेकको चिसो छल्ने हो। लेकमा फागुन–चैतसम्म चिसोले सताउँछ। ठन्डी सुरु भएको एक महिनामै पीडित कहालिइसकेका छन्। घाम लागेका दिन उनीहरु आज बाँचिने भइयो भनेर खुसी हुन्छन्, नलाग्दा टहरोभित्रै गुट्मुटिएर आत्तिन्छन्।

बिहान झुल्केघाम उदाउँदा गाउँले शरीर तताउन टहरो बाहिर निस्कन्छन्। घाम अस्ताएपछि मात्र टहरोभित्र छिरेर बेलुकी खानाको जोरजाममा लाग्छन्। ‘घाम उदाउँदा आश, अस्ताउँदा निशास,’ पाङताङ घुङा गाउँ दलित टोलका ७० वर्षीय डिलबहादुर बिक भन्छन्, ‘रात नआए नि हुन्थ्यो। चार वटा मन्डी खाप्दा पनि शरीर तात्दैन।’ उनी जस्तै यस क्षेत्रका धेरै बुढाबुढी र केटोकेटी घाम अस्थाएपछि कालोनिलो हुन्छन्।

गाउँलेसँग बाक्ला लुगा छैनन्। ओढ्ने ओछ्याउने छैनन्। राहतमा उनीहरुले केही थान त्रिपाल त पाएका छन्। त्यसले लेकको जाडो के धान्थ्यो? स्याउला, मान्द्रा, पुराना काठपातको टाँड लगाएर चिसो र स्याँठ छल्ने प्रयास नभएको होइन, तर कसैगरी छेकिन्न। गाउँले राहतमा पाएको म्याटमा एकसरो तन्ना बिछ्याएर मन्डी ओड्छन्। ‘रात छिप्पिँदै जाँदा ठिहीले शरीर ठिहिर्यानउँछ,’ परम्परागत आरनमा खुकरीमा धार लगाउँदै पाङताङ–८ का गमबहादुर विकले भने।

जाडोले पठनपाठन प्रभावित भएको छ। ढिलो स्कुल खुले पनि बिरामी र जाडोले केटाकेटी स्कुल जाँदैनन्। हुस्सु फाटेपछि बिहानको ११ बजेपछि मात्र स्कुल खुल्छन्। अस्थायी टहरोमा सञ्चालित स्कुल नाम मात्रका छन्। मान्द्रा र त्रिपालमै स्कुल सञ्चालित छन्। ‘चिसोले बिद्यार्थी पढ्न आउँदैनन्। उनीहरुसँग न्यानो लुगा छैन,’ गोल्चस्थित भीमसेन निमाविका शिक्षक दीपक तामाङले भने, ‘यहाँ विद्यार्थी र विद्यालयलाई सहयोग गर्न कुनै संस्था आइपुगेका छैनन्।’

चामल र दाल राहतमा आए पनि तेल, मसला, नुन, चिनी नकिनी धेरै छन्। गाउँमै किन्न पसल छैन। १ हजार खर्चको लक्ष्य बनाएर तेल, मसला, नुन, चिनी किन्न बजार जान रसदपानीको व्यवस्था गरेर निस्कनुपर्छ। किनमेलमा भन्दा बाटो खर्चमा धेरै पैसा सकिन्छ। सडक पुगेको कात्तिके गोल्चे, गुम्बा, पाङताङ गाविसवासीको किनमेल गर्ने एक मात्र बजार हो। यहाँ आइपुग्न तीन घन्टादेखि दुई दिनसम्म लाग्छ। गुम्बाको सबैभन्दा अन्तिम गाउँ तेम्बाथानका बासिन्दा किनमेलका लागि कात्तिक आइपुग्दा एक रात बीचमा बिताउँछन्। सेलाङ, हगाम र बराम्चीका बासिन्दा घन्टौं हिँडेर किनमले गर्न जलवीर पुग्छन्।

भूकम्पले खण्डहर बनेको पाङताङ बजार अहिले त्रिपाल, टेन्ट र जस्ताको टहरोमा विस्तारित छ। भूकम्पले सडक अवरुद्ध हुँदा तिहारसम्म त गाउँलेले किनमेलमा ठूलो कष्ट भोगे। स्थानीय आफैं जुटेर सडक मर्मत गरेपछि अहिले कात्तिकेसम्म नियमित बस, मालबाहक गाडी चल्न थालेका छन्। टाढा भए पनि लामो यात्रा हिँडेर किनीखान समस्या छैन। ‘उसै पनि दुःखमा थियौं। भूकम्पले दुःखको पहिरो ल्यायो,’ पाङताङका युवा प्रेम तामाङले दुःखेसो पोखे।

यस क्षेत्रमा अझै राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। गाउँहरु अन्धकारमा छन्। पाङताङमा दुइटा लघु जलविद्युत आयोजना सञ्चालनमा रहे पनि भूकम्पपछि अवरुद्ध छ। नाकाबन्दीले मट्टीतेल पाइँदैन। गाउँले आगो बालेर टहरो उज्यालो बनाउँछन्। आगोकै लुगा र सिरक ओडेर शरीर तताउँछन्। सरकारले न्यानो लुगा किन्न दिएको १० हजार रुपैयाँ अनुदान अझै पीडितले पाउन सकेका छैनन्।

कतै बाँडिए पनि धेरै गाउँमा बाँडिएको छैन। सरकारले पूरा रकम नपठाएकाले सबैले पाउन नसकेको गाविस सचिवहरु बताउँछन्। खानेपानीको समस्या उस्तै छ। भूकम्पले पानीको स्रोत सुक्दा हाहाकार मच्चिएको छ। एक गाउँमा मात्र होइन सबैतिर खानेपानीको समस्या छ। गाउँलेहरु तीन किमी टाढासम्म पुगेर पानीको जोहो गर्न बाध्य छन्। ‘खाना, नाना, छाना अभावले छट्पटिएका गाउँले चिसोले मर्न लागिसके,’ गुम्बा, हगाम र बराम्ची गाविसको जिम्मेवारी सम्हाल्दै आएका सचिव ध्रुव थापाले भने।
– See more at: http://nagariknews.com/feature-article/story/51536.html#sthash.jMzeinjm.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: