जागरण मिडिया सेन्टर

Home » अन्य » संगीतकार बीबी अनुरागी भर्सेज बलबहादुर विश्वकर्मा

संगीतकार बीबी अनुरागी भर्सेज बलबहादुर विश्वकर्मा

२०७२ फागुन ७ गते, जागरण मिडिया सेन्टर 

 

बीबी अनुरागी, संगीतकार

जात थाहा पाएपछि धारामा पानी आउन छाड्यो

थाहा छैन, कहिलेदेखि सारंगीको धुनले मोहित हुन पुगेँ ! सानैदेखि सुन्थेँ, गन्धर्वदाइको सारंगीको धुन । गाउँमा सारंगी बजाउँदै-गाउँदै गन्धर्वदाइहरू आइरहन्थे । डुलिहिँड्दा सुनेका देश-विदेशका घटनालाई शब्दमा उतारेर, लय बनाएर गाउँथे । यसरी गाएबापत उनीहरूलाई गाउँलेले अन्न-पैसा दिन्थेँ ।

उनीहरूलाई पछ्याउँदै, उनीहरूकै झोला बोकेर म पल्लो गाउँसम्म पुग्थेँ । उनीहरूको झोला बोकेमार्फत एकैछिन सारंगी बजाउन माग्थेँ । अनि, सारंगी बनाउने तरिका सोध्थेँ- कुन काठबाट बन्छ, के-के चाहिन्छ !

सानैदेखि मैले बाँसुरी-मुरली बनाउँथे । आफू सुत्ने कोठामा बाँसुरी र मुरली कति हुन्थ्यो कति ! आठ कक्षामा पढ्दा एउटा सारंगी बनाएँ, खिर्रोको काठको ।

सारंगीको कथा

गन्धर्वदाइले खिर्रोको काठको सारंगी राम्रो बन्ने बताएका थिए । त्यसपछि म खिर्रोको रुख खोज्न वन चहार्न थालेँ- घरबाट स्कुल जान्छु भनेर हिँडे पनि नगएर, गए पनि भागेर ।

घरबाट डेढ-दुई घन्टा पैदल हिँडेर वनमा पुगिन्थ्यो । निकै दिन वन चहारेपछि अनकन्टार ठाउँमा एउटा खिर्रोको रुख देखेँ । सामुदायिक वन भएकाले पाले राखिएको थियो, दिनमा काट्न नपाइने, रातमा गएर काट्नुपर्ने । राति घरबाट वनमा जान दिने कुरा हुँदैनथ्यो । साथी दलबहादुर थापालाई सँगै जान भनेँ । त्यो रात साथीलाई मेरैमा सुत्न बोलाएँ ।

अनि, १० बजेतिर भागेर वनमा गयौँ, दुवैजनाले खुकुरी लिएर । दुवैले पालैपालो रुख काट्न थाल्यौँ । रुख ठूलो थियो, ढल्ने बेला ठूलै आवाज आयो । नजिकैका गाउँका मान्छे ब्युँझे, कतिले चिच्याए पनि । हामी केहीबेर चुपचाप बस्यौँ र बिस्तारै सारंगीलाई आवश्यक हुने जति काठ बोकेर फक्र्यौं । र्फकंदा उज्यालो हुनै लागेको थियो ।

गन्धर्वदाइले सारंगी रेट्ने बनाउन घोडाको पुच्छरको रौँ चाहिने बताएका थिए, म्याग्दीबाट मगाएँ । यसरी नै सारंगी बनाएँ र बजाउन पनि सिकेँ । त्यो सारंगी घरमा अझै पनि छ ।

मादल पाएपछि स्कुल जान थालेँ

७ फागनु ०३२ मा बाग्लुङ भकुन्डे-२ मा जन्मेको हुँ, साधारण परिवारमा । मेरो हजुरबुवा, बुवाले आरनमा काम गर्नुहुन्थ्यो । खेतीपाती र बुवाको कमाइले खान पुग्थ्यो ।

मेरा पाँच दिदीबहिनी छन्, तीन भाइ छोराहरूमा म माहिलो हुँ ।

मलाई त सम्झना छैन, आमा-दिदीहरू अहिले भन्नुहुन्छ- सानोमा म स्कुलै जान मान्दिनँथेँ रे, रोइकराई गरेर । एक दिन बुवाले मादल ल्याएर भन्नुभएछ, ‘स्कुल जाने भए यो मादल दिन्छु ।’ मादल पाएपछि मात्रै म स्कुल जान मानेँ ।

बुवाले केही खेलाउने चिज दिएर मलाई स्कुल पठाउन खोज्नुभएको थियो । मैले मादल नै चाहिन्छ भनेको होइन, अवचेतन मनको कुन शक्तिले मादल खोज्यो, मलाई थाहा छैन । तर, यो एउटा सुन्दर संयोग बन्यो कि क्रमशः मेरो रुचि गाउने-बजाउनेमै गयो ।

गाउँमा गाउने-बजाउने कार्य भइरहन्थे, संस्कृतिकै रुपमा । बिहे, पूजा, विभिन्न उत्सवमा नाचगान हुन्थ्यो । पञ्चेबाजा बजाइन्थ्यो । म सहभागी भइरहेकै हुन्थेँ । गाउँमा पञ्चेबाजा बजाएको ठाउँमा पुगेर बजाउन पनि सिकेँ । गाउँमा म पञ्जेबाजा, सारंगी, बाँसुरी बजाउन जान्नेमा गनिन्थेँ । स्कुलमा हुने गाउने, बजाउने प्रतियोगितामा पनि भाग लिन्थेँ, पहिलो-दोस्रो हुन्थेँ ।

नाम लेख्ने बेला शिक्षकले मेरो नाम जुराइदिएछन्, बलबहादुर, सबै बहादुर भएकाले होला । यसरी नै मेरो नाम बलबहादुर विश्वकर्मा रह्यो ।

त्यो बलबहादुर विश्वकर्मा

भैरव माविबाट एसएलसी गरेँ, ०४९ सालमा । भैरव माविबाट एसएलसी दिने मेरो ब्याच पहिलो हो । ५० जनाजतिले एसएलसी दिएका थियौँ, मसहित तीनजना पास भयौँ । म सेकेन्ड डिभिजनमा पास भएँ । स्कुलमा प्रायः दोस्रो हुन्थेँ । म्याथमा ट्यालेन्ट थिएँ ।

स्कुल भर्ना गर्दाको प्रसंग छ, बुवाले पछि मलाई भन्नुभएको । हाजिरी कपीमा नामसूची थियो रे- कुलबहादुर थापा, मनबहादुर थापा, धनबहादुर थापा, दलबहादुुर थापा आदि-आदि । मेरो गाउँमा थुप्रै मगरहरू हुनुहुन्छ ।

त्यसैले सबैको नामको पछाडि बहादुर र थापा भएकाले एक-दुई विद्यार्थीको पूरा नाम-थरपछि बहादुर र थरमा ऐजन-ऐजन लेखिएको थियो । सानैदेखिको मेरो नाम बाबुराम, थर विश्वकर्मा । नाम लेख्ने बेला शिक्षकले मेरो नाम जुराइदिएछन्, बलबहादुर, सबै बहादुर भएकाले होला । यसरी नै मेरो नाम बलबहादुर विश्वकर्मा रह्यो ।

जातीय विभेदको पीडा

समाजमा अझै पनि जातीय विभेद हटेको छैन, उतिबेला त चर्कै थियो । हुन त मलाई मात्रै होइन जातीय विभेद भएको, थुप्रै छन्- यो सामाजिक अन्यायको पीडा सहने । यो भनिरहनु पनि नपर्ने हो, किनभने यहाँ अझै पनि जातीय विभेद छ भनेर जान्ने-बुझ्ने सबैलाई थाहा छ । तर, संघर्षको कथा सम्झँदै गर्दा यो पाटो पनि भन्नुपर्दो रैछ ।

स्कुलमा गाग्रीको पानी

स्कुलमा पानीको धारो थिएन, गाग्री-घैँटोमा खानेपानी राखिएको हुन्थ्यो । त्यसलाई दलितले छुन पाइँदैनथे । अरु साथीहरूले पानी खाइरहँदा आफू छेउमा बस्नुपथ्र्यो । सबैले खाइसकेपछि मैले पाउँथे ।

साथी कसैले जगबाट खन्याइदिन्थे, मैले अलग्गै मुख बाएर खान्थेँ । गाउँमा आफूभन्दा ठूला भनिएका जातिकहाँ धार लगाएको औजार, भाँडाकुँडा छोड्न जाँदा पनि त्यसैगरी पानी वा अन्य कुरा खान्थेँ ।

पाकशिक्षामा पकाउन नपाउँदा नम्बर कम दिन्थे
एउटा पूर्वव्यावसायिक विषय पढ्नुपथ्र्यो, त्यसमा पाकशिक्षा भनेर प्राक्टिकल गर्नुपथ्र्यो- कहिले खीर, खिचडी पकाएर । यसका लागि घरबाट दूध पनि ल्याउनुपथ्र्यो । दलित विद्यार्थीले ल्याएको दूध छोइने ।

हामीलाई चामल, दाललगायत नछोइने सामान ल्याउन भनिन्थ्यो । मेरो कक्षामा भने म मात्रै दलित थिएँ । मेरो घरनजिकै स्कुल थियो । शिक्षकहरू हाम्रो घरमा गएर आफैँले भैँसी दुहेर ल्याउँथे । साथीहरूले पकाएको मैले पर बसेर हेर्थें । अनि, पाकिसकेपछि शिक्षकले चाखेर त्यहीअनुसार प्राक्टिकलका लागि नम्बर दिने गर्थे ।

जहाँ-जहाँ आफ्नो जात भनेँ, साँच्चिकै त्यहाँ कतिले कोठा खाली छैन भने, कतिले बढी नै महँगो भने ।

अब छोइने भएकाले मैले पकाउन पाउँदिनथेँ, शिक्षकले पास मात्रै नम्बर दिन्थे । पकाउन पाउने भए त बढी नम्बर आउँदो हो, अरु साथीहरूको जत्तिकै । तर, पाइँदैनथ्यो । यो पनि ठूलै पीडा हो नि । त्यति बेला बुझिँदैनथ्यो । यस्तै गर्ने हो, यही ठीक हो भन्ने लाग्थ्यो । केही नगरी पास भएँ जस्तो लाग्थ्यो ।

होटलभित्र पस्दा कुटाइ खाएँ

भर्खर एसएलसी पास भएको थिएँ । बाग्लुङबजारबाट म र तीनजना मगर साथीहरू भएर घर र्फकंदै थियौँ । बीच बाटोमा होटल थियो, चियानास्ता खाने कुरा भयो । होटलमा मलाई चिन्थे । होटलको बाहिर पिँढीजस्तो थियो, त्यहाँ दलितहरू बस्थे । भित्र मेच-टेबल राखिएको थियो, त्यहाँ ठूला मानिने जात मात्रै बस्न पाउँथे, दलितहरू पाउँदैनथे ।

म अरु साथीहरूसँगै भित्र गएँ । मभित्र पस्दाबित्तिकै माहोल बिगि्रहाल्यो । होटलका दाइ कराए ‘तिमी सानो जात हौ, भित्र पस्न पाउँदैनौँ । ठूलो बन्न नखोज्’ आदि-इत्यादि भनेर । म पनि पछि हटिनँ, जातीय विभेद गर्नु अन्याय हो भनेर आफूले जाने-सुनेजति भनेँ ।

वरपरका मान्छे पनि आएर मलाई कुट्न थाले । मसँगै गएका साथीहरू भने चुपचाप बसे ।

खुकुरी बनाउँथेँ

सानोमा म अलि बेग्लै स्वभावको थिएँ । पढाइमा भन्दा बढी रुचि अन्य कुरामा हुन्थ्यो । गाउँ-समाजमा अरुले गरेको देखेर मैले काठको काम पनि सिकेको थिएँ । आठ-नौ पढ्दादेखि नै आफैँले बनाएको खाटमा सुतेँ । तीन-चार कक्षामा पढ्दा नै मैले डोको-नाम्लो बुन्थेँ । भुरुङ, गुलेली, काठका खेलौना बनाएर साथीभाइलाई बेच्थेँ पनि ।

बुवाले आरनमा काम गर्नुहुन्थ्यो । विशेषगरी खुकुरी बनाउन मेरो बुवा, हजुरबुवा गाउँमा कहलिनुभएको थियो । मलाई आरनको काम पनि आउँथ्यो, औजारमा धार लगाउनेदेखि हँसिया-खुकुरी बनाउँथेँ ।

एसएलसी पास हुँदा बुवाको आँट

गाउँको स्कुलले पहिलोपटक एसएलसी दिएको, ५० जनामा तीनजना पास भएका, त्यसमा म परेको । गाउँ-समाजमै खुसियाली थियो । मेरो बुवा खुसी नहुने कुरै भएन । बुवा खुसी भएर जहाँ पढ्छस्, त्यहीँ पढाउँछु भन्नुभयो । कहाँ, के पढ्न पाइन्छ, कति खर्च लाग्छ भन्ने मलाई थाहा थिएन, बुवालाई पनि थाहा थिएन ।

मेरो जेठोदाइ सुकुराम विश्वकर्मा भारतीय आर्मीमा भर्ती भएको दुई-तीन वर्ष भएको थियो । घरको उब्जनी, बुवाको खान पुग्थ्यो । त्यसैले पनि बुवाले मलाई पढाउन आँट्नुभयो होला । मैले पोखरामा पढ्ने बताएँ ।

पोखरामा जात ढाँट्दिनँ…

पोखरा आएँ, ०४९ सालको उत्तरार्द्धतिर । पीएन क्याम्पसमा आईएडमा भर्ना भएँ, म्याथ र हेल्थ फिजिकल लिएर । संगीतमा रुचि राख्ने भएकाले विन्दवासिनी संगीत प्रशिक्षण केन्द्रमा पनि भर्ना भएँ ।

बाग्लुङबाट पोखरा त्यसअघि आएको थिइनँ । इन्डिया जाने साथीहरू सँगै आएँ । बसपार्क झरेर नजिकैको छाप्रो होटलमा गएँ, जहाँ खाएको पैसा लाग्थ्यो, बसेको लाग्दैनथ्यो । त्यहीँ बसेर पहिले कलेज भर्ना भएँ ।

त्यसपछि डेरा खोज्न थालेँ । बुवाले तीन हजार रुपैयाँ दिनुभएको थियो । गाउँमा साथीभाइले भनेका थिए, ‘पोखरामा पनि जातीय विभेद छ, कोठा खोज्दा जात ढाँट्नुपर्छ ।’ मलाई जात ढाँट्न मन थिएन । जात ढाँट्दा पछि थाहा पाए भने ठूलो समस्यामा पर्छु भन्ने लागेको थियो । जहाँ-जहाँ आफ्नो जात भनेँ, साँच्चिकै त्यहाँ कतिले कोठा खाली छैन भने, कतिले बढी नै महँगो भने ।

एक्कासि बुवाको देहान्त भएकाले घरको ऋणधन, लेनदेन लथालिंग भयो । बुवा खसिसकेपछि ‘यति लिनु छ, उति लिनु छ’ भनेर धेरै आए, दिनु छ भनेर कोही आएनन् ।

उदार गुरुङसेनी आमा

भीमकाली पाटन बगरमा कोठा खोज्दै थिएँ । एउटा गुरुङको घर रहेछ । त्यो घरकी आमाले मलाई देख्नेबित्तिकै भन्नुभयो, ‘कोठा खोज्न आएको त होला, कस्तो मगर-गुरुङजस्तो बाबु रैछ ।’

आफू मगर-गुरुङजस्तो छु भन्ने लाग्दैनथ्यो, फेरि पनि आमा आफैँले भनिसकेपछि मैले जातै ढाँट्नुपर्ने भए पनि सजिलो हुने ठानेँ । तर, जातको कुरै भएन, उनकै घरमा कोठा लिएँ, भाडा तीन सय थियो । त्यो घरमा आमा एक्लै बस्नुहुँदो रैछ । उहाँकी छोरी अमेरिका जानुभएको रैछ ।

कोठामा बसेको हप्ता दिनपछि आमाले खाना खाने गरी छोरीलाई चिठी लेखिदिन बोलाउनुभयो । उहाँले मलाई गुरुङ-मगर ठानेको, अब खाना खानेगरी गएपछि त कुरा हुन्छ नै । घर कहाँ, नाता कता, विभिन्न कुरा आउलान् । मलाई टेन्सन भयो, के भन्ने भनेर । किनकि जात ढाँट्न मन थिएन ।

अन्तिममा जात नढाँट्ने निर्णयमा पुगेँ । जातकै कारण निस्कनै परेछ भने पनि निस्कौँला, निस्केर जान पनि सजिलो थियो । सिरक र डसनाबाहेक कोठामा केही किनेको थिइनँ, खाना होटलमा खान्थेँ । दुई-चार दिन अर्को कोठा नपाए, बसपार्कको छाप्रो होटल छँदै थियो । मैले भनेँ, ‘आमा, तपाईंले मलाई गुरुङ-मगर ठान्नुभएको छ, म त विश्वकर्मा हुँ ।’

आमाले भन्नुभयो, ‘आजकाल पनि के जात कुरा गर्नु बाबु ! म खुसी भएँ । त्यो घरमा त्यस्तै चार-पाँच महिनाजति बसेको थिएँ होला, यता क्याम्पसमा छात्रावासमा नाम निस्क्यो ।

आमा र म पोखराबाट रित्तो हात घर फक्र्यौं

सबै राम्रै चलिरहेको थियो, उत्साह-उमंग थियो, तर एक्कासि मेरो जीवनमा ठूलो वज्रपात परेजस्तै भयो । ०५० साल मंसिरमा मलाई खबर आयो- बुवा अचानक बेहोस भएपछि पोखराको गण्डकी हस्पिटलमा ल्याइएको छ । हस्पिटल भर्ना भएको तीन दिनमै बुवा खस्नुभयो । बुवालाई लिएर आउने छिमेकीहरू सबै गाउँ फर्किसक्नुभएको थियो ।

फेरि भर्ना भइसकेपछि डाक्टरले ठीक हुन्छ भनेका थिए । बुवा खस्दा हस्पिटलमा म र आमा मात्रै भयौँ । आमा-छोराले बुवाको शवलाई पोखराको रामघाटमा लगेर सतिगति गर्यौँ र रित्तो हात घर फक्र्यौं ।

बुवाले ठूलो आशा गरेर, दुःख गरेर, ऋण गरेर, मलाई पोखरा पढ्न पठाउनुभएको थियो । उहाँकै आड भरोसामा म पोखरा पढ्न आएको थिएँ । बुवा नै खसेपछि म धेरै विचलित भएँ ।

क्याम्पस छाडेर आरनमा

मभन्दा मुनि एक-दुई कक्षामा पढ्ने तीन बहिनी र एउटा भाइ थियो । दाइ भारतीय आर्मी भएकाले थोरै भए पनि राहत त थियो, तर घर-व्यवहारको जिम्मा मेरै टाउकोमा थियो । एक्कासि बुवाको देहान्त भएकाले घरको ऋणधन, लेनदेन लथालिंग भयो । बुवा खसिसकेपछि ‘यति लिनु छ, उति लिनु छ’ भनेर धेरै आए, दिनु छ भनेर कोही आएनन् । तिर्नुपर्ने धेरैजनाको लिस्ट बनाइयो । हामीले जसरी पनि तिर्छौं भनौँ ।

बुवाको ऋण तिर्न मैले निकै मेहनत गर्नुपर्थ्यो  । त्यसपछि मैले बुवाका अधुरा काम पूरा गर्नतिर लागेँ । बुवाले बनाउन सुरु गरेका तर पूरा नगरेका खुकुरी, खुकुरीका दाप, भाँडाकुँडा बनाएँ । खुकुरीका बिँड बनाउँथे, भैँसीको सिङको, निकै कलात्मक, धेरैले मन पराउँथे ।

यता, मेरो पढाइ रोकियो । गाउँका जान्ने-सुन्नेले भन्न थाल्नुभो, ‘तिम्रो पढाइ राम्रो छ, जाउ परीक्षा मात्रै भए पनि देऊ ।’
कतिपयले पढेर यस्तै बन्छु भन्ने भर छैन, यति राम्रा खुकुरी बनाउने, मेहनती-परिश्रमी मान्छे, यहीँ गरेर खान सक्छौ, कतै नजाऊ भन्थे ।

मलाई पनि गाउँमै गरिखान्छु, बुवाको ऋण तिर्छु, भाइ-बहिनीलाई पढाउँछु भन्ने लागेको थियो । तर, मलाई स्कुल पढाउनुभएका गुरुहरू आएर सम्झाउन थाल्नुभयो, ‘तिमी जेहेन्दार विद्यार्थी हौ, पढाइ नछाड, परीक्षा दिन जाऊ, पास हुन पनि सक्छौ, नभए पनि फेरि दिन पाउँछौ ।’

एक महिना पढेर पास

कक्षा नलिई म्याथमा पास हुँलाजस्तो त लागेको थिएन । फेरि पनि परीक्षाको र्फम भर्न पोखरा आएँ । परीक्षा आउन एक महिना बाँकी थियो । १५ दिनजति म्याथको ट्युसन लिएँ । अरु विषयको साथीहरूसँग नोट मागेर हेरेँ, यसरी नै परीक्षा दिएँ । हेल्थ फिजिकलमा प्राक्टिकल पनि हुन्थ्यो, त्यसमा यति दिन हाजिरी हुनैपर्ने नियम थियो, मेरो हाजिरी नपुगेर समस्या भएको थियो, त्यहाँको स्ववियुले मिलाइदियो ।

रिजल्ट आयो । अचम्म, मैले जुन साथीहरूको नोट हेरेको थिएँ, ती साथी फेल भए, म पास भएँ । म्याथ त अलिअलि पढेपछि बुझिहाल्थेँ, राम्रै गरेको थिएँ । अरु विषयमा ठीकै नम्बर ल्याएर पास गरेँ ।

होटल-रेस्टुरेन्टमा सारंगी बजाएर पढेँ

पास भएपछि घरबाट आमाले, दाइले पनि मलाई पढ्न भन्नुभयो । दोस्रो वर्षमा भर्ना भएर पढेँ, काम पनि गरेँ । गाउँमै छँदा काम चलाउ बाँसुरी र सारंगी बजाउन जानेको थिएँ । सारंगी-बाँसुरी बजाउने, गाउने गर्न थालेँ- फेवा पार्क, दिव्या गजल रेस्टुरेन्ट, फूलबारी रिसोर्टमा ।

यो ०५१ सालको कुरा हो । यहीबीचमा मेरो पहिलो लोकगीत रेकर्ड भयो, आफ्नै स्वर-संकलनमा । गीतको बोल थियो- दुःखी मुहार आँसुले धुँदै, छोडे गाउँघर उज्यालो नहुँदै ।

मैले किबोर्ड, तबेला पनि बजाउँथे । दोस्रो वर्ष पढ्दै गर्दा भोलाप्रसाद राईसँग शास्त्रीय संगीत पनि सिक्दै थिएँ, उहाँसँग ६-७ वर्ष नै सिकेँ । लाक्पा लामासँग सिकेँ ।

सांस्कृतिक समूहमा सक्रिय

आईएड सेकेन्ड डिभिजन पास गरेँ । त्यसपछि म फेरि गाउँ फर्कें ।

एक-डेढ वर्षजति बाग्लुङ बजारमा म्याथ पढाएँ- हिमालयन बोर्डिङ स्कुलमा सात-आठ महिना र आदर्श विद्या मन्दिर एक वर्षजस्तो । मेरो गाउँदेखि बाग्लुङ बजार दुई घन्टाको पैदल दूरीमा छ ।

आदर्श विद्या मन्दिरको होस्टेल थियो, त्यही बसेँ । होस्टेलका विद्यार्थीलाई हेर्नु पनि पथ्र्यो ।

यहाँ बस्दा धौलागिरि सांस्कृतिक संगम भन्ने संस्था खोल्यौँ- बाग्लुङ बजार, म्याग्दीका कलाकार भएर । यसमा शुभराम भारी, वसन्त केसी लगायत कलाकार हुनुहुन्थ्यो, म पनिसदस्य थिएँ । धौलागिरिभरिकै लोक संगीतको कलेक्सन गर्ने उद्देश्य थियो । यसले विभिन्न सांस्कृतिक कार्यक्रम गथ्र्यो । मैले गाउने-बजाउने गर्थें ।

बीएड पढ्दा

त्यसपछि बीएड पढ्न पोखरा आएँ, ०५३ सालमा । म्याथ र नेपाली लिएर पढेँ । बीएड पनि दोस्रो वर्षमा पास गरेँ, ०५५ सालमा, त्यतिबेला बीएड दुई वर्षको हुन्थ्यो ।

योबीचमा होटल रेस्टुरेन्टमा गाउने-बजाउने पनि गरिरहेँ । साना विद्यार्थीलाई संगीत सिकाउने, ट्युसन पढाउने पनि गरेँ- कुनै एकजना विद्यार्थीको घरमा विद्यार्थी जम्मा गरेर । संगीतमा भोकल, बाँसुरी, किबोर्ड, तबेला पनि सिकाउँथेँ । बोर्डिङ स्कुलहरूमा पार्टटाइम संगीत, म्याथ पढाएँ ।

एसएलसी दिँदाबित्तिकै म्याथको ट्युसन पढाएको हुँ, मभन्दा पछि एसएलसी दिनेहरूलाई । म्याथमा ट्यालेन्ट भनेर स्कुलमा कहलिएको थिएँ, मैले पढाउने भनेपछि थुप्रै विद्यार्थी आएका थिए ।

राति छात्रवास फर्कने चोर बाटो

उदार गुरुङसेनी आमाको घरमा बस्दै गर्दा क्याम्पसको छात्रावासमा नाम निस्केको थियो । दुर्गमबाट आउने, जेहेन्दार विद्यार्थीले छात्रवासका लागि फर्म भर्न पाउँथ्यो । मैले पनि छात्रवास बस्न पाएँ । बसेको पैसा लाग्दैनथ्यो, खाना आफैँ व्यवस्था गर्नुपथ्र्यो ।

साँझ ७ बजेअघि नै पुगिसक्नुपर्ने नियम थियो, नत्र गेट बन्द हुन्थ्यो । मैले होटल-रेस्टुरेन्टमा काम गरेर फर्कँदा रातको १०-११ बज्थ्यो । छात्रवासको गेट बन्द भइसकेको हुन्थ्यो । बाहिर कोठा लिएर बस्न रेस्टुरेन्टको कमाइले पुग्दैनथ्यो, अलिअलि घरमा पनि हेर्नुपर्ने । सकेसम्म मलाई छात्रवासमै बस्नुपर्ने थियो ।

राति छात्रवास पछाडिको पर्खाल नाघेर छिर्थें । त्यहाँबाट कोही हिँड्दैनथ्यो, रातमा म हिँड्दा-हिँड्दा त्यहाँ सानो गोरेटोजस्तै बनेको थियो । एक-दुईपटक छात्रवास वार्डेनले ‘यहाँबाट को हिँड्छ’ भनेर सोधेका पनि थिए, म केही बोलिन, साथीहरू पनि बोलेनन् । म हिँड्दाहिँड्दा गोरेटोजस्तो बनेपछि साथीहरू पनि हिँड्न थालेका थिए ।

थाइल्यान्ड यात्राले पढाइ छुट्यो

एमए भर्ना भएर पढ्दै थिएँ । पहिलो वर्षको परीक्षा आउँदै थियो, ०५६ सालतिरको कुरा हो । म फूलबारी रिसोर्टमा गाउने-बजाउने गर्थें । फूलबारीबाट एक हप्ताका लागि बैंकक जाने कुरा आयो ।

त्यतिबेला फूलबारीले बैंककमा सायद सम्पर्क कार्यालय खोलेको थियो । त्यसको ओपेनिङ सेरेमोनीजस्तो थियो । त्यसमा मेरो एकल प्रस्तुति गर्नुपर्ने, सारंगी र बाँसुरीको धुन सुनाएर । पोखराबाट कलाकारमा म मात्रै छानिएको थिएँ, काठमाडौंबाट दुई बहिनीहरू पनि नृत्यका लागि गएका थिए ।

पहिलोपटक विदेश जाने अवसर आएको, त्यो पनि सारंगी र बाँसुरीको धुन सुनाउन । यता परीक्षा पनि छ । मैले बैंकक नै रोजेँ । त्यसपछि मेरो पढाई छुट्यो ।

बैंककको सेरेमोनीमा भीआईपीहरू आएका थिए । त्यहीँका स्थानीय कलाकारको पनि प्रस्तुति थियो । मैले आधा घन्टाजस्तो सारंगी र बाँसुरीको धुन सुनाएँ ।

जात थाहा पाएपछि धारामा पानी आउन छाड्यो

क्याम्पस पढ्दासम्म म छात्रवासमै पढेँ । ०५५ सालतिर डेरामा बस्न थालेँ । गीतकार राजकुमार बगरले पीएन क्याम्पस पढ्नुहुन्थ्यो । उहाँसँग चिनजान थियो । छात्रवासबाट निस्केपछि सुरुमा उहाँसँगै बसेँ ।

उहाँसँग त्यस्तै डेढ वर्षजति बसेँ । त्यसपछि मैले गाउँबाट भाइबहिनी पनि ल्याउने भएँ, दुइटा कोठा चाहिन्थ्यो । बगालेटोलमा एकजना गुरुङदाइको घरमा कोठा लिएँ । कोठामा पानीको राम्रो व्यवस्था छ भनिएको थियो । त्यहाँ बस्न थालेको तीन दिनसम्म त पानी राम्रैसँग आयो ।

त्यसपछि धारोमा पानी आउन छाड्यो । आएन भनेर घरबेटी दिदीलाई भनेँ । घरबेटीदिदीले ‘खै बाबु, हाम्रो घरमा त यस्तै पानीको समस्या छ’ भन्नुभयो । मैले भनेँ, ‘कोठा दिने बेला त पानी आइरहन्छ भन्नुहुन्थ्यो । हिजोसम्म पनि आइरहन्थ्यो । आज किन समस्या भयो त ?’

घरबेटीदिदीले ‘खोइ, घरमा पानी नै आउन छाडेको छ । समस्यै छ भाइ’ भनिरहिन् । हप्ता दिन बित्यो, धारामा पानी आएन । हामीले परपरको कुवाबाट पानी ल्याएर निर्वाह गर्यौँ ।

मैले घरबेटीदिदीलाई सोधिरहेँ, ‘दिदी अचानक पानी आउन छाड्यो, तपाईंहरू के खाँदै हुनुहुन्छ ?’ दिदीले त ‘खोइ किन आएन, हामीलाई पनि गाह्रो भएको छ’ भन्दै थिइन् । तर, उनका बूढा सीधा बोल्ने स्वभावका रहेछन् । उनले भने, ‘तिमीहरूले यो घर छाडेर जानुपर्ने भयो । तिमीहरू यहाँबाट जान्छौ कि भनेर धारामा पानी नदिएको । अब छिटै अन्त कोठा खोजेर निस्क ।’

मैले भनेँ, ‘कोठामा आएको दुई हप्ता पनि भएको छैन । किन हामी निस्किहाल्नुपर्यो त ? आजै निस्कन भनेर त हामी आएका होइनौँ ।’ उनले ‘मेरो घर हो, राख्ने-नराख्ने मेरो कुरा हो’ भन्ने खालको कुरा गरिरहे । मैले जोडै गरेर सोधेँ । अन्तिममा उनले भने, ‘खासमा बाबु, तिमीहरू हामीसँग मिल्ने खालको जात होइन रैछौ । त्यही भएर जाऊ भनेको ।’

मैले भनेँ, ‘यो २१औँ शताब्दीमा जातका कारण हामीमाथि यस्तो व्यवहार गर्दै हुनुहुन्छ ? यो त सहर-बजार हो, तपाईंजस्तो उमेर भएको, देश-विदेश देखेको मान्छेले यस्तो कुरा गर्न त सुहाउँदैन । अहिले कानुनले पनि जातीय विभेद गर्न दिँदैन ।’ अझ मैले ‘के हो दाइ, तपाईंलाई जेलै जाने विचार छ कि ?’ सम्म भनेँ ।

‘परिवेश’ एल्बममा मैले पनि एउटा गीत कम्पोज गरेँ । मेरो कम्पोजको ‘मेरो माया नकुल्च त्यसरी’ बोलको लोकपप गीत चर्चित भयो । यसमा मैले आफ्नो नाम बीबी अनुरागी राखेँ ।

कोठा छाडेर नजाने बताएँ । उनले ‘बढ्ता कुरा नगर, मेरो घर हो, मेरो घरमा जसलाई राखे पनि मेरो खुसी’ भने । दुई-चार दिन त बसेको थिएँ । घरबेटी आएर ‘आजै छाड् मेरो घर’ भन्न थाले ।

पछि पानीको समस्या, जिउज्यानकै खतरा पनि हुने देखेर कोठा छाडेँ । छाड्ने दिन मैले भनेँ, ‘कोठा त छाड्छु तर त्यसअघि प्रहरीमा उजुरी दिन्छु ।’

लामो लफडा, झगडा हुने देखेर उजुरी दिइनँ ।

उदार नेवार्नी आमा

त्यसपछि न्युरोडमा सरेँ, भक्तिलाल बाटाजू भन्नेको घरमा । एउटा मात्र कोठा थियो । तबला बजाउने दाइ हुनुहुन्थ्यो, श्यामलाल श्रेष्ठ, उहाँले नै कोठा खोजिदिनुभएको थियो । यहाँ पनि धेरै बस्न पाइनँ ।

एक महिना नहुँदै घरकै लागि कोठा पुगेन भन्न थाले । हरेक दिन आफ्ना एउटा-एउटा सामान ल्याएर म बस्ने कोठामा राख्न थाले । उनीहरूको सामान भरिँदै गएपछि कोठा छाडेँ । यो घरमा घरबेटीले जातकै कुरा त गरेनन्, तर जातकै कारण हो कि जस्तो लाग्छ ।

मैले श्यामलाल दाइलाई जातको पनि कुरा गर्न भनेको थिएँ, उहाँले के भन्नुभएछ खै । फेरि मैले हतारमा कोठा सर्नुपर्ने थियो । जेहोस् मैले कोठा नछोडी सुख पाइनँ ।

यसपछि भने मैले निकै राम्रो घरबेटी पाएँ, महेन्द्रपुलभन्दा अलि माथि पालिखे चोकनेर । भर्खरै बनेको नयाँ घरमा सातवटा कोठाको एउटा फ्ल्याट नै लिनुपर्ने भयो । नेवारको घर, घरबेटीआमा निकै असल, मैले जात भनेँ, उहाँले जातको कुनै मतलब नभएको बताउनुभयो ।

आफ्नो कमाई हिसाब गरेँ, चारवटा कोठासम्म लिन सक्ने थिएँ । तीनवटा कोठा अर्कैलाई दिन घरबेटी आमा मान्नुभयो । चारवटा कोठा लिएर बस्न थालेँ । एउटा कोठामा विद्यार्थी बटुलेर संगीत सिकाउँथे । मसँग हार्मोनियम, किबोर्ड, गितार लगायत बाजा थियो ।

त्यो घरमा बसेर मैले धेरै नै प्रगति गरेँ । ती आमा त बित्नुभएछ । छोराको नाम शरण शाक्य हो क्यारे । मैले भाइ भन्थेँ । उनीसँग पछि भेट भएको थियो । भन्थे, ‘हामी तपाईंहरूलाई सम्झन्छौँ, हाम्रो घरमा बस्न तपाईंहरू जस्तो असल मान्छे अहिलेसम्म आएको छैन ।’

बीबी अनुरागीको जन्म

पहिलो रेकर्ड भएको गीतमा मेरो नाम बलबहादुर विश्वकर्मा नै छ । उपनाम राख्ने लहर आउँदो रैछ, खासगरी कलेज पढ्दा । कताकता सुनेको हुँ, अनुरागी शब्द, त्यसै मन पर्यो, अर्थ पनि थाहा थिएन । पहिलेदेखि नै साथीहरूले मलाई बलबहादुर नभनेर बीबी भन्थे । बीबी भन्दा सजिलो पनि हुन्थ्यो ।

तिलकदाइ (तिलकबम मल्ल)ले एल्बम गर्न लाग्नुभएको थियो, परिवेश । यो ०५३ सालको कुरा हो । त्यतिबेला तिलकदाइले चर्चा कमाइसक्नुभएको थियो । उहाँसँग कामकै सिलसिलामा चिनजान थियो ।

‘परिवेश’ एल्बममा मैले पनि एउटा गीत कम्पोज गरेँ । मेरो कम्पोजको ‘मेरो माया नकुल्च त्यसरी’ बोलको लोकपप गीत चर्चित भयो । यसमा मैले आफ्नो नाम बीबी अनुरागी राखेँ । पछि हामीले परिवेश ब्यान्ड नै बनायौँ ।

त्यसपछि ०५५ सालताका राजकुमार बगर र म रुममेट हुँदा एउटा गीत तयार भयो- उडेर जून छुन्छु भन्थेँ बोलको गीत, राजकुमारजीको शब्द, मेरो संगीतमा । यो गीतलाई गायक रामभक्त जोजिजूले रेडियो नेपालको राष्ट्रव्यापी प्रतियोगितामा गाउनुभयो । गायन र शब्दमा प्रथम भयो । यसपछि म देशव्यापी रुपमै बीबी अनुरागी भएर चिनिएँ भनौँ । यो गीत आएपछि मलाई संगीतकारको रुपमा खोजिन थालियो ।

यसपछि मैले पोखरामै बसेर ०५६ सालतिर ‘तस्बिर’ एल्बम निकालेँ, एकल संगीतमा । यसमा कुन्ती मोक्तान, रामकृष्ण ढकाल, यम बराल, राजेशपायल राईले गाउनुभएको छ । त्यसपछि ०५८ मा ‘आभार’ एल्बम निकालेँ, मेरो एकल संगीत र सागर उदासको एकल शब्दमा । यी एल्बमले ठीकै कमाइ गरे ।

नारायण रायमाझीलाई भेटेपछि

तस्बिर र आभारका गीत काठमाडौंमा रेकर्ड भएको हो । पोखरामा मैले एरेन्ज पनि सिकेको थिएँ- बुद्ध वज्राचार्य, तेज गुरुङलगायतसँग । सेल्फ स्टडी पनि गर्थें । पोखरामा गीत कम्पोज गरेर, एरेन्ज गरेर काठमाडौं रेकर्ड गराउन आउँथेँ ।

यही क्रममा रिमा रेकर्डिङ स्टुडियो बबरमहलमा नारायण रायमाझी दाइसँग भेट भयो, ०५९ सालतिर । उहाँले मेरो एरेन्ज, संगीत मन पराउनुभयो । उहाँले मलाई आफ्नो स्टुडियोमा एरेन्ज गर्न काठमाडौं बोलाउनुभयो ।

काठमाडौं यात्रा

०६० सालमा काठमाडौ आएँ । नारायणदाइले नै कोठा खोजिदिनुभएको थियो । म र भाइ आएका थियौँ, बहिनीहरू पोखरामै पढ्थे । उहाँले एरेन्ज तलबमा गर्छौ कि गीतअनुसार गर्छौ भनेर सोध्नुभयो । मैले तलबमा गर्छु भनेँ, तलबमा गर्दा ढुक्क पैसा आउने ठानेर ।

नारायणदाइले मलाई राम्रो तलब दिनुभयो । ०६२ सालमा उहाँले स्टुडियो आफ्नै घरमा राख्ने हुनुभयो । त्यसपछि बबरमहलको स्टुडियो हामीलाई दिनुभयो, सकेको बेला पैसा देऊ भनेर । मैले नाम राखेँ- पि्रज्मा रेकर्डिङ स्टुडियो । पि्रज्माले अहिलेसम्म दश हजारभन्दा बढी गीत रेकर्ड गरिसकेको छ ।

डेरादेखि घरसम्म, साइकलदेखि कारसम्म

मैले ०६३ सालमा विवाह गरेँ, सुनीता सुनारसँग । दुई सन्तान छन्- छोरी शिक्षा सात वर्षकी भइन्, छोरा सर्जक दुई वर्षको भयो । ०६९ सालमा सानो घर लिएको छु, सतुंगलमा, त्यही घरमा बस्छौँ ।

पोखरा हुँदा सुरुमा सेकेन्डहेन्ड साइकल किनेको थिएँ । पछि त्यो बेचेर नयाँ किनेँ । त्यो साइकल बेचेर फेरि सेकेन्डहेन्डको मोटरसाइकल किनेँ । पोखरा हुँदै तर काठमाडौं आउने बेला पुरानो मोटरसाइकल बेचेर नयाँ किनेँ । अहिले सेकेन्डहेन्डमा गाडी किनेको छु, टाटा इन्डिका ।

सात सय गीतमा संगीत

अहिलेसम्म मैले बाटुली, गोर्खापल्टन, जीवनलीला, दृष्टिकोण, नागबेली, परदेशी, मेरो कथा लगायत १५-१७ वटा चलचित्रमा संगीत गरेको छु । एकल संगीतमा १७-१८ वटा एल्बम छन् । लोकगीतको लयदेखि लोकपप, आधुनिक गीत, चलचित्रका गीतको संगीत गन्ने हो भने झन्डै सात सय पुग्ला ।

त्यस्तै, झन्डै पाँच हजारभन्दा बढी गीतमा एरेन्ज (संगीत संयोजन) गरेको छु । उडेर जुन छुन्छु भन्थेँ, जहाँ तिमी त्यहाँ म हुन नपाउँदा, तिम्रै झल्को आउँछ मेरी निरमाया, माया गर्नुको अर्थ सिउँदो भर्नु होइन, फूलजस्तै पवित्र, बाटुली फिल्मको दुई चुल्ठी बाटेर, गोर्खापल्टनको जाउँला सरर रेलैमा, अहिले परदेशीको विछोडको करौँतीले लगायत गीत चर्चित छन् ।

प्रस्तुति:  ध्रुवसत्य परियार

– See more at: http://www.onlinekhabar.com/2016/02/389645/#sthash.PbnVs0bG.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: