जागरण मिडिया सेन्टर

Home » अन्तरवार्ता » एउटा अन्तरजातीय प्रेमकथा: पितालाई ढाले, तर ढलेन हाम्रो प्रेम

एउटा अन्तरजातीय प्रेमकथा: पितालाई ढाले, तर ढलेन हाम्रो प्रेम

२०७२ फागुन ३ गते, जागरण मिडिया सेन्टर

Santa Damai 2

सन्तबहादुर दमाई

नागरिकतामा सन्तबहादुर दमाई छ, तर गाउँमा नयाँ पुस्ताले सन्तोष परियार भनेर चिन्छ । जन्ममिति २७ जेठ ०४६ । ठेगाना दैलेख तोली- २ धनीगाउँ । पिता सेते दमाई, माता अमृता दमाई ।

हामी तीन भाइ हौँ, म कान्छो । एउटी बहिनी छिन् । बुवाले सिलाउने काम गर्नुहुन्थ्यो, बालीघरे प्रथामा । दुई हलको बारी छ, खान पुग्दैन । बुवाले लुगा सिलाएर परिवारले हात मुख जोड्दै आएको थियो ।

गाउँकै राजकुमारी शाही र म माया-प्रेममा पर्यौँ । हाम्रो प्रेम सफल भयो । अहिले हामी सँगै छौँ, एकअर्कासँग खुसी छौँ । तर, डर र त्रासमा छौँ । तल्लो जात भनेर राजकुमारीका आफन्तले मेरो बुवाको हत्या गरे ।

मायामा पर्यौँ यसरी

गाउँको युवा क्लबमा सक्रिय थिएँ । संघर्षशील युवा क्लब, हामीभन्दा अग्रज दाइहरूले गठन गर्नुभएको । अग्रजहरू विभिन्न काम-पेसा, पढाइमा जिल्लाबाहिर गएपछि क्लब हामीले चलाउँथ्यौँ, म सदस्य थिएँ । प्रत्येक वर्ष दशैँमा क्लबले गाउँमा सांस्कृतिक कार्यक्रम गथ्र्यो ।
गाउँकै श्री नीरा मावि भाङगारीमा ७ कक्षामा पढ्दै थिएँ । ०६७ दशैँको कुरा हो । सांस्कृतिक कार्यक्रमको तयारी गर्दै थियौँ, स्कुलको एउटा कोठामा ।

म सानैदेखि मुक्तक-गजल भन्ने, नाच्ने-गाउने गर्थें । माइकमा बोल्न रुचि राख्थेँ । यस्ता कुरामा अगाडि सर्थें । त्यो वर्षको कार्यक्रम प्रस्तोता म नै थिएँ । कार्यक्रम कसरी गर्ने ? मुक्तक-गजल कसरी भन्ने ? कसरी नाच्ने ? गाउने कसरी ? सबैमा म कामचलाउ जान्नेजस्तो थिएँ, गाउँका लागि ।

कुन गीतमा गाउने, कुन गीतमा नाच्ने भनेर सल्लाह हुन्थ्यो । मैले अन्य साथीहरूलाई नाच्न, गाउन सिकाउँथेँ । नाच्नेमा राजकुमारी शाही पनि थिइन् । राजकुमारी र म एउटै गाउँका, एउटै स्कुल, एउटै कक्षामा पढ्ने । हाम्रो पानी पँधेरो, दाउरा-घाँस, चरन पनि एउटै ।

स्कुलमा मेरो पढाइ राम्रै थियो । एक र दुई कक्षामा पास मात्रै भएँ । तीनदेखि ६ सम्म आउँदा दोस्रोदेखि चौथो भइरहन्थेँ । ६ बाट सातमा आउँदा चौथो भएको थिएँ । उनलाई नाच्न सिकाउँदै थिएँ, उनले भन्न थालिन्, ‘तिमीले सिकाएको मलाई मन पर्छ । तिमी नाचेको, गाएको, बोलेको मन पर्छ ।’

यसरी नै हामी नजिक भयौँ । मैले जिस्केर भन्थेँ, ‘मलाई पनि तिमी मन पर्छ । राम्री लाग्छ । म तिमीलाई माया गर्छु ।’ उनी लजाएजस्तो गर्थिन् । एक दिन उनले भनिन्, ‘हुन्छ, तिमी माया गर्छाै भने म पनि गर्छु ।’

माथि कोठामा उनी एक्लै सुत्थिन् । पछाडि ढिस्काबाट माथिल्लो तलामा जान मिल्थ्यो । उनले ढोका खुल्लै राख्थिन्, राति कसैले थाहा नपाउने गरी म उनको कोठामा जान्थेँ

ख्यालख्यालैमा माया बसेजस्तो भयो । उनको माया लाग्न थाल्यो । उनी शाही ठकुरी । गाउँमा जातीय भेदभाव, छुवाछुत बेसरी नै छ । तर पनि क्लबमा हिँड्दा-डुल्दा, पढ्दा, सुन्दा यो जातभात भन्ने केही होइन, पुरानो चलन हो भन्ने बुझेका थियौँ । हामी दुवैको मोबाइल थियो । उनले फोन गरेर राति बोलाउँथिन्, पढाउन । म राति ९ बजेतिर जान्थेँ ।

उनका दुई आमा हुन्, छुट्टएिर बसेका थिए, दुइटा घर थियो । उनी बस्ने घर दुई तलाको थियो । तल उनका बाआमा बस्थे । उनका बुवाले खेती-किसानी गर्नुहुन्छ ।

माथि कोठामा उनी एक्लै सुत्थिन् । पछाडि ढिस्काबाट माथिल्लो तलामा जान मिल्थ्यो । उनले ढोका खुल्लै राख्थिन्, राति कसैले थाहा नपाउने गरी म उनको कोठामा जान्थेँ- गणित, विज्ञान, नेपालीका व्याकरण सिकाउँथेँ ।

अरुले देखे त अप्ठेरै हुन्थ्यो । त्यसमाथि ठकुरीको घरमा दलित त पस्नै पाइँदैनथ्यो । तर, जातभात सोचिएन । उनले बोलाएर गएको थिएँ, मन पर्ने मान्छेले बोलाएपछि अरु केही सोचिनँ । सोच्ने बुद्धि पनि आएन । केहीबेर सिकाएर र्फकन्थेँ । यसरी नै सात आठ महिना बित्यो । हामी दुवै पास भयौँ, आठ कक्षामा पढ्दै थियौँ ।

मेरो बुवा बिरामी भएर उपचारका लागि म दैलेख सदरमुकाम आएको थिएँ, चार दिन बसेँ । त्यही बेला गाउँमा हल्ला चलेछ । कसैले भनेछ, ‘हिजो राति सन्त राजकुमारीको कोठामा गएको थियो ।’  घरमा दाइहरूले भन्नुभयो, ‘गाउँमा यस्तो हल्ला चलेको छ, तँ राजकुमारीलाई भेट्न राति घरमा जान्छस् रे । यस्तो नगर । उनीहरू ठूला जात हुन् । गाह्रो पर्छ ।’ मलाई राजकुमारीले फोन गरेर भनिन्, ‘गाउँमा यस्तो हल्ला चल्यो, के गर्ने ? अब मलाई गाउँमा बस्नै गाह्रो हुन्छ, कसरी मुख देखाउने । भागेर टाढा जाउँ । नभए त म झुन्डिएर मर्छु ।’

भागेर ओढारमा रात काट्यौँ

हामीले कुनै गलत त गरेका थिएनौँ, उनले पेटै बोकेकी पनि थिइनन् । तर, उनले झुन्डिने नै कुरा गरेपछि म आत्तिएँ । के गर्ने ? के नगर्ने ? सोच्नै सकिनँ । मैले उनलाई भनेँ, ‘मर्ने कुरा नगर । चिन्ता नगर, म छु, मर्नै परे सँगै मरौँला । केही नलागे भागेर कतै जाउँला ।’

हल्ला चलेपछि मलाईभन्दा बढी उनलाई गाह्रो थियो, त्यसैले म उनको घरमा गएर झुट बोलेँ । ‘म आएको छैन, यो हल्ला मात्रै हो’ भनेँ ।
मैले उनलाई सम्झाउँदै थिएँ । हल्लाले ठूलै रुप लियो, उनले सहनै नसक्ने गरी । तल्लो जातलाई रातमा घरमा ल्याएकी, दमैसँग हिँडेकी, जस्ता कुरा हुन थाले, उनलाई गाउँमा मुखै देखाउन अप्ठेरो हुन थाल्यो ।

आफ्नै जात भएको भए, जातीय विभेद नभएको भए, एउटा टुंगो लाग्थ्यो होला । अझ आमाबुवाको मन्जुरीमा मैले उनलाई पढाउँथे होला । स्कुलको पढाइ सकेर, आफ्नै खुट्टामा उभिएर बिहे गथ्र्यौं होला । हल्लै भए पनि साथी-साथी वा नाम जोडेर चर्चा हुन्थ्यो होला ।

तर, सानो र ठूलो जात भन्ने भएकैले कुरा ठूलो भयो । यता सदियौँदेखि हेपिँदै-थिचिँदै आएको मेरो परिवार, त्यसै डरायो । बुवा, दाइहरुले मलाई घरमै बस, अब राजकुमारीलाई नभेट भन्न थाल्नुभयो । यता, राजकुमारी चिन्तामा थिइन् । ‘बद्नाम भइसक्यो, के गर्ने ? म त मर्छु’ भन्थिन् ।

२२ वैशाख ०६८ मा हाम्रो फोनमा कुरा भयो । दिउँसो १२ बजेतिर नजिकैको सामुदायिक वनमा भेट्यौँ । कहाँ जाने, के गर्ने कुनै टुंगो थिएन । त्यत्तिकै मायाले भेटेका थियौँ ।

गाउँमा हामी भागेको हल्ला चल्यो । मान्छेहरू हामीलाई खोज्दै आउन थाले । हामी वनको ओढारमा लुक्यौँ । त्यत्तिकै आएका थियौँ, न साथमा पैसा थियो, न त लत्ता-कपडा । रात परेपछि लाइट बलेको देखिन्थ्यो । बेला-बेला बोलेको सुनिन्थ्यो । कहाँ छौ, हामी केही गर्दैनौँ, घरमा आओ, आ-आफ्नो घरमा बस भन्दै केटाहरू चिच्याउँदै हिँडिरहन्थे । हामीलाई खोज्ने मान्छेहरुलाई हामीले देखिरहेका थियौँ । खोज्दै मान्छे आइपुग्छन् कि, जनावर आउँछ कि, डर-त्रास मात्रै थियो । रात ओढारमै कटाइयो ।

दिदीभाइ बनाइयो

परिवारले हामीलाई घरमा ल्यायो । घरमा आइसकेपछि मिल्ने कुरा भयो । राजकुमारीका बुवाआमाले हामीलाई बोलाउनुभयो, हामी गयौँ । गाउँमा भद्र-भलादमी बसेर राजकुमारी र मलाई दिदीभाइ बनाइयो

उज्यालो भएपछि झनै मान्छेको ओहोरदोहोर भइरह्यो- गाउँलेहरु घाँसदाउरा, गोठाला गर्न थाले । निस्कनै पाइएन । दिउँसो तीन बजेसम्म ओढारमै थियौँ, हामीलाई खोज्दै राजकुमारीका फूपूका छोरा तुलबहादुर चन्द आइपुगे, उनी म जत्रै थिए । उनी बाझ्दै मलाई कुट्न आउन खोजेका थिए । मैले पनि ‘लौ आइज’ भने । ऊ आएन । उसले हामी ओढारमा बसेको बताएपछि मेरो परिवार आयो ।

परिवारले हामीलाई घरमा ल्यायो । घरमा आइसकेपछि मिल्ने कुरा भयो । राजकुमारीका बुवाआमाले हामीलाई बोलाउनुभयो, हामी गयौँ । गाउँमा भद्र-भलादमी बसेर राजकुमारी र मलाई दिदीभाइ बनाइयो । गाउँलेले हामीलाई एउटा खसी ल्याउन भने । हामीले घरको एउटा खसी दियौँ ।

गाउँलेले खसी काटेर भोज खाए । मलाई पनि खाउ भनेका थिए । मैले नखाई आएँ । यता उनको परिवारले प्रहरीमा उजुरी गरेको रहेछ- छोरी हराइन्, खोजी गरी पाउँ भनेर । भोलिपल्ट प्रहरीकहाँ गएर मिलिसकेको बताइयो ।

फेरि भागौँ

त्यसपछि पनि रातमा हामीबीच फोनमा कुरा हुन थाल्यो । माया छँदै थियो । चार महिनाजति फोनमा कुरा भयो । हामी एक-अर्काबिना बाँच्नै नसक्नेजस्तै भइसकेका थियौँ । गाउँमा हाम्रोबारे अनेक कुरा हुन्थेँ । त्यसले हामीलाई फेरि भागेर बिहे गर्ने आँट दिन्थ्यो । यति भइसक्यो, अब विवाह गर्दा के गर्दा रहेछन्, हेरौँ भन्ने भयो । अन्ततः भागेर बिहे गर्ने निर्णयमा पुग्यौँ ।

२८ साउन ०६८ राति १२ बजे हामी गाउँबाट भाग्यौँ । उनले आफ्ना केही कपडा लिएर आइन् । आफन्तको चौराठा गाविसमा थियो, हिँडेर जान दुई-तीन घन्टा लाग्थ्यो । त्यहीँ गएर बस्यौँ । मैले घरमा केही भनेको थिइनँ । भागेर टाढै जान भनेर सोचिसकेका थिएनौँ, साथमा पैसा पनि थिएन । जे पर्ला, त्यही टर्ला भनेर भागेका थियौँ ।

प्रहरीमा मिलापत्र

यता घरमा मेरो बुवामाथि कुटपिट भएछ । ‘तल्लो जात भएर पनि छोरालाई ठेगानमा राख्न सकिनस् । आफ्नै ठाउँमा रहनुपर्छ, आफूभन्दा ठूलो जातलाई हेर्न हुँदैन भनेर सिकाइनस् ? भनेर रत्ना चन्द (राजकुमारीकी फूपू) ले लाठीले कुटपिट गरिछन् । बुवाले इकाका प्रहरी कार्यालय नौमुलेमा उजुरी दिनुभयो । प्रहरीमा मिलापत्र गर्ने कुरा भएछ । राजकुमारीका परिवारले ‘हामी केही गर्दैनौँ । पढ्न पनि दिन्छौँ, घरमै आएर बसे हुन्छ’ भनेछन् ।

घरकाले यताउता फोन गरेर म चौराठा गएको थाहा पाए । बुवाले मलाई फोन गरेर हामीलाई प्रहरी कार्यालय नौमुलेमा बोलाइयो । प्रहरीमा राजकुमारी र मलाई छुट्टाछुट्टै सोधपुछ भयो । हामीले मन्जुरीमा बिहे गरेको बतायौँ । मिलापत्र गरेर हामीलाई घरमा पठाइयो । हामी केही दिन घरमै बस्यौँ । त्यसपछि बालुवाटार गाविस आलेगाउँ भन्ने ठाउँमा मेरो मामाको घर छ, त्यहीँ गयौँ । घरमै बस्दा कुटपिट हुन सक्छ कि भनेर घरका सबै डराउनुभएको थियो । त्यसैले हामी मामाघर गएका थियौँ ।

बुवाको हत्या

तीज आयो । बुवाले फोन गरेर भन्नुभयो, ‘चाडबाड हो, आयो भेटघाट गर्यौँ । एकरात बसेर कतै जाउला ।’ घर आएर खानपिन गरेर सुत्यौँ । पाहुना पनि थिए । राति १२ बजेतिर एक्कासि नौ जनाजति मान्छे आए, मुख छोपेर । म माथिल्लो तलामा सुतेको थिएँ । तल बा, दाइहरु हुनुहुन्थ्यो । बुवालाई खुकुरीले हानेछ । बुवा आत्तिएर तल बारीमा गएर ढल्नुभएछ । त्यसपछि ठुल्दाइले प्रतिकार गर्नुभयो । घरमा पाहुना पनि थिए, सबैले मलाई समाएर तल जान दिनुभएन । बालाई खुकुरी लागिसकेपछि दाइले पनि केही देख्नुभएन होला । दाइ एक्लै लड्नुभयो । तीन-चारवटा खुकुरी खोस्नुभयो ।

हल्ला, रुवाबासी भएपछि गाउँले आए । ती आक्रमण गर्न आउनेहरु भागे । त्यसपछि गाउँलेहरु इलाका प्रहरी कार्यालय नौमुलेमा उजुरी गर्न गए । यता बुवाको छातीमा खुकुरी रोपिएको थियो, गाउँकै सन्दीप रानाले तानेर खुकुरी निकाल्नुभयो, बुवा बेहोसजस्तै हुनुहुन्थ्यो । खुकुरी तीन इन्च जति रोपिएको थियो । छातीमा भ्वाङ नै देखिएको थियो । नजिकै सामान्य औषधि पसल पनि थिएन । उपचार गर्न सदरमुकाम नै आउनुपथ्र्यो, हिँडेर आउन सात-आठ घन्टा लाग्छ, गाडी थिएन ।

मान्छेहरु खोजेर, बोकेर सदुरमुकाम आउनुपथ्र्यो । यता प्रहरीले मुचुल्का उठाउनुपर्छ भनेछ, प्रहरी कार्यालय जान एक-डेढ घन्टा लाग्थ्यो । बुवा बेहोस नै हुनुहुन्थ्यो, घरीघरी बर्बराउनुहुन्थ्यो । भोलिपल्ट बिहान मुचुल्का उठाएर नौ बजेतिर बुवालाई उपचार गर्न हिँडियो । साँझ ५ बजेतिर जिल्ला अस्पताल दैलेखमा ड्रेसिङ गरियो । खुकुरीले फोक्सोमै भेटेको रहेछ, त्यहाँ उपचार नहुने भएर सुर्खेत क्षेत्रीय अस्पताल रेफर गरियो । क्षेत्रीय अस्पताल पुगेका मात्रै थियौँ, बुवा बित्नुभयो ।

त्यसपछि बुवाको पोस्टमार्टम गरेर शव घरमा ल्यायौँ । प्रहरीले घटना भएकै त्यही राति नै केही मान्छेलाई पक्राउ गरिसकेको थियो, सबै राजकुमारीका आफन्त थिए । दाइहरु बुवाको किरिया बस्नुभयो । म किरिया बस्न पनि पाइनँ । सदरमुकाममा मुद्दा-मामिलामै म व्यस्त भएँ । घटनाले ठूलै रुप लिएको थियो, रेडियो पत्रपत्रिकामा आइसकेको थियो । मलाई विभिन्न संघ-संस्थाले सदरमुकाम बस्ने-खाने व्यवस्था गरे, राजकुमारी पनि मसँगै थिइन् ।

फैसला हाम्रै पक्षमा

सदरमुकाम एक-डेढ महिना बस्यौँ । त्यसपछि हामी काठमाडौं आयौँ । हाम्रो घरमा विभिन्न संघ-संस्था, पत्रकार पुगिरहन्थे । पत्रकार अमर सुनारले हामीलाई काठमाडौं ल्याउनुभयो । उहाँकै कलंकीको कोठामा बस्यौँ । विभिन्न संघ-संस्थाले दुई-चार हजार खर्चको रुपमा दिन्थ्यो । उता, मुद्दा चलिरहेकै थियो । अदालतले मलाई फोनमा सोधिरहन्थ्यो । काठमाडौं दुई महिना बसेर घर फक्र्यौं ।

जिल्ला अदालत दैलेख, न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले मुद्दा हाम्रो पक्षमा फैसला गर्यो, ३० जेठ ०६९ मा । मुख्य योजनाकार बिन्दकला शाही, हत्यामा खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई २०-२० वर्ष जेल सजाय सुनायो । अरु ६ जनालाई पनि १०-१० वर्ष, ५-५ वर्ष सजाय तोकेको छ ।

एसएलसीमा ब्ल्याक लिस्टमा परेँ

घरमा बसेर पढ्न नपाए पनि मैले पढाइलाई अगाडि बढाएँ । मुद्दा-मामिलामा सदरमुकाम बस्दा, काठमाडौं बस्दा पनि मैले किताब हेरिरहन्थेँ । परीक्षा दिइरहेँ । राम्रो अंक ल्याएर आठ, नौ पास भएँ । एसएलसी पनि दिएँ- ०७१ । भैरव मावि नौमुलेमा एसएलसी परीक्षा केन्द्र परेको थियो ।

म्याथको परीक्षाको दिन, केन्द्रका अध्यक्षले चौराठाका विद्यार्थीलाई कुटे भनेर विद्यार्थीले तोडफोड गरे । हामीले त परबाट हेरेका मात्रै थियौँ, तोडफोड गर्नेमा हाम्रो पनि नाम गएछ । मेरो स्कुलबाट २२ परीक्षार्थी थियौँ, चारजना मात्रै पास भए, अरु ब्ल्याक लिस्टमा पर्यौँ । मेरो ४८० नम्बर आएको छ । तर, विज्ञानमा नम्बरै छैन, सी मात्रै लेखेको छ ।

मैले झन् विज्ञानमा राम्रो नम्बर आउँछ भन्ने आशा गरेको थिएँ । त्यो एक विषय मात्रै परीक्षा दिन पाएको भए पास हुन्थेँ । तर हामी कसैले पनि परीक्षाको र्फम नै भर्न पाएनौँ । स्कुले पनि ‘तिमीहरुले यसपालि परीक्षा पाउँदैनौँ, तोडफोडमा परेकाले ब्ल्याक लिस्टमा परेका छौ, तिमीहरु मात्रै होइन, सय विद्यार्थी ब्ल्याक लिस्टमा परेका छन्’ भन्यो । केही विद्यार्थीले जिल्ला शिक्षा कार्यालय आएर पनि बुझे । तर, नपाइने कुरा आयो । खै के भाको हो, हामीले बुझेनौँ । यसपालि परीक्षा एसएलसी दिने तयारीमा छु ।

उनलाई कतै टाढा सुखले राख्ने सपना

अहिले दैलेखकै घरमा छौँ । हाम्रो ०६९ भदौमा एउटा छोरा जन्मियो । घरमा दाइहरू, भाउजुहरू, भतिजाभतिजी, आमा बहिनी गरेर ११ जना छौँ, सबै सगोलमै छौँ ।

अहिले हाम्रो सम्बन्ध राम्रो छ । तर, अझै त्रास छ । फेरि आक्रमण हुन्छ कि, कैद भोगेर आएर पनि आक्रमण हुन्छ कि भन्ने डर छ । राजकुमारीलाई कतै पर लगेर, केही काम गरी पढ्दै उनलाई पाल्न चाहन्छु

मैले घरमै काम गर्छु । १०-१२ वटा बाख्रा, चारवटा खसी छन् । गाई-गोरु छन् । खेतीले खान पुग्दैन । दाइहरू बर्खामा भारतको सिम्लामा मजदुरी गर्न जानुहुन्छ । ठुल्दाइले अलिअलि सिलाउनु पनि हुन्छ । अहिले माइलादाइ इन्डियामै हुनुहुन्छ । दाइहरु शारीरिक रुपमा त्यति सबल हुनुहुन्न । ठूलोदाइको सानैदेखि तालु कमजोर छ, सानैमा घाउ भएर पाकेको रे । माइलोदाइको हात मर्केको छ । माइलोदाइले एसएलसी पास गर्नुभएको छ, गरिबीले नै माथितिर पढ्न सक्नुभएन ।

अहिले हाम्रो सम्बन्ध राम्रो छ । तर, अझै त्रास छ । फेरि आक्रमण हुन्छ कि, कैद भोगेर आएर पनि आक्रमण हुन्छ कि भन्ने डर छ । राजकुमारीलाई कतै पर लगेर, केही काम गरी पढ्दै उनलाई पाल्न चाहन्छु । उनले मलाई माया गरेकी छिन्, साथ दिएकी छिन्, यो जीवनमा उनलाई सुख दिन चाहन्छु । काम गरेर पाल्न सक्छु, पढेर केही गर्न सक्छु भन्ने आशा छ । केही मेसो पाउन सकेको छैन, फेरि पनि हारेको छैन ।

उनी पनि ‘कतै पर जान पाए हुन्थ्यो, गरिखाने हात छँदै छन्, केही गरेर खाइन्थ्यो । यहाँ फेरि केही हुने हो कि ?’ भनिरहन्छिन् । घर-परिवार पनि हाम्रो चिन्ता लिइरहन्छ । दाइ-भाउजूहरु र आमा पनि चिन्तित हुनुहुन्छ ।

– See more at: http://www.onlinekhabar.com/2016/03/401281/#sthash.5smcf8Rx.dpuf

Source : onlinekhabr

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: