दिनेश गजमेर
२०७२ चैत्र १७, धरान-जागरण मिडिया सेन्टर
बाह्र वर्षिय दलित बालिका बलात्कार गरि फरार रहेका धरान २७ पटनालीका २६ वर्षिय सुजन माझीलाई प्रहरीले पक्राउ गर्न नसक्दा बालिकाका परिवारले न्याय पाउँनै आश नै मारेका छन् । बलात्कारी पक्राउ गर्न प्रहरीले चासो नदिनु र स्थानिय राजनितिक दलका प्रतिनिधीहरुले धम्की सहित मिल्न दबाब दिईरहदा दोषिलाई कारवाहीनै नहुने हो कि भन्ने आशंकामा छन् । फरार माझी लुकेर बसेको स्थान समेत प्रहरीलाई जानकारी हुँदा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
फागुन १२ गते बिहान २ बजे घरमा सुतिरहेको अवश्थामा स्थानिय सुजन माझिले परियार थरकी बालिकालाई जबरजस्ती बलात्कार गरेका थिए । माझीले ६ वर्ष अघि पनि अर्की स्थानिय बालिकालाई बलात्कार गरेका थिए । सोही समय पनि गाउँका स्थानियले गाउँमै मिलाएका थिए । बलात्कार गरे पछि कराउन खोज्दा मुख थुनेर कराईस भने मारिदिन्छ भन्दै धम्काए पछि बालिका चुप भएकि थिईन् । तर उनले बिहान साथीलाई आफु माथि भएको घटना बताएकि थिईन् । स्थानिय सामुदायिक विद्यालयमा कक्षा ५ मा अध्ययरत बालिकालाई घरमा बिरामी हजुरआमा मात्रै रहेको मौका पारि माझीले बलात्कार गरेका थिए । घटनाको दिन बालिकाकी आमा माईती उदयपुर गएकी थिईन् ।
परिवारका अनुसार माझी घरमा पहिलो पटक आउँदा बिरामी हजुरआमाले थाहा पाए पछि भागेका थिए । पुनः हजुरआमा सुतेको मौका पारि माझी घरमा बलात्कार गरेका थिए । उनका साथीहरु मार्फत गाउँका महिलाहरुले थाहा पाए पछि ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । घटना भएकै दिन उजुरी दिन धरान आए पनि प्रहरीले उनीहरुको उजुरी लिन मानेको थिएन् । कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्ष भन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ ।
मुलुकी ऐनको जबरजस्ती करणी महल अनुसार जबरजस्ती करणी सम्बन्धी अपराधको घटना घटेमा नजिकको प्रहरी कार्यालयमा तत्काल उजुरी दर्ता गराउनु पर्दछ । सोही अनुसार उजुरी दर्ता गर्न जाँदा पनि प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन् । ४ दिन पछि महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्यसंगको सम्पर्क पछि सञ्जालको दबाबमा प्रहरीले उजुरी दर्ता गरेको थियो । तर १ महिना ४ दिन बितिसक्दा पनि दोषि पक्राउ गर्न नसके पछि बालिकाका परिवारमा प्रहरी देखि निराश हुन थालेका छन् । बालिकाको परिवार १४ दिन सम्म ईलाका प्रहरी कार्यालय धरान धाएका थिए । प्रहरीले कुनै चासो नदिए पछि हार खाएर बसेका छन् । राजनितिक दलले पेलेकै कारण प्रहरी नबोलेको बालिकाकी बडीआमा बताउँछिन् । राजनितिक पार्टी संगनै प्रहरी डराउने रहेछ, हाम्रो बोलिदिने मान्छे कोही भएन्, उनले भनिन् । दोषि माझी एनेकपा माओवादी संग आवद्ध भएको बुझिएको छ । त्यसैले पनि एमाओवादी उनको बचाउ गर्न लागि परिरहेको बताईएको छ ।
ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि स्थानिय राजनितिक पार्टीका नेताहरुले गाउँमै मिल्न दबाब दिएका थिए । बालिका बलात्कारको घटनालाई फुपु संग जोड्न खोजिएको थियो । बालिकाका परिवारका अनुसार फुपुले बोलाएको कारण सुजन बालिकाको घरमा गएको घटना हुन पुगेको भन्दै गाउँमै मिलाउन दबाब दिएका थिए । बालिकाको घरमा ४५ जनाको समुह घटनालाई गाउँमै मिलाउन दबाब दिन घरमा आएको बालिकाकी बडीआमाले बताईन् । उनका अनुसार बालिकाकी फुपुलाई कबुल गर्न दबाब दिएका थिए । मुलुकी ऐन २०६४ धारा १४ को उपधारा ४ मा जबरजस्ती करणी गर्ने भएको कुरा जानी थाहा पाई हुल गरी संग लागि जाने समाउने र सो काममा मद्दत दिनेलाई जनही ३ वर्ष सम्म कैद गर्नु पर्छ, सोह्र वर्ष मुनिकी महिलाका सम्बन्धमा भने दोब्बर सजाय हुन्छ ।
सञ्जालको दबाबमा बालिकाको घरमा मिल्नलाई दबाब दिन पुगेका स्थानिय नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरु एनेकपा माओवादी नेताहरु थिए । उनीहरुलाई पार्टीको दबाबमा छाडिएको थियो । मिल्नु पर्छ भन्दै दबाब दिने राजनितिक पार्टीमा आवद्ध भएकाले छुटाउन पार्टीको ठुलो पंक्तिनै प्रहरी कार्यालयमा पुगेको थियो, सञ्जालकी अध्यक्ष बज्राचार्यले बताईन् । पिडितलाई गाउँमै मिलाउन दबाब दिदै पिडितलाई बचाउन खोज्ने स्थानिय एक निजी विद्यालयका निर्देशक तथा नागरिक वडा मञ्च २७ का सदस्य शिव गुरुङ, एमाओवादीका किरण थापा, स्थानिय स्वंयसेवी भिममाया श्रेष्ठ, महिला नेतृ शेषकला घिमिरे र पिडककी हजुरआमालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला तथा नगरका नेतृत्वको टोलिको दबाबमा ५ जनालाइ छाडिएको थियो । उनीहरुले अझै पनि पिडितका परिवारलाई दबाब दिईरहेका छन् ।
ऐन अनुसार दश वर्ष भन्दा मुनिको बालिकालाई जबरजस्ती करणी गरेको भए दशदेखि पन्ध्र वर्षसम्म कैद हुन्छ । त्यसै गरि दश वर्ष भन्दा माथि १६ वर्ष मुनिकालाई भए सातदेखि दश वर्षसम्म कैद र १६ वर्ष वा सो भन्दा माथिको महिलालाई भए पाँचदेखि सात वर्षसम्म कैद हुने प्रावधान छ । जबरजस्ती करणी गर्नेबाट पीडित महिलाले आधा अंश पाउँछिन् । घटना पछि पिडित बालिका घरमा बस्न पनि डराउन थालेकि छिन् । आर्थिक अवश्था कमजोर भएकाले सुरक्षित घर पनि बनाउन सकेका छैनन् । खुल्ला ढोका भएकाले फेरि पनि माझी आउने डरले घरमा बस्न नमान्ने गरेको उनकी आमाले बताईन् ।
यता प्रहरीले माझी विरुद्ध जबरजस्ती करणी गर्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरिसकेको जनाएको छ । वैशाख २ गते कानुन अनुसारको हदम्याद सकिने भएकाले अदालतमा बुझाईने ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढगेन्द्र खतिवडाले बताए । दोषिको पहिचान खुलिसकेकाले चाँडो भन्दा चाँडो पक्राउ गरिने उनले बताए । हदम्याद नाघे पछि अदालतबाट फरार प्रतिवादीको वारेन्ट जारी हुनेछ । दोषिलाई फरार प्रतिवादी बनाई १० वर्षनै पछि फर्केर आए पनि कारवाही हुने उनले बताए । ईलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष ७२÷७३ मा ११ वटा बालिका बलात्कारको मुद्धा दर्ता भैसकेको छ । कार्यालयको मुद्धा फाँटको तथ्याङ्कको आधारमा ७ वटा जबरजस्ती करणी मुद्धा र माझी सहित का ४ वटा उद्योग अन्र्तगतको मुद्धा दर्ता भएको छ । जबरजस्ती करणी अन्र्तगत ७ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने उद्योग अन्र्तगत २ जना फरार रहेका छन् ।