जागरण मिडिया सेन्टर

Home » अन्य » माँ कसम रामभरोस दाइ

माँ कसम रामभरोस दाइ

जनकराज सापकोटा

२०७३ वैशाष ५, जागरण मिडिया सेन्टर

हम गौशाला उतरलिए ? अहाँ कत छी ?’

बिहानको साढे पाँच बजे मोबाइलमा यसरी बोल्ने रामभरोस थिए । म जेनतेन मात्रै मैथली बुझ्छु । रामभरोषलाई मैले कतै देखें, भेटें, चिनेको थिइनँ । तपाईंले गलत नम्बरमा फोन गर्नुभयो भन्दै मैले फोन काटिदिएँ ।  तर उनले फेरि फोन गरे । मैले फोन उठाएँ र उनका बारे सोधें । उनले मलाई चिनेका थिएनन् । तर भने, ‘जलेश्वरको एलडीओले तपाईंको नम्बर दिएको हो ।’  कुनै एलडीओसँग मेरो प्रत्यक्ष चिनजान र सम्र्पक थिएन । जसले मेरो नम्बर दिएर कसैलाई काठमाडौं पठाएका हुन् । यदि त्यसरी पठाएका भए मलाई खबर गर्दा हुन् ? यस्तो सोचेर मैले फेरि फोन काटें र सुत्ने प्रयास गरें । एकैछिनमा मोबाइलमा म्यासेज आयो । बिहानको निद्रा बिग्रिएकोमा झर्को मान्दै मैले म्यासेज हेरें । लेखिएको थियो, ‘एकजना दु:खी मान्छे पठाएको छु । तिम्ले सकेको सहयोग गर्नु है।’  यो म्यासेज पाएपछि मैले अघि फोन आएको नम्बरमा फोन गरें र भनें, ‘कुर्दै गर्नुस् म आइहालें ।’ म गौशाला पुग्दा फोन गर्ने मान्छे हत्केलामा चिउँडो अड्याएर सडक किनारमा टुक्रुक्क बसेका थिए । जलेश्वरबाट नाइटबसमा आएका हुनाले होला तिनको अनुहार थकित र क्लान्त देखिन्थ्यो । मोटरसाइकलमा राखेर नजिकैको चिया पसल पुर्‍याएँ । हातमा तातो चिया थमाएर सोधें, ‘किन काठमाडौं आउनुभएको ? के समस्या पर्‍यो ?’  उनी रहेछन्– महोत्तरी कलुवगियाका रामभरोस खत्वे, ३४ । नाममा उनको भरोस छ तर दुनियाँमा कसैबाट भरोसा नपाएका । १५ वर्षदेखि सदरमुकाम जलेश्वरमा रिक्सा चलाउँदै आएका खत्वेको दु:खको कथा चार महिनाअघिबाट सुरु भएको रहेछ । सयकडा तीन रुपैयाँको ब्याजमा लिएको एक लाख १० हजार ऋण खोजेर रतौलीका एजेन्ट (रामभरोसकै शब्दमा अर्जेन्ट) भरत शाहको हातमा बुझाएपछि उनको वैदेशिक रोजगारीको यात्रा सुरु भएको रहेछ । जनकपुरकै मेडिकलमा स्वास्थ्य जाँच गराएर एजेन्टले खत्वेलाई काठमाडौं बत्तिसपुतलीको सान नेपाल मेनपावर कन्सलटेन्सीमा पठाइदिएछ । मेनपावरले आवश्यक कागजात र भिसा लगाइदिएपछि खत्वे कतार पुगे ।  जुन बेला उनी एक लाख १० हजार तिरेर कतार उडे, त्यो बेला वैदेशिक रोजगारीमा जानेसँग १० हजारभन्दा बढी असुल्न नपाइने भनेर श्रम तथा रोजगार मन्त्रालयले निर्णय गरेको महिनौं भइसकेको थियो । यसमा उनको खासै गुनासो थिएन । तर, जब मिस्त्री काम गर्ने भनेर गएका उनलाई चर्को गर्मीमा सिमेन्ट र बालुवा बोक्ने काममा लगाइयो अनि उनलाई आफू ठगिएजस्तो लाग्यो । ११ सय दिराम भनिएको तलब ९ सय मात्रै रहेछ । काम थालेको दुई महिनापछि एक दिन कम्पनीको सुपरभाइजर आएर भन्यो, ‘भोलिबाट काममा नआउनू, तिम्रो मेडिकल फेल भयो ।’

जनकपुरमा जाँच्दा पास भएको मेडिकल यहाँको डाक्टरले कसरी फेल गरायो ? रामभरोसले रातभर सोचे ? दिनभर सोचे । फेरि रातभर सोचे ? कुनै उत्तर फेला परेन । फेल भएपछि घर फर्किनुपर्ने भयो । सयकडा तीन ब्याजमा लिएको ऋण कसरी तिर्ने ? अर्को छटपटी सुरु भयो । स–साना छोराछोरीको अनुहार आँखामा आउन थाले । मेडिकल फेल भएका अरू तीन कामदारको बेचैनी पनि उस्तै थियो । एकजना पन्जाबीले आत्महत्या नै गर्‍यो ।

‘झुन्डिएर मर्छु भन्ने सोचेको थिएँ, घरबाट बुढियाले फोनमा रुँदै कुरा गरेपछि त्यसको मायाले मर्न सकिनँ,’ रामभरोसले सुनाए । केही दिनपछि हातमा सय दिराम थमाएर कम्पनीले उनलाई नेपाल फर्काइदियो ।  काठमाडौं ओर्लेर राभरोस सरासर घर पुगे । सबैसँग आफ्नो दु:ख बेसाए । ऋण र घुमिरहेको ब्याजको मिटरले उनको बेचैनीलाई झनै अग्लो बनाइदियो । रिपोर्टिङका लागि घुम्दै रामको गाउँ पुगेका पत्रकार एकल सिलवालले उनको रुँदारुँदै थाकेको अनुहार देखे । परिवारका सदस्यको छटपटी देखे र उनलाई काठमाडौं पठाइदिए । मलाई एसएमएस पनि उनैले गरेका थिए । कतारबाट फर्केको पाँचौं दिनमा रामरोस मेरा अघिल्तिर थिए ।  पासपोर्ट र कतार जाँदाआउँदाको हवाई टिकट प्रमाणस्वरूप देखाए । उनको कथा सुनेपछि मैले सोधें, ‘कतारको गर्मी कस्तो रै’छ दाइ ?’ उनले सुनाए, ‘अरे दाइ, घाम छ नि, त्यो नेपालको जस्तो माथि आकाशमा नबस्ने, टाउकोमै छुन आइहाल्ने ।’ तर, रामभरोस घामभन्दा पनि ऋणको तापले डढेका थिए। उनी राम्ररी नेपाली बोल्न सक्थेनन् । न उनी लेख्न र पढ्न सक्थे । उमेरले जेठा भए पनि उनी प्रत्येक शब्दमा मलाई दाइ भन्थे । काठमाडौंका अड्डा अदालतबारे पनि उनलाई खासै ज्ञान थिएन । अधिवक्ता कृष्ण न्यौपानेसँग मेरो पुरानो चिनजान थियो । उनी वैदेशिक रोजगारीका पीडितहरूको निम्ति नि:शुल्क कानुनी लडाइँ लड्ने गैरसरकारी संस्था पिपुल्स फोरममा काम गर्थे । रामभरोसलाई बोकेर बुद्धनगरस्थित कार्यालय पुगे । सबै व्यथा सुनाएर भनें, ‘अब कसरी न्याय पाइएला ?’  मेडिकल फेल भनेर फिर्ता पठाए पनि रामभरोससँग मेडिकल फेलको कुनै आधिकारिक कागजपत्र थिएन । भएको भए पनि पूरै प्रक्रिया पूरा गरेर न्याय पाउन उस्तै परे महिना दिन काठमाडौं बस्नुपर्ने हुन सक्थ्यो । त्यतिका लामो प्रक्रियापछि रामभरोसकै पक्षमा निर्णय भयो भने पनि मेनपावर व्यवसायीले तिर्ने रकम भने जाँदाआउँदा लागेको टिकट शुल्क मात्रै हुन्थ्यो । सबै प्रक्रिया सुनाएर न्यौपाने भने, ‘मेडिकल फेलका धेरैले कि त न्याय पाउँदैनन्, पाए पनि महिनौंपछि पाउँछन् । जतिबेला दौडधुपमा पीडितको हजारौं रुपैयाँ खर्च भइसक्छ ।’ उनीसँग पैसा बुझाएको कुनै प्रमाण थिएन । वैदेशिक रोजगार विभागमा उनले ठगीको ऊजुरी गरे पनि न्याय पाउन त्यति सजिलो थिएन । बलिया मेनपावर व्यवसायीका अघि पीडितहरू सधैं जुम्सा र निरीह छन् ।  म कुनै निष्कर्षमा पुग्न सकिनँ । विदेशबाट उद्धार गरिएका अंगभंग भएका वा बेखर्ची भएका कामदारलाई राख्ने सेल्टर चलाएर बसेको प्रवासी नेपाली समन्वय समितिका सोम लामिछानेलाई फोन गरें । उनले सेल्टरमा रामभरोसलाई खानेबस्ने सुविधा दिलाइदिए । ठेगाना लेखिदिएको भरमा रामभरोस बाटो पहिल्याउन सक्दैनन् । झम्कै साँझमा उनलाई सेल्टर पुर्‍याएर फर्किएँ ।  दोस्रो दिन  बिहानै सेल्टर पुगें र रामभरोसलाई मोटरसाइकलमा राखेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु हान्निएँ । खत्वेको सबै कहानी सुनेपछि महाशाखा प्रमुख सर्वेन्द्र खनालले सुझाए– म लेखन्दास बोलाइदिन्छु तुरुन्तै ठगीको मुद्दा दर्ता गर्नुस् । मैले भनें, ‘रामभरोस दाइलाई नेपाली भाषा आउँदैन । लेखन्दास मैथिली भाषा बुझ्दैनन् ।’ खनालले तुरुन्तै सप्तरी घर भएका प्रहरी जवानलाई बोलाएर आदेश दिए, ‘लेखनदास बोलाउनू, पीडितको बयान तिमीले अनुवाद गरिदिनू ।’  रामभरोस खत्वेलाई त्यहीं छाडेर म रिपोर्टिङमा हिँडें । साँझ थाहा पाएँ, खनालले मेनपावर व्यवसायीलाई बोलाइवरी पाँच दिनभित्रमा महोत्तरीबाट एजेन्ट झिकाउने सहमति गराएछन् । मेनपावरका सञ्चालकलाई खत्वेलाई खानेबस्ने व्यवस्था मिलाउन अह्राएछन् । साँझमा खत्वेले फोन गरे र भने, ‘म गौशालाको लजमा आएँ । मेनपावरको मान्छेले खानबस्न पाँच सय दियो ।’ तेस्रो दिन  बिहान रामभरोससँग भेट भएको थियो । राति आठ बजेतिर उनको मिसकल आयो । मैले तुरुन्तै फोन गरेर सोधें, दाइ के भयो ? उनले जे उत्तर दिए त्यो बुझिने खालको थिएन । खाना खान हिँडेका बेला बाटो बिराएको वा कतै हराएको, आफू बस्ने लजको नाम थाहा नभएको यस्तै कुरा थियो । उनको अधुरो र अपुरो कुराले मलाई आपत् पार्‍यो । खोज्न जाउँ उनी ठ्याक्कै कहाँ छन् थाहा छैन । नजाऊ उनी आपत्मा छन् जस्तो लागिरहेछ । रातिको नौ बजेसम्म मैले बारम्बार फोन गरें तर उनले उठाएनन् ।  चौथो दिन  बिहान उठ्नेबित्तिकै गौशाला पुगें । उनका कुरा सुनेर म खङरङ भएँ । खाना खान लागेको बेला एकजना हेलमेट लगाएको अपरिचितले पाखुरमा समातेर खत्वेलाई मोटरसाइकलमा राखेछ र सिनामंगलको अँध्यारो गल्लीतिर कुदाएछ । मैले बारम्बार फोन गर्दा पनि त्यही अज्ञात मान्छेले फोन नउठाउन धम्की दिएको रहेछ । उनी रुने कराउने गरेपछि अँध्यारो गल्लीमा छोडेर हिँडेछ । ‘दाइ मलाई त्यसले मार्छ भन्ने लागेको थियो, डरले रातभरि सुतिनँ,’ उनले भने ।  कसले किन र कुन उद्देश्यले खत्वेलाई अँध्यारो गल्लीतिर डोर्‍यायो ? मैले केही भेउ पाइनँ । तुरुन्तै खत्वे बसेको लजमा पुगेर पैसा तिरीवरी उनलाई अनामनगरको सेल्टरमा बस्ने व्यवस्था मिलाएँ ।  त्यसै दिन दिउँसो एजेन्टले खत्वेलाई फोन गरेर तुरुन्तै मेनपावर जान आदेश दियो । रिपोर्टिङको काम चटक्क छाडेर म खत्वेसँग बत्तिसपुतलीस्थित मेनपवारको अफिस पुगें । त्यहाँका कर्मचारीले सोधे, तपाईं उहाँको को ? मैले विनम्र भावमा भने, ‘म उहाँको सहयोगी ।’  मेनपावरका कर्मचारीले भने, ‘कुरा जसरी नि मिलाउनुपर्छ । अब कति पैसामा मिलाउने भन्नुस् ?’ खत्वेलाई सोधिएको उत्तर मैले नै दिएँ, ‘मिलाउने भन्ने कुरै हँुदैन । जति दलालले लिएको उति नै फिर्ता गर्नुपर्छ ।’ मेरो चर्को स्वर सुनेर मेनपावरका सञ्चालक मलाई भेट्न आए । उपल्लो तल्लामा रहेको आफ्नो कोठामा पुर्‍याए र भने, ‘मिलाउनुस् न । तपाईंलाई पनि हेरूला ।’ मैले एक रुपैयाँ पनि कम नहुने, बरु ढिलो गरे उल्टो क्षतिपूर्ति पनि तिर्नुपर्ला भनें ।  कुरा नमिलेपछि खत्वेलाई सेल्टर पुर्‍याएर घर फर्कें । कति दिनसम्म उनलाई काठमाडौंमा राख्नुपर्ने हो ? कहिलेसम्म उनले न्याय पाउने हुन् ? मेनपावरले के–के अड्को थाप्ने हो ? महोत्तरीबाट एजेन्ट कहिले काठमाडौं आउने हो ? मसँग कुनै ठोस उत्तर थिएन । पाँचौं दिन  मध्य दिनमा खत्वेले फोन गरेर भने, ‘दाइ मेनपावरले तुरुन्त आउनु भनेको छ ।’ तत्काल उनलाई लिएर मेनपावर पुगें । यसपाला भने सोझै सञ्चालकसँग कुरा भयो । उनले फेरि मिलाउने कुरा गरे । मेनपावर व्यवसायका सारा दु:ख कहे र अन्तमा भने, ‘अलिकति त मिलाउनुस् न । हामी पनि मर्कामा छौं ?’  उनी पूरा पैसा दिन तयार थिएनन् । रामभरोसलाई धेरै दिन काठमाडौंमा अड्काउनुको पनि अरू कुनै  उद्देश्य थिएन । मुद्दा लड्दा झन् बढी समय लाग्थ्यो । मैले सुटुक्क सल्लाह गरें र सञ्चालकसँग भनें, ‘त्यसो भए एक लाख दिनुस् ।’ सञ्चालकले सहमतिमा मुन्टो हल्लाए ।  महानगरीय प्रहरी अपराध महाशाखा पुगेर सहमतिको कागतपत्र तयार पारियो । मेनपावरका कर्मचारीले एक लाखको बिटो खत्वेको हातमा थमाइदिए । उनको अनुहार धपक्क बल्यो । महिनौंसम्म नहाँसेको ओठमा मुस्कानको झिल्का देखियो । खाँदाबस्दा लागेको खर्च भनेर मेनपावरका कर्मचारीसँग अरू २५ सय मागियो । एसएसपी सर्वेन्द्रले मुस्काइरहेका रामभरोसलाई सोधे, ‘अब फेरि विदेश नै जाने कि के गर्ने ?’ उनले तनक्क तन्किएर आफ्ना दुवै कान समाते र भने, ‘माँ कसम सर । अब जाँदैन ।’ सिनामंगलबाट जलेश्वरका लागि छुट्ने रात्रिबस ६ बजेसम्म पाइन्थ्यो । खत्वेलाई लिएर उतै हान्निएँ ।  बसमा उनले हराउलान् भनेर एक लाख रुपैयाँ मैले नै राखें । माहुरीको गोलोझै बसमा मान्छे झुम्मेका थिए । नन्दनी डिलक्सको अन्तिम सिटमा बसेपछि उनले झ्याल खोलेर बाईबाई गरे । मैले घर पुगेर बिर्सिने त होइन नि भनेर सोधें । उनले चर्को स्वरमा भने, ‘माँ कसम बिर्सिन्नँ, हरेक दिन मिस कल गर्छु दाइ ।’ छैटौं दिन  रामभरोस खत्वे कलुवावगियास्थित घर पुगे । मैले मनी ट्रान्सफरबाट पैसा पठाइदिए । तर लेख्न पढ्न नजान्ने भएकाले पैसा बुझ्नका लागि आवश्यक पर्ने कोड नम्बर उनले टिप्न सक्ने कुरै भएन । महोत्तरीका डीएसपी विनोद सिलवाललाई फोन गरेर मैले समस्या राखें । उनले एक प्रहरी जवानलाई खत्वेसँगै पठाइदिए । पैसा निकालेर प्रहरी जवानले खत्वेलाई मोटरसाइकलमा घर पुर्‍याइदिए ।  साँझ खत्वेले फोने गरे । उनको आवाजमा खुसी छचल्किएको थियो । भने, ‘दाइ भोलि सखारै ऋण तिरिदिन्छु । अनि रिक्सा भाडामा लिएर चलाउन थालिहाल्छु । आज बहुतै मीठो सुत्छु दाइ ।’  लामो कुरापछि फोन राख्ने बेलामा उनले भने, ‘माँ कसम दाइ, अहाँ के सब दिन मिस कल मारल ।’

http://kantipur.ekantipur.com/printedition/news/2016-04-16/20160416162532.html

http://kantipur.ekantipur.com/printedition/news/2016-04-16/20160416162532.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: