जागरण मिडिया सेन्टर

Home » अन्य » नचल्ने पानी र नटिपिने फूल

नचल्ने पानी र नटिपिने फूल

पर्वत पोर्तेल

२०७३ वैशाष २०, जागरण मिडिया सेन्टर

‘मैले छोएको पानी चल्दैन’, ‘म आफ्नै आँगनमा इनार बनाउँछु’ जस्ता चर्चित गीतका गायक हुन् यशकुमार । यी गीतले जे भाव बोल्छन्, त्यस्तै किसिमका फिल्म निर्माण गरेर पनि चर्चित छन् उनी ।

ले छोएको पानी चल्दैन…’ बाट पचासको दशकको अन्त्यतिर यशकुमार एकाएक चर्चामा आए । तर, त्यसलगत्तै सिडी क्यासेटहरू बिक्न छोडेर संगीत बजार नै एफएममा सीमित हुन थालेपछि उनी पनि पेसा परिवर्तन गर्ने सोचमा पुगे । गीति क्यासेटहरू बिक्न छाडेका थिए, गीतबाट आम्दानी हुन छोडेको थियो ।  नयाँ पेसाका रूपमा उनले रेस्टुरेन्ट व्यवसाय सुरु गरे । गायक बाबु बोगटी, राजेश घतानी र अशोक दर्नालसँग मिलेर ‘रिदम प्यालेस’ नामको रेस्टुरेन्ट सञ्चालन गरे । राम्रै चल्यो पनि । आम्दानी पनि मनग्गै हुँदैथ्यो । तर, डनहरूले वाक्क दिक्क पारे । करिब वर्ष दिन चलाएर रेस्टरेन्ट बेचे ।  रेस्टुरेन्ट व्यवसाय छाडेपछि यश लगभग बेरोजगारझैं बने । त्यही बेला ‘बाटोमुनिको फूल’ नामको गीति एल्बम निकाल्ने सोच बनाए । तर, साथीभाइहरूबाट एल्बम अब चल्दै चल्दैन भन्ने सल्लाह पाए । त्यही शीर्षकमा उपन्यास लेख्ने पनि सोचे ।

‘झन्डै उपन्यासकार पनि भइयो,’ कालो चिया सुक्र्याउँदै उनले भने, ‘प्लटहरू तयार पार्दै थिएँ फेरि तिनै साथी भाइले उपन्यास लेखेर कतिजनाले पढ्छन् ? कसले पढ्छ ? भन्ने कुरा आएपछि छाडें ।’  त्यसपछि पलायो अर्को सोच– यो शीर्षकमा फिल्म बनाउने । नजिकका मित्रहरूको सुझाव पनि सकारात्मक पाए । फिल्म त बनाउने तर कसरी ? उनको मथिंगल लामै समय ततायो । हिरो, हिरोइन र निर्देशक छान्ने कुराले धेरै समय खायो । कलाकार विल्सनविक्रम राईले दिलीप रायमाझीको नाम लिए । दिलीप पनि निर्देशन गर्न तयार भए । फिल्मका लेखक सुरज सुब्बा नाल्बोले अभिनेतामा यशकुमार र बाबु बोगटीलाई नै अघि सर्न सुझाव दिए । उनीहरू तयार भए तर अन्तिम समयमा दिलीप पछि हटे । ‘उहाँले यो कथामा मैले न्याय गर्न सक्दिनँ, अलि नाम चलेको निर्देशक लिनुस् भन्नुभयो,’ उनले भने । अनि ‘हाउडे’ र ‘अंशबन्डा’ जस्ता दुई फ्लप फिल्मका निर्देशक सुरज सुब्बा नाल्बो नै निर्देशक बने ।  फिल्मले राम्रो चर्चा पायो । तर, पाइरेसी र आन्तरिक द्वन्द्वले थोरै समस्या भयो । लेनदेनले राम्रा साथीहरू पनि दुश्मन बने । यो फिल्मको सफलतापछि निर्देशक नाल्बो चल्तीका निर्देशक बने । यशकुमारलाई पनि १० वटा जति फिल्मबाट अफर आयो । उनले ‘आधीबाटो’जस्ता केही फिल्ममा मात्रै अभिनय गरे । ६ वर्षपछि ‘बाटोमुनिको फूल–२’ बन्यो । नेपाली समाजमा विद्यमान जातीय छुवाछूतजस्तो विभेदजन्य अपराध फिल्मको मुख्य ‘थिम’ हो ।

अन्तरजातीय बिहे गरेर गाउँबाट विस्थापित जोडीको कथा फिल्मले भन्छ ।  अझै पनि हाम्रा गाउँघरमा बाटोमुनिको फूल प्रयोग गरिन्न । बाटोमाथि फूलेको फूललाई मात्रै प्रयोग गरिन्छ । बाटोमुनिको फूल अछूत हो भन्ने मान्यता अझै ज्युँदै छ । बाटोमुनिको फूल शुभकार्यमा प्रयोग हँुदैन, न त उपहार नै दिइन्छ । शिरमा पनि सजाइन्न । बाटोमुनिको फूललाई कसैले नटिप्दा बर्सेनि ओइलाएर जान्छ ।  काभ्रेको एउटा गाउँ । रामप्रसाद नेपाल गाउँमा खुङ्खार गीताङ्गे । त्यही गाउँकी गीता परियारको आवाज पनि कोइलीको जस्तै । गाउँमा नाचगान हुँदा गाउँलेले भनिहाल्थे रे, राम र गीतालाई बोलाउन बिर्सनु हुन्न है । गाउँदै नाच्दै हिँड्ने क्रममा उपाध्याय बाहुनका छोरा रामप्रसादको कथित दलित समुदायकी गीतासँग प्रेम बस्यो । राम र गीतको सम्बन्धको चर्चा गाउँमा भुसको आगोझैं फैलियो । अन्तत: रामले गीतालाई भगाए । त्यो समयमा अन्तरजातीय बिहे गर्न सानोतिनो मुटु भएकाले सक्ने कुरै भएन । तर, राम र गीतले साहस गरे । गाउँमा बस्न सक्ने अवस्था थिएन । गाउँबाट भागे ।  बौद्ध स्तूपाको घर २ सयमा बेचेर सर्लाहीको कर्मैया वागमती पुगे । २०३५ साल मंसिर १ गते त्यही जन्मिए यशकुमार ।  २०४५ सालमा आएको भीषण बाढीले वागमती किनारका धेरै परिवार विस्थापित भए । यशकुमारको परिवार पनि विस्थापित भयो । जायजेथा बगाएपछि काठमाडौं बसाइ हिँड्नुपर्ने बाध्यता आइलाग्यो । त्यो बेला भर्खर १० वर्ष टेकेका यशकुमार नोस्टाल्जिक बन्छन्, ‘बाढीले केही बाँकी राखेको थिएन । केही नभएपछि बसाइ हिँड्नुको विकल्प थिएन ।’  गाउँमा हुँदादेखि नै गीत संगीतप्रति उनको रुचि थियो । हिन्दी फिल्मका फ्यान । मिथुन चक्रवर्ती उनका ‘आइडल’ थिए । मिथुनका फिल्ममा देखाइने बूढी आमा, अभाव र हिरोलाई आइपर्ने समस्याजस्ता दृश्य यशलाई आफ्नैजस्तो लाग्थ्यो । ‘फिल्ममा मिथुनले जुन तरिकाले संघर्ष गरेर सर्भाइव गथ्र्यो म पनि यस्तै गर्छु भन्ने लाग्थ्यो । मेरो आफ्नो कथाजस्तो लाग्थे मिथुनका फिल्महरू ।’ काठमाडौं आएपछिको केही समय उनले नाटकमा बिताए । बाँसुरीको ब्याक ग्राउन्ड म्युजिक पनि बजाए । बालुवा चाले । प्रेसमा किताब छापे । ज्यामी भएर इँटा–ढुंगा बोके । ड्राइभरसँग मिलेर कोठा सार्ने काम गरे । यी सबै काम गर्दा पनि उनी गीत गुन्गुनाइरहन्थे ।

२०५२ सालतिर राजु श्रेष्ठ नामका एकजना साथीले उनलाई चितवनको टाइगर टप्स होटल पुर्‍याए । प्रत्येक शुक्रबार त्यहाँ गाना–बजाना हँुदोरहेछ । साथीले यशलाई पनि गीत सुनाउन जोड गरे । होटलमा ६–७ जना भारतीय पर्यटक थिए । उनीहरू खानामा ढुंगा भेटियो भनेर होटलवालासँग विवाद गर्दै थिए । सबैको आग्रहअनुसार रामकृष्ण ढकालको ‘मीठामीठा कुरा सबै सुनाइदिऊँ कि हजुर’ पहिलोपटक सुनाए । सबैले ताली पिटेर हौसला बढाए । कुमार सानु त्यो बेला ज्यादै हिट थिए । उनको एउटा गजल ज्यादै लोकप्रिय थियो, ‘किसी की याद सताए सराब पिलेना’ । उनले यो गीत पनि गाए । गाइसकेपछि सबैले ताली बजाए । अघि होटलवालासँग विवाद गर्ने समूहका एकजना (जसले सेतो पाइजाम र कुर्ता लगाएका थिए) ले चासो दिएर हेरेर भने, ‘एक और हो जाए ।’  पुरानो हिन्दी फिल्म ‘प्रेमगीत’ को ‘होठों से छु लो तुम…’ भन्ने जगजित सिंहको लोकप्रिय गजल गाए । सबैले तारिफ गरे ।  पाइजाम लगाएका दुईजना मान्छे हिँड्दै उनको छेउमा आए । त्यसमध्येका एकजनाले राम्रो गाइस । प्रस्ट गाइस् । म्युजिक सिकेको छस् ? भनेर सोधे । ती व्यक्तिले पुन: सोधेछन्, ‘तँलाई केही बन्ने इच्छा छ ?’ यशले ‘छैन, गायन मेरो सोख मात्रै हो’ भने ।  भोलिपल्ट ती भारतीय पर्यटकहरूको चेक–आउट रहेछ । होटलका म्यानेजरले के भने यिनीहरूले ? भनेर सोधेछन् । यशले भनेछन्, ‘मेरो तारिफ गरे राम्रो गाउँदो रहेछन् भनेर गए ।’ म्यानेजरले थपे, ‘त्यो सेतो कुर्था पाइजाम लगाउने मान्छे पनि इन्डियाको पपुलर गायक पो हो रे त ?’ यशले पुन: सोधेछन्, ‘ए हो र । के नाम रछ तिनको ?’ म्यानेजरले जगजित सिंह रे भन्दा उनी तीन छक्क परे । उनीसँग अर्का एक पुरुष र महिला पनि थिए । ‘उनीहरू अनिल अम्बानी र टिना मुनिम रहेछन्,’ उनले सम्झिए । काठमाडौं फर्किएर साथीहरूलाई जगजित सिंहसँगको भेट सुनाउँदा कसैले पत्याएनन् ।

यशकुमारले पहिलो गीत गाए, ‘हाँसो मागे तिमीसँग आँसु पो दियौ…।’ तर चलेन । कामकै सिलिसिलामा रमेश खड्कासँग भेट भयो । उनकै पहलमा ‘आस्था’ एल्बम निकाले । रामकृष्ण ढकाल, यम वराल, कुन्ती मोक्तान, विवेक श्रेष्ठ, सपना श्रीलगायत चर्चित गायकहरूलाई लिएर । त्यो पनि चलेन ।  दोस्रो ‘उमेर’ एल्बमको गीतले पनि श्रोतालाई छोएन । ‘त्यो गीत नचल्नुको कारण तीनताका पप गीतको प्रभाव ज्यादा थियो,’ यशकुमार सम्झन्छन्, ‘नवीन के भट्टराई, कर्ण दासहरूको समय थियो ।’  यो आधुनिक एल्बमको प्रभावकारी समय होइन भन्ने लाग्यो उनलाई । संगीतलाई परिमार्जन गर्ने तरखर गरे । तामाङ भाषाका गायक चन्द्र दोङको साथमा कलेक्सन एल्बम ‘यो संसार’ निकाले । ‘मैले छोएको पानी चल्दैन…’ बोलको गीत थियो । कुनै गायकले गाउन मानेनन् । कसैले नगाउने भनेपछि एल्बममा समावेश नहुने सम्भावना बढ्यो । एरेन्जरले ‘अरूले गाउँदैनन् भने तिमी आफैं गाऊ, तिम्रो पनि स्वर राम्रै छ’ भने । यशले मानेनन् । किनकि यशको इच्छा यो गीत नाम चलेकै गायकले गाइदिओस् भन्ने थियो । यो बेलासम्म उनी संगीतकार मात्रै थिए । कसैले गाउन नमानेको गीत गाएर उनी गायक बने ।  चलन के थियो भने राम्रा गीतहरू एल्बमको ‘ए’ साइडमा र नराम्रा झुर गीतहरू ‘बी’ साइडमा त्यो पनि अन्त्यतिर राख्ने । ‘मैले छोएको पानी चल्दैन’ र ‘यो मनले तिमीलाई नै रोजेको छ’ दुवै गीत एल्बमको ‘बी’ साइडको अन्तिम पंक्तिमा परे ।  एल्बम रिलिज भयो । यसले पनि खासै प्रभाव पारेन । म्युजिक भिडियोको क्रेज बढ्दै थियो । आलोक नेम्बाङ हिट निर्देशक थिए । एल्बममा भएको खेमराज गुरुङको ‘बेहाल भयो जिन्दगी यो…’ बोलको गीतको भिडियोचाहिँ चल्ला भन्ने अनुमान थियो । त्यही गीतको भिडियो बन्ने भयो ।  इमेज च्यानलकी संगीता श्रेष्ठले निर्देशन गर्ने निधो भो । तर, पुरुष मोडल पाएकी थिइनन् संगीताले । संयोगले यशकुमारलाई मोडल बन्न अनुरोध गरिन् । अनि यशकुमार मोडल बने । मोडलिङ अघि उनी सुरेशकुमार नेपाल परियार थिए । संगीताले नै सुरेशकुमारलाई यशकुमार भनेर न्वारन गरिदिइन् ।  नयाँ बजारमा भिसिडी पसल थियो यशको । एल्बम रिलिज भएको करिब २–३ महिनापछि भिसिडी पसलमा बसिरहेका थिए । एकजना मान्छे आएर यशकुमार भनेको तपाईं नै हो भनेर सोधे । ती मान्छे सिक्किमका विजय थापा थिए । नेपालमा कतै नसुनिएको यशकुमारको ‘मैले छोएको पानी चल्दैन’ ले मेचीपारि तहल्का मच्चाएको रहेछ । सिक्किममा कन्सर्ट गर्न यशलाई खोज्दै आएका रहेछन् ।  ४५ हजार भारुमा यशले सिक्किममा पहिलो कन्सर्ट गरे । ‘मैले छोएको पानी चल्दैन’ गीत यति हिट रहेछ कि ८ पटकसम्म गाउँदा पनि ‘वान्स मोर’ रोकिएको थिएन ।  दुई गीतको चर्चापछि कम्पनीले सोलो एल्बम प्रस्ताव गर्‍यो । अघिल्लो एल्बमका ती दुई गीत ‘रिजन’ एल्बममा पुन: समावेश गरे । एल्बम रिलिज भएको १३ दिनपछि दरबार हत्याकाण्ड भो । गीत संगीत बन्दै भयो । रेडियो टीभीमा तानपुरा मात्रै बज्थ्यो ।  उनी निराश भए । तर, बिस्तारै त्यो गीत बस, ट्याक्सी र रेस्टुरेन्टहरूमा बज्न थाल्यो । नेपालबाट मेची तरेको गीत पुन: मेची तरेर नेपालै फर्कियो । जसले निकै लामो समय तहल्का मच्चाइरह्यो ।  लगत्तै ‘तिर्खा’ रिलिज भो । ‘म आफ्नै आँगनमा इनार बनाउँछु’, र ‘हिजो अर्कैसँग देखें’ जस्ता गीतले बजार पिटे । यशको क्रेज रातारात बढ्यो ।  संगीतमा दोस्रो इनिङमा चलेका यशकुमार फिल्ममा पनि सिक्वेल लिएर दोस्रो इनिङ खेल्न आएका छन् । हेरौं, यसमा उनले कस्तो सफलता पाउँछन् !
http://kantipur.ekantipur.com/printedition/news/2016-04-30/20160430104904.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: