जागरण मिडिया सेन्टर

Home » अन्य » ‘भिउसिने’ अर्थात् भीमसेनबहादुर विक

‘भिउसिने’ अर्थात् भीमसेनबहादुर विक

रमन पौडेल

२०७३ वैशाष २०, जागरण मिडिया सेन्टर

BHim_bahadur_BK_Sketh_931548347

स्मृति
मेरो गाउँ नपुग्दै बाटोछेउमा अग्लो र बूढो सिमलको रूख छ। त्यो निकै पुरानो हो भन्नेमा मलाई विश्वास छ। त्यही सिमलको रूखको फेदमा एउटा सानो झुपडी थियो। खरले छाएको र काठले बारेको होचो घर। घरभन्दा पनि त्यो छाप्रो जस्तो थियो।
त्यही छाप्रोभित्र एउटा सानो र दुःखी परिवार अटाएको थियो। आमाबावु र एक छोरा। छोराको नाम थियो भिउसिने। म अहिले अन्दाज गर्न सक्छु, उसको नाम भीमसेन हुनुपर्ने थियो। न्वारान गर्नेले भीमसेनबहादुर विक भनी नामकरण गराए होलान्। तर उसको नाम रहन गयो भिउसिने।
म र मेरा साथीहरू सबै उसलाई भिउसिने भनेरै बोलाउँथ्यौँ। उसको नाम भीमसेन होला भनेर त्यसबेला अनुमान पनि गर्न सकिँदैनथ्यो।
यो नाम उसलाई गाउँलेले दिएका थिए। यतिसम्म कि, स्कुलमा हाजिर गर्दा पनि उसलाई भिउसिने भनेरै बोलाइन्थ्यो।
पराजुलीटारको एउटा कान्लामा उसको झुपडी थियो। पराजुली गाउँमा थुप्रै गिरीहरूको बसोबास थियो। रामजी, लक्ष्मण, ज्ञानेन्द्र र दीपक पराजुली गाउँका दादा थिए। र भिउसिने ‘भिलेन’।
००
ऊ कम बोल्थ्यो। अति कम। र, विस्तारै बोल्थ्यो। धोद्रो थियो उसको स्वर। ऊ सोझो थियो। भिउसिनेले छाती फुलाएर, शिर ठाडो बनाएर बोलेको मैले आफ्नो बाल्यकालभरि कहिल्यै देखिनँ। कसैसँग रिसाएको पनि देखिनँ। न कसैलाई उसले पिट्यो भन्ने नै सुनियो।
 Raman_paudel2
मैला, पुराना र फाटेका लुगाहरू टालेर लगाउँथ्यो भिउसिने। पराजुली गाउँका गिरीहरूले दिएका ‘जडौरी’ कपडाहरूले उसको वर्ष बित्थ्यो। गाउँलेहरू आफ्ना सन्तानलाई कपडा सानो भएपछि वा फाटेर थोत्रो भएपछि भिउसिनेलाई दिन्थे। ऊ खुसी भएर त्यस्ता कपडा लगाउँथ्यो।
भिउसिने स्कुल पनि पढ्न आउँथ्यो। तर, ऊसँग किताब हुँदैनथे। केही थान थोत्रा कापी र सिसाकलम बोकेर ल्याउँथ्यो। धुवाँले रंगिएर उसका कापीहरू गाढा पहेँलो हुन्थे। उसको साथमा सिंगो सिसाकलम पनि मैले कहिल्यै देखिनँ।
कक्षा ३ सम्म उक्लिन उसलाई ६ वर्षभन्दा धेरै लाग्यो। यसरी उसले आफ्नो बाल्यकालका अधिकांश समय स्कुलका तीनवटा कोठाहरूमै बसेर बितायो।
भिउसिने ठूलो र मैलो झोला बोकेर स्कुल आउँथ्यो। तर उसले आफ्नो झोलासँगै गिरी दादाहरूको झोला पनि बोक्नुपर्थ्यो।
 रामजी, लक्ष्मण, ज्ञानेन्द्र र दीपक टाउकोमा रुमाल बाँधेर भिउसिनेको पछिपछि हात हल्लाउँदै स्कुल आइपुग्थे। कहिले उनीहरू घरमा पालेको कुकुर नै घिच्याएर स्कुल ल्याइपुर्याउँथे। कहिले साइकल चढेर आउँथे। तर झोला बोक्न लगाउँथे भिउसिनेलाई।
००
गिरी गाउँका गोठालाले गाई चराउने चौर स्कुले केटाकेटीहरूको खेल मैदान थियो। यसको नाम थियो घर्तीखोलो।घर्तीखोलाको चौरमा गाई चरिरहन्थे, निवुवाटारीका विद्यार्थी हामी खेलिरहन्थ्यौं।
कहिले गाई चर्दाचर्दै हामी खेल्न पुग्थ्यौं। कहिले हामी खेलिरहँदा गाई चर्न आइपुग्थे। घर्तीखोलो खासमा निवुवाटारीका विद्यार्थीको खेल मैदान र गिरीगाउँका गाईको चरन थियो।
घर्तीखोला चौरको एकछेउ भिरालो थियो। त्यहाँ हामी लडिबुडी खेल्थ्यौँ। भिउसिने पनि त्यहाँ हामीझैँ लडिबुडी खेल्थ्यो। साँझ ४ बजेपछि ऊ त्यहीँ लडिबुडी खेल्न आइपुग्थ्यो।
अरू केटाकेटी भिउसिनेलाई देखेपछि मरेको गंड्यौलोलाई कमिलाहरूले घेरेजस्तै गर्थे। कसैले कागजको पुच्छर बनाइदिन्थे। कसैले कट्टु तानिदिन्थे। कसैले टुप्पी तानिदिन्थे।
अचेल, ठूलो बोरा बोकेर काठमाडौंका गल्लीमा प्लास्टिक-फलाम खोजी हिँड्ने मानिस देखेँ भने मेरो बाल्यकालको भिउसिने अर्थात् भीमसेनबहादुर विक हो कि जस्तै लाग्छ।
भिउसिने घर्तीखोलामा लडिबुडी खेल्दा अरू थुप्रै केटाकेटीहरू उसको जिउमाथि चढेर उसलाई घोडा बनाउँथे। भिरालो चौरमा उसलाई धकेल्दै तल खोल्सोसम्मै पुर्याउँथे। खोल्सोमा हिलो थियो। केटाकेटीहरू भिउसिनेलाई त्यही हिलोमा पुर्याएर खसालिदिन्थे।
००
भिउसिने त्यस खोलाकै एउटा दुखी पात्र थियो। जसले आफ्नो बाल्यकालभरि राम्ररी खेल्न पाएन। राम्ररी बोल्न पाएन। पढ्न त पायो तर आफ्नो नाम राम्ररी लेख्न जानेन। यतिसम्म कि भिउसिनेले आफ्नो नाम पनि पाएन। समाजले उसको नामै खोसिदियो। उसको वास्तविक नाम त भीमसेनबहादुर विक थियो।
नयाँ मान्छेका लागि भिउसिने डरलाग्दो पात्र थियो। तर गाउँलेका काँक्रो र कुखुरा चोर्ने गिरी दादाहरू हिरोजस्तै देखिन्थे। कसैसँग नबोल्ने भिउसिने चाहिँ भिलेन जस्तै।
२०५६ सालतिरको बर्खामा ठूलो झरी पर्यो। म हुर्केको ठाउँमध्ये नेपाल उपत्यका वरपरका पाखाहरूमा ठूलाठूला पहिरो गए। रिस्ती खोलाको बहाब बढेर उपत्यका वारिदेखि पारिसम्मै सलल पानी-पानी भयो।
गाउँका केही घरहरू पहिरोले बगाएरै लग्यो। त्यही बर्खामा भिउसिनेको सानो छाप्रोमा क्षति भएपछि त्यो सानो र दुखी परिवार सिमलको फेद छोडेर कतै गयो।
वर्षौंसम्म पनि भिउसिनेको परिवार कहाँ गयो भनेर कसैले चासो देखाएन।
भिउसिनेका बाले कतै घडेरी किनेर घर बनाउन सक्ने सम्भावना थिएन। उसका बाको आरन थियो। आरनमा हँसिया अर्चाप्ने काम गर्थे उनी। गाउँलेहरू हँसिया अर्चापेको बदलामा बाली दिन्थे। त्यही बाली खाएर त्यो दुखी परिवार चल्दैथियो।
पराजुली टारको माथिल्लो कान्लो र पराजुली गाउँको तल्लो कान्लो खोपेर भिउसिनेका बाले छाप्रो हालेका थिए। उनीहरू त्यहाँबाट कता अलप भए भन्ने कुराले मलाई बेलाबेला घोचिरहन्छ।
म जन्मे-हुर्केको गाउँ सम्झँदा भिउसिनेको अनुहार मेरो मस्तिष्कमा भित्तामा गोरखापत्र टांसिए झैँ टासिन्छ। उसका मलिन आँखा, निन्याउरो अनुहार, कालो वर्ण। उसले लगाउने बाक्लो बक्खु, च्यातिएको कट्टु, फाटेका नांगा पैताला। थोत्रो र मैलो झोला बोकेर घर्ती खोलाको किनारमा अचेल कुनै बालक हिँड्दैन।
भिउसिनेको परिवारले त्यस ठाउँ छोडी गए पनि सिमलको रूख उस्तै छ। त्यसका सेता भुवाहरू उडेर भिउसिनेको छाप्रोको छानोमाथि आएर बस्थे। सिमलको भुवालाई उनेर गीत गाइएका छन्। त्यस्ता गीत सुन्दा भिउसिनेलाई सम्झन्छु। सिमलको भुवासरी उड्यो मेरो मन भनेर गाएजस्तै सिमलको फेदमा वर्षौं बस्ने भिउसिनेको गीत पनि भए हुन्थ्यो नि।
अचेल भिउसिनेको छाप्रो भत्किसकेको छ। भिउसिनेको परिवार त्यस ठाउँको आदिवासी होइन भन्ने म बुझ्थेँ। तिनीहरू कतै लेकतिरबाट आएको कुरा बाजेहरू सुनाउँथे। त्यसो त त्यहाँका पराजुली र गिरीहरू पनि आदिवासी थिएनन्।
तर पराजुली टारका लामा र फराकिला खेतका गराहरू पराजुलीकै थिए। भिउसिनेको परिवारको आफ्नै बारीसमेत थिएन त्यहाँ।
गाउँमा अधियाँ गर्ने चलन थियो। भिउसिनेका बूढा बाआमाले अधियाँ खेत गर्न सक्दैनथे। पराजुलीहरू असार र मंसिर महिनाभरि फाँटमै व्यस्त हुन्थे। तिनीहरू नयाँ वर्षको धान खान्थे र पुरानो बेच्थे।
भिउसिनेको परिवार जहाँ गयो त्यहाँ पनि त आफ्नै खेत पक्कै छैन होला। भिउसिनेका बा-आमा झन् बूढाबूढी भए। उमेरकै हिसाब गर्दा तिनीहरू पक्कै ८० वर्ष नाघिसके। भिउसिनेले मलेसिया जाने पैसा पनि पाएन होला। पराजुली टारमा छँदा रिस्ती खोलाको किनारामा दौडिने ट्याक्टरमा कहिलेकाहीँ झुन्डिन्थ्यो ऊ। ट्याक्टर चलाउन सिकेर ड्राइभर पो भयो कि।
र अचेल, ठूलो बोरा बोकेर काठमाडौंका गल्लीमा प्लास्टिक-फलाम खोजी हिँड्ने मानिस देखेँ भने मेरो बाल्यकालको भिउसिने अर्थात् भीमसेनबहादुर विक हो कि जस्तै लाग्छ। ००००

साभार :annapurnapost / See more at: http://rastriyasamachar.com/?p=4447#sthash.nPSI3zhW.JZfvbdTR.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: