जागरण मिडिया सेन्टर

Home » अन्य » उत्पीडनको छत्रछायामा ‘सामाजिक सद्भाव’

उत्पीडनको छत्रछायामा ‘सामाजिक सद्भाव’

राजेन्द्र महर्जन/सरिता परियार,

२०७३ जेठ ७ गते, जागरण मिडिया सेन्टर

आफूलाई जात, धर्म, समुदाय वा लिङ्गको प्रभुत्वशाली वर्गको पक्षपोषण गर्ने ‘सामाजिक सद्भाव’लाई यथावत् राख्ने कि सबैको न्याय र मानवीय मर्यादा प्रबद्र्धन गर्नेतिर लाग्ने ?

साहित्यकार शंकर लामिछानेले सोधेका थिए, ‘सत्यको सत्य खै ? के हो सत्यको सत्य ?’ सत्य पनि उत्पीडक र उत्पीडितको भिन्नै हुने रहेछ । सत्य खोतल्दै त्यसको सामना गर्नु क्षमता र साहसको पक्ष हो ।

यस्तै साहस गरेका छन्, ‘ती कुमारी’का बुबाले । ‘ती कुमारी’ कुनै पनि नाबालिका हुन सक्छ, जसको नाम विशेष कारणवश फेरिएको छ, तर उनका बुबाको काम भने उल्लेखनीय छ, न्याय र सत्यका पक्षपातीहरूका लागि । ती कुमारीका बुबाले १४ वर्षकी छोरीमाथि जबरजस्ती करणी गर्ने शिक्षकविरुद्ध मुद्दा हाल्ने हिम्मत गरे ।

सुदूरपश्चिमको समाजको पिँधमा रहेका हलिया, त्यसमा पनि दलितले मालिक समुदायका शक्तिशाली पुरुषको उत्पीडनविरुद्ध कानुनी प्रतिकार गर्नु साहसिक कर्म हो । यौन उत्पीडनमा परेकी छोरीलाई दोष दिनुको सट्टा उत्पीडकका शक्ति, हैसियत र नैतिकतामाथि प्रश्न उठाउनु आँटिलो काम हो ।

अभियुक्तचाहिँ ‘उच्च’ जातका सम्मानित शिक्षक थिए, हलिया राख्ने मालिक वर्गका सदस्य थिए, कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका जिल्ला सदस्य थिए । यस्तो शक्ति र सम्बन्ध भएका अभियुक्तले सुस्त मन:स्थितिकी बालिकालाई गरेको यौनशोषण ती कुमारीका बुबाको जुझारूपनाले उजागर गर्‍यो ।

समाजका सबैखाले नेताले दबाउन खोज्दा पनि दलित प्रतिरोधका कारण घटना दबिएन । ‘जिल्ला ७४’को प्राथमिक विद्यालयबाट घर फर्कंदै गर्दा ती कुमारी जबर्जस्ती करणीको सिकार भएकी हुन् ।

कक्षा ४ मा पढ्ने ती कुमारीलाई पानी पिउन लागेको बेला यौनशोषण गर्ने अरू कोही होइन, उनकै शिक्षक हुन् । ती शिक्षकले उनलाई एकपटक मात्रै हैन, चार दिनसम्म यौन उत्पीडन गरे, डर–धम्की देखाउँदै । ती शिक्षकले यौन उत्पीडनको आरोप लाग्नुअघि नै प्रतिरोधको रणनीति बनाए । ‘आत्मविश्वास’ले भरिएको उक्त रणनीति निकै खतरनाक छ ।

यौन उत्पीडन विरुद्ध उजुरी हाल्नुअघि नै अभियुक्तले जिप्रकामा ‘जीउ सुरक्षा गरिपाउँ’ भनी निवेदन दिए । त्यसले उत्पीडकको हेपाहा प्रवृत्ति र प्रतिरोधको रणनीतिलाई उजागर गरेको छ ।

अभियुक्तले देखाएको हेपाहा प्रवृत्ति र नाबालिकामाथि भएको शोषणविरुद्ध भएको प्रतिवादले नयाँ प्रश्न उठाएका छन् । हेपाहा प्रवृत्तिका मानिसहरूले साँखुल्ले भएर दलित समुदायमाथि आधारहीन टिप्पणी गर्छन्, ‘तपाईं दलितहरू आफैंलाई सानो नठान्नुहोस्, हीनभावनाकै कारण कमजोर र पिछडिएको हो ।’

जब दलितहरूले ठूलाबडाको हेपाहा प्रवृत्तिको प्रतिवाद गर्छन्, तब उनीहरूलाई निरीह र प्रतिरोधहीन बनाउन अनेक तिकडम गरिने रहेछ । यसै प्रकरणमा पनि पीडितका बुबाले कानुनी प्रतिवाद गर्नुअघि नै ‘जीउ सुरक्षाका लागि’ भनी निवेदन दिएर तिकडम गरिएको छ ।

यसले प्रभुत्वशाली वर्गका सदस्यहरूले गर्दै आएको उच्च जात, बडा नागरिकको दाबीको मात्रै होइन, चेतनशील र शिक्षित मान्छेको जिकिरको पनि धज्जी उडाएको छ । यसले साम, दाम, दण्ड, भेदका आधारमा बनाइएको शक्ति, हैसियत र सम्मानको आडमा देखाइएको ‘आत्मविश्वास’ले भरिएको रणनीति दमनकारी र छलकारी रहेको देखाएको छ ।

अर्काेतिर ती कुमारीका बुबाले गरेको प्रतिवादले भने पसिनाको सुगन्ध र सीपको सौन्दर्यमा रमाउने समुदायलाई कमजोर आत्मविश्वास भएको र हीनभावनाको सिकार भएको अर्थमा गरिने व्याख्याबारे पुनर्विचार गरिनुपर्ने संकेत गरेको छ ।

आफ्नै सुस्त मन:स्थितिकी विद्यार्थीमाथि करणी गर्ने अभियुक्त शिक्षकको मामिलामा ज्ञान, शक्ति र स्वार्थसँगै अनैतिकता कसरी सँगसँगै गाँसिएको हुन्छ भन्ने तथ्य एकसाथ देखिएको छ ।

उनको अनैतिक आचरणलाई धामी लगायत बडा नागरिकले गरेको सहयोग हेर्दा धार्मिक र जातीय राजनीति पनि प्रकट भएको छ । त्यतिमात्रै होइन, उनीहरूले आफूले सदियौंदेखि खाइपाइ आएको सामाजिक हैसियत र हलियाहरूको श्रमशोषणबाट प्राप्त शक्ति–सम्पत्तिको आडमा दलितहरूमाथि आज पनि कसरी उत्पीडन गर्छन् भन्ने तस्बिर देखिएको छ ।

यस प्रकरणलाई समाजशास्त्रीय ढंगबाट हेर्दा हलिया र मालिक समुदायबीच सम्पत्ति र श्रमका कारण बनेको सामाजिक र सांस्कृतिक सम्बन्धको जटिलता देखिएको छ । त्यही जटिलताबीच शक्ति–सम्बन्धमा दरार देखिएको र त्यसले द्वन्द्वसँगै प्रतिरोधको गुञ्जायस बढाएको अनुभूत गर्न सकिन्छ ।

दलित र गैरदलित समुदाय बीचको असमान सामाजिक सम्बन्ध, तल–माथिको शक्ति संरचना, त्यसको राजनीतिमा धाँजा फाट्न लागेको तथ्य प्रकट हुनथालेको छ ।

यस प्रकरणमा अभियुक्तलाई साथदिने धामीबाट प्रयोग भएको धार्मिक अस्त्रको गहन आयाम छ । स्कुल व्यवस्थापन समितिका सदस्यसमेत रहेका धामीले सुरुमा मेलमिलाप गराउन खोजे, त्यसपछि ‘एउटै वनजंगल, पानीपँधेरो चलाउनेहरूले उजुरबाजुर गर्दा देउता रिसाउने’ कुतर्कको खेती गरे ।

कानुनी उपचारको बाटोमा गएमा पीडितसँग देउता रिसाउने र देउताको श्राप लाग्ने त्रास देखाए । जबकि उनीहरू दलितलाई देउताथान पस्नसमेत दिँदैनथे, ‘तल्लो’ जातलाई देउताको ‘आशिर्वाद’ बाँड्नुपर्ला भनेर । आशिर्वाद नलाग्ने वा देउता नै नभएको मानिने समुदायमाथि कसरी श्राप लाग्छ भन्ने प्रश्न उठ्छ नै ।

यसै क्रममा बलात्कारको मुद्दा उठाएर द्वन्द्वमा गइयो भने ‘सामाजिक सद्भाव बिग्रने’ त्रास देखाएर घटनालाई मिलाउन खोजियो । ‘माथिल्लो’ जातको उत्पीडन सहेसम्म मात्रै नबिग्रिने खालको थियो, ‘सामाजिक सद्भाव’ ।

समाजको पिँधमा पारिएका दलितले उत्पीडन सहेर बस्दा सामाजिक सद्भाव कायम हुने, उत्पीडन विरुद्ध आवाज उठाउँदा सामाजिक सद्भावमा खलल पुग्ने !

प्रभुत्वशाली वर्गको बर्चस्वशाली परिभाषाको राजनीतिबाट दलित समुदायको प्रतिरोधलाई मत्थर पार्न खोजियो । न्याय मागिँदा पैसा दिएर मुख थुन्न खोजियो र त्यसको प्रतिवाद भएपछि डरधम्की देखाइयो, ‘सामाजिक सद्भाव नबिगार्ने उद्देश्यका साथ ।

हुन त पञ्चभलाद्मी, स्कुल व्यवस्थापन समिति, वन उपभोक्ता समिति, मानवअधिकारवादी समुदाय, महिला अधिकारवादी समूह र राजनीतिक दल लगायत समाजका सबै ठालुहरूको जमात उत्पीडकको पक्षमा उभिए भने उत्पीडितको पक्षमा चार–पाँचजना दलितमात्रै ।

किनभने अधिकांश दलित हलिया छन्, मालिकको सेवा नगरी जसको चुल्हो नै बल्दैन । आर्थिक सम्बन्धमा फेरबदल र राजनीतिक चेतनामा वृद्धिका कारण उजुरी दिने र साक्षी बस्ने अवस्था भने बनेको छ ।

एकातिर देउता रिसाउने र वैकुण्ठबास नहुने त्रास, अर्काेतिर मुखमा माड नलाग्ने डर यस्तो माखेसाङ्लोलाई दलित समुदायले कसरी भत्काउने ? त्यसैले रजनीकान्त शास्त्रीले ‘दलितहरूबाट क्रान्तिको आस गर्नु बन्ध्या गर्भबाट पुत्र प्राप्तिको आशा गर्नु जस्तै हो’ भनेको हुनसक्छ ।

तर दलितभित्र र बाहिर बनाइएको जात व्यवस्थाको पर्खालले उत्पीडन विरोधी प्रतिरोधलाई छेकिराखेको छ । डा. अम्बेडकरले भनेझैं जात व्यवस्था श्रम विभाजनमात्र हैन, श्रमिकहरूकै विभाजन हो ।

यसले दलित–दलितबीच मात्रै होइन, अन्य वर्ण/जातका श्रमिक वर्गसँग एकगठ बनाउन बाधा हालेको छ ।

यसमा अगुवाइ गर्नुपर्ने राजनीतिक दल, विशेषत: वामदलले यस प्रकरणमा पीडितको पक्ष लिएनन्, बरु प्रभुत्वशाली वर्ग र उत्पीडकको पक्ष लिए । घोषित दर्शन, सिद्धान्त, राजनीतिलाई जात व्यवस्थाले लत्याइदियो ।

भिन्नाभिन्नै दर्शन, सिद्धान्त, राजनीति बोकेको दाबी गर्ने नेता–कार्यकर्ताले ‘उच्च’ जातका पुरुष अभियुक्तकै पक्ष लिएर अहिले पनि ‘जातबाहेक अरू सबै मिथ्या हुन्’ भन्ने तथ्य प्रमाणित गरे ।

नत्र किन कुनै पनि राजनीतिक दलका नेता, मानवअधिकारवादी, विशेषगरी महिला अधिकारकर्मीहरूले चुइँक्क बोल्न सकेनन् त ? कसरी फरक–फरक राजनीतिक दर्शन बोक्ने नेताका शब्द, ताल र लय जात व्यवस्थाकै रागमा ढालिए ? प्रश्न विचारणीय छ ।

यस घटनामा उत्पीडककै पक्षपोषण हुनुमा जात व्यवस्था नै मुख्य कारकतत्त्व रहेको छ ।

विडम्बना, हाम्रो राज्य र समाजका अधिकांश अगुवा नै जात/वर्ण, वर्ग र लिङ्गको प्रभुत्व लाद्न अगुवाइ गर्दैछन् । दलित अभियन्ता आहुतिले भनेझैं उनीहरूका दिलदिमाग हिन्दु सामन्तवादबाट ग्रस्त छ ।

विशिष्ट किसिमको हिन्दु सामन्तवादले छुवाछूत र भेदभावमात्रै गरेको छैन, अनुल्लंघनीय श्रम विभाजन तथा जातका आधारमा सामाजिक, आर्थिक र राजनीतिक हैसियत पनि निर्धारण गरेको छ ।

यसकै छाया प्रहरी, प्रशासन, न्यायालय लगायत अधिकांश सामाजिक राजनीतिक संघ/संस्था र तिनको नेतृत्वका अभ्यासमा देख्न पाइन्छ ।

अब ती कुमारीजस्ती हलिया वा दलित बच्चीमाथि भएको यौन उत्पीडनको मुद्दामा जात व्यवस्था वा हिन्दु सामन्तवादले जन्माएको पुरातन मानसिकताबाट टिप्पणी, बहस, सुनवाइ वा फैसला नहोउन्, यही हाम्रो कामना छ ।

कुनै पनि अगुवा, नेता वा न्यायाधीशले ‘स्वविवेकको अधिकार प्रयोग’ गर्दा आफूलाई जात, धर्म, समुदाय वा लिङ्गको प्रभुत्वशाली वर्गको पक्षपोषण गर्ने ‘सामाजिक सद्भाव’लाई यथावत राख्ने कि सबैको न्याय र मानवीय मर्यादा प्रबद्र्धन गर्ने खालको सामाजिक सद्भाव स्थापना गर्नतिर लाग्ने, कठोर छनोट गर्नुपर्ने साहस चाहिएको छ ।

प्रकाशित: जेष्ठ ६, २०७३

http://kantipur.ekantipur.com/news/2016-05-19/20160519072614.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: