जागरण मिडिया सेन्टर

Home » अन्य » यसरी बदलियो सिंगो समुदाय

यसरी बदलियो सिंगो समुदाय

अवधेशकुमार झा

२०७३  जेष्ठ १७, जागरण मिडिया सेन्टर

जेष्ठ १५, २०७३- कुनै बेला समाजमा सिनो फाल्ने भनेर अपहेलित बनेका चमार जातिको हाल पहिचान फेरिएको छ। १७ वर्षअघि सिनो फाल्ने परम्परागत पेसालाई बहिष्कार गरेका यी जाति आत्मसम्मानसाथ जिउन थालेका छन्। शिक्षा र रोजगारीमा उल्लेख्य प्रगति गरेपछि उनीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा समेत फेरिएको छ।

‘सिनो फाल्ने समयमा यही समाजमा पाएको अपमानको अहिले कल्पना पनि गर्न सक्दैनौं,’ सप्तरीको कोचाबखारी गाविस ६ लोखरमका ७० वर्षीय वृद्ध ढकाई रामले भने, ‘त्यो दिन सम्झिँदा हामी पशुजस्तै थियौं। सिनो बहिष्कारपछि बल्ल हामी मानवमा पुनर्जन्म भएका हौं, बहिष्कारअघि त चमारसित मानव जस्तो होइन, पशुभन्दा पनि नीच व्यवहार हुन्थ्यो।’

चमार जाति आबद्ध संस्थाहरूले आफ्नो जनसंख्या नेपालमा १० लाखभन्दा बढी भएको बताउने गरे पनि राष्ट्रिय जनगणना २०६८ अनुसार यो संख्या ३ लाख ३५ हजार ८ सय ९२ छ। तीमध्ये महिला १ लाख ६६ हजार ६ सय ८७ र पुरुष १ लाख ६९ हजार २ सय ६ छन्। भौगोलिक हिसाबले सबभन्दा बढी तराई क्षेत्रमा ३ लाख ३३ हजार ६ सय १२ जना चमारको बसोवास छ। हिमाली क्षेत्रमा २ हजार १ सय ९९ र पहाडी क्षेत्रमा ८२ जना रहेको जनगणना २०६८ को तथ्यांकमा उल्लेख छ।

कसरी सुरु भयो सिनो बहिष्कार आन्दोलन?
केही गैरसरकारी संस्थाको कार्यक्रमको प्रभावबाट केही जागरुक युवाले सप्तरीका चमार समुदायले ०५६ सालको सुरुवातमा सप्तरीको मधुपटी गाविसको कनकपुर गाउँबाट सिनो नफाल्ने अडान लिए। बलदेव राम, दुखी राम लगायतका चमार जातिका अगुवाहरूले बहिष्कार आन्दोलन चलाएपछि त्यसको ठूलो प्रभाव पर्‍यो। तर उपल्लो जात बताउनेहरूले सिनो न फालेको भन्दै स्थानीयस्तरमा चमार जातिलाई बाटो हिँड्न नदिने, रोजगारीबाट हटाउने लगायतका कार्य गर्न थालेको वृद्ध बलदेव राम सम्झन्छन्। ‘त्यसबेला हामीलाई नाकाबन्दी गरियो, बाटोसमेत हिँड्न दिइएन,’ उनले भने।

चमार जातिको मधुपटी गाविसको कनकपुरबाट सुरु भएको सिनो बहिष्कारसम्बन्धी समाचार कान्तिपुर र दि काठमान्डू पोस्ट दैनिकमा प्रकाशित भएपछि उक्त जातिका अगुवाले उक्त समाचारको कटिङको फोटोकपी गरी सप्तरी र सिरहाका चमार बस्तीमा प्रचारस्वरूप बाँडे। ‘कान्तिपुरको त्यही समाचार सिनो बहिष्कारका लागि चमार जातिलाई संगठित हुने चेतना प्रवाह गर्‍यो,’ बहिष्करण आन्दोलनका अगुवा वृद्ध बलदेवले भने।

त्यसपछि मधुपटी, दौलतपुर, हर्दिया र पिप्रापश्चिम गाविसलगायत सप्तरीको उत्तरी क्षेत्रका चमारहरू संगठित भएर सिनो फाल्ने काम नगर्ने अडान लिए। गाउँमा कथित उपल्ला जातकाले ती गाउँसहित सप्तरीकै हरिहरपुर, कोचाबखारी लगायतका ठाउँमा चमारलाई नाकाबन्दी गरे। तैपनि चमार जातिले सिनो नफाल्ने अडानमै बसे।

०५६ सालकै चैत १० गते सप्तरीसँग जोडिएको सिरहाको लहानस्थित मटिअर्बामा स्थानीय हरिलाल चौधरीको पाडा मर्दा चमार जातिले नफाल्ने अडान दोहोर्‍याएपछि स्थानीय चौधरी समुदायले चमार जातिलाई नाकाबन्दी गर्दै बाटोघाटो हिँड्न नदिने, पसलमा सरसामान र औषधिमुलो नदिनेलगायत मानवताविरोधी कार्य गरेपछि घटनाले राष्ट्रियस्वरूप हुँदै अन्तर्राष्ट्रियकरण भएको नेतृत्वकर्ता बलदेव सम्झन्छन्।

बहिष्कारपछि केही दिन कठिन
सिनो बहिष्कारको अडानमा चमारहरू कायमै रहेपछि केही महिना चमार जातिलाई घर व्यवहार चलाउन निक्कै कठिन भयो। ‘अन्य समुदायले केही नदिने र आफू आर्थिक, शैक्षिक र सामाजिक रूपमा सबल नहुँदा केही महिनासम्म जीविका चलाउन निक्कै संघर्ष गर्नुपर्‍यो,’ दलित आन्दोलनका अगुवा विनोद विशंखे भन्छन्, ‘धेरै अपमान सहेर चमारलाई केही दिनसम्म बाँच्नुपर्‍यो।’

०५६ सालको चमार आन्दोलनमा सहयोगी सप्तरीका पत्रकार वैद्यनाथ झा भन्छन्, ‘सिनो बहिष्करणपछि केही दिन चमार जाति घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन।’ सिंगो जातिलाई आर्थिक, सामाजिक, शैक्षिक रूपमा सुधार गरिएको बहिष्करण आन्दोलनले सुरुवातका केही दिन दु:खद रहे पनि पछिल्ला वर्षहरूमा चमारको जीवनशैली सुखद रूपमा फेरिँदै गएको चमार अगुवाहरूको विश्लेषण छ।

मधेस मामिलाका जानकार तुलानारायण साह भन्छन्, ‘सिनो बहिष्कार आन्दोलन छुवाछूत र सामाजिक कुसंस्कार विरुद्धको आन्दोलन थियो, त्यो आन्दोलनपछि सामाजिक रूपमा चमार जातिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो, हेलाँको नजरले देखिने चमारप्रति पनि सम्मान बढ्यो र उनीहरू समाजमा सम्मानका साथ जिउन थाले।’ ‘सिनो बहिष्कार आन्दोलनले चमार जातिको आत्मसम्मान त बढ्यो तर आर्थिक अवस्थामा धेरै सुधार आउन सकेन,’ साह भन्छन्, ‘त्यसैले राज्यका तर्फबाट आर्थिक सबलीकरणको कार्यक्रम ल्याउनुपर्छ।’

सिनो बहिष्कारको १७ वर्षपछि
परम्परागत सिनो फाल्ने काम नगर्ने घोषणा आन्दोलनको १७ वर्ष पूरा भएको छ। पछिल्ला वर्षहरूमा चमार जातिको आर्थिक अवस्थामा उल्लेख्य सुधार हुन नसके पनि समाजमा सम्मान, आत्मसम्मान, शिक्षाप्रति आकर्षण र वैकल्पिक रोजगारीमा जानुले चमार जातिको जीवनशैली अहिले फेरिएको छ।

‘सिनो फाल्दासम्म चमार जातिले छोराछोरी पढाउनु हुँदैन भन्ने मान्यता राख्थे किनभने पढाइलेखाइ गरे पनि सिनो फाल्नैपर्छ भन्ने धारणा थियो,’ सप्तरी कोचाबखारी ६ लोखरमका वृद्ध ढकाई रामले भने, ‘त्यसपछिका पुस्ता शिक्षादीक्षामा जान थालेका छन्।’ ३० घर चमार बसोवास रहेको लोखरम टोलमा १० जना एसएलसी पास गरेका छन्।

घर बनाउने राजमिस्त्रीको पेसा अँगालेको सोही काम गर्दै आएका अमोद रामले भने। यस्तै लोखरम टोलकै १२ जना चमार युवा वैदेशिक रोजगारीका लागि साउदी अरब र मलेसिया गएका छन्। केही युवा रोजगारीका लागि पञ्जाब गएका छन्। लोखरम चमार बस्तीका सबैका घरमा एउटा दुईवटा गाई पालिएको छ। बालबालिकाहरू नियमित विद्यालय जान थालेका छन्। केहीले सिलाइको काम सुरु गरेका छन् भने केहीले ब्यान्ड पार्टी खोलेर रोजगारी सुरु गरेका छन्।

३० परिवारको सानो बस्ती रहेको लोखरममा मात्र होइन, सय/दुई सय परिवार रहेको जिल्लाका अन्य चमारबस्तीमा जीवनशैली फेरिँदो छ। ‘सिनो फाल्दासम्म समाजमा हामीलाई हेरिने घृणाको नजर परिवर्तन भएको छ,’ लोखरमका वृद्ध सुखराम रामले भने, ‘पहिला पढ्न जाँदा विद्यालयमा हेलाँ गरिन्थ्यो, चमारका छोराछोरी भन्दै छेउमा बस्न दिँदैनथे तर अहिले त्यसमा धेरै हदसम्म सुधार भएपछि हाम्रा छोरानाति पनि विद्यालय जान सकिरहेका छन्, शिक्षा आर्जन गरिरहेका छन्।’

‘अब चमार पनि शैक्षिक उन्नतिमा लागिसकेका छन्,’ चमार आन्दोलनमा लागेका युवा गणेश राम भन्छन्, ‘सप्तरीको मधुपटीमा मात्र ३ जना स्नातकोत्तर सकेका छन्। एसएलसी, प्रवीणता प्रमाणपत्र तह र स्नातक गर्नेहरूको संख्या सबै गाउँमा बढदै गएको छ। बहिष्करण आन्दोलनले संगठित हुने अवसरका साथसाथै शैक्षिक र सामाजिक स्तर पनि बढायो,’ उनले थपे, ‘आर्थिक रूपमा सबल नहुँदा अहिले शिक्षा आर्जन गर्न समस्या छ।’

वैदेशिक रोजगारीमा गएर दुई वर्ष मलेसिया बसेर आएका लोखरमकै चमार युवा प्रमोद राम त्यहाँबाट कमाएर ल्याएको पैसाले कुखुरा फर्म सञ्चालन गर्ने तयारीमा छन्। उनलाई आफन्त सप्तरीकै गरुराहका हरिलाल रामले पनि साथ दिएका छन्। हरिलाल भन्छन्, ‘हामी वैकल्पिक रोजगारीमा लाग्यौं, हामी पनि आफ्नो खुट्टामा आफैं उभिने अवस्थामा पुग्न चाहन्छौं।’

वैदेशिक रोजगारीका साथसाथै गाउँका व्यापार गर्ने, व्यान्ड पार्टी सञ्चालन गर्ने चमार युवाको पनि कमी छैन। घर परिवार चलाउन चमारहरू पछिल्लो समय विभिन्न पेसा अँगाल्दै आएका छन्।

‘सिनो बहिष्करण आन्दोलनको १७ वर्षपछि अहिले हामीले स्वतन्त्रता महसुस गरिरहेका छौं,’ आन्दोलनको नेतृत्वकर्तामध्येका एक वृद्ध बलदेव राम भन्छन्, ‘सामाजिक पीडा र रुढिवादी परम्पराले असहजता पार गरेपछि हामीले संगठित भएर आन्दोलन थालेका थियौं, त्यसको उपलब्धि अहिले देखिँदैछ।’

‘सिनो बहिष्कारपछि हामीले स्वतन्त्रतापूर्वक नेपाली भएर बाँच्न पायौं,’ बलदेवले थपे, ‘तर अझै पूर्णरूपमा स्वतन्त्र हुन बाँकी छ।’

खाँचो भूमि र मुक्तिको
सिनो बहिष्कारको आन्दोलनपछि सामाजिक रूपमा सम्मान पाएर जीवनशैलीमा सुधार गर्दै आएका चमार जातिको प्रमुख समस्या जग्गा जमिन नहुनु हो। तराईका विभिन्न जिल्लामा बसोवास गर्दै आएका चमारहरूमध्ये अधिकांशको घर आफ्नो जग्गामा छैन, भूमिहीन छन्। कोही ऐलानी जग्गा त कोही जमिन्दारको जग्गामा घर बनाएर जीवनयापन गर्दै आएका छन्।

‘परम्परागत पेसा छोडेर वैकल्पिक पेसा अँगाल्दा हामीलाई आफ्नै खुट्टामा उभिनै केही वर्ष लाग्यो, कहाँबाट जग्गा किनेर घर बनाउनु?,’ बलदेवले भने, ‘चराको पनि बस्ने एउटा सुरक्षित गुँड हुन्छ तर हामी मानव भएर जन्मिँदा पनि सुरक्षित बास पाउन सकेका छैनौं।’ ‘गाउँ ब्लकको जग्गामा घर बनाएर बसेका छांै तर गाउँका टाठाबाठाले जतिबेला पनि घर भत्काइदिने धम्की दिन्छन्,’ मौवाहा २ का गुलेत रामले भने, ‘राज्य प्रदत्त अधिकारको पनि हामीले उपभोग गर्नबाट बञ्चित छौं।’

राज्यले चमारजातिले बसोवास गर्दै आएको सरकारी भूमि उनीहरूकै नाममा हस्तान्तरण गरेर चमार जातिलाई पूर्ण स्वतन्त्र बनाउनुपर्ने बलदेव रामको भनाइ छ। ‘जुन भूमिमा बस्यौं त्यो भूमि नै हाम्रो होइन,’ उनले थपे, ‘हामी पनि नेपाली नागरिक हौं, गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यमा संविधानप्रदत्त अधिकार हामीले पनि उपभोग गर्न पाउनुपर्छ, जसले हामीलाई पनि पूर्ण स्वतन्त्रताको अनुभूति हुन सकोस्।’

यस्तै कृषि पेसाअन्तर्गत वर्षौंदेखि हरूवाचरुवाका रूपमा रहेका चमारलाई पनि सोबाट मुक्त गर्नुपर्ने चमार अगुवाहरूको भनाइ छ। हरूवाचरुवा जस्तै पश्चिम नेपालमा रहेको हलिया प्रथा उन्मूलन गर्न राज्य र राजनीतिक दलको तदारुकता देखिए पनि पूर्वी नेपालमा रहेको हरूवाचरुवा प्रथा अन्त गर्न र उनीहरूको जीवनस्तर उकास्नेबारे राज्य र दलहरूको कुनै चासो र चिन्ता नदेखिएको राष्ट्रिय भूमि अधिकार मञ्चका पूर्वअध्यक्ष समेत रहेका बलदेव रामको भनाइ छ।

‘जति रोए/कराएर आवाज उठाए पनि हाम्रा माग सुन्नेवाला केही छैनन्,’ खोजपुरकी राजकुमारदेवी रामले भनिन्, ‘जुलुस नारा गर्दै आवाज उठाउँछौं, कतैबाट केही लाग्दैन फेरि फर्केर आफ्नो भाग्य नै यस्तै भन्दै घर फर्किन्छौं।’ सकारात्मक रूपमा स्वतन्त्रतापूर्वक बाँच्न सिकेका चमारलाई लक्षित गरी सरकारले रोजगारी र आर्थिक सबलीकरणको कार्यक्रम ल्याउनुपर्ने चमार अगुवाहरूको धारणा रहेको छ।

http://kantipur.ekantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: