जागरण मिडिया सेन्टर

Home » अन्य » ‘जे बिक्छ, त्यही ठीक छ भन्ने सोच गलत’

‘जे बिक्छ, त्यही ठीक छ भन्ने सोच गलत’

अनिल यादव

२०७३ असार २८,जागरण मिडिया सेन्टर ।

‘जे बिक्छ, त्यही ठीक छ भन्ने सोच गलत’

आइतवार राजधानीस्थित नेपाल पर्यटन बोर्डमा नेपाल स्वतन्त्र फिल्म मेकर्स सोसाइटी र नेपाल पोलिसी सेन्टरको आयोजनामा भएको ‘नेपाली चलचित्र र टेलिभिजनमा महिला, जनजाति, दलित र मधेशीको चित्रण’ विषयक बहसमा साहित्यकार एवम् चिन्तकआहुतिले राखेको विचारः

संसारको इतिहास हेर्यो भने एउटै सभ्यता अर्थात् एउटै भाषा, एउटै संस्कृतिका मनोविज्ञानका मान्छेहरूको बीचमा हुने भेदभावको चरित्र वर्ग संरचनाले निर्माण गरेको देखिन्छ । फरकफरक सभ्यता एक ठाउँमा जब केन्द्रित भएका हुन्छन्, त्यहाँ चाहिँ वर्गले मात्र काम गरेको देखिँदैन । त्यहाँ चाहिँ फरक–फरक सभ्यताले निर्माण गरेका केही अहंकारहरूले पनि काम गरेको देखिन्छ । यी दुई खालेलाई अलि छुट्टयाएर बुझ्नुपर्छ जस्तो मलाई लाग्छ । अब नेपाली समाजमा चाहिँ दुइटै कुरा घुलमिल छन् ।  यहाँ फरकफरक सभ्यताका मान्छे पनि एकै ठाउँमा छन् । र, प्रत्येक सभ्यताको मान्छेले एउटा अहंकारसहित अर्कोलाई हेर्दछ । त्यस्तै, अहंकारसहित अर्कोलाई हेर्नेमध्येको एउटा चाहिँ निरन्तर शासनमा छ । अहंकार त सबैसँग हुन्छ । अहंकार मात्र नभनीकन गौरव भने पनि हुन्छ त्यसलाई । जस्तो कि, काठमाडौँ उपत्यकाका नेवारहरूले पहिला चारवटा समुदायलाई  तल राखेर बुझ्ने मनोविज्ञान थियो । मस्र्या(मधेशी) , स्याँ (भोटे), मुस्मा (मुसलमान) र खे (पर्वते र खस आर्य) । यतिलाई हेर्ने तिनीहरूको मनोविज्ञान थियो– ‘यिनीहरू चाहिँ तल्ला हुन् ।’ एउटा मिसनका रूपमा विकास भइसकेको सभ्यताले एउटा गर्व या अहंकारसहित हेर्दोरहेछ अर्कोलाई ।

नेपालमा भइदियो के त भन्दाखेरि एउटा सभ्यता जो खस आर्य सभ्यताका रूपमा स्थापित भयो, त्यसले चाहिँ सिंगो नेपालमा पृथ्वीनारायण शाहको राज्यविस्तारपछि शासन ग¥यो । र, त्यसले बिस्तारै एउटा भाष्य निर्माण गर्दै आयो । एउटा सत्यजस्तो भाष्य निर्माण गर्दै आयो । आँखा कस्तो राम्रो ? यस्तो राम्रो । रङ कुन राम्रो ? यो राम्रो । फूल कुन राम्रो ? यो राम्रो । डाँडामा बसेर घाम झुल्केको हेर्दा राम्रो । हिमाल नचढ्ने तर चिमाल फुल्ने डाँडाबाट हेरेको हिमाल राम्रो । हिमाल त नजाने । चिमाल फुल्ने डाँडापछाडि त हिउँ पर्छ । चिमाल फुल्ने  डाँडासम्म जाने फोटोसोटो खिच्ने अनि ‘हाम्रो हिमाल कति राम्रो’ भन्दै गीत लेख्ने । हिमालमै तीन हजार वर्ष बिताएर फोक्सै ठूलो पारेको शेर्पाले लेखेको गीत त होइन । भनेपछि यसरी सत्ताले निरन्तर आफ्नो सत्तालाई टिकाउनका निम्ति सौन्दर्य मूल्यहरूलाई अरूमाथि लाद्दै जाने, सोच्ने तरिका त्यस्तो बनाउँदै जाने, र एउटा लतको रूपमा विकास गर्ने ! लत भन्नाले, उदाहरणका रूपमा, बिहान उठ्नेबित्तिकै महिलाले चिया बनाउने । र, त्यसै गरी दिनदिनै बनाएर पुरुषलाई दिँदा आनन्द पनि आउने । गर्दै गर्दै गर्दै गर्दै एक दिन होइन, दुई दिन होइन, हजारौँ वर्षसम्म त्यसो गर्न नचाहने महिलाई गाली गरेर, पिटेर होस् या जसरी गराएर एउटा ‘न्यारेटिभ’ अर्थात् सोच्ने चिन्तनको तरिकाको एउटा पाइपमा हाल्देको छ सत्ताले । मान्छेहरू पाइपभित्रै जिन्दगी सिध्याउने । पाइपभित्र हाल्देर बन्द गरिदिएपछि रोए पनि त्यहीँभित्र रुनुपर्ने, हाँसे पनि त्यहीभित्र हाँस्नुप¥यो, गीत गाए पनि त्यहीँभित्र गाउनुप¥यो । नेपाली सिनेमाको धार शासकीय धार हो । म चाहिँ मूलधार भन्दिनँ, शासकलाई मन पर्ने उसको सेवा गर्ने धार भन्न रुचाउँछु । शासकीय धारले त्यही ढलभित्रको गीत गाइराखेको हो । उनीहरूलाई एउटा सोच्ने तरिकाको ढलभित्र हालिदिएको छ । त्यहाँभित्र उसले रुन्छ पनि, गाउँछ पनि । सबै गर्छ तर ढलभित्र मात्र गर्छ, त्यहाँभन्दा बाहिर निस्कन सक्दैन । त्यसैले मेरो विचारमा सत्ताले आफ्नो रक्षा गर्नका निम्ति निर्माण गर्ने भाष्यको कुरा हो यो । नेपालमा भएकै त्यही हो । अनि, त्यो उत्पीडितहरूकोमा पर्दै जान्छ । दलितलाई हामी भनेको खत्तमै हौँ भन्ने खालको सोच पर्दै जान्छ । तीन हजार वर्षअघि कसैले हामीलाई त्यस्तो गर्न पाइँदैन भने होलान् । त्यसलाई ठोकियो । अनि, नातिले त बिर्सियो । हुँदै हुँदै उसको मनोविज्ञानमा पनि हामी यस्तै हौँ भन्ने पर्दै जान्छ । जनजातिलाई मेरो नाक नराम्रो हो भन्ने पर्दै जान्छ । भन्या छ, भन्या छ, भन्या छ कि उसको सोच त्यस्तो भइदिन्छ । जस्तो, मलाई २५ वर्षसम्म मेरो अनुहार हेर्दा दिक्क लाग्थ्यो । आमाले नै भन्थिन्, ‘यो कान्छो चाहिँ कालो जन्मियो ।’ दुश्मनले भन्या भए त अलि फरक पथ्र्यो होला तर आमाले नै त्यस्तो भनेपछि ‘कालो’ भनेको त खत्तमै रैछ भन्ने दिमागमा प¥यो ।

भाष्य निर्माण यसरी सर्दै जाँदो रहेछ । अहिले धेरैजसो नेपाली महिलालाई लाली किन नलगाएको भन्दा रिस उठ्ने तहमा पुगिसक्यो । किन होला ? भनेर खोज्ने कुरा छैन । अब त रिस उठ्ने । त्यो नलाउँदा त सुन्दर नहुने भन्ने मान्यता भइसक्यो । साँच्चिकै त्यो नलाउँदा सुन्दर भइँदैन त ? भन्ने सोच्नेभन्दा पनि अब त त्यो सोध्यो भने पनि रिस उठ्ने स्थिति आइसक्यो ।

कला क्षेत्रमा दर्शकले त्यही मन पराइरहेको छ भन्ने खाले जुन मानसिकता छ, त्यो विशेष न्यारेटिभ हो । पुरानो शासक वर्गीय अर्थात् शासकीय मूलधारले निर्माण गरेको एउटा अवधारणा हो यो । नेपालमा महेन्द्रले शासन सुरु गर्नुभन्दा पहिले अथवा त्योभन्दा पहिले स्वस्थानीमात्र पढाइन्थ्यो । बहुसंख्यक हिन्दूहरू त्यहीमात्र पढ्न रुचाउँथे । त्यसो भए महेन्द्र माला भन्ने किताब किन पढाउन थालियो त ? कुनै पनि समाजको बनावटलाई हे¥यो भने खास स्तरमा चित्रण भएको समाजको चेतनाको बहुसंख्यक चेतना भन्या चाहिँ यथास्थितिवादी हुन्छ । समाजमा त्यहाँका उत्पादक शक्तिहरूले विकास गरेर जब अगाडि जानुपर्ने आवश्यकता खड्किन्छ, त्यसपछि त्यो अगाडि जाने चेतनाले बहुसंख्यक चेतनालाई ‘गाइड’ गर्नुपर्छ । अनि मात्र सांस्कृतिक रूपमा रूपान्तरण हुने कुरा आउँछ ।
अब अमिताभ बच्चनको फिल्म सबैभन्दा बढी बिकिरा’को छ भनेर त्यस्तै देखाइरहनुपर्छ भनेर टेलिभिजनको संस्थामा समेत काम गर्नेले भन्छ भने त यो त ‘आतंक’ भयो । जे बिकिरा’छ, त्यही ठीक छ, त्यही देखाउनुपर्छ भन्नु त डरलाग्दो कुरा हो ।

अहिले महिलाहरू घरघरमा बन्दी छन् । उनीहरू हाँसिरहेका छन्, खुशी छन् त किन चाहियो नयाँ परिवार ? किन चाहियो नयाँ खालको स्वतन्त्रता ? अहिले पनि बहुसंख्यक मानिसहरू मागी विवाह गरिरहेका छन् त । किन चाहियो प्रेम विवाह ? त्यसैमा प्रेरित गरौँ भन्ने खालको कुरा हो यो । जेलमा पनि गीत गाइन्छ नि । तर, जेलमा गाइएको गीत र बाहिर गाइएको गीतको मर्म र उल्लास एउटै हुँदैन । उत्पीडित मानिसहरू पनि हाँस्छन्, रुन्छन्, सबै कुरा गर्छन् । त्यसो भए त उनीहरू त्यसैमा खुशी छन् भन्नुपर्ने हुन्छ । ‘अछूतहरू अछूत हुनुमा गर्व गरौँ’ं भनेको त्यही खाले चेतना हो । बजारमा चाउचाउ बढी बिक्छ अनि हामी घरमा जंकफुड ठीक छैन भन्ने । जे बिक्छ, त्यही ठीक छ भन्ने हो भने त यसो भन्न पाइएन । त्यसैले यो सोच्ने तरिका ठीक भएन । यो कोणबाट सोच्न थालियो भने त समाज अघि नै बढ्दैन । त्यसैले हस्तक्षेप त गर्नुपर्छ । दुई खाले हस्तक्षेप हुन्छ । एउट हुन्छ, व्यावहारिक राजनीतिक कदमद्वारा हस्तक्षेप । नागरिक भइसकेपछि उनीहरूलाई राजनीति गर्ने अधिकार छ । कोही पार्टीमा लागेर गर्छन्, कोही पार्टीमा नलागीकन गर्छन् । अर्को बहसद्वारा हस्तक्षेप गर्न जरुरी छ । अर्को नयाँ चेतनाको निर्माणद्वारा हस्तक्षेप गर्न जरुरी छ ।

सत्ताले भन्नेबित्तिकै मान्नुपर्ने भन्ने के छ ? छैन नि । यो त हुन सक्दैन नि । यस्तो भयो भने त परिवर्तन कसरी हुन्छ ? त्यसैले मेरो विचारमा यो अवधारणबाट बहस सुरु भयो भने कुनै नयाँ चिज निर्माण हुँदैन ।

सिर्जनामा हाम्रो आफ्नो सभ्यताको, आफ्नो विचारको, अनुभवको पूर्वाग्रह आउन सक्ला कि नसक्ला भन्ने कुरा पनि बहसको विषय हो । त्यो सक्छ र त्यो आउँछ पनि । तर, त्यो सर्जकचाहिँ त्यसप्रति सचेत छ कि छैन ? सचेत छ भने त्यो पूर्वाग्रहलाई घटाउँदै जान मिल्छ । घटाउँदै गएको कुरा जब संसारले देख्छ, उसले त्यसलाई सकारात्मक रूपमा लिन्छ । एउटा सभ्यता, एउटा समाज र एउटा भाषिक परम्परामा हुर्किसकेपछि स्वाभाविक रूपमा दिमागको निर्माण हुँदा त्यसको एउटा पूर्वाग्रह या गौरव या भाष्यसहित नै निर्माण भएको हुन्छ । उसले अर्काको कुरा भन्न खोज्दाखेरि केही पूर्वाग्रह आउन सक्ने सम्भावना हुन्छ । तर, ऊ यदि सिर्जनकर्ममा एउटा सभ्यताले अर्को सभ्यतामाथि दमन हुने खतरा धेरै हुन्छ भन्ने कुरामा सचेत छ भने उसले त्यस्तो हुनसक्ने खतरबाट जोगिनका निम्ति आफ्नो क्रियाकलाप हेर्छ । जस्तो, म टेलिशृंखला ‘दलन’को प्रसंग उठाउँछु । निर्देशक नवीन सुब्बाले पहिले नै ‘म यो निर्देशन गर्न सक्दिनँ, दलितको जीवन देखाउन सक्दिनँ’ भन्नुभयो । पछि मेहनत गरेर गरौँ न भन्ने कुरा भयो । हामीले त्यहाँ सिनो खाएको दृश्य पनि देखाएका थियौँ । तर, त्यो सिनो खाएको दृश्य देखाउँदा सँगसँगै सिनो खान हुन्न भन्ने चेतना पनि छ । कसैले पनि गाली गरेन । कुनै पनि दलितले आएर यो गलत देखायो भनेन नि । त्यसकारण सर्जक चाहिँ कति सचेत छ त्यो विषयमा ? ऊ अरूप्रति कति जिम्मेवार भएर काम गर्छ ? भन्ने कुरा महŒवपूर्ण हो । त्यसो भयो भने उसले सच्याउन थालिहाल्छ । अहिलेका नयाँ कविता हेर्न थालियो भने त्यसमा धेरै कुरा सच्चिन थालेको छ । जस्तो ‘कालो’ विम्ब नै खराबका निम्तिमात्र प्रयोग गरिन्थ्यो । मैले नै गरेको छु । किनकि, त्यतिवेला यो चेतना थिएन । तर, अब म सचेत भइसकेपछि कालोलाई खराबका रूपमा प्रयोग गर्न सक्दै सक्दिनँ नि ।

यहाँ त जे गर्दा मान्छे हाँस्छन्, त्यही गर्दिने सिद्धान्त नै भइदियो । भनेपछि त ऊ सचेत होइन । महिला भनेको पुरुषजस्तै मान्छे हो । कुनै अर्थमा पुरुषभन्दा कम होइन भन्ने सेन्स भयो भने त उसले झुक्किएर गरेको गल्तीमा पनि तुरुन्तै माफी माग्छ नि । त्यसकारणले पूर्वाग्रह आउन सक्छ । तर, सर्जक कति सचेत भएर जान्छ ? त्यसले हल गर्दै जाने कुरा हो ।

http://www.shukrabar.com/news/310

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: