जागरण मिडिया सेन्टर

Home » अन्य » यी गायक, दलित भएकैमा दुई वर्षमा चार डेराबाट निकालिए

यी गायक, दलित भएकैमा दुई वर्षमा चार डेराबाट निकालिए

दीपक परियार

२०७३ साउन २० जागरण मिडिया सेन्टर

images-cms-image-000001491

आयुष परियार पोखरामा परिचित नाम हो। उनी चर्चित लोकदोहोरी गायक हुन्। तर उनी यतिखेर झिटीगुन्टा बोकेर घरि यता घरि उता भौतारिनु परेको छ। आयुष भौतारिनु परेको भाडामा बस्ने कोठा नपाएर हो। ‘दुई वर्षमा ४ ठाउँबाट निकालिएँ,’ उनी भन्छन्, ‘दलित भनेपछि राख्नै खोज्दैनन्।’

आयुष श्रीमतीसँगै पोखरामा बस्छन्। भदौरे तामागीका उनी पोखरा बस्न थालेको १० वर्ष भयो। कलाकार भएर चिनिन थालेपछि कोठा पाउन झन गाह्रो भएको उनको अनुभव छ। ‘मलाई कसैले नचिन्दा कोठा पाउन समस्या थिएन,’ उनले भने, ‘आयुष परियार भनेर मेला, महोत्सव, टेलिभिजनमा देखिन थालेपछि अप्ठेरो भयो।’ कोठा खोज्न जाँदा आफूलाई पहिले नै चिनेर कोठा खालि नभएको भन्दै फर्काइदिने गरेको तितो अनुभव उनी सुनाउँछन्।

दुई वर्षअघि जिरो किलोमिटर चोक नजिकको घरमा उनी करीब १ वर्ष बसे। एक दिन नजिकै घरबेटीको आफन्तको बिहे थियो। उनलाई पनि निमन्त्रणा थियो। बिहेमा आएका निम्तालुले आयुषलाई चिनिहाले। उनलाई गीत गाउन लगाए। बेलुका घर फर्केर आउँदा घरबेटीले भने, ‘भाइ तिमी त परियार पो रहेछौं, कोठा छोड्नुपर्ने भयो।’ आयुषले त्यतिखेर आफूमाथि जातीय विभेद भएकोले कानुनी प्रक्रियामा जाने चुनौती दिए। घरबेटी गले र उनीसँग माफी मागे।

त्यसपछि पनि उनीमाथि अप्रत्यक्ष विभेद हुन छोडेन। ‘सिधैं निस्क भन्न सकेनन् तर बस्ने वातावरण नभएकाले अन्तै सरेँ,’ उनले सुनाए। मालेपाटनमा पनि उनले उस्तै व्यवहार भोग्नुपर्‍यो। एक वर्ष बसेपछि विभिन्न बहानामा कोठा छोड्न बाध्य बनाइयो। उनलाई साउन १२ गते घरबेटीले बास्तुपूजा गर्ने निहुँमा कोठा छाड्न भने। उनले कोठा फेर्दै गए तर मान्छेको नियत फेरिएको देखेनन्।

मलाई कसैले नचिन्दा कोठा पाउन समस्या थिएन, आयुष परियार भनेर मेला, महोत्सव, टेलिभिजनमा देखिन थालेपछि अप्ठेरो भयो

आयुष साउन ५ गते सांस्कृतिक कार्यक्रममा भारतको नयाँ दिल्ली पुगेका थिए। उनलाई श्रीमती सम्झनाले घरबेटीले कोठा छोड्न भनेको खबर गरिन्। आयुषले घरबेटीलाई १० दिनको समय दिन भने। घरबेटीले तुरुन्तै कोठा छाड्न दबाब दिएपछि ससुरा बलराम परियारले कोठा खोज्न थाले। मालेपाटन, पर्साङ, जिरो किलोमिटर वरपर चहारे। धेरै ठाउँमा जात सोधेर कोठा छैन भन्थे। बल्लतल्ल शान्तिनगर चोकमा साउन १२ गते कोठा मिल्यो। सबै सामान सारे।

तर कोठा मिलेको खुसी दुई घन्टा भन्दा टिक्न पाएन। सामान सारिसकेपछि घरबेटी सुष्मा खनालले जात सोधिन्। आयुषका ससुराले भने, ‘परियार।’ घरबेटीले दलितलाई आफ्नो घरमा नराख्ने भन्दै तुरुन्तै कोठा सर्न भनिन्।

घरबेटी सुष्मा खनालले सुरुमा कोठा भाडामा दिएको तर दलित भन्ने थाहा पाएरै निकालेको आयुषले बताए। खनालले सुरुमा जात थाहा नभएर भाडामा दिएको स्वीकारिन्। ‘म बाहिर गएर केही खान्न, आफ्नै घरभित्र चोखोनिष्ठ गर्छु भन्दा किन पाउँदिन?’ खनालले भनिन्।

‘त्यही घरमा अरुलाई कोठा भाडामा दिनु हामीलाई नदिनु सरासर जातीय विभेद हो,’ आयुष भन्छन्। आयुषले यसविरुद्ध कानुनको ढोका ढक्ढक्याउने बताए। ‘सधैं कति चुप लागेर बस्ने,’ उनले भने, ‘अब सबैले बोल्न सक्यौं भने मात्रै विभेद कम हुन्छ।’
सार्वजनिक मात्र नभई निजी ठाउँमा पनि जातीय आधारमा विभेद गर्न नपाइने नेपालको संविधानमै उल्लेख छ। जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन) २०६८ ले जातीय विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद, पाँच हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवानासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।

शान्तिनगर चोकबाट आयुष दुई दिनपछि पस्र्याङ सरे। उनलाई घरबेटीले बास दिए। कोठा सर्ने बेला घरबेटीले भनेछन्, ‘भाइ मलाई केही समस्या छैन तर छेउछाउमा दलित हुँ भनेर नभन्नु है।’

– See more at: http://dalitonline.com/archives/13780#sthash.NyJpe0fR.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: