जागरण मिडिया सेन्टर

Home » अन्य » मेहनतले बस्ती मात्र फेरिएन, आत्मसम्मान पनि बढ्यो उज्येलिएको एउटा ‘डोम’ बस्तीको कथा –

मेहनतले बस्ती मात्र फेरिएन, आत्मसम्मान पनि बढ्यो उज्येलिएको एउटा ‘डोम’ बस्तीको कथा –

२०७३ भाद्र १३,जागरण मिडिया सेन्टर,

29082016114749Doom-Wasti3-1000x0

जितेन्द्र साह, काठमाडौं

भाद्र १३, २०७३- तराईको अधिकांश भेकमा अन्य जातिकाले डोमलाई अझैसम्म अछूत मान्छन्। आफ्नो बराबरीमा बस्न दिंदैनन्। उनीहरूको हातको पानी पिउँदैनन। छोएको खाँदैनन् । यस्तोमा मधेसकै एक गाउँमा अरू जातिकाले डोमको घर बहालमा लिएर बसेको, उनीहरूकै भान्छा, धारा एवं शौचालय प्रयोग गरेको सुन्दा अचम्म लाग्न सक्छ।

नेपाल टेलिकमका सुरक्षाकर्मी सञ्जय खड्का र प्रहरी जवान साँगी शेर्पाले मोरङको कटहरी–१, आदर्शनगरस्थित डोम समुदायका विनोद मरिकको सुन्दर पक्की घर बहालमा लिएका छन्। काभ्रे पाँचखाल–१६ का खड्का श्रीमती र दुई छोरासहित एवं इलाम देउमाई–५ का प्रहरी जवान शेर्पा पत्नीसहित उक्त घरमा बस्छन्।

‘सरुवा भएर आउँदा धेरै घरहरू हेर्‍यौं, मरिककै घर चिटिक्क लाग्यो,’ खड्काले भने। विराटनगरको सिंघिया खोलापारि उनीहरूको डेरा र थोरै दूरीमा वारितिर कार्यालय छ। कर्म, योग्यता र क्षमताले पहिचान बनिने वा मान्छे चिनिने हुनाले जातिको आधारमा ठूला–साना हुने सोच नै वाहियात भएको उनले बताए।

‘उहाँहरू र हामीले खाने खाना, पिउने पानी र शरीरबाट निस्कने रगत पनि एउटै हो,’ प्रहरी जवान शेर्पाले भने, ‘खाएर हेर्नुस्, यो घरको चापाकलको पानी त धेरै मीठो छ।’  दुवैका श्रीमतीले समेत त्यस्तो विभेदपूर्ण सोच नराखेको बताए। खड्काकी श्रीमती शारदा पेसाले नर्स हुन् भने शेर्पाकी श्रीमती उर्मिला राई गृहिणी हुन्।

‘सबै सोचाइको खेल हो, त्यही भएर त्यस्तो धारणा नै बनाउनु हुन्न,’ शेर्पाले भने। दुई दशकभन्दा बढी समयदेखि घरबेटी मरिक र उनको पत्नी टेलिकममै कार्यालय सहायक छन्। जागिरबाटै जोडेको एकएक रुपैयाँले १० धुर जग्गा किनेर घर खडा गरेको मरिकले बताए। उनले तीन वर्षदेखि घर भाडामा लगाएका हुन्
29082016114805dom-basti-1000x0

‘डुमको घरमा अरू जातिका बस्दा गर्व लाग्छ,’ मरिकले भने, ‘छोराछोरीको शुल्क तीर्न सहज होस् भनेर भाडामा दिएको हुँ।’ उनी आफैं भने विराटनगर–१५ सरोचियास्थित सरकारी क्वाटरमा बस्छन्। मरिक दम्पतीले आफ्ना चार छोराछोरीलाई सहरका राम्रा विद्यालय र कलेजमा पढाइरहेका छन्।

कठिन मिहिनेतको बलमा आफ्नो जातिका धेरैले पक्की मकान बनाएको उनले बताए।  विगतको तुलनामा आफूहरूप्रतिको सम्मान बढेको पनि उनले सुनाए। उक्त बस्तीकै १४ धुर जग्गामा डोम जातिका सफल महिला आशा मरिकको चिटिक्क परेको घर छ।

विराटनगरस्थित राष्ट्र बैंकको शाखामा कार्यालय सहायकको रूपमा कार्यरत उनी छोरा, बुहारी र नातिनातिना गरी ९ जनाको परिवारसँग बस्छिन्। दुई वर्षअघि जागिर स्थायी भएकोमा उनी दंग छिन्। आशाले छोरालाई नयाँ मोटरसाइकलसमेत किनिदिएकी छन्।

‘यो सब आमाको मिहिनेतले गर्दा सम्भव भएको हो,’ छोरी ममताले भनिन्। उनी विराटनगरस्थित एक बाल अस्पतालमा केयरगिभरको रूपमा कार्यरत छिन्। सबै छोराछोरीको आ–आफ्नो घर होस् भन्ने सपना बोकेको आमा आशाले बताइन्। अवकाशपछि सञ्चय कोषको रकम निकालेर तल्ला थप्ने उनको योजना छ।

‘दक्षताअनुरूप भेटेसम्मका हरेक काम गर्छु,’ आशाका श्रीमान् राजेन्द्रले भने, ‘सबैले मलाई मिहिनेती, इमानदार र असल भनेर चिनुन् भन्ने चाहन्छु।’ यहाँको डोम जातिले घर, खेत र बारीमा उब्जेका फलफूल एवं तरकारी स्थानीय हाटमा बेच्छन्। ‘हाट र पसलदेखि कार्यालयसम्म विभेद कम हुँदै गएको महसुस गरिरहेको छु,’ छोरी ममताले भनिन्, ‘सबथोक सोचाइमा भर पर्ने हुनाले त्यसमा नि:सन्देह परिवर्तन आउँछ।’

आशाको घर छेउकै १० धुर जग्गामा ५६ वर्षे मुनेश्वर मलिकको दुईतले पक्की घर छ। उनी र उनको पत्नी ४६ वर्षीया शनिचरी राष्ट्र बैंक शाखामै कार्यालय सहायकको पदमा कार्यरत छन्। जीवनमा जतिसुकै आरोह–अवरोह बेहोर्नुपरे पनि ४ छोरी र २ छोराको पालनपोषण एवं शिक्षामा सकेसम्म कमी हुन नदिएको मलिकले बताए।

अनुशासित, परिश्रमी स्वभाव र कामप्रति समर्पणका कारणले उक्त बैंकका उपल्ला अधिकारीहरू पनि उनीहरूसँग खुसी छन्।  ‘मुलुकका हजारौं जातिमध्ये उनीहरू पनि एक हुन्,’ उक्त बैंककी बैंकिङ युनिट प्रमुख सृजना बास्तोलाले भनिन्, ‘हामीजस्तै मानव हुन्।’ उनले आफ्नो कार्यकक्षमा उनीहरूलाई आदरका साथ बस्न भन्छिन्। यहाँको कार्य सम्पादनमा उनीहरूले सक्रिय भूमिका निभारहेको बास्तोलाले बताइन्।

बाँसको सामग्री निर्माण, सुंगुरपालन, सरसफाइ, सेवामूलक एवं मानवीय कार्यमा यो जाति समाजमा अग्रणी भूमिका छ। मलिककै निकट छिमेकी ५० वर्षीया मंगली मरिकले आफ्नै पौरखको भरमा १५ धुर जग्गामा ठूलो आँगन भएको आरामदायक घर बनाएकी छन्। बूढाबूढीको ३० वर्षअगाडिदेखि सुरु भएको संघर्षपछि यो राम्रो दिन देख्न पाएको उनले बताइन्। ‘५ वर्षको अन्तरमा जग्गा किन्दै यो घडेरी जोडेँ,’ मरिकले भनिन्।

उनी र उनका परिवारका अधिकांश सदस्यहरू कार्यालय सहायक वा सरसफाइ कर्मचारीका रूपमा विराटनगरका विभिन्न अस्पतालमा कार्यरत छन्। तलबको रकमले सुंगुर व्यवसाय र सुनचाँदी किनबेच गर्दै यतिका सम्पत्ति जोडेको उनले बताइन् । उनको श्रीमान् ५५ वर्षे मंगला मरिकको गत वर्षको २७ जेठमा निधन भइसकेको छ। तर उनीहरूको आवासलाई स्थानीयले भने मंगलामंगलीकै घर भनेर चिन्छन्।

श्रीमान्ले कोसी अञ्चल अस्पतालमा झन्डै ४० वर्षसम्म सरसफाइको काम गरेको मंगलीले बताइन्। उक्त अस्पतालमै मासिक ३ सय रुपैयाँबाट काम सुरु गरेकी उनको तलब अहिले १३ हजार रुपैयाँ पुगेको छ। मंगलीको परिवार पनि लालाबालाले ढाकेको छ। उनको ३ छोरी, ३ ज्वाइँ, एक छोरा, एक बुहारी, २ पोता र एक पोती छन्।

सबैजना मिलेर बस्छन्। घरका अधिकांश सदस्य कतै न कतै करार र दैनिक ज्यालादारीमा कार्यालय सहायककै रूपमा काम गरिरहेकै छन्। एक छोरी र तीन ज्वाइँका लागि स्थायी जागिरको खोजीमा रहेको मंगलीले बताइन्।  ‘जहाँ फोहोर, दुर्गन्ध र मानवीय पीडा हुन्छ, त्यहाँ हामी पुग्छौं,’ मंगलीको ज्वाइँ वीरेन्द्र मरिकले भने, ‘वातावरण स्वच्छ राख्ने मुख्य जिम्मेबारी पूरा गरिरहेका छौं।’

उनी कोसी अञ्चल अस्पतालमा काम गर्छन्। उक्त अस्पतालमै मात्र उक्त समुदायका झन्डै ४५ जना सरसफाइ कर्मचारी एवं कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। श्रीमान्श्रीमती नै जागिरमा हुनु, पूरा परिवार मिलेर काम गर्ने स्वभाव र कार्यालयको ६ घन्टाको कामपछि बाहिर पटके काम पनि गर्ने हुनाले यो जाति आर्थिक समृद्धितर्फ लम्केको उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोशन पोखरेलले बताए।

बाँसको कलात्मक सामग्री निर्माण, सुंगुरपालन, सरसफाइ, सेवामूलक एवं मानवीय कार्यमा हिन्दू धर्मावलम्बी यो जाति निपुण मानिन्छ।  यहाँका अस्पतालहरूमा डोम समुदायले सरसफाइदेखि बिरामीको स्याहारसम्म गरिरहेका हुन्छन्। छुनै डर वा घीन लाग्ने खाले घाउको सफाइदेखि शवगृहमा पोस्टमार्टम हुँदा उनीहरू नभई हुन्न। शव ल्याउने, पुर्‍याउने, चिरफारमा सहयोग गर्ने र शवलाई पुन: सिल्ने काम उनीहरूले गर्छन्। से

फ्टी टयांक, ढल र नालाको सरसफाइ कार्यमा उनीहरूलाई विज्ञ मानिन्छ। ‘वास्तवमा उनीहरू वातावरण स्वच्छ राख्ने दूत हुन्,’ डा. पोखरेलले भने, ‘अरूले गर्न नसक्ने हुनाले यी मिहिनेती जातिले यस कार्यमा मनग्यै आम्दानी गर्छन्।’  उक्त बस्तीमा १७ घर डोम जातिका छन्।

बरोबरी संख्यामा अन्य जातजातिकाका पनि यहाँ घरहरू छन्। त्योबाहेक विराटनगरको सरोचिया, मिल्स एरिया, कोसी अञ्चल अस्पतालको क्वार्टरपछाडिको भाग र रंगेली नगरपालिकामा पनि डोमको बस्ती छ। पूर्वाञ्चलका सबै जिल्लाहरूबाहेक भारतका डोम जाति पनि मोरङमा बस्छन्। २०६८ को जनगणनाअनुसार मुलुकभर डोम जातिको संख्या १३ हजार २ सय ६८ छ। तीमध्ये सहरमा ३ हजार ७० र गाउँमा १० हजार १ सय ९८ बस्छन्। सबैभन्दा बढी तराईमा उनीहरूको जनसंख्या १२ हजार ८ सय ३३ छ।

त्यसमा पनि पूर्वाञ्चलमा ६ हजार ५ सय ५१ र मध्यमाञ्चलमा ६ हजार ३ सय ४६ जना बसेको देखिन्छ। छिमेकी भारत र नेपालबाहेक मध्यपूर्व, उत्तर अफ्रिका, युरोप एवं एसियाको सीमा क्षेत्र ककासस एवं पूर्वी एसियामा पनि यस जातिको बसोबास छ। इराकमा उल्लेखनीय संख्यामा गरी टर्की, इजिप्ट र इरानमा २२ लाख डोम बस्छन् ।

http://kantipur.ekantipur.com/news/2016-08-29/20160829114929.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: