जागरण मिडिया सेन्टर

Home » अन्य » फेर्नै पर्ने हो त दलित शब्द ?

फेर्नै पर्ने हो त दलित शब्द ?

–रुपबहादुर विश्वकर्मा

‘संसदमा कहाँ छ, ‘दलित सांसद’ भन्ने ? मलाई यो दलित भन्ने शब्दै मन पर्दैन । म यो शब्द सुन्नै चाहन्नँ । जब म दलित शब्दमै एग्री (सहमत) छैन भने यस विषयमा तपाईं मसँग अरु के कुरा गर्नुहुन्छ ?’

मसँग फोनमा यसरी जंगिए, एमालेबाट सांसद भएका नेता चूडामणि विक ‘जंगली’ । कुरा गत भदौ अन्तिम हप्तातिरको हो । ‘दलित अनलाइन डटकम’ले गत असोज ३ गते आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै थियो । त्यस अवसरमा निकाल्न लागिएको स्मारिकाका लागि दलित समुदायका अधिकारकर्मी, नेता, सांसद, समाजसेवी, बुद्धिजीवी, लेखक तथा सञ्चारकर्मीहरुको शुभकामना सन्देश संकलन गर्ने जिम्मेवारी मैले पाएको थिएँ । त्यही क्रममा मैले उनीसँग सम्पर्क गरेको थिएँ, आफ्नो परिचयसहित ।

तर शुभकामना दिनु त कता हो कता, सांसद जंगली एक्कासी यसरी जंगिएका हुन् । तैपनि मैलै ‘ठीकै छ नि त, तपाईं दलित शब्दप्रति सहमत हुनुहुन्न भने पनि त्यही विषयमा आफ्ना विचार राखिदिनुस् न त’ भनेर धेरै विन्तिभाउ गरेँ, ताकि एउटा सञ्चारकर्मी भएको नाताले दलित शब्दप्रति उनको धारणा के रहेछ, थाहा पाउँ । तर उनले कुरै गर्न चाहेनन् र झर्किंदै फोन झ्याप्प राखे । मानौं, उनीजस्ता महान् व्यक्तिका लागि मजस्तो एउटा दलित सञ्चारकर्मी बोल्न लायकको व्यक्ति नै होइन ।

दलित अनलाइनसँग उनको ‘इन्टेन्सन’ के थियो म जान्दिनँ । तर शुरुमै उल्लिखित उनको भनाइले उनी दलित शब्द र समुदायप्रति नै सकारात्मक छैनन् मात्रै होइन, निक्कै नकारात्मक छन् भन्ने पुष्टि हुन्छ । होइन भने, एउटा सांसद (पहिले सभासद)जस्तो राष्ट्रको जिम्मेवार व्यक्ति भएर आफ्नै समुदायका सञ्चारकर्मीसित आफ्नै (दलित) समुदायका विषयमा यतिबिघ्न कृतघ्न किन ?

म निक्कै सोचमा परेँ– यस्ता त छन् हाम्रो अधिकार स्थापना गर्न संविधानसभामा पुगेका दलित सभासदहरु ! जो आफूलाई दलित भनेर चिनाउनै नचाहँदा रहेछन् । त्यति मात्रै कहाँ हो र ? दलित भन्ने शब्दै सुन्न नचाहने ! सुन्यो कि रिस उठ्ने ? बाफ रे बाफ ! जसलाई दलित शब्दप्रति नै यतिबिघ्न घृणा छ, जसका लागि दलित शब्द नै ‘अछूत’ बराबर छ, त्यस्ता सभासदले संविधानमा दलित अधिकार स्थापित गर्न कस्तो भूमिका निर्वाह गरे होलान् ? अहिले संसदमा रहेर दलित उत्थानका लागि के गरिरहेका होलान् ? कतै उल्टै दलित समुदायको दोहोलो काड्ने काम त गरिरहेका छैनन् ? गम्भीर प्रश्न उठ्छ ।

तर सबैलाई हेक्का छ, माननीय जंगलीहरु अहिले जुन ठाउँमा पुगेका छन्, त्यो दलित शब्दसँग जोडिएको शक्तिको सहारामा नै हो । उनीहरुको प्रतिनिधित्व लामो समयदेखिको दलित आन्दोलनकै कारण व्यवस्था गर्न बाध्य बनेको समानुपातिक समावेशी प्रणालीको प्रतिफल हो । आज त्यही (दलित) शब्द र समुदाय छुनै मन नलाग्ने भयो कसरी ?

यदि उनलाई ‘सभासद’ भएर शहर पसेपछि दलित शब्द ठीक नलागेको वा दलित भन्न लाज लागेको वा फेर्न मन लागेको हो भने पनि त्यस विषयमा आत्मीयतापूर्वक आफ्नो फरक मत राख्न सक्थेनन् र ? संघीय समाजवादी फोरमका नेता एवं सांसद दिलबहादुर नेपालीले दलित शब्द फेरेर शिल्पी राख्नुपर्ने मत राखेजस्तै उनीहरुले पनि सहज रुपमा आफ्नो किन नराखेको होला ? सांसद नेपालीले शुभकामना दिँदै भनेका थिए ‘….दलित शब्दप्रति मेरो विमति छ । यो शब्दले सम्मान गर्दैन । यसको सट्टा ‘शिल्पी’जस्ता अर्काे कुनै सम्मानित शब्द राख्नु पर्छ । म यसैको अध्ययनमा लागेको पनि छु ।’

यसले के देखाउँछ भने अरुहरु मात्रै होइन, स्वयम् दलित नेता तथा सभासद÷सांसद समेत दलित शब्दप्रति दिग्भ्रमित छन् । उनीहरु ठान्छन्, दलित शब्दकै कारण दलित समुदाय हेपिएका हुन्, पछि परेका हुन् । मानौं, यो (दलित) शब्द हटाउने बित्तिकै रातारात दलित समुदायको मुक्ति हुनेवाला छ ! उनीहरुमाथिको विभेद हट्नेवाला छ !! दलितलाई हेर्ने समाजको हेय दृष्टि फेरिनेवाला छ !!! अनि एकाएक दलित समुदायको शैक्षिक, आर्थिक अवस्था उकासिनेवाला छ !!!!

उनीहरु के बुझ्नुपर्छ भने दलित समुदायलाई अछूतका रुपमा अवहेलना गर्ने इतिहास झण्डै साढे तीन हजार वर्ष पुरानो हो, दलित शब्द प्रयोग गर्न थालेदेखि मात्रै उनीहरु दलिएका होइनन् । दलित शब्द प्रयोग भएको त केही दशक मात्रै भयो । यसभन्दा अघि पनि यी समुदायलाई चण्डाल, डुम, अछूत, पउनी, गाइने, चमार, च्यामे इत्यादि भनेर हेपिन्थ्यो, होइन र ?

के दलित समुदायका मान्छेले आफ्नो परिचय दिँदा ‘दिलबहादुर दलित’ भनेर दिने गरेका छन् र ? दिलबहादुर नेपाली (वा विश्वकर्मा) भनेर दिइन्छ, होइन र ? दलित शब्द त अधिकार लिने विशेष ठाउँ र बेलामा मात्रै प्रयोगमा आउँछ, होइन र ? दलित शब्दः दर्नाल, लोहार, परियार, विश्वकर्मा…. भनेजस्तो न थर हो, न त जात नै । दलित शब्द नागरिकतामा झुण्ड्याएर हिँड्ने पहिचान होइन । फेरि पनि हामी भन्छौं, दलित शब्दका कारण हामी हेपियौं !

कामी भन्दा हेपियौं भनेर विश्वकर्मा राख्यौं । तर फलामका देवता भन्दै हरेक वर्ष विश्वकर्मा बाबाको पूजा गर्ने यो समाज त्यही भगवानको नाम गरेका विश्वकर्मा समुदायलाई भने मान्छे पनि मान्दैन । यस्तै अपहेलना र हीनताबोध नहोस् भनेर भारतको अछूत समुदायलाई महात्मा गान्धीले ‘हरिजन’ नाम दिए । हरिजन अर्थात् हरि भगवान्का सन्तान । अन्ततोगत्वा यो पनि अपमानबोधक शब्दमै परिणत भयो । कारण, शब्द फेरियो तर त्यस समुदायप्रति समाजको धारणा फेरिएन । जब हिन्दू समाजमा हिन्दूहरुले नै पूज्ने देवताकै नाम राख्दा त उनीहरुले अछूत मान्दै आएका मानिसले कहिल्यै सम्मानित हुन पाएनन् भने अरु कुन् शब्द राख्दा सम्मानित हुन सक्लान् ? ‘नेपाली’ थर राख्दा पनि कुन थरी र जात भन्दै सोध्ने र वास्तविक थर थाहा पाएपछि हेप्ने ‘उच्च’ जातका जातिवादीहरुले कसैको थर वा पहिचानका नाममा नहेप्ने र नदल्ने कारकतत्व थर वा शब्द हो कि अरु नै केही हो ? र पनि हामी दलित शब्द फेरेर सम्मानित हुने दिवास्वप्न देखिरहेका छौं ?

नेपाली बृहत् शब्दकोश अनुसार दलित शब्दको अर्थ हुन्छ– दलिएको, थिचिएको, मिचिएको,……। यो शब्दले सानो जात बुझाउँदैन । अछूत भन्ने पनि जनाउँदैन । के हामी राज्य र समाजबाट दलिएका, थिचिएका, मिचिएका तथा शोषणमा पारिएका समुदाय होइनौं ? होइनौं भने राज्यसँग किन अधिकार माग्नु पर्यो ? किन आन्दोलन गरिरहनु पर्यो ? चुपो लागेर बसे भैगो नि ! दलितले अधिकार पाउँदै गएकोमा छात्ती चहर्याउनेहरुले चाहेको पनि यस्तै हो ।

बीबीसीका पत्रकार मेघराज रसाइली आफ्नो एक आलेखमा लेख्छन्– ‘दलित शब्दको शक्ति नबुझ्दा दलित समुदायकै केही मानिस पनि यसको प्रयोग गरिनु हुन्न भन्ने भ्रममा छन् । उनीहरुले दलितको साटो बाहुन लेखेर हेरुन् । के उनीहरुमाथि भइरहेको भेदभाव हट्छ ? दलित समुदायका थरहरु पनि बाहुनका जस्तै हुन्छन् । जस्तै – कोइराला, घिमिरे, पोखरेल, अधिकारी, कार्की इत्यादि । जब यी थर बोकेकाहरु पनि कथित तल्लो जाति हुन् भन्ने अरुले थाहा पाउँछन् त्यसपछि अरुको कस्तो प्रतिक्रिया हुन्छ ? त्यो मैले मेरो आँखाले देखेको छु । उनीहरु झन् बढी हेपिन्छन् ।’

उनको तर्क छ– ‘दलित’ शब्द राख्ने कि नराख्ने भन्ने निरर्थकको बहस हो । शब्द हटाउँदैमा वा खारेज गर्दैमा समस्या समाधान हुन्छ भने ‘गरिब’ भन्ने शब्द नै हटाउँ न त । नेपाल विश्वकै समृद्ध मुलुक हुन्छ कि ? पितृसत्तात्मक राज्यमा महिला भएकै कारण उनीहरुमाथि अनेकौं उत्पीडन भएका छन् । अब ‘महिला’ शब्द फेर्दैमा समस्याको हल हुन्छ त ? समस्या शब्दमा होइन, सोच र संरचनामा छ ।’

बरु जबदेखि दलित शब्द प्रचलनमा आयो, तबदेखि यो समुदायलाई हेप्नेहरु हच्किन थाले । दलित समुदायले क्रमशः अधिकार पाउन थाले । हिन्दू धर्मको वर्णव्यवस्थाद्वारा पानी नचल्ने अर्थात् अछूत घोषणा गरिएका जति पनि जाति छन्, ती सबैलाई एकढिक्का बनाउने ऐतिहासिक काम यही (दलित) शब्दले गर्यो । ‘फुटाउ र राज गर’को नीति अनुरुप आपसमा पनि सानो–ठूलो जातमा विभक्त पारिएका दलितहरु यही (दलित) शब्दकै सहारामा संगठित भए र उनीहरुले दलनविरुद्ध सशक्त आन्दोलन अघि बढाए । र, उनीहरु यही शब्दको आडमा आज राजनीतिदेखि राज्य संरचनासम्म हक दाबी गर्ने तहमा पुगे । आजका दिनसम्म दलितहरुले जे जति अधिकार र उपलब्धि हासिल गरेका छन्, ती सबै दलित शब्दकै शक्तिले संभव भएका हुन् ।

दलित शब्दकै शक्तिका कारण आज यो राज्य र समाज दलित उत्पीडन आत्मसात गर्न र जातीय विभेदको विशिष्ट मुद्दालाई सम्बोधन गर्न बाध्य बनेका छन् । दलित शब्दलाई देशका राजनीतिक दलहरुदेखि सरकार र संविधानले समेत स्वीकार गरिसकेको अवस्था छ । संवैधानिक राष्ट्रिय दलित आयोग समेत गठन भइसकेको छ । यस्तो अवस्थामा दलित शब्दै हटाउने कुरा गर्नु कत्तिको ठीक हो ?
दलित आन्दोलनका एक अगुवा पदम सुन्दास भन्छन्– ‘यो आफ्नो अधिकार सुनिश्चित गर्ने बेला हो, शब्द फेर्ने बेला होइन । अहिले दलित शब्दकै सहारामा हाम्रा अधिकार नयाँ संविधानमा करिब–करिब सुनिश्चित भएको अवस्था छ । त्यसलाई व्यवहारमा कार्यान्वयन गराउनेतिर लाग्नुपर्ने बेला हामी त्यो (दलित) शब्दै हटाउनेतिर रडाको मच्चाइरहेका छौं ! दलित शब्द छाड्ने हो भने हामी जनजाति–आदिवासीमा पनि पर्दैनौँ, अनि के भनेर अधिकार माग्ने, राज्यले पनि के दिने ?’

उनले अगाडि भने– ‘सबैभन्दा सम्मानित शब्द ‘नेपाली’ हो । तर नेपालका परियारले ‘नेपाली’ लेख्न थालेपछि यो पनि अपहेलित शब्द भयो । त्यसकारण हामीले बुझ्नुपर्छ, शब्द फेरेर समस्या समाधान हँुदैन ।’

नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका दलित नेता छविलाल विश्वकर्माका अनुसार ‘दलित’ कुनै हीनताबोधको परिचायक शब्द होइन । यो वर्ण र वर्ग दुवै हिसाबले सबैभन्दा पिँधमा पारिएका समुदायको हक अधिकार प्राप्ति गर्ने आन्दोलनको नाम हो । दलित उत्पीडित वर्ग, समुदायको एकताको सूत्र हो । भ्रमित हुनुपर्ने कुनै आवश्यकता छैन ।

उनी भन्छन्– ‘यसको समग्र पक्षको जानकारी राख्नेले दलित शब्द फेर्ने आवाज उठाएको हो भने नियतवश नै नेपालको दलित मुक्ति आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले हो । केवल आफूमा केन्द्रित भई यो आवाज उठाइएको हो भने उत्पीडनको इतिहास नबुझेर हो ।’

उनी अगाडि थप्छन्– ‘भगत सर्वजित विश्वकर्माले ७५ वर्षअघि विजारोपण गरेको दलित मुक्ति अभियानले आज आफूलाई यो ठाउँसम्म ल्याइपुर्याएको छ । नेपालको राष्ट्रिय राजनीतिमा आफ्नो प्रभावी स्थान बनाउने उपक्रममा छ । राजनीतिक दलहरु र राज्यले सम्बोधन नगरी नहुने विषयका रुपमा स्थापित भएको छ । यो अवस्थामा कुनै पनि मानेमा यसलाई विचलित हुन र पार्न दिनु हुँदैन ।’
कतिपयको यो पनि तर्क छ, अहिलेका ‘न्यू जेनेरेसन्’ (नयाँ पुस्ता) पनि आफूलाई दलित भनेर चिनाउन इच्छुक छैन । यसमा म के भन्छु भने, हामीले तिनलाई बुझाउन जरुरी छ– ‘बाबु नानी हो ! अहिले तिमीले जसरी अरु सँगसँगै पढ्न पाएका छौ, स्कुल, कलेज जान पाएका छौ, आधुनिक प्रविधि प्रयोग गर्न जान्ने भएका छौ, ती सबै दलित शब्दकै आडमा लामो समयदेखि जारी संघर्ष र आन्दोलनका उपलब्धि हुन् । अन्यथा भन्न सकिन्न, तिम्रो हविगत अझै कुन अवस्थामा हुन्थ्यो होला ? त्यसकारण दलित शब्दमा शर्म होइन गर्व गर ।

त्यसो भन्दैमा, नेकपा क्रान्तिकारी माओवादीको पोलिट्ब्यूरो सदस्य एवं नेपाल दलित मुक्ति मोर्चाका इन्चार्ज केशबहादुर परियारले भनेझैं दलित शब्द सधैंका लागि मोह गरेर, जतन गरेर राख्नुपर्छ भन्ने पनि होइन । यो शब्द एक दिन त त्याग्ने नै हो तर, अहिले बेला भइसकेको छैन । किनभने तिमीले आफूलाई जतिसुकै ‘आधुनिक’ ठाने पनि तिमीलाई ‘तल्लो जातकै’ ठान्ने यो समाजको पुरानो सोच अझै फेरिएको छैन । अन्तरजातीय प्रेमविवाह गर्दा काभ्रे पाँचखालका अजित मिजारलाई किन मारियो, सोचेर हेरौँ त ?
त्यसकारण अहिल्यै यो शब्द छाड्नु भनेको लामो समयदेखि स्थापित हाम्रो मुक्तिको मुद्दा र मानव अधिकारको आन्दोलन छाड्नु हो । के यसो गर्नु उचित हो ? जुन दिन यो देशमा हामीमाथि जातका आधारमा भेदभाव र छुवाछूत हुन छाड्नेछ र त्यसबाट सिर्जित आर्थिक, राजनीतिक, शैक्षिकलगायत सारा असमानताको अन्त्य हुनेछ र, अरु सरह हाम्रो मानवीय सम्मान र अस्तित्व समान हुनेछ, त्यस दिन दलित शब्दको अस्तित्व र औचित्य पनि स्वतः अन्त्य हुनेछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: