जागरण मिडिया सेन्टर

Home » अन्य » जहाँ दलित–दलितबीच भेदभाव छ भन्नेको मुख बन्द हुन्छ

जहाँ दलित–दलितबीच भेदभाव छ भन्नेको मुख बन्द हुन्छ

२०७३ कात्र्तिक ११,जागरण मिडिया सेन्टर ।

dalit_damaikami_dada
रुपबहादुर विश्वकर्मा

‘तिमीहरुबीच(दलित–दलित)मै भेदभाव छ, पहिला तिमीहरु मिलेर देखाओ न !’

कुनै दलितले जातीय भेदभाव र छुवाछूतविरुद्ध आवाज उठाउँदा कतिपय कथित उच्च जातिका व्यक्तिबाट आइलाग्ने आक्रोश हो यो । हुन पनि हो, समाजमा बाहुन र विश्वकर्माबीच मात्र होइन, विश्वकर्मा र परियारबीच पनि विभेद छ, छुवाछूत छ । यसैलाई आधार बनाएर कतिपय जातीवादीहरु, मानौं समाजमा जातीय भेदभाव र छुवाछूत प्रथाको शुरुवात गर्ने दलित समुदाय नै हुन् भने झैं गर्छन् ताकि छुवाछूतविरुद्ध बोल्ने दलितको मुख बन्द गर्न सकियोस् ।

तर काभ्रेको काँशीखण्ड नगरपालिका वडा नम्बर ३ मा पर्ने बेलाडाँडाको दलित बस्तीमा जाने हो भने उनीहरुकोचाहिँ मुख बन्द हुन्छ । काठमाडौँबाट सिन्धुली जाने सडक अन्तर्गत पात्लेगाउँ भन्ने ठाउँबाट अलिकता उकालो लागेपछि बेलाडाँडा पुगिन्छ । पहिले यस ठाउँलाई ‘दमाई–कामी डाँडा’समेत भन्ने गरिन्थ्यो । जहाँ परियार र विश्वकर्माका गरी करिब ३० घर दलित परिवार छन् । उनीहरुबीच बाहिरफेर मात्रै होइन, घरभित्रै पनि भेदभावको व्यवहार हुँदैन । अहिलेका नव युवा मात्रै होइन, पाका उमेरकाहरुमा समेत भेदभावको भावना हटिसकेको छ । ‘परियार साथीहरु निर्धक्क मेरो घरमा पस्छन्, खान्छन्, कुनै भेदभाव गर्दिनँ, स्थानीय ५९ वर्षिय तोपबहादुर गहतराज (विश्वकर्मा) उल्टै प्रश्न गर्छन्, ‘अहिलेको युगमा पनि कहिँ भेदभाव गर्न मिल्छ ?’
खास नाम लोकबहादुर भएपनि नागरिकता बनाइदिनेले गलत लेखेका कारण तोपबहादुर बनेका उनको जन्मै त्यहीँ भएको हो । बराजुकै पालादेखि उनको परिवार त्यहाँ बस्दै आएको हो । पहिले–पहिले त भेदभाव अचाक्ली थियो । एकले छोएको पानी समेत अर्कोले नखाने चलन थियो । ‘यो भेदभाव भन्ने कुरा पनि चुरोट खाने बानी जस्तै हो,’ निरक्षर भएपनि उनी गतिलो तर्क दिँदै भन्छन्, ‘विस्तारै कुरा बुझ्दै गइयो, वरपर बुझियो, थाहा पाइयो, सबै मान्छे एकै हुन्, भेदभाव गर्नु बेठीक रहेछ भन्ने बुझेपछि छाडेँ ।’ अहिले गाउँका कसैले पनि कसैलाई भेदभाव नगर्ने उनले सुनाए ।

जातीय विभेदको प्रसंगमा दलिततिरै औँला देखाउनेहरु यो इतिहास बुझ्न चाहँदैनन् वा बुझपचाउँछन् कि समाजमा जातीय विभेदको विजारोपण र विस्तार गर्ने दलित समुदाय हुन् कि आफूलाई सर्वश्रेष्ठ जाति भन्नेहरु हुन् ? यही प्रश्नको उत्तरमा आउँछ, दलित–दलितबीच पनि किन विभेद व्याप्त भयो भन्ने प्रश्नको उत्तर पनि ।

जातपात र छुवाछूत प्रथा लाद्नेहरुले हिन्दूधर्मको चारवर्ण व्यवस्था अन्तर्गत एकै मानव जातिलाई ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रमा विभाजन मात्र गरेरन्, सबैभन्दा तल्लो शुद्र वर्गमा पारिएका जो अहिले दलित समुदायका रुपमा परिचित छन्, उनीहरुलाई पनि आपसमा सानो र ठूलो जातमा विभाजित गरे ताकि उनीहरुबीच एकता नहोस् र आफूहरुको अत्याचारविरुद्ध आवाज उठाउन र प्रतिरोध गर्न नसकून् । यति मात्रै होइन, शुद्रले वेदको मन्त्र सुनेमा कानमा सिसा र लाहा पगालेर हालिदिनू, वेदको मन्त्र कण्ठस्थ गरेमा जिब्रो काटिदिनू अर्थात् ज्यानै खत्तम गरिदिनू जस्ता धार्मिक नीति नियमहरु (गौतम सूत्र, मुनस्मृति) बनाएर उनीहरुलाई शिक्षा र ज्ञान आर्जनबाट पूर्णतः वञ्चित गरियो ताकि आफूहरुले अख्तियार गरेका सबै कुरामा कायम होउन् ।
जात बाँड्ने पनि उनीहरु, को भन्दा को ठूलो, कसले छोएको कसले खान नहुने, कसको छोरी कसले विहे गर्न नहुने भन्ने रीतिथिती बसाल्ने पनि उनीहरु ! उनीहरु अर्थात् आफूलाई धार्मिक अगुवा एवं सबैभन्दा उच्च ठान्नेहरु ! तिनैले बनाएका धार्मिक नीति नियम पालना गर्नुपर्ने अन्यथा कठोर दण्ड–सजाय भोग्नुपर्ने भएपछि आफू–आफूबीच पनि भेदभाव र छुवाछूत नगरी किन सुख पाउँथे र दलितहरुले पनि ? यही धार्मिक मान्यतालाई मुलुकको कानून नै बनाएर जातीय विभेद व्यापक बनाइयो । नेपालको पहिलो मुलूकी ऐन १९१० जुन जंगबहादुर राणाले बनाए, त्यो हेरियो भने यो कुरा छर्लङ्ग हुन्छ ।

यसैको शिकार भए दलितहरु । र, अरुका नजरमा एउटै ‘अछूत’ वर्गमा पर्ने भएपनि आपसमा पनि एक अर्काले छोएको नखाने बानी बस्यो माथि तोपबहादुरले भने झैं चुरोट खाने बानी जस्तै । तर जबदेखि दलित समुदायका मानिसले पनि शिक्षाको उज्यालो देख्ने अवसर पाउन थाले, तबदेखि आफूमाथि भइरहेको जातीय अन्यायबारे विस्तारै बुझ्न थाले । अनि उक्त अन्याय अन्त्य गर्न आफूहरु एक हुनुपर्ने पनि ठम्याए ।
‘हामी नै आपसमा एक भएनौँ भने अरुसँग कसरी लड्ने ?,’ बेलाडाँडाका स्थानीय युवा दीपक विश्वकर्मा भन्छन्, ‘परियारकोमा कुनै विहे वा मरण होस् वा विश्वकर्माकोमा हामी सराबरी सहभागी हुन्छौं ।’ उनका अनुसार उक्त गाउँमा भातपानी मात्र होइन, आपसमा वैवाहिक सम्बन्ध समेत स्वीकार भइसकेको छ । ‘मेरै ठूलो बुवाका छोरा मनिष विश्वकर्मा र छिमेकी स्वस्तिका परियारबीच प्रेम विवाह भएको हो,’ उनले सुनाए, ‘अहिले उनीहरु स–सम्मानका साथ गाउँमै बस्छन् र दुई परिवारबीच राम्रो ओहोरदोहोर छ ।’

आरन पेशा भने लोप
केही वर्ष अघिसम्म बालीघरे प्रथामा आरन चलाउने गरेका तोपबहादुरले अहिले यो पेशा चटक्कै छाडेका छन् । ‘अहिले यो वस्तीमा विष्ट कमाउने कोही पनि छैनन्,’ तोपबहादुरले सुनाए, ‘आरनको काम गरेर के गर्नु, त्यसको कमाई लिन वर्ष दिन कुर्नुपर्छ, त्यो पनि मुसाले खाएका एक, दुई पाथी अन्न ।’ अरुले हेला गर्ने तथा आम्दानी पनि नहुने भएकाले आरन पेशा छाडेको उनले बताए । यसैकारण उनका छोराहरुले पनि यो पेशा छोएका छैनन् । अहिले यस वस्तीका विश्वकर्मा युवाहरु राजधानी काठमाडौँमा तामा पित्तलका मूर्ति बनाउने जस्ता हस्तकलाका काममा लागेका छन् । इज्जत पनि हुने, आम्दानी पनि हुने भएकाले आरन भन्दा यो काम धेरै राम्रो भएको उनीहरु बताउँछन् । तर आरनलाई नै आधुनिकीकरण गरेर बालीघरको साटो नगद लिने गरियो भने यसबाट पनि गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने तोपबहादुरको तर्क छ । ‘तर त्यसो गर्न लगानी छैन,’ उनी भन्छन् ।

ल क्याम्पसले दिलायो दलितलाई रोजगारी
उक्त दलित बस्तीकै छेउमा छ, भक्तपुरस्थित काठमाण्डु स्कुल अफ ल को आउट्रिच् क्याम्पस । डा. युवराज संग्रौला प्रमुख रहेका काठमाण्डु स्कुल अफ लका विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन यो आउट्रिच् क्याम्पस स्थापना गरिएको हो ।

एक वर्ष अघिदेखि सञ्चालनमा आएको उक्त क्याम्पसमा स्थानीय चार जना दलितले गाउँमै रोजगारी पाएका हुन् । वैदेशिक रोजगारीबाट फर्केका स्थानीय ताराबहादुर विश्वकर्मा गाउँमै सेक्यूरिटी गार्डको जागिर पाएपछि दंग छन् । ‘सात कर्मचारीमध्ये चार जना दलित छन्,’ क्याम्पसका रेखदेखकर्ता नारायण गौतमले सुनाए । अन्य तीन दलितमा माया परियार, अप्सरा परियार र लक्ष्मी विश्वकर्मा छन् । ‘खाजा खाना बनाउनेमा पनि दलित महिला नै छन्,’ गौतमले भने, ‘अब तपाईँ आफै अनुमान गर्नुस् यस ठाउँमा छुवाछूत कतिको हटेको छ ?’

अन्त्यमा, ऐतिहासिक पृष्ठभूमि जेजस्तो भएतापनि अब दलित समुदायले पनि आन्तरिक कमीकमजोरी सुधार गर्दै आपसी छुवाछूत त्यागेर एक हुनुको विकल्प छैन । देशका सबै दलितले काभ्रेको बेलाडाँडाका दलितबाट सिक्ने हो कि ?

 http://esamata.com/insight/
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: