जागरण मिडिया सेन्टर

Home » अन्य » सागर परियारका कलिला आँखा आफ्नी आमाको प्रतीक्षामा…

सागर परियारका कलिला आँखा आफ्नी आमाको प्रतीक्षामा…

दिल निसानी मगर

२०७३ पुस १८, जागरण मिडिया सेन्टर

1245376382deel-nishani-magar-1

यहाँ जो आउँछन्,

मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्

यहाँ जो बस्छ,

हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्

यहाँबाट जो जान्छ,

पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छ

यस्तो छ यो चार भन्ज्याङ खाल्टो

एउटा चिसो एस्ट्रे जस्तो छ

यो चार भन्ज्याङ खाल्डो ।

भूपि शेरचनले ‘चिसो एस्ट्रे’ शीर्षकमा लेखको यो कविता र सागर परियारको आँखा उस्तैउस्तै लाग्छ मलाई ।

विगत केही दिनदेखि सागर परियार र उनका दुई कलिला भाइहरु मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर हिँडिरहेका छन् आमाको हत्याबारे ‘बकपत्र’ बाँड्न । थाहा छैन, यो लाजमाण्डौ सहरका प्रख्यात महिला अधिकारवादीहरु कुन पाँचतारे होटलमा आधी अंग्रेजी र आधी नेपाली भाषामा भाषण गर्दैछन् । कार्यपत्र पेस गर्दैछन् । सोधपत्र बुझाउँदैछन् । हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेका ‘परियार’ यो सुकिलो समाजको परिवार होइन क्यारे ।

म तिनका नितम्बहरुलाई चरम घृणा गर्छु ।

मुक्ति, न्याय, समानताको भजन गाएर नथाक्नेहरु मुसा बनेर लुकेका छन् । यही कामना गर्छु, ती मुसहर बस्तीमै पसून् । कम्तीमा कसैको पेट भरिनेछ । बाँकी जो छन्, तिनलाई हेलिकप्टरबाटै खसाल्नुपर्छ । संसार रोएको बेला दलित अधिकारकर्मीहरुको हातमा एक थान जाले रुमालसम्म देखिन्न । पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू बोकेर लक्ष्मी परियारका कलिला सन्तानहरु यही चार भन्ज्याङ खाल्डोमा ओहोरदोहोर गरिरहेका छन् ।

एउटा चिसो एस्ट्रेजस्तो, चार भन्ज्याङ !

मैले परेवाहरु देखेको छु । परेवाका बचेराहरु देखेको छु । मैले ढिकुर चराहरु देखेको छु । ढिकुर चराका बचेराहरु देखेको छु । मैले लक्ष्मी परियार देखेको छु । लक्ष्मी परियारका बचेराहरु देखेको छु । आँखा नखुलेका ती कलिका परेवाका बचेराहरु कति निर्दोष देखिन्छन् । एक दाना चारो टिप्न हम्मेहम्मे हुने ढिकुरका बचेराहरुको प्वाँख कस्तो मायालाग्दा देखिन्छन् ।

त्यस्तै देखें मैले सागर परियारको आँखा, सुमन परियारको अनुहार र सुशील परियारको आँसु ।

सागर परियारका कलिला आँखा आफ्नी आमाको प्रतीक्षामा हजारौं वर्ष अनिँदो बिताएको जस्तो अतृप्त सम्झना बोकिरहेको देखिन्थ्यो । सुमनको मुख सुकिरहेको थियो । सुशील काखको दुधे नानी, रातभरि रोएर हजुरआमालाई सुत्न नदिने । आमा…आमा…भन्दै निरन्तर बोलाइरहने उनको घाँटीमा पीडाको ध्वनि गुन्जिरहेको थियो ।

गुलेली लागेर मुर्छित परेवाजस्तै, पासोमा परेको ढिकुर चराजस्तै लक्ष्मी परियार यो जगतबाट धेरै टाढा पुगेपछिको हृदयविदारक चित्र हो यो ।

सुशीलले लगाएको भोटोबाट आमाको दूधको गन्ध आइरहेको थियो । पिसाब फेरेर जाङ्गे पूरै भिजेको थियो, शायद केही घण्टादेखि जाङ्गे नफेरिएको हुन सक्छ । टिलपिलटिल आँखाहरु शायद उनी रुँदारुँदै थाकिसकेका थिए । रुँदारुँदै थाकेको मानिसको मुहार कस्तो हुन्छ, त्यो मैले जीवनमा धेरै पटक देखेको छु- ऐनामा ।

सुशीलको मुहारमा दुई थोपा आँसु भिज्ने गरी म्वाइ खाएँ र करुणाको मधुरो आवाजलाई छातीभित्रै पूरपार गरेँ । मेरो दिलमा मानवीयता यसरी जाग्यो कि म मरिसकेको रहेनछु ।

दुई भाइलाई त कम्तीमा आमा बितेको थाहा थियो । उनीहरुले आफूलाई टुहुरो जीवनसँग अभ्यस्त बनाउन कोसिस गर्दैथिए । आमाले हामीलाई टुहुरो बनाएर गए भन्ने तिनलाई हेक्का थियो । कक्षाकोठामा सामाजिक विषय पढाउने आफ्नै शिक्षकले आमालाई बोक्सीको आरोपमा मारेको कुरा कम्तीमा ती जान्दथे । र, आमाबिनाको जिन्दगी बाँच्ने संकल्प गरिसकेका थिए मनमनै ।

तर, बिचरा कान्छा सुशील, केवल आमाको काखको खोजीमा रोइरहेको, उनी कराइरहेका थिए । उनलाई आफू टुहुरो भइसकेको अनुमान थिएन ।

आमालाई दिसा खुवाएर छातीमा लात्ती हानिएको, टाउकोमा चिर्पट दाउरा प्रहार गरिएको पीडाको घाउ उनी जान्ने/बुझ्ने भएपछि बल्झिएला । अहिले बल्झिएको छ, उत्पीडनको घाउ, विभेदको घाउ, अन्याय/अत्याचार र हेलाहोचोको घाउ । मनको घाउ, मुटुको घाउ, हृदयको घाउले भन्दा निकै चर्को दुखाएको छ यो विभेदको घाउले । वर्षौंदेखि यो घाउ सहँदै, रुँदै ‘दमिनी भीरबाट’ हजारौँ दमिनीहरु हामफालेका छन् ।

कुवाको पानी र आकाशको सूर्यले पनि विभेद गरेको छ ।

काभ्रे सानो वाङथली–७ की लक्ष्मी परियारलाई बोक्सीको आरोपमा कुटपिट गरेर मारेको खबर पढेपछि म बाँचेको युगसँग चरम ‘घृणा’ जागेको थियो मलाई । लक्ष्मीको पाशविक हत्यामा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आशयको एउटा लेखेको थिएँ, सम्बन्धित निकायको ध्यानाकर्षण होला कि भनेर । जागरुकताको दृष्टिले मैले राम्रै भूमिका खेलेको कुरा विभिन्न माध्यममार्फत जानकारी हासिल गरेँ ।

लक्ष्मीका सन्तानप्रति स्वाभाविक रूपमा करूणा जाग्यो ।

तर, दयामाया र करूणा आफ्नो ठाउँमा थियो । स्व. लक्ष्मी परियारलाई न्याय दिलाउने, बालबच्चाहरुको पालनपोषण र उनीहरूलाई शिक्षादीक्षा दिने कुरा अर्को ठाउँमा थियो । आरोपित हत्याराप्रति आक्रोशको भावना जाग्यो तर मैले एउटा नाथे लेख प्रकाशित गराउनबाहेक अरु केही गर्न सक्दिनथेँ । आमाको हत्या प्रकरणबारे मानवअधिकारवादी र पत्रकारहरुसँग प्रत्यक्षदर्शी छोरा सागरले दिएको बकपत्र भिडियोमा हेरेपछि धेरै दिनसम्म मन रोइरह्यो ।

दालभात पनि राम्रोसँग खाइनँ । कतिपय अवस्थामा अनिदोजस्तै रात बिताएँ ।

मानिसहरु मलाई अराजक केटा भन्ठान्छन् । तर, म यति धेरै भावुक किन छु, त्यो मलाईबाहेक कसैलाई पनि थाहा छैन । त्यसैले शंका लाग्छ आफ्नो भावुकतामाथि । मेरो दिमागमा आक्रोश छ, छातीभरि मायाको पोका पनि छ । मेरो मुखमा रुखो वचन छ, आँखामा बलिन्द्र धारा आँसु पनि छ । शायद यिनै मूल्यवान चिजलाई फ्युजन गर्न नसक्दा यो जिन्दगानी बारपाकजस्तै भताभुंग भएजस्तो लाग्छ ।

अन्याय, अत्याचारविरुद्ध संघर्ष गर्नकै लागि मेरो दिमागमा कसैले इन्द्रजाल मन्त्र घुसाइदिएको छ कि जस्तो पनि लाग्छ ।

लक्ष्मी परियारको सत्ता निर्माण गर्नको लागि रगत बगाएको हो, पानी होइन । यो युगले सागर, सुमन र सुशीललाई मानिस बनाउने संकल्प बोकेको थियो । मुक्तिका लागि नयाँ समाज र नयाँ समाजका लागि नयाँ नेपाल । के हाम्रो महान सपना होइन ? के समताको बाटोमा मान्छेको मूल्य भेटिँदैन ? यस्तै धेरै कुराहरु सोचिरहेँ ।

कल्पना गरिरहेँ- उनीहरुलाई अलिकति भए पनि आफ्नो तर्फबाट केही गर्न पाए राम्रो हुन्थ्यो होला । के गर्न सक्छु त म ? म को हुँ ? मैले आफूले गर्न सक्ने सहयोगको सम्भाव्यता पहिल्याउन थालेँ ।

फेसबुकमा रहेका मित्रहरुलाई आह्वान गरेर २ लाख संकलन गर्छु भन्ने अठोट गरेँ । कम्तीमा २ लाखले उनीहरुको सामान्य आवश्यकता पूरा गर्न सहयोग हुन्छ, तत्कालका लागि भन्ने लाग्यो । किनभने, उनीहरुको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर छ भन्ने थाहा थियो । लक्ष्मी घाइते हुँदा उपचार गर्ने काठमाडौं आउने पैसा थिएन भन्ने समाचारहरु प्रकाशित भएका थिए । मिलापत्रको बाध्यता थियो ।

भैँसी मारिदिएको र त्यसको जरिवाना तिर्न नसकेको झुटा आरोपले निकै पीडा दिन्छ ।

मैले फेसबुकमार्फत सहयोग संकलन गर्दा उनीहरु (बालबच्चा) सानो वाङथली–७ स्थित आफ्नै सानो घरमा थिए । बाबा पनि अनुसन्धानको लागि हिरासतमा रहेकाले उनीहरुलाई हजुरआमा र काकाको सहारा थियो । सामाजबाट अरु कसैले सहयोग गर्ने कुरा कल्पना पनि गर्न नसकिने स्थानीय एक युवासँगको संवादबाट थाहा पाएको थिएँ ।

मैले उनीहरुलाई दरबारमार्गको केएफसीमा लगेर गएँ । खाना त जहाँ खाए पनि हुन्थ्यो । सस्तो दालभात जहाँ पनि पाइन्थ्यो तर मैले बच्चाहरुलाई नयाँ अनुभव दिन चाहन्थेँ । उनले आफ्नो तनावलाई कम गर्न सकून् र हाम्रो पनि कोही आफन्त रहेछन् भन्ने महसुस गरून् । उनीहरु निराश र हतासमा थिए, जुन स्वाभाविक थियो ।

केएफसीबाट निस्कने बेला उनीहरुको मुहारमा उज्यालो छायो । ओठमा मुस्कान देखियो । केही तस्बिरहरु खिच्यौं । एकछिन वरिपरि घुम्यौं र गयौं सपिङको लागि- सिटी सेन्टर ।

सिटी सेन्टरमा क्रिसमसको रमझम थियो । मानिसहरुको भीडभाड पनि उत्तिकै । उनीहरु क्रिसमस ट्रिनजिक उभिएर रमाइलो गरे । झिलिमिली देखेर खुसी भए । लिफ्ट चढेर उपल्लो सबै तलामा गए । आफूलाई मन परेका कपडाहरु हेरे, किने ।

२ लाख संकलन गर्ने लक्ष्य भए पनि ऋण नदिएकाले घोषणा गरेका मित्रहरुलाई पटक-पटक मागिरहने नैतिक आधार थिएन मसँग । त्यसैले जति उठ्यो, त्यति (१ लाख) दलित युवा सञ्जाल नेपालका अध्यक्ष पुष्कर विकको हातबाट हस्तान्तरण गरेँ ।

आजको मितिसम्म कसैले गर्न नसकेको ‘अनौठो काम’ गरेको चाहिँ होइन ।

साभार, http://baahrakhari.com/news-details/14024/2016-12-31#.WGcatcn80S4.twitter

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: