जागरण मिडिया सेन्टर

Home » अन्य » सार्वजनिक ठाउँमै विभेद,

सार्वजनिक ठाउँमै विभेद,

२०७३ फागुन ११ , जागरण मिडिया सेन्टर 

वसन्तप्रताप सिंह, बझाङ
रिलु गाविसका लालसिंह आग्रीलाई स्थानीय रुद्र कठायत, मान कठायत, गोर्खे कठायत, लोकबहादुर ग्वाल, धनजित ग्वाल र गंगे बोहराले दलित भएर मन्दिर प्रवेश गरेको भन्दै गत भदौमा दुव्र्यवहार गरे । हरेलो मेला हेर्न गएका आग्री मदिराले मातेर मन्दिर पुगेका थिए । उनलाई देउता बिगारेको भनी २ हजार रुपैयाँ र ४ आना सुन पनि जरिवाना तिराइयो ।

यो घटना सञ्चार माध्यमबाट सार्वजनिक भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिए । पीडित आग्रीले घटना मिलिसकेको भन्दै उजुरी दिन मानेनन् । प्रहरीले उजुरी नगरे उल्टै आग्रीलाई कारबाही गर्ने भनेर तर्साए । त्यसपछि बल्ल उजुरी दर्ता गरे । यो मुद्दा अहिले अदालतमा छ । सबै अभियुक्त फरार छन् ।

जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०६८ ले जातीय छुवाछूतलाई मानवताविरोधी कार्य भन्दै यस्तो गर्नेलाई सजायको व्यवस्था गरेको छ । उसो त २०२० मा बनेको मुलुकी ऐनले नै जातीय छुवाछूत गर्ने कार्यलाई दण्डनीय भनेर परिभाषित गरिसकेको थियो ।

नेपालको संविधान २०७२ को धारा २४ ले छुवाछूत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै कुनै पनि व्यक्तिलाई निजी तथा सार्वजनिक स्थानमा जातीयताका आधारमा छुवाछूत तथा भेदभाव गर्न नपाउने व्यवस्था गरेको छ । तर, बझाङमा निजी मात्र होइन, सार्वजनिक स्थलमै दलित समुदाय छुवाछूत र भेदभावको सिकार बन्ने गरेका छन् । जातीय छुवाछूत ज्यूँकात्यूँ भए पनि यसविरुद्ध कानुनी उपचारको खोजी गर्ने आँटसमेत उनीहरूमा आउन सकेको छैन ।

‘दलितलाई हेर्ने नजरमा कुनै परिवर्तन भएको छैन । विद्यालयमा समेत विभेद हुन्छ,’ जालपा उच्च माध्यमिक विद्यालयका दलित शिक्षक गगन आग्री भन्छन्, ‘शिक्षकहरूले दलित र गैरदलितका विद्यार्थीसँग गर्ने व्यवहार फरक हुन्छ ।’ सदरमुकाम नजिकै रहेको उक्त विद्यालयमा सरस्वती पूजाको दिन प्रसाद बाँड्ने क्रममा गैरदलित विद्यार्थीको हातैमा प्रसाद दिइयो । दलितलाई टाढैबाट फालेर दिने काम शिक्षकबाटै भएको उनले बताए ।

यति मात्र होइन, दीवा खाजाको व्यवस्था भएका विद्यालयमा दलित र गैरदलितका विद्यार्थीलाई छुट्टाछुट्टै राखेर खाजा दिने गरिएको छ । दलित समुदायका व्यक्तिसँग छोइछिटो हाल्ने चलन अझै यथावत् रहेको गौरीशंकर प्रावि माझीगाउँका शिक्षक रामबहादुर स्नेहीले बताए । घर, मन्दिर र विद्यालयमा मात्र होइन, हरेक ठाउँमा दलित छुवाछूत र भेदभावको सिकार हुने गरेको बझाङका सांसद अफिलाल ओखेडाले बताउँछन् । ‘जिल्लामै दलितलाई सार्वजनिक धारा छुन दिइन्न,’ उनले भने, ‘छिमेकी गैरदलितको घरमा धारामा पानी खेर गइरहेको हुन्छ । दलितले पानी भरिदिने मान्छे नभए घण्टौं हिँडेर खोलाको पानी पिउनुपर्ने अवस्था छ ।’ जिल्लाका सबैजसो ठाउँमा दलितका लागि खानेपानीका धारा र कुवाहरू छुट्टाछुट्टै छन् । कानुनले छुवाछूतलाई अपराधका रूपमा लिएको भए पनि जिल्लामा दलितको संख्या कम भएको र अधिकांश गैरदलितसँग आश्रित हुनुपरेकाले कानुनी उपचार गर्नबाट डराउने गरेको उनले बताए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले पनि जातीय छुवाछूतसम्बन्धी उजुरी आफूकहाँ नआएको बताए । ‘रिलुको घटनामा हामीले नै मुद्दा हाल्न लगाएका हौं । त्यसबाहेक अरू कुनै उजुरी परेको छैन,’ उनले भने । विभिन्न सामाजिक कारणले दलितहरूले छुवाछूतका घटना सार्वजनिक गर्ने नगरेको उनको ठम्याइ छ ।

http://kantipur.ekantipur.com/news/2017-02-22/20170222082107.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: