२०७४ जेष्ठ २३, जागरण मिडिया सेन्टर,
जुम्लाः आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी चार वर्षिया बालिका मनसरा लुहारको उपचारका लागि सहयोग जुट्न थालेको छ । लुहारका आफन्त र नेपाली युवाको अन्तर्रा्ष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले संयुक्त रुपमा आर्थिक अभावका कारण उपचार नभएको भन्दै उपचारमा सहयोगका लागि अपिल गरेको समाचार प्रकाशनपछि सहयोगीहरु जुटदै गएका हुन् ।
कालिकोटबाट काठमाडौं जाँदै गर्दा सुर्खेतमा तीनजना मनकारी व्यक्तिले मनसराको उपचारका लागि सात हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कृष्ण जिसीले दुईहजार, भद्र भण्डारीले तीन हजार र युवा नेता जीसीले दुईहजार गरी जम्मा सात हजार सहयोग गर्नुभएको हो ।
यस्तै, उहाँहरुले उपचारमा सहयोग पु¥याउनका लागि अभियानमा समेत सहभागी हुने प्रतिबद्धता जनाएको पीडित बालिकाको उपचारमा रेखदेख तथा सहयोगमा खटिनुभएका रास्कोट खुलालुका कालिबहादुर महतराले बताउनुभयो । बालिकालाई उपचारका लागि सोमबार नै सुर्खेतबाट राजधानीतर्फ लगिएको छ । सुर्खेतदेखि काठमाडौंसम्म जान मससराका आफन्तलाई काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले निःशुल्क टिकटको व्यवस्था गर्नुभएको बताइएको छ ।
करुणा फाउन्डेशनले उपचार गराउने
क्यान्सर पीडित बालिकाका बारेमा समाचार प्रकाशन भएपछि उनको उपचारका लागि करुणा फाउन्डेशनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । रकम अभावका कारण बालिका उपचारबाट बञ्चित नहुने भन्दै उपचारका लागि लाग्ने सम्पूर्ण खर्च फाउन्डेशनले बेहोर्ने भएको छ । बालिका राजधानी पुगेपछि उनको रोगको प्रकृति हेरेर उपचारमा सहयोग गर्ने फाउन्डेशनले जनाएको छ ।
बिपी कोइराला टिचिङ हस्पिटलमा बालिकाको उपचारका लागि कुरा भएको र बालिका आउने वित्तिकै उनको उपचार प्रक्रिया अगाडी बढ्ने बताइएको छ । उपचार सम्भव भएसम्म रकम अभावले बालिका उपचारबाट बञ्चित नहुने फाउन्डेशनले बताएको छ ।
http://annapurnapost.com/news/72561#