जागरण मिडिया सेन्टर

Home » अन्य » दलितप्रतिको मनोविज्ञान

दलितप्रतिको मनोविज्ञान

Advertisements

२०७४ साउन २४, जागरण मिडिया सेन्टर

Raj-Pariyar-08082017080352-1000x0

राज परियार, काठमाडौं
श्रावण २४, २०७४- जति पनि नराम्रो बोली, व्यवहार, रहनसहन, चालचलन हुन्छ, त्यसको उदाहरण दलित समुदाय नै बन्छ । यदि कसैले नराम्रो कामको उदाहरण दिनुपर्दा कामी, दमाई, सार्कीले जस्तो बोलेको भनी नराम्रो कुराको प्रतिविम्ब बनाइन्छ, दलित समुदायलाई । दलित समुदायप्रतिको मनोविज्ञानबारे केही दृष्टान्त यस्ता छन् ।

मेरो दाजुको छोरा इटहरीस्थित एक बोर्डिङ स्कुलमा ३ कक्षामा अध्ययन गर्थ्यो । विद्यालयमा खेल्ने क्रममा एकदिन उसलाई साथीहरूले यो त परियार पो हो त भनेर हाँस्दै जिस्काएछन् । त्यसपछि परियार भनेको के रहेछ भनी भतिजलाई मनमा खुल्दुली भएछ । जिस्काउने क्रम बढेपछि घरमा ‘ममी हामी परियार हैन ? अनि यो परियार भनेको के हो ?’ भनी भाउजुलाई सोधेछ र आफूलाई साथीहरूले जिस्काउने गरेको कुरा बताएपछि भाउजुले विद्यालय गएर शिक्षकसँग कुरा राख्नुपर्‍यो । विद्यालय पढ्न आउने बालबालिकालाई जातभातको कुरा कसले सिकायो ? जबकि मेरो भतिजलाई नै दलित समुदायको ज्ञान थिएन ।

मेरो एकजना नातेदार बहिनी काठमाडौँस्थित एउटा नाम चलेको निजी कलेजमा स्नातक तहमा अध्ययन गर्छिन् । सामान्यतया दलित समुदायको भनी सजिलै छुट्याउने थरभन्दा अलि फरक छ, उनको थर । सुरुका दिनमै कलेजको कार्यालयमा प्रशासनिक कामले जाँदा ढोकाभित्र छिर्नैलाग्दा म्याडमहरूले दलित समुदायबारे अति नै घृणाजन्य कुरा गरिरहेको सुनिछन् । आफूसँगै अध्ययन गर्ने केही साथी पनि दलित समुदायलाई छि:छि: दुरदुर गर्ने र आफैलाई पढाउने गुरुमाहरूले पनि घृणा गर्ने भएकाले आफ्नो जातबारे कसैलाई नभनी अध्ययन गरिरहेकी छन् । यी उदाहरणबाट यो कुरा प्रस्ट हुन्छ कि छुवाछूत कम हुने भनिएका सहरका आधुनिक कलेजमा पढाउने गुरुहरूमा पनि जातभातको घृणित मनोविज्ञान छ । यस्तो वातावरणमा अध्ययन गर्ने चेलाहरूले विभेदमुक्त समुदाय निर्माण गर्न सक्लान् ?

मैतीदेवीमा मेरी एकजना नातेदार दिदी बस्नुहुन्छ । घरबेटी सारै जातपात, छुवाछूत मान्ने भएकाले आफ्नो वास्तविक जात ढाँटेर क्षत्री थर लेखाएर बस्न बाध्य हुनुहुन्छ । एकजना भाइ साथीहरूको दलित समुदायप्रतिको मनोविज्ञान बुझेर आफ्नो वास्तविक जात लुकाएर बसेका छन् । एकदिन घरबेटीले परिचयपत्र मागेपछि फोटोकपी गरेर त्यसमा थर फेरेर फेरि फोटोकपी गरेर बुझाएछन् । काठमाडौंमा कोठा खोज्ने क्रममा निकै समस्या भोग्नुपरेको छ । कोही घरबेटीले सुरुमै जात सोधेर कोठा दिन इन्कार गर्छन् भने कसैले कोठाको मोलतोल सकी कोठा सर्ने बेलामा पनि जातको कुरा सोधेर अनेक बहाना गरी कोठा नदिने निर्णयमा पुग्छन् । यसर्थ छुवाछूतको मनोविज्ञान ग्रामीण समुदायमा मात्र हैन, सहरी समुदायमा पनि छ । एक दिन एकजना दाइको घर जाँदै थिएँ । ३ कक्षामा पढ्ने छोरीले के बिगारिछन् कुन्नी ‘तँ सर्किनी जस्ती’ भन्दै गाली गरेको सुनियो । मैले सोचेँ, ३ कक्षामा पढ्ने बालिकाको कलिलो दिमागमा ‘सर्किनी’प्रति कति नराम्रो मनोविज्ञान विकास भयो होला ?

केही वर्ष अघिको कुरा, म इटहरी जानु थियो । एकजना अधबैंसे हेर्दा भलाद्मी देखिने व्यक्तिसँगै रात्रिबसमा यात्रा गर्ने अवसर मिल्यो । सुरुमा एकअर्काको घर सोधियो, पढाइ र कामबारे धेरैबेर कुराकानी भयो । त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा मास्टर्स डिग्री सकेको कुरा सुनेपछि उहाँले मप्रति निकै सम्मानित बोली–व्यवहार गर्नुभयो । मैले कुनै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने र दुबैको घर पूर्व भएका कारण झनै आत्मियता प्रकट गर्नुभयो । मुग्लिन आसपास पुगेपछि पालो आएछ, जातथरको कुरा गर्ने । उहाँ क्षत्री समुदायको हुनुहुन्थ्यो, मैले आफ्नो थर परियार बताएँ । अब म उहाँको दलितप्रतिको मनोविज्ञान, मूल्य र मान्यताभित्र प्रवेश गरेँ । एकैछिन अघि तपाई, हजुर भन्दै उहाँले गर्नुभएको सम्मानित सम्बोधन जातको कुरा थाहा पाएपछि तिमी र भाइमा परिवर्तन भयो । उहाँको पहिलेको आत्मियता विस्तारै पराई हुँदै गयो, बोली–व्यवहारमा विभेदको गन्ध आउन थाल्यो ।

माथिका दृष्टान्त हेर्दा दलित समुदायप्रति गरिने व्यवहार अझै विभेदकारी छन् । कथित उच्च जातिको मनोविज्ञानमा दलित समुदाय निकृष्ट, अपवित्र, अयोग्य र असम्मानित छ । नयाँ पुस्तामा एउटा डिस्कोर्ष चल्छ र निष्कर्ष निकालिन्छ कि नयाँ पुस्ताको मनोविज्ञानमा जातभातको कुरा छैन । तर ३०/४० वर्ष उमेर समूहका बाबुआमाका सन्तानले सानो–ठूलो जात भनेर छुट्याउने र फरक व्यवहार गर्ने शिक्षा कुन पुस्ताबाट पाइरहेका छन् ? भर्खर विकास हुँदै गरेको बाल मस्तिष्कमा जातको कुरा भरेर सानैबाट छुवाछूत र विभेद गर्ने मनोविज्ञानको विजारोपण भएन र यहाँ ?

आजको कान्तिपुरबाट

http://kantipur.ekantipur.com/news/2017-08-08/20170808080059.html

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: