जागरण मिडिया सेन्टर

Home » अन्य » धर्म निरपेक्षतामा दलित

धर्म निरपेक्षतामा दलित

Advertisements

जागरण मिडिया सेन्टर

२०७४ कात्तिक २०, काठमाडौं

हिरा विश्वकर्मा

केही दिन अगाडि यसै नागरिक राष्ट्रिय दैनिकमा नेपालका वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ तथा पूर्व प्रशासक द्वारीकानाथ ढुंगेलले संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्र नेपाललाई अफाप सिद्ध भएको र यी तीनै कुरालाई खारेज गर्दै शाहवंशीय वेवी किंग स्थापितलाई स्थापित गर्दै नेपाललाई हिंदु राष्ट्र वनाउने कुराको वकालत गरेको देखियो । हुनतः यी दुई विद्वानहरुले भन्दैमा त्यस्तो परिवर्तन तत्काल नहोला, तर नेपाली कांगे्रसले पनि वेला वेलामा वेवी किंगको कुरा गर्ने त्यसमा एमाले र माओवादी पनि मौन वस्दा कतै राजतन्त्र त फर्किने होइन भन्ने शंका जाग्नु अन्यथा होइन । यी सवै वहस चलिरहंदा नेपालमा रहेका विभिन्न जाति समुदाय तथा दलितहरुले खास गरि हिन्दु र राजतन्त्रात्मक व्यवस्थामा कस्तो महशुस गरेका थिए र अहिले उनीहरुले के चाहन्छन् भन्ने छलफल वहस कतै भएको देखिएन । संभवतः दलितहरु त्यसै पनि हिन्दु समुदाय हुन यिनीहरुले भोग्नु परेको दासत्व, उत्पीडन र अपमानलाई वास्तै नगर्दा पनि हुन्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ ।

मेरो जन्म पंचायत काल सुरु हुने वित्तिकै भएको हुंदा सकृय राजतन्त्र सहितको हिन्दुराज्यले कस्तो नीति अपनाएको थियो र त्यसमा हामीले के कस्ता अन्याय र अत्याचार भोग्यौं भन्ने केही चर्चा गर्नु सान्दर्भिक हुने छ । अहिलेको गणतान्त्रिक नेपालमा हामीले हामी माथि भएको अन्याय, उत्पीडनको कुरा देश भित्र मात्र होइन वाहिर पनि निर्धक्कसंग राख्न सक्र्छौ यसलाई मानव अधिकार र लोकतन्त्र प्रति समर्पित संविधानको प्रावधानले लेख्न, वोल्न र संगठित हुन पाउने अधिकार सहित सुनिश्चित गरेको छ । तर पंचायतकालमा हामीलाई २०२० सालको मुलुकी ऐनले पुरानो १९१०को मानवता विरोधी मुलुकी ऐनलाई खारेज गरेर कानूनी समानता त प्रदान गरेको थियो तर छुवाछुतको व्यवहार गर्नेलाई कानूनको कठघरा भित्र ल्याउनु पर्छ भनेर कहीं कतै चुं सम्म वोलेको थिएन । युवा अवस्थाको जोश सहित हामीले तानसेनको भगवति मन्दिर प्रवेशको आन्दोलन २०३८ सालमा गरेका थियौं हामीहरु सो मन्दिरमा प्रवेश गरे पछि तानसेन वजार जहां नेवार समुदायको वर्चस्व छ, भरि होहल्ला भयो र हामीलाई झण्डै झण्डै अराष्ट्रिय तत्व भनि जेलमा हालेनन । त्यहांको नेवार समुदायले हाम्रो सिधै प्रतिकार गरेनन, तर तत्कालिन सिडियो जो नेवार समुदायवाटनै थिए, उनले हामीलाई उनको कार्यकक्षमा वोलायर वेस्सरी हकारे र हामीलाई वर्षौ देखि रहेको सामाजिक सद्भाव विथोल्न खोज्नेलाई म जेल पठाइदिउं भनि धम्की पनि दिए । तर हामी विधर्मी थिएनौ त्यसैले मन्दिर प्रवेश गरेकै आधारमा हामीलाई जेल हाल्दा हामी हिरो हुने संभावना त्यत्तिकै थियो भने हामी पनि हामी भन्दा माथिको पुस्ताका दाजुहरुको हौसलामा मन्दिर प्रवेश गरेका कारणलें त्यसले थप द्वन्द्व चर्काउन सक्थ्यो, सायद यहि कुरालाई मध्यनजर गरेर होला पछि एउटा कुरामा सहमति भयो । पहिले पहिले सो भगवतिको मन्दिर भित्र गैरदलितहरु मूर्तिमै छोएर पुजा गर्थे हामी ढोका वाहिर वस्थ्यौं, हामी दलित युवाहरु सो मन्दिरमा छिरे पछि ढोका भित्र सवैले छिर्न पाउने तर मूर्तिलाई कसैले पनि छुन नपाउने व्यवस्था गरियो । जे भए पनि हाम्रौ नाउंमा अन्यलाई पनि मूर्तिको अगाडि अछूत वनाईयो । सो घटना पश्चात मैले सो मन्दिरको प्रांगण पनि टेकेको छैन ।

विष्णु भगवानका अवतार मानिने राजालाई हामीलाई गरिएको उत्पीडन सवै थाहा थियो तर हामीलाई धार्मिक समानता दिने कुनै प्रयास गरिएन । राजाको परमभक्त स्वर्गीय हिरालाल विश्वकर्मालाई विपि कोइरालालाई फांसी दिनु पर्छ भनि संसदमा वोल्न लगाई उपयोग गर्यो तर उनलाई क्याविनेट मन्त्री कहिल्यै वनाईएन, केवल सहायक मन्त्री मात्रै वनाईयो, त्यसको एउटै मतलव के थियो भने वडागुरुज्यू समेत रहने राजसभा स्थाई समिति थियो, जसका सवै सदस्यहरुलाई सम्माननीय भनिन्थ्यो, प्रधान मन्त्री रअन्य सवै क्याविनेट मन्त्री त्यसको पदेन सदस्य हुन्थे, त्यहां एउटा दलितलाई प्रतिनिधित्व गराउंदा सवै सभा अपवित्र हुन्छ भन्ने कारणले गर्दा उनलाई कहिल्यै पनि क्याविनेट मन्त्री वनाईएन । उनी परमराज भक्त र पंचायतका लागि उपयोगी व्यक्ति भएको हुंदा धेरै पटक राजाको सवारी मन्त्री पनि भए तर पनि राज्यको धेरै सभा समारोहमा उनलाई यातः उपस्थित नै गराईदैन थियो या गराय पनि विभिन्न वहानामा अपमान गरिन्थ्यो । जव एउटा मन्त्रीको हैसियत त व्यवस्था भित्र त्यस्तो थियो भने आम दलितलाई पंचायत कालरात्री भरि कसरी व्यवहार हुन्थ्यो होला त्यो हामी जस्तो भुक्त भोगीलाई मात्र थाहा छ । अनि वेवी किंग सहितको हिन्दुराज्य वनाउने वहसलाई आम दलित समुदायले के सहजै लिन सक्छन ?

नेकपा एमालेको दलित भात्रृसंगठन मुक्ति समाजका एक नेताले आफ्नो जीवनकालका दुईटा घटना वताउने क्रममा भने, उनी कम्युनिष्ट सिद्धान्तवाट प्रशिक्षित भएको हुनाले धर्मकर्म र कर्मकाण्डमा विश्वास नगर्ने भएता पनि परिवारको दवावलाई थेग्न नसकि उनको वावुको श्राद्ध गोकर्ण जसलाई हिन्दु धर्मशास्त्रमा उत्तरगया पनि मानिदो रहेछ मा गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यताका कारणले आफ्नो वुवाको श्राद्ध गर्न पुगेछन् । उनी दलित समुदायको व्यक्ति हुंदा कुनै वुढो पंडितलाई पुरोहित वनाउंदा जातीय भेदभाव गर्ला त्यसकारण युवा पंडितले त्यसो नगर्ला भन्ने सोचका साथ उनले त्यहां उपस्थित धेरै पंडितहरु मध्ये एउटा २५।३० वर्षको पडितलाई छानेछन् । उसले सुरुमा त उनको जातथर केही पनि नसोधि खुरु खुरु सवै विधि गर्दै गएछन्, तर श्राद्धको नियमअनुसार तर्पण पाउने पित्रको नामथर र गोत्र भन्ने वेलामा उनले आफ्नो जात वोधहुने थर वताएछन्, गलत वताएको होकी भन्दै उनले दोहोर्याएर सोधेछन् होइन म त्यहि समुदायको मान्छे हु भने पछि ती युवा पंडितले मन्त्र एकदमै छोट्याउन थाले छन् । उनी भन्दा पहिले अर्का पंडितवाट श्राद्ध गराई रहेका व्यक्तिको कर्मकाण्ड सकिएकै छैन, उ भन्दा पछि सुरु भएको कर्मकाण्ड सकियो भन्दा उनी आश्चर्यमा परेछन् र सोधेछन, किन छिटो गर्नु भयो? पछि ती युवा पंडितले आफ्नो समस्या वताएछन्, यदि मैले तपाई दलित समुदायको श्राद्ध गरिदिएको भनेर यहां भएका अन्य पंडितले थाहा पाए भने भोलीवाट मलाई यहांवाट निश्काशित गर्छन, अतः अरुले थाहा पाउनु भन्दा पहिलेनै तपाईको श्राद्धलाई छोट्याएका हुं भन्ने जवाफ सुन्दा झंसंग भएछन । यो घटना गएको कुशे औसीको हो ।

यस्तो विभेद यहां मात्र सीमित छैन, भारतको हरिद्वारमा समेत रहेको कुरा उनैले वताए, उनकै परिवार भित्र उनको जेठावुवा भारतमा गएर वेपत्ता भएको धेरै वर्ष भएको रहेछ, मृत्युको कुनै औपचारिक खवर नआएको हुंदा वेपत्ताहुनेलाई मृतघोषित गर्न अप्ठेरो परेको रहेछ, तर धैरै वर्ष वितिसकेको हुंदा हरिद्वारमा उनलाई तर्पण दिंदा मोक्षप्राप्त हुने विश्वासका कारण त्यहांको पंडितहरुलाई आवश्यक कार्यगर्न अनुरोध गरेछन् । त्यहां पनि पुरानाम र गोत्र वताउंदा त्यहां भएका भारतीय पंडितहरुले ए, तपाईहरुको श्राद्ध गर्ने अर्कैथरी छन् उनीहरुसंग जानुस भनि पठाएछन्, ती अर्कैथरी को रहेछन भनेर वुझ्दा सुदुर पश्चिमवाटै त्यहां गएका टमटा थरका दलितहरु रहेछन्, अर्थात त्यहां पनि एउटा दलितले अर्को दलितको कर्मकाण्ड गर्ने प्रथा वसालिएको रहेछ ।

आफुलाई हिन्दुधर्मको रक्षक मान्ने नेपाल लगाएत भारतमा प्रसस्तै संघ संगठनहरु रहेका छन् । त्यस मध्येको एक विश्वहिन्दु महासंघहो जसको अध्यक्ष दामोदर गौतम थिए, उनी त्यस भित्र उदार र प्रगतिशिल देखिन्छन तर उनले आफ्नो सिंगो संगठनलाई दलितहरुलाई गरिने विभेदका विरुद्ध जागरुक वनाउन सकेनन, हो, उनी दलित गैरसरकारी संस्था महासंघले प्रायोजित गरेको विभिन्न कार्यक्रमहरुमा गएर वास्तविक वा वैदिक हिुन्दु धर्ममा यस्तो विभेद नभएको जिकीर गर्दै हिडे तर उनको प्रयास पानीको फोका जस्तो सावित भयो ।

मेलै चिनेका धेरै दलितहरु क्रिश्चियन भएका छन्, त्यस मध्ये कति त पास्टर पनि छन् । उनीहरु क्रिश्चियन भए पछि उनीहरुको जीवनमा के फरक आयो भन्ने प्रश्नको उत्तरमा भन्छन्, हामी सवैले मान्ने देउताको मन्दिर भित्र छिर्न हामीले संधै संघर्ष गर्नु पर्ने, छिर्दा कोही चिनेको व्यक्ति भए उसले अपमान गर्ने, हाम्रो कर्मकाण्ड गर्दा कुनै पंडित नआउने, अन्तरजातीय विवाह गर्दा वहिष्कृत हुनु पर्ने समाजमा पनि अपमानित र प्रताडित भई रहंदा कसैले त्यसवाट उन्मुक्ति दिलाउने प्रयास पनि नगर्ने। हामी क्रिश्चियन भए पछि चर्चमा हामीलाई कुनै विभेद हुदैन, कतिपय ठाउंमा हाम्रै मान्छे पास्टर समेत छन् अन्य जातका क्रिश्चियनहरुसंग हाम्रो समागम, चाडपर्व, मर्दा पर्दा सधै हुन्छ । हामी पहिले जस्तो विभेदित र अपमानित महशुस गर्नु पर्दैन आदी आदी ।

यसको मतलव सवै दलितहरु क्रिश्चियन हुनु पर्छ भन्ने कदापि होइन, अहिलेको आधुनिक राज्यको मान्यता भनेको राज्यको आफ्नो धर्म हुदैन र कुनै धर्मको पक्षपोषण पनि गर्दैन भन्ने हो । धर्मनिरपेक्षता र गणतन्त्रमा आम दलितले सुरक्षित र विकल्प सहित सम्मानित महशुस गर्ने अवसर पाउंछ । अतः हिन्दुराज्य र राजतन्त्रको पुनस्थार्पना चाहने व्यक्ति वा संगठनहरुले यो देशमा भएका १३ प्रतिशत दलितहरुलाई आश्वस्त नपार्दा सम्म यसको समर्थन गर्ने अवस्था रहदैन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: