जागरण मिडिया सेन्टर

Home » अन्य » तालमेलले मेरो भाग खोसियो:आपूर्तिमन्त्री विश्वकर्मा

तालमेलले मेरो भाग खोसियो:आपूर्तिमन्त्री विश्वकर्मा

Advertisements
२०७४ कात्तिक २१, काठमाडौं
आगामी निर्वाचनका लागि प्रदेश १ का कुनै पनि क्षेत्रमा प्रत्यक्षतर्फ दलित समुदायका एउटै उम्मेदवार छैनन् । दलहरूमा जातीय सोच हट्न नसकेकै कारण दलितलाई उम्मेवार हुनबाट वञ्चित गराइएको टिप्पणी हुन थालेको छ ।  आपूर्तिमन्त्री मीनबहादुर विश्वकर्मा कांग्रेसका प्रभावशाली नेता हुन् । उनीसमेत प्रतिनिधिसभाको समानुपातिकमा पारिएका छन् । ‘मलाई पार्टीले पहिलो चरणमा सुनसरी १ बाट प्रत्यक्षमै सिफारिस गरेको हो तर संघीय समाजवादीसँग तालमेलमा उक्त क्षेत्र छाड्नुपर्‍यो,’ उनले भने, ‘कांग्रेसबाट प्रदेश १ मा एक्लो सक्षम उम्मेदवार थिएँ तर तालमेलले मेरो भाग खोसियो ।’ आर्थिक, सामाजिक, राजनीतिक रूपमा दलितहरूको नेतृत्व विकास नभएकाले दलहरूले उम्मेदवार नबनाएको उनको भनाइ छ । ‘नेतृत्व विकासका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाको लगानी र तालिम मात्र पर्याप्त छैन,’ उनले भने, ‘आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा सक्षम हुनुपर्छ ।’ उनी दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिकबाटै सांसद भएका थिए ।

एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले १ नम्बर प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलितलाई पार्टीले प्रत्यक्षबाट उम्मेदवार बनाउन नसक्नु दु:खद भएको बताए । ‘वर्षौंदेखि शोषित, उत्पीडित दलित समुदायका लागि लडदै आएको एमालेले उनीहरूलाई उम्मेदवार बनाउन नसकेको कुरा आत्मसात गरेका छौं,’ उनले भने, ‘अहिलेको चुनावी प्रतिस्पर्धामा जित्नैपर्ने अवस्था रहेको र विद्यमान सामाजिक संरचनामा दलित उम्मेदवार स्वीकार्य नहुने अवस्थाले दलहरूले दलितलाई उम्मेदवार बनाउन सकेका छैनन् ।’ आगामी दिनमा यस्तो अवस्था चिर्दै प्रत्यक्षबाटै दलित उम्मेदवार जिताउन लागिपर्ने प्रतिबद्धता उनले जनाए ।

पहिलो संविधानसभा निर्वाचनमा मोरङ ८ बाट निर्वाचित माओवादी केन्द्रका जिल्ला संयोजक गोपी अछामीले पनि यसपालि टिकट पाएनन् । पार्टीले उनको नाम प्रतिनिधिसभाको समानुपातिकमा राखेको छ । ‘प्रत्यक्षबाट प्रतिनिधिसभामा लड्न मन थियो तर पार्टीले टिकट दिएन,’ उनले भने, ‘आफू बसेको क्षेत्र ३ एमालेको कोटामा परेकाले पनि टिकट पाइनँ । पार्टीले चाहेको भए हुन सक्थ्यो ।’ पार्टीले दलित उम्मेदवार उठाउन नसक्नुमा सिट बाँडफाड पनि एउटा कारण रहेको उनको भनाइ छ ।

एमालेसँग चुनावी तालमेलमा जुन–जुन क्षेत्र माओवादीले पायो, तिनमा एक जना पनि दलित उम्मेदवार छैनन् । ‘हाम्रो समाज जातीय भावनाभन्दा माथि उठ्न नसकेकाले पनि दलित नेताले टिकट पाउन नसकेका हुन्,’ अछामीले भने, ‘जातीय रूपमा खण्डित सामाजिक अवस्थाबाट सिट गुम्ने डरले दलितलाई उम्मेदवार नबनाउनु अर्को कारण हो ।’

अधिकारकर्मी उमेश विश्वकर्मा दलहरू जातीय मानसिकताबाट माथि उठ्न नसकेकाले नै दलितले उम्मेदवार बन्न नपाएको ठान्छन् । ‘२१ औं शताब्दीमा नेता र दल जातीयताभन्दा माथि समानताको पक्षमा उठ्न नसक्नु ठूलो विडम्बना हो,’ उनले भने ।

सरकारी तथा गैरसरकारी संघसंस्थाले समाजमा गरेको लगानीले सामाजिक प्रक्रिया अगाडि बढे पनि व्यक्तिको चेतना विकास हुन नसकेको विश्वकर्मा बताउँछन् । ‘दलितलाई अहिले पनि समाजले स्वीकारिसकेको अवस्था छैन । उनीहरूमाथि जातीय छुवाछूत र हीन भावनाले हेर्ने अवस्था कायमै छ,’ उनले भने, ‘समाजले स्वीकारिनसकेको समुदायबाट उम्मेदवार बनाए सिट गुम्ने जोखिम देखेर दलले दलितलाई उम्मेदबार बनाएनन् ।’ अत्यधिक दलित समुदायको बसोबास रहेको २ नम्बर प्रदेशमा समेत दलले दलित समुदायको उम्मेदवारीलाई प्राथमिकता दिएनन् । समानुपातिक समावेशीको नारा लगाउँदै आएका मधेसकेन्द्रित दलले पनि दलितलाई उम्मेदवार बनाउन नसक्नुले समाजमा व्याप्त जातीय भेदभाव उजागर भएको सिरहाका दिलीप सदाय बताउँछन् । ‘दलित समुदायमध्ये मुसहरको जनसंख्याले नै सिरहामा एउटा सांसद जिताउन सकिने अवस्था भए पनि दलहरूले त्यसको कदर गरेनन्,’ उनले भने ।

http://kantipur.ekantipur.com/printedition/news/2017-11-06/20171106074045.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: