जागरण मिडिया सेन्टर

Home » अन्य » अम्बेडकर, ग्राम्सी र आलोचनात्मक सचेतना

अम्बेडकर, ग्राम्सी र आलोचनात्मक सचेतना

Advertisements

२०७४ कात्तिक ३०, काठमाडौं
अमर बिक

दलित रीडर’का लागि मेरो लेखाइ अम्बेडरबारे लेखेर शुरु गर्न मन लाग्यो । दुईवटा कारणले यस्तो मन लागेको हो । पहिलो, यस ब्लगकोे नाम ‘दलित रीडर’ राखिएको र यसको उद्देश्य दलितसम्बन्धी वैचारिक छलफल गर्ने तथा ज्ञान उत्पादन गर्ने भएकाले मुक्तिको संघर्षमा ज्ञान, अध्ययन वा शिक्षाको कस्तो भूमिका रहन्छ र यी कस्ता खालका हुनुपर्छ भन्नेमा अम्बेडकरका विचार महत्वपूर्ण भएकाले त्यसमा केही लेख्न मन लाग्यो । दोस्रो, म अम्बेडकरका विचारबाट निकै प्रभावित छु र त्यसकारण यस ब्लगमा उहाँबारे लेखाइ शुरु गरेर उहाँप्रति सम्मान व्यक्त गर्न पनि चाहन्छु ।

अम्बेडकरको कोट र गान्धीको लँगौटी

जब म अम्बेडकरलाई सम्झन्छु, मेरो मानसपटलमा बायाँ हातमा एउटा किताबसहितको नीलो सुट र टाई लगाएको उहाँको एउटा तस्बिर आउँछ । उहाँका तस्बिर र सालिकमा अम्बेडकरलाई प्रायः खल्तीमा दुईटा कलमसहितको शुट र टाईमा देखिन्छ । र, एउटा किताब पनि प्रायः छुटेको हुँदैन । किताबले भारतीय संविधान लेखनमा अम्बेडकरको भूमिका तथा उहाँले शिक्षालाई दिएको महत्व दुवैको संकेत गर्छ । अम्बेडकरका पहिरन, कलम, किताब, र अन्य चिजलाई विशेषगरी उहाँको मृत्युपछि दलित आन्दोलनको प्रतीकका रुपमा प्रयोग गरिएका भए पनि यी चिजलाई उहाँले आफ्नो वास्तविक जीवनमा पनि निकै महत्व दिनुभयो ।

झट्ट हेर्दा पश्चिमी पहिरन र किताबमा उहाँले दिएको महत्व अलि अमिल्दोजस्तो देखिन्छ । एकातिर उहाँले प्रतिनिधित्व गरेका आम दलितको जीवन निकै कष्टकर थियो । उनीहरुलाई पश्चिमी पहिरनको रोजाइभन्दा पनि जस्तोसुकै भए पनि एकसरो कपडा लगाउनै मुश्किल थियो । त्यसकारण अम्बेडकरको पहिरनले आम दलितको अनुभवको प्रतिनिधित्व गर्ने कुरै भएन । अर्कातिर, अम्बेडकरका कट्टर राजनीतिक प्रतिद्वन्द्वी महात्मा गान्धीचाहिँ एउटा लँगौटीमात्र लगाउँथे, भारतमै बनेको कपडाको । उनका प्रायः तस्बिरमा गान्धी एउटा चर्खामा धागो कातेका देखिन्छन् । गान्धीले ब्रिटिस उत्पादित सामान बहिष्कार गरी घरेलु उत्पादनमा जोड दिएका थिए । गान्धीको लँगौटी र चर्खा ब्रिटिस उपनिवेशवादको विरोधको प्रतीक थियो ।

उपनिवेशवाद र ब्राह्मणवादको एकसाथ विरोध

अम्बेडकरको पश्चिमी पहिरनको प्रतीक उपनिवेशवादको समर्थन भने कदापि थिएन । अम्बेडकरले ब्राह्मणवाद जत्तिकै उपनिवेशवादको पनि खरो आलोचना गर्नुभयो र दुवै वादविरुद्धको संघर्ष सँगसँगै चलाउनुभयो । उपनिवेशवाद र ब्राह्मणवाद उस्तै–उस्तै हुन् भन्ने उहाँको तर्क थियो । उहाँका अनुसार उपनिवेशवाद उपनिवेशको स्रोत र साधनको दोहनमा भर पर्छ भने ब्राह्मणवाद दलितहरुको श्रमबाट बाँच्छ । त्यसकारण, उहाँका अनुसार दलितहरु आन्तरिक औपवेशनिक समूह हुन् । अझ, उपनिवेशवादले ब्राह्मणवादलाई मलजल गरेको वा झन् बलियो बनाएको दाबी थियो अम्बेडकरको । ब्राह्मणवादचाहिँ अचम्मको वाद छ । दमन र शोषणका लागि यो अन्य जुनसुकै वादसँग पनि सजिलै घुलमिल भइहाल्छ, परिस्थितिअनुसार यसले आफूलाई सजिलै बदल्न सक्छ । दलितमाथिको अत्याचार र शोषणमा उपनिवेशवादसँग मिल्यो, पुँजीवादसँग मिल्यो, अहिले नवउदारवादसँग मिलेकै छ । र, माक्र्सवादसँग पनि मिलेकै छ ।

गान्धीले आफ्नो सामाजिक र राजनीतिक दर्शनमा हिन्दू धर्म र परम्परालाई केन्द्रमा राखे भने अम्बेडकरले यसलाई ठाडै नकारे । ब्राह्मणवाद तथा वर्णव्यवस्थामा आधारित भारतीय समाज सामाजिक दुष्टता र अन्धविश्वासले ग्रस्त भएकाले यसबाट उन्मुक्ति पाउन पश्चिमी ज्ञान, विचार र प्रविधिको आवश्यकता पर्ने उहाँको तर्क थियो । अझ दलित समुदायका लागि त ब्राह्मणवादलाई जित्ने मुख्य औजार नै पश्चिमी ज्ञान, विचार तथा आधुनिकताको अँगीकार हो भन्ने उहाँको विचार थियो । त्यसकारण, सुट र टाई अम्बेडकरको आधुनिकताप्रतिको विश्वासको प्रतीक थियो ।

अर्गानिक बुद्धिजीवीहरुको मुख्य भूमिका

अम्बेडकरको एउटा चर्चित भनाइ छ, ‘एजुकेट, एजिटेट, अर्गनाइज ।’ अर्थात् शिक्षित बन, आन्दोलित होऊ र संगठित होऊ । दलितहरुको मुक्तिका लागि अम्बेडकरले शिक्षालाई सबैभन्दा बढी जोड दिनुभयो । शिक्षालाई पहिलो सर्तका रुपमा लिनुभयो । ज्ञान र सीप आर्जन गरी जागिर खानुभन्दा पनि शिक्षाको लक्ष्य व्यक्तिगत र सामाजिक रुपान्तरणका हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । मस्तिष्क मन्थन वा मथिंगल गर्ने हदसम्म आन्दोलित होऊ भन्ने आह्वानले चाहिँ आलोचनात्मक शिक्षा र छलफललाई जोड दिन्छ । यसको उद्देश्य भनेको असमानता र दमनका श्रोत र सम्बन्ध पहिल्याउने र त्यसविरुद्ध आवाज उठाउने हो । मुक्तिको आन्दोलनमा यसप्रकारको आलोचनात्मक शिक्षाको आवश्यकता अन्य दार्शनिकले पनि वकालत गरेका छन् ।

अम्बेडकरकै समकालीन चिन्तक हुन् अन्तोनियो ग्राम्सी । प्रसिद्ध इटालियन नव–माक्र्सवादी ग्राम्सीले पनि मुक्तिको आन्दोलनमा शिक्षाको प्रमुख भूमिका देखे । उनका अनुसार, आन्दोलनमा मात्र होइन, प्रभुत्वशाली समूहको वर्चस्वमा पनि शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । दमन गर्ने शक्ति वा प्रभुत्व लाद्ने शक्ति आर्थिक सम्बन्धबाट आउँछ भन्ने माक्र्सको सिद्धान्तलाई नै उल्ट्याउँदै ग्राम्सीले यस्तो शक्ति शिक्षा, धर्म र रीतिरिवाजजस्ता सांस्कृतिक र सामाजिक चिजबाट आउँछ भने । उनले उत्पीडित समूहले किन आफैमाथि दमन र शोषण भएको वास्तविकता पनि थाहा पाउँदैनन्, कसरी उनीहरु आफूमाथि भएका दमन र शोषणलाई पनि सहमति दिन्छन् वा झन् मलजल गरिरहेका हुन्छन् भन्ने निकै राम्रोसँग विश्लेषण गरेका छन् ।

शक्तिशाली समूहले भौतिक बल, डर वा धम्कीको प्रयोगको सट्टा सांस्कृतिक र सामाजिक माध्यमबाट शासनका लागि उत्पीडितहरुकै सहमति लिएका हुन्छन् भन्ने उनको भनाइ छ । माक्र्सवादी भाषामा झुटो सचेतना (फल्स कन्सियसनेस) भनिने यस्तो सहमतिलाई उजागर गर्न उत्पीडित समूहमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ भन्ने ग्राम्सीको जोड रहेको छ । र उत्पीडितहरुमा यस्तो प्रकारको शिक्षा, विशेषगरी आलोचनात्मक सचेतना प्रवाह गर्नमा उत्पीडित समूहका अर्गानिक बुद्धिजीवीहरुको मुख्य भूमिका हुने उनको दाबी छ । पाउलो फ्रेरे र फ्रान्ज फानुँ जस्ता अन्य प्रभावशाली दार्शनिकले पनि मुक्तिको संघर्षमा शिक्षा, विशेषगरी आलोचनात्मक शिक्षा वा सतेचतना फैलाउने कामको मुख्य भूमिका हुनुपर्ने कुरामा जोड दिएका छन् ।

अम्बेडकर, ग्राम्सी, फानुँ र फ्रेरेका विचारले फरक फरक समय र सन्दर्भलाई प्रतिनिधित्व गरेको भए पनि यी विचार ब्राह्मणवादविरुद्धको आन्दोलनमा हाम्रा लागि अझै पनि निकै सान्दर्भिक छन् । हामीले राजनीतिलाई धेरै नै महत्व दिएका छौं, त्यो पनि माथिल्लो तहको राजनीतिको । हाम्रो तरिका पनि ‘टप डाउन’ खालको जस्तो छ । माथितिर मिल्यो भने तलतिर त्यसै मिलिहाल्छ भन्ने खालको छ । आम रुपमा सचेतना निर्माणमा हामीले निकै नै कम महत्व दिएका छौं जस्तो लाग्छ । विगत एक दशकको संविधान निर्माण प्रक्रियाको सन्दर्भमा राजनीति र केन्द्रलाई महत्व दिनु सान्दर्भिक नै देखिए पनि समग्रमा हामीले सचेतना निर्माणमा कमै महत्व दिएका छौं ।

शासक र शक्तिशाली समूहलाई शिक्षा र ज्ञानको निकै ठूलो डर हुन्छ । उनीहरु सकेसम्म उत्पीडित समूहलाई शिक्षा र ज्ञानबाट वन्चित राखिछाड्ने प्रयास गर्छन् । ब्राह्मणवादले दलितलाई पुस्तक पढ्नमात्रै होइन ब्राह्मणले पढेको सुन्न समेत बन्देज लगायो । त्यसैगरी, ब्राह्मणवादी राणाहरुले जनतालाई पढ्नबाट रोके । नदेखिने र नजानिँदो गरी त हाम्रा विद्यालय, विश्वविद्यालय र मिडियाले अझै पनि ब्राह्मणवादी शिक्षा र ज्ञान फैलाइराखेकै छन् । त्यसकारण, अम्बेडकरले भनेझैँ आम दलित समुदायलाई शिक्षा, विशेषगरी आलोचनात्मक शिक्षा वा ब्राह्मणवादविरुद्धको सचेतना फैलाउने काम हाम्रा लागि अझै पनि मुख्य आवश्यकता हो । बिक अमेरिकास्थित पिट्सवर्ग विश्वविद्यालयमा मानवशास्त्रमा विद्यावारीधि गर्दै छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: