जागरण मिडिया सेन्टर

Home » अन्य » ज्यानै लिने विभेदकारी तुसको औषधी के होला ?

ज्यानै लिने विभेदकारी तुसको औषधी के होला ?

Advertisements

२०७४ मंसिर ६, काठमाडौं

Jyoti-Lal-Ban-225x300

ज्योतिलाल बन

आजभन्दा चार वर्षअघि शिक्षण अस्पताल महाराजगंजमा उपचार गर्दागर्दै ४५ वर्षे प्रकाशराज तिमल्सेना बिते । चिकित्सकले बताएअनुसार जण्डिस भएको अवस्थामा पनि अत्यधिक रक्सी र चुरोट सेवन गरेकाले उनको मृत्यु भयो । छोरीले परियार (दमाई) सँग प्रेमविवाह गरेको कुरा उनी र उनको समाजलाई स्वीकार्य भएन । त्यसैले बढ्दो मानसिक पीडा कम गर्न उनले जण्डिस निको नभइसकेको अवस्थामा पनि रक्सी र चुरोट खाए । यही नै उनका लागि काल सावित हुन पुग्यो ।

विगत ६० वर्ष पहिलेदेखि नै अनेक प्रकारका संवैधानिक व्यवस्था हुँदाहुँदै पनि नेपाली समाजमा व्यावहारिक रुपले जातीय भेदभाव र छुवाछूत तथा लैङ्गिक विभेद हट्न सकेको छैन । अहिले पनि आम जनताको मनमस्तिष्कमा विभेदकारी तुस जमी नै रहेका छन् । त्यसैले लैङ्गिक एवं जातीय भेदभाव र छुवाछूतसँग सम्बन्धित हिंसात्मक घटना बाक्लै घटित भइरहेको देखिन्छ । यस्तै मनमस्तिष्कबाट नमेटिएको तुसकै कारण गैरदलितले दलितसँग विवाह गर्दा सृजना भएको वियोगान्त अवस्था र घट्न पुगेको दुखद् घटना सम्बन्धमा मैले गरेको दुईटा अध्ययन यहाँ प्रस्तुत गरेको छु । घटना वास्तविक भए पनि पात्रको नाम भने सक्कली राखिएको छैन । ‘बरु मर्छु, तिनर्को मुख हेर्दिन’

मैले यही २०७४ सालको भाइटीकाको भोलिपल्ट चितौन मंगलपुरमा एकजना क्षेत्री जातका अधबैँसेलाई भेटेँ । आफ्नी बहिनीसँग भाइटीका लगाउन आएका उनले आफ्नो नाम कुलबहादुर बस्नेत र घर गोरखा सिरान्चोक भएको बताए । तर अब घर नफर्कने, बहिनी ज्वाइँको माध्यमबाट मंगलपुरतिरै डेरा खोजेर बस्ने र ज्याला मजदूरी गरेर जीविका चलाउने विचारमा थिए उनी । डेरा र कामको व्यवस्था मिलेपछि घरमा रहेका श्रीमती र कान्छो छोरालाई पनि यतै ल्याउने योजना थियो उनको ।

“किन यसो गर्न लाग्नु भा’त ?”

मेरो प्रश्नपछि अलिक चिन्तित अनुहार बनाउँदै उनले एकछिन अकमकिएर भने–

“के गर्ने, हेर्नोस, छोरीले गु खाइदी, गाउँमा मुख देखाउन पनि नसक्ने भैयो, त्यसैले यतै बसेर ज्याला मज्दुरी गरेर जीविका चलाउने विचार गरेको हो ।”

“के भो र त्यस्तो ?”

“सार्कीसँ गैदी ।”

“कसरी ?”

“त्यो कुजात (सार्की) र छोरी…. (आक्रोशित भावमा) छोरी पनि के भन्नु त्यो कुकुर्नीलाई, एउटै स्कुलमा पढ्थे, मुहुनी लगाएर लगे छ । कुजातसँग छोरी जानेको खलक भनी घरगाउँकाले छिछि र दूरदूर गर्न थालेका छन् । त्यसैले जस्तोसुकै दुःख परे पनि अब त्यता त फर्कनै सकिँदैन ।”

“काँ’ छन् ऐले उने’रु ?”

“काठमान्डु गए’ रे भन्ने सुन्याछु ।”

यति कुरा भएपछि मैले उनलाई सम्झाउने किसिमले भनेँ–

“के भो’त, उने’रको मन मिल्यो, गए । यस्तो अन्तरजातीय विवाहमा अहिलेको कानूनले पनि अनुमति दिएकै छ । अब त्यस्तो जातपात मान्ने छुवाछूत गर्ने चलन पनि हट्दै गा’छ । त्यसैले अब यसलार्ई अपराध सम्झेर छोरीले सत्यानासै गरी भन्ने ठान्नुभएन । जे भो भो, अब उने’रलाई छोरी ज्वाइँ नै मानेर राम्रो व्यवहार गर्नुप¥यो । घरबासै त्यागेर यसरी परिवारलाई नै लथालिङ्ग अवस्थामा पु¥याउनुभएन नि ।”

मेरा सुझाव सुनेर उनी उल्टै मैसँग झोक्किन पुगे ।

“कस्तो कुरा गर्नुहुन्छ, कानूनमा लेखेर हुन्छ ? हाम्रो आफ्नो परम्परा र संस्कार छैन ? सार्कीजस्तो छोटो जातसँग गएकी त्यो कुजातलाई छोरी र त्यो सिनो खाने चमारेलाई ज्वाइँ भन्न सकिन्छ ? म त मोरिगए मान्दिन । म ति’नरको मुख पनि हेर्न सक्तिन, कैल्यै पनि ति’नरको मुख देख्न नपरोस्, भगवानसँग यई बिन्ती छ ।”

‘जातीय छुवाछूत तथा भेदभाव दण्डनीय व्यवहार हो ।’ कानूनमा लेखिएको कुरा कुलबहादुरलाई थाहा नभएको हैन । तर उनी यो कानूनी व्यवस्था मान्न तयार थिएनन् । बरु परिआए जस्तोसुकै दण्ड–सजाय भोग्न तयार रहेका कुलबहादुर । उनी कुल–परम्परादेखि चलिआएको चलनलाई भने हरहालतमा त्याग्न तयार थिएनन् ।

“हत्तेरीका, दमैसँग गएर छोरीले त नाकै पो काटिदिछन् त !”

आजभन्दा चार वर्षअघि शिक्षण अस्पताल महाराजगंजमा उपचार गर्दागर्दै ४५ वर्षे प्रकाशराज तिमल्सेना बिते । चिकित्सकले बताएअनुसार जण्डिस भएको अवस्थामा पनि अत्यधिक रक्सी र चुरोट सेवन गरेकाले उनको मृत्यु भयो । छोरीले परियार (दमाई) सँग प्रेमविवाह गरेको कुरा उनी र उनको समाजलाई स्वीकार्य भएन । त्यसैले बढ्दो मानसिक पीडा कम गर्न उनले जण्डिस निको नभइसकेको अवस्थामा पनि रक्सी र चुरोट खाए । यही नै उनका लागि काल सावित हुन पुग्यो ।

गोरखाको मुगे घर भएका प्रकाशराज जिल्ला प्रशासन कार्यालय गोरखाको खरिदार पदका कर्मचारी थिए । सपरिवार गोरखा बजारमै डेरा लिएर बसेका प्रकाशराजका ३ छोरीमध्ये ठूली छोरी सविताको विवाह भइसकेको थियो । बाँकी २ छोरी र श्रीमतीसँगै ४ जनाको परिवार थियो उनको । दुवै छोरी स्थानीय विद्यालयमा पढ्थे । श्रीमती फुर्सदमा सिलाइकटाइको काम गर्थिन् । यसरी यो परिवार सुखी र खुसी अवस्थामै बाँचिरहेको थियो ।

प्रकाशराजलाई जण्डिस रोगले समात्यो । तर उनले यो रोग लाग्दा गर्नुपर्ने खानपिनमा ध्यान दिए । आवश्यक नियम पनि पालना गरे । त्यसैले रोग निको हँुदै गयो । दुई छोरीभध्ये १५ वर्षीया माइली छोरी निर्मला कक्षा १० मा र १३ वर्षीया कान्छी छोरी कुशुम ८ कक्षामा पढ्दै थिए । एक दिन कुशुम विद्यालय छुट्टी भएपछि घर फर्किन् तर निर्मला भने फर्किनन् । त्यो दिन परिवारको सबैले निर्मलाको कक्षाका केही साथीसँग भेटेर सोधे, तर केही अत्तोपत्तो लागेन । भोलिपल्ट विद्यालयमा गएर प्रधानाध्यापकसँग कुरा राखे । प्र.अ.ले निर्मलाको कक्षाका लगायत विद्यालयका सबै विद्यार्थी र शिक्षक शिक्षिकासँग सोधखोज गरे । कसैलाई केही थाहा थिएन ।

त्यसै दिन कक्षा दशमा पढ्ने दिलबहादुर परियार (दमाई) पनि विद्यालय नआएकाले खुलदुली चल्यो । निर्मलासँगै पढ्ने एकजना छात्राले विद्यालयको हाफटायम छुट्टीमा कैलेकहीँ निर्मला र दिले (दिलबहादुर परियारको बोलाउने नाम) सँगै हिन्ने बस्ने गरेको देखेको बताइन् । प्रकाशराजलाई शंका लाग्यो । त्यसपछि प्रकाशराजले कान्छी छोरी कुशुमलाई लिएर विद्यालयबाट लगभग १ किमि पूर्व रहेको दिलबहादुरको घर गए ।

दुईपाखे जस्ताको छानु भएको सानो भुइँतले घरको पिडीमा दिलेका बाबु नरे दमाई हातेकलमा लुगा सिउँदैथिए । रिसले रन्थनिदै त्यहाँ पुगेका प्रकाशराजले झोक्किँदै सोधे, “तिम्रो छोरो दिले खै ?”

डरले थर्कमान भएझैँ देखिएका नरेले हात जोडेर भने, “हिजो भात खाएर स्कूल गएदेखि क्यै अत्तोपत्तै छैन हजुर ।”
“दिले घरमा आउनासाथ मलाई खबर गर्नू” भनेर प्रकाशराज र उनकी छोरी त्यहाँबाट फर्के । यसरी निर्मला हराएको ५ दिनपछि उनी दिलेसँगै भागेर काठमाडौं पुगेको भन्ने थाहा भयो ।

“सिडियो अफिसका खर्दार प्रकाश तिमल्सेनाकी छोरी दमैसँग पोइल गई” भन्ने हल्ला गोरखा बजारभरि नै बुईंबुइँती भएर फैलियो । अफिसमा गयो, अफिसका साथीमध्ये कसैले “ए प्रकाशजी, तपाईंकी छोरी त कलिलैमा पो हिनिछन् त” भन्ने । कसैले “हत्तेरीका दमैसँग गएर छोरीले तपैंको त नाकै पो काटिदिछन् त” भन्ने । कसैले “ठिकै भो नि बिहा गरिदिनुपर्ने टन्टै खतम भो” भन्ने । कसैले त “तपाईंकी छोरीले त जातपात छुवाछूत तोडेर क्रान्ति नै गरिछन् त !” भनेर व्यंग्य कस्न पनि थाले ।

बजारमा चिनेका जति सबैले प्रकाशसँग भेट हुनासाथ सबभन्दा पहिले त्यही कुरा उठाउन थाले । कसैले अलि घुमाउरो पाराले, कसैले सोझै “छि दमैसँ गएर कुलको नाकै काटी, इज्जतै फाली” भनेर चिन्ता देखाएझै गर्ने गरे । कतिपयले त खिसिटिउरी नै गर्न थाले ।

मान्छेले यसरी खिसिटिउरी गर्ने सेटारो हान्ने, बदख्वाइँ गर्ने आदिको मार प्रकाशराजले भन्दा पनि उनकी श्रीमती सुमित्राले बढी सामना गर्नुप¥यो । बसिसक्नु नभएपछि उनीहरुको परिवारले त्यहाँबाट लगभग ३ किलोमिटर पश्चिमतिर डेरा सार्यो । आखिर त्यहाँ पनि यो गन्ध फैलिहाल्यो । यसरी बुइँबुइँती हल्ला फैलिन थालेपछि प्रकाशलाई खपिनसक्नु हुन थाल्यो । उनले जण्डिस बढेकाले उपचार गर्न काठमाडौं जानुपरेको बहाना बनाएर अफिसबाट २० दिनको बिदा लिए । काठमाडौं जानुको साटो उनी डेरैमा बसे र डेराबाट पनि निकै कममात्र बाहिर निस्किए ।
त्यस बेला दिनको ३÷४ खिल्लीसम्म चुरोट खाने र कहिलेकाहीँ साथीभाइसँग बसेर थोरै मद्यपान पनि गर्ने गर्थे । जण्डिसले भेटेपछि उनले दुवै चिज त्यागेका थिए । छोरी परियारसँग गएपछि उनले आफ्नो परिवारमै दाग लागेको र नाकै काटिएको अनुभव गरे । त्यो भन्दा पनि समाजले गरेको खिसिटिउरी र बदख्वाइँले उनको परिवारमाथि निकै ठूलो चोट पु¥यायो । त्यसपछि उनले रक्सी र चुरोट खान थाले । चौबीसै घण्टा नशामा डुब्ने गरी खान थाले । मानसिक पीडा बिर्सने नाममा उनले अत्यधिक मद्यपान गरे । त्यसैले लगभग निको भइसकेको जण्डिस फेरि बल्झियो । यसरी बल्झियो कि उनको ज्यानै लिएर छाड्यो ।

प्रकाशराजको निधनपछि श्रीमती सुमित्राले गोरखा छाडिन् । कान्छी छोरी कुशुमलाई लिएर उनी काठमाडौंतिर गइन् । आफ्ना दाजु–भाउजु पनि काठमाडौंकै स्थायी बासिन्दा भएकाले उनीहरुलाई भरपर्दाे आश्रय र आधार मिल्यो । सावित्रीका दाजुले आफ्नो घर नजिकै डेराको व्यवस्था मिलाइदिए । दिवंगत प्रकाशको पेन्सन काठमाडौँमा टिक्ने पहिलो आधार बन्यो ।

महिलाको लुगा सिलाइ गर्ने सावित्रीले लेडिज टेलर्स खोलिन् । पेन्सनको पैसा र सिलाइको कमाइले सजिलै जीविका चल्यो । अहिले कुशुम १२ कक्षामा पढ्दैछन् । दाजुभाउजुबाट अभिभावकीय आधार पाएकाले, खानबस्न अभाव र असुविधा पनि नभएकाले उनीहरुको जीवन सुखीजस्तै देखिन्छ । तर उनीहरुको बाहिर देखिने ‘सुख’भित्र लुकेको चोटको घाउ गहिरो छ ।

जातीय भेदभाव तथा छुवाछूत अमानवीय व्यवहार हुन् । त्यस्तो व्यवहार पनि पुराना संस्कार र संस्कृतिमा आधारित रीतिथितिजस्तै भइसकेको छ । लामो सयमदेखि चलिआएकाले धेरैजसो मानिसलाई जातीय भेदभाव तथा छुवाछूतलाई उचित र स्वाभाविक लागेको देखिन्छ । सामन्तवादी मान्यताबाट निर्देशित सामाजिक व्यवस्था तथा यस्तो व्यवस्थामा रहेको मानिसहरुले यस्ता अमानवीय चलनलाई पनि अन्तस्करणदेखि नै स्वीकार्दै आएको पाइन्छ । त्यसैले जनताको मनमस्तिष्कमा गढेर रहेका यस्ता परम्परा, रीतिथिति र व्यवहार कानूनी बन्देजबाट मात्र निषेध हुन सक्तैनन् । जनताको मनमस्तिष्कममै सुधार, परिवर्तन र रुपान्तरणका लागि के कस्तो उपाय गर्ने, विचार विमर्श गर्न जरुरी छ । नेपाली राज्य, राजनीतिक दल, नागरिक समाज र बौद्धिक अभियन्ताहरुले यसबारे बहस गर्न ढिलो भइसकेको छ ।

समाजलाई नछुने संवैधानिक व्यवस्था
नेपालमा प्रजातन्त्र माग सँगसँगै लोकतन्त्र र साम्यवाद पक्षधर दलहरुले जातीय भेदभाव अन्त्यको माग उठाउन थालेका थिए । यसै मान्यताअनुसार नेपालका विभिन्न संविधानमा छुवाछूत र विभेदविरोधी प्रावधान राख्ने क्रम चलेको पाइन्छ । तर विडम्बनाको कुरा, सबैजसो संविधान कागजको खोस्टो मात्रै आएको इतिहास छ ।

नेपाल अधिराज्यको संविधान २०१५ मा ‘कुनै पनि नागरिकमा धर्म, वर्ण, लिङ्ग, जात जातिको आधारमा भेदभाव गरिने छैन’ भन्ने उल्लेख गरिएको थियो । निर्दलीय पंचायती संविधान भनेर चिनिने नेपालको संविधान २०१९ मा पनि सोही व्यहोरा उल्लेख गरिएको थियो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापना लगत्तै बनाइएको नेपाल अधिराज्यको संविधान २०४७ मा पनि यसरी उल्लेख गरिएको थियो, ‘कुनै पनि व्यक्तिलाई जातिपातिका आधारमा छुवाछूतको भेदभाव गरिने वा सार्वजनिक स्थलमा उपस्थित हुन वा सार्वजनिक उपयोगका कुराहरूको प्रयोग गर्नबाट वञ्चित गरिने छैन । त्यस्तो कार्य कानूनबमोजिम दण्डनीय हुनेछ ।’

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएपश्चात संविधानसभाद्वारा निर्मित नेपालको संविधानमा उल्लिखित छुवाछूत तथा भेदभावविरुद्धको हकमा लेखिएको छ– ‘(१) कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन । (२) कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन । (३) उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन । (४) जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन । (५) यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’
यसरी सामाजिक समानताको बहाली र जातीय भेदभाव तथा छुवाछूत अन्त्यका निम्ति सशक्त व्यवस्था गरिएको पाइन्छ । त्यसमाथि जातीय समानतालई प्रोत्साहित गर्ने उद्देश्यले अन्तर्जातीय (दलितले गैरदलितसँग) विवाह गर्नेलाई रु. १ लाख पुरस्कार दिने व्यवस्था पनि गरिएको छ । यी प्रावधानले जनताको मनस्तिष्कलाई कत्तिको प्रभावित पारेका छन्, पुनविर्चार गर्नु आवश्यक छ । समस्या कानूनमा छ कि, क्रियान्वयनमा छ कि, सही ढंगले नहुनुमा छ कि, जब्बरसँग गाँठो परेको जनमानसमा छ कि ? सोधखोज गर्न सकिएन भने ज्यान जाने जोखिम रही रहने देखिन्छ, चाहे त्यो दलितको होस् या गैरदलितको ।

(बन सामाजिक अभियन्ता एवं लेखक हुन्)

#Copied http://dalitreader.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: